घर पुग्नेबित्तिकै सुधाले चिया ल्याइदिइन् । करिब एक महिनाको रस्साकस्सीबीच संस्थानको कार्यकारीमा मेरो नामको ठाउँमा विमलको नाम सिफारिस भएको झोंक लिएर घर पुगेको थिएँ । मन्त्रीसँग पनि सेटिङ् मिलेकै हो । सचिवलाई हातमा लिएकै थिएँ । अध्यक्षसँग त झन् पैसाको कारोबारै थियो । म त ढुक्क थिएँ । अन्तिम क्षणमा विमल धूर्तले के चक्कर चलायो चलायो, फटाहा चोर !
एक सुर्को चियाको लिएको मात्र के थिएँ, चिनी नै रहेनछ । मन त मान्छे टिपेर फाल्ने थियो तर चियाको कप हुर्याइदिएँ । गतिलो चिया पनि खान नपाइने घरमा के बस्नु भन्दै हिँडे । मेरो गाडी सिधै अमृताको घरतर्फ लाग्यो । अमृता मेरी अघोषित श्रीमती, उसका लागि घर र जागिरको व्यवस्था मैले नै गरिदिएको थिएँ । त्यसबापत मलाई भुल्याउने टिओआर उसको । समाचार सुनिछ क्यारे, रुन्चे अनुहारको स्वागत थियो त्यहाँ । राहत होस् भनेरै होला, साँझ मलाई मनपर्ने हाँसको छोइला र चिकन चिल्लीसँगै रुस्लानको व्यवस्था गरी उसले । बैठकमा बसेर एकोहोरो पिइरहेँ । मलाई सिफारिस नगर्ने मन्त्रीको अनुहारले खेद्दै थियो । जब पिएर शयन कोठामा गएँ, विगत १० वर्षदेखि रसिलो लागेको अमृताको शरीर कुनै जुस पसलमा निचोरिएर फालिएको उखुको खोस्टाझैँ लाग्यो । रातभर पिइरहेँ, बान्ता गरिरहेँ । बिहानपख निदाएछु । जाग्दा दिउँसोको ३ बजेको रहेछ । अमृता कार्यालय गइछ । एक दिन छुट्टी लिन नसक्ने कस्ती नकचरी ! मलाई रिस उठ्यो । केही छ कि भनी भान्सातिर लागेँ, खान लायक केही भेटिनँ । विमल, मन्त्री र सचिवको अनुहार आँखाअगाडि घुमिरह्यो । भतभती छाती पोलेर आयो । सासै फेर्न गाह्रो भयो । म घाइते बाघजस्तो भएको थिएँ । भान्सामा भेटेसम्मका सबै समान हुर्याइदिएँ । मन अस्थिर भएर बस्नै मन लगेन । नगरकोटतिर लागेँ ।

मा आनन्द मञ्जु
पानी परिरहेको थियो । त्यसैले होला अनौपचारिक जोडीहरुको भिड थियो त्यहाँ । जोडी नहुनेहरुका लागि रात छिप्पिएसँगै जोडीको जोहो हुन थाल्यो । एउटा मुन्द्रे मेरो छेउमा आएर ताजा माल छ, अलि महँगो पर्छ चाहिन्छ दाइ ? भनी सोध्यो । पूरै पैसा पेश्कीस्वरुप बुझाएर केटी मगाएँ । मलाई यो पोलाई, हारको पीडा, अशान्त मन र अस्थिरताबाट केहीबेरको लागि भए पनि मुक्ति चाहिएको थियो, कुनै पनि मूल्यमा । राति केटी आई कोठामा, मैले तीस हजार बुझाएको केटी, केटी होइन बच्ची रहिछ । मुस्किलले पन्ध्र वर्ष पुगेको त्यो शरीरमा यौवन होइन, दरिद्रता र गरिबी देखेँ । छुने आँट आएन, फर्काइदिएँ । रात बिताउन गरेको जोहोले काम गरेन । उही घाउ दुखिरह्यो । मेरो प्रगतिका खलपात्रहरुलाई कोपरुँ कोपरुँ लागिरहयो । नगरकोट पनि तीतो भयो ।
