धेरै दिनदेखि जान मन लागेको थियो । किन किन मनमा झझल्को आइरहेको थियो त्यो घरको । साह्रै दुःखले बनाएको थिएँ, त्यो घर । गरिबी र अभावका सबै रातहरू त्यहीँ बिताएको थिएँ । त्यो जमिन जोड्दाको समस्या त झन् कहालीलाग्दो छ । केही त थिएन पैतृक सम्पत्ति भन्नु । दूबो उभिएको हुँ भन्दा पनि हुन्छ ।
आमाका आँखामा आँसु त हामीले देखेनौँ भने पनि हुन्छ तर ती प्रायः सधैँ उदास, थकित र त्रस्त हुन्थे । हुर्किएको छोरो मै भएकाले होला जेजति सरसल्लाह हुन्थे, आमाले मसँग नै गर्नु हुन्थ्यो ।
उनलाई बिहे गरेर ल्याउँदा घरको दुःख पटक्कै घटेको थिएन । गरिबीको खाडल झन् गहिरिएको थियो । एउटी सानी, कलिली १८ वर्षीया केटीलाई बेहुली बनाएर भित्र्याएका थियौँ हामीले । २४ वर्षे म, मनमनै बेहुली पाएर रमाएको थिएँ ।
साह्रै कम बोल्ने, गम्भीर स्वभावकी, काम गररिहने अनौठो बानी रहेछ तिनको । हाम्रोभन्दा राम्रो आर्थिक अवस्थाको परिवारबाट आएकी थिइन् उनी । तर, हाम्रामा आइपुगेपछि एउटा गरिबीको पुरानो र गहिरो इनारमा खसेकी थिइन् । जहिले पनि भरेको छाककै समस्यामा थियौँ हामी । भान्सामा पसेपछि ती सधैँ अलमलिएको देख्थेँ म । उनले मुखले केही नभने पनि यी सबै कुराको अनुभव गररिहन्थेँ म । उनले न हाम्रो गरिबीको अपमान गरिन्, न माइतीको सम्पन्नताको स्मरण ।
कहिलेकाहीँ तिनलाई मैले एकोहोरो हेरिरहेको देखेर लजाउँदै तिनी सोध्थिन्, “के हेरेको होला नि बित्थामा !”
म मुसुक्क हाँसिदिन्थेँ, अर्कै हाँसो । समय अनुसार केटाकेटीहरू जन्मदै गए । उनी झन् परपिक्व र धरती हुँदै गइन् । आमाको वृद्धतासँगै घरका जिम्मेवारीहरू उनका काँधमा सर्दै गए ।
एकदिन उनी नभएका बेला आमाले आफ्नो बिरामी खाटको छेउमा मलाई राखेर भन्नुभो, “हेर् नानी ! घरमा एउटी लक्ष्मी आएकी छ । त्यो आएपछि यो घर नै उज्यालो भएको छ । दिनदिनै दुःखहरू घट्दै गएका छन् । सह बढेको छ । अनिकाल टरेको छ । मेरो ठाउँ बुहारीले लिएकी छ । त्यो तेरी आमा पनि हो । त्यसले तँलाई मैलेझैँ स्याहारेकी छ । त्यसलाई चिन्नू । कहिल्यै नरुवाउनू ।”
आमा त्यत्तिकै भावुक हुनुभएको थियो । भन्नुभो, “अब म कति नै बाँचौँली र ! बाँचे पनि दिनदिनै बूढी हुँदै गएकी छु । अबको संसार तिमीहरूको हो ।”
नभन्दै केही समयपछि आमा झन्झन् सिकिस्त हुँदै जानुभयो । र, एकदिन चराचर नियमलाई पछ्याउँदै आमाले यो जीवनलाई