बिहानै मन भुलाउने आश लिएर सौराहातिर लागेँ । रिसोर्टमा पुगेपछि पनि कतै जान मन लागेन । दिनभरि कोठामा सुतेर समय बिताएँ । सौराहामा साँझ थारु नाच बिछट्टै राम्रो हुन्छ । स्थानीय मदिरा र हाँसको छोइलासहित थारु नाच मजा लिने इच्छा भयो । टेबल बुक गरेर गएँ । मैले बुक गरेको टेबलमा अर्कै ट्यापे बसेको रहेछ । यो टेबल मैले बुक गरेको भन्दै थिएँ, उल्टो झगडा गर्न थाल्यो । यता मेरो पद विमलले पड्काउने, अझ भएन भनेर मैले बुक गरेको टेबल पनि अर्कैले लाने ? झनन्न रिस उठ्यो, बजाइदिएँ । हात हालाहाल भयो । म ५५ वर्षको, ऊ तन्नेरी ! के सक्थेँ मैले ? भकुर्नु भकुर्यो त्यसले । पछि मेनेजर आएर त्यो ट्यापेका लागि अर्को टेबलको व्यवस्था गर्यो । मदिरा र छोइलाको स्वाद लिँदैथिएँ, थारु नाच शुरु भयो । लठ्ठी ठोक्याएको आवाजले पनि पीडा दिन थाल्यो । विमलले मेरो टाउकोमा ट्वाकट्वाक हानेजस्तो भयो । नाच बन्द गर भनेर कराउन लागे । कसैले सुनेन, स्टेजमा गएर लाठो खोस्न लागे । बाउन्सरले कोठामा ल्याएर थुनिदियो सायद । हिजोको झगडाले होला बिहान जाग्दा शरीर पूरै दुखेको थियो । पेट पूरै खोक्रो थियो, खाना नपरेको चार दिन भैसकेछ । जाबो संस्थानको कार्यकारीमा नाम सिफारिस गराउन पनि नसक्ने म केको पूर्व सचिव ? कसरी आफूभन्दा असक्षम र कनिष्ठ विमललाई त्यो ठाउँमा कसरी हेर्ने ? साथीहरुले हरुवा भन्छन् होला मलाई । अब मलाई कसले मान्छे गन्छ र ? अस्मिता लुटीएकी महिलाजस्तो महसुस गरेँ । सबैतिर अन्धकार देखेँ । इज्जत नै नभएपछि के बाँच्नु ? आत्महत्या गर्ने विकल्प खोज्न थालेँ । झुन्डिउँ भने डोरी थिएन । विष लिन कहाँ जानु ? कोठाको बार्दलीबाट हामफाल्ने विचार गरेँ । बाहिर बार्दलीमा निस्केर दाहिने खुट्टा उचालेको मात्र के थिए आमा याद आयो ।
घरको कान्छो छोरा, मेरो विवाहपछि बाआमा देवघाट गएर बस्न मन गर्नुभयो । बा खसेको पनि पाँच वर्ष भयो, वृद्ध आमा देवघाटमै हुनुहुन्छ । थरथराउँदै गरेको शरीर लिएर देवघाटतिर लागेँ । ढोकामा पुगेको मात्र के थिएँ- आउँछस् भनेर तँलाई मनपर्ने खिर र आलुको अचार पकाइदिएकी छु कान्छा, मतिर नहेरी भन्नुभयो आमाले । म आउने कुरा यी बुढीले कसरी थाहा पाइन् जस्तो लाग्यो । भोकले हो कि बुद्बका लागि सुजाताको खिर र मेरो लागि आमाको खिर उस्तै उस्तै ! मम छोइलाभन्दा पहिले मेरो मनपर्ने खाना खिर नै त थियो आखिर !
दिनभरि आमाको काखमा निदाएँ । गहिरो शान्तिको महसुस भयो । मेरी पो आमा ! अरु सबैकी अमरापुरी माता साँझ सत्सङ हुँदोरहेछ । प्रवचन र उल्लासपूर्ण कीर्तन, उन्मुक्त भएर नाच्दै थिए सबै । खै के पाएको खुसीको हो बुझ्न सकिनँ । बडो शान्ति थियो आमाको चार कोठे घरमा । बिहान जाग्दा आमा नित्य कर्म सकेर ध्यानमा बसिसक्नु भएछ । सेवामा रहकी महिला भान्सातिर लागिछन् । म दोभानतिर लागेँ । वरिपरि बालुवा, दुई खोलाको मिलन, धरतीको प्यास मेटाउने कलकल पानी, माथि शालिन आकाश, पारि जंगल अनि स्वाँ… अनवरत आवाज रमाइलो लाग्यो । एकोहोरो हेरेर बसिरहेँ बसिरहेँ । समय रोकिएझैँ भयो । यस्तो शून्यताको अनुभूति मलाई कहिले भएको थिएन । बगरबाहेक सबै कुरा बिर्सें मैले । हरेक दिन घण्टौँ बगरमा बिताउने दैनिकी भयो । दिनमा बगर, साँझ आमाको कीर्तन, बिस्तारै म पनि मुक्त भई नाच्न थालेको थिएँ । यसरी महिना दिन कसरी बिते थाहै भएन । आमाको प्रेम र प्रकृतिको सान्निध्यले घाउलाई भर्दै थियो ।
सधैँझै कीर्तनपछि आमा पलङ्गमा र म भुइँमा पल्टेर भलाकुसारी गर्दै थियौँ ।
आमा बोल्दै जानु भयो- बाबु तिमी आफैँ यहाँ आएका होइनौ, मैले बोलाएकी हुँ । जब तिम्रो मनमा आत्महत्याको विचार आयो, उद्धार गर्न सन्देश पठाएकी हुँ । सुन बाबु, तिमी जे छौ, त्यो नितान्त तिम्रो मात्र आर्जन हो । हिजो अशान्ति पनि तिम्रो आर्जन हो । आजको आनन्द पनि तिम्रै आर्जन हो । तिम्रो पीडाको कारण मन्त्री, सचिव, विमल, सुधा वा अमृता कोही होइनन् । स्वयं तिम्रो कर्म हो । आज त ठूलो रुखको रुपमा प्रकट भएको मात्र हो । तिम्रो पीडाको बिउ वर्षौंअगाडि तिमीले आफ्नै कर्मद्वारा रोपेका हौ । पढाइ सकिनेबित्तिकै जागिर पाएपछि खुसी हुँला भनी खरिदारको दौड । खरिदारमा नाम निस्क्यो, नासु भएपछि रमाउँला भनी नासुको दौड, अधिकृतको दौड, उपसचिवको दौड यस्तैयस्तै । खरिदार, नासु, अधिकृत, सचिवको बीचमा तिमी हरायौ । हराएको व्यक्तिले जीवन बच्दैन बाबु । प्रत्येक उपलब्धिले तिमीलाई ज्ञानी र परिपक्व होइन, अहङ्कारी बनाए । म विशेष हुँ भन्ने अहङ्कार । तिम्रा आसेपासेले पनि स्वार्थ पूरा गर्न ज्यूहजूर गरेर तिम्रो अहङ्कारलाई मलजल गरे । अहङ्कार ठूलो घाउ हो बाबु, सुकिलो घाउ । यो त्यस्तो घाउ हो, जुन बाहिरबाट त देखिदैन तर सूक्ष्म रुपमा सधैँ दुखिरहन्छ र दुःखी व्यक्तिले वरिपरिका सबैलाई दुःखी बनाउँछ । त्यसैले तिमीबाट न सुधा खुसी छ, न कार्यालयका कर्मचारी खुसी थिए । तिम्रो अहङ्कारले मैले भनेको हुनुपर्छ भन्छ । यो संसार तिमीले भनेअनुसार चल्दैन किनकि अर्को पनि अहङ्कारी हुन्छ नि ! आज कार्यकारी, भोलि संसद्, पर्सि मन्त्री अनि प्रधानमन्त्री यस्तै यस्तै । प्रधानमन्त्रीलाई पनि कहाँ सन्तोष छ र ? उसलाई पनि सधैँ पदमा रहिरहनु परेको छ । तिमी हिँडेको वासनाको यात्रा सकिँदैन बाबु । जीवन सकिन्छ । यस मायावी संसारमा आफैँलाई गुमाएर पाउन योग्य केही पनि छैन । त्यसैले कुनै चिज तिमीबाट छुट्टिदैछ भने हाँसेर बिदाइ देऊ, आनन्द मिल्नेछ । प्रतिकार गरी बलजफ्ती राख्न खोज्यो भने पीडा हुन्छ । पाएको चिजलाई भोग गर । सहज बन । यसको मतलब यो होइन कि प्रयास नगर तर त्यो मिथ्या हो जानेर गर । एउटा कुरा बुझ बाबु, यस संसारमा जे सुरु हुन्छ, त्यसको अन्त्य छ । अनन्त तिमी हौ अनि तिमीभित्र हराएको शान्ति ।
आमाको कुराले चुसुक्क घोच्यो मलाई । हुन पनि हो ३० वर्षअगाडि खरिदारबाट सुरु भएको जागिर आज सचिवसम्मले पुगेन । जीवनभर दौडिरहेँ, के पाएँ थाहा छैन । टाउको माथिको छत, खाने भात र लाउने लुगाको लागि यत्रो दौड पक्कै आवश्यक थिएन । आफैँलाई मारेर आखिर सबैलाई दुःखी नै गराएको रहेछु मैले । यस दौडको पराकष्टासङ्ग सौराहामा साक्षात्कार भएकै हो । त्यति सारो मन परेर बिहे गरेको श्रीमतीको अनुहार नहेरेको वर्षौं भएछ । अमृताले पनि समाजले भन्ने गरेको दोस्रो आइमाईको बिल्ला भिरेर पनि मलाई प्रेम गरेकै थिई । यी दुई महिलाको समर्पणलाई कहिले बुझिनँ मैले । मेरो शक्तिको अगाडि निरीह कर्मचारीहरुलाई बिरालोले मुसा खेलाएझैँ खेलाएर पीडा दिएकै हो । तलकालाई पिसिरहेँ, माथिकासँग मेरो टक्कर परिरह्यो । कहिले नै खुसी थिएँ र म आखिर ? प्रत्येक यत्नले मलाई खुसीको खोलभित्र पीडा नै दिएका रहेछन् । कतिसम्मको अन्धो रहेछु म ! आखिरी पैसा, पद, प्रतिष्ठा मान्छेका लागि हो । मान्छे पैसा, पद, प्रतिष्ठाका लागि होइन । यति सरल सत्य पनि बुझ्न कति गाह्रो भयो । अब आफैँसँग सङ्कल्प गर्छु, जति दिन बाँकी छन्, शान्तिपूर्ण आनन्दित जीवन बाँच्ने छु । आफूलाई गुमाएर कुनै पनि प्राप्तिको पछि लाग्ने छैन । यो शान्ति र आनन्दलाई कहिले ओइलाउन दिने छैन ।
‘सङ्कल्प नबिर्सी है कान्छा !’ मेरो मनमनैको संकल्प सकिन पाएको थिएन मुसुक्क हाँस्दै आमाले थप्नुभयो ।
ओशो मैत्री सङ्घ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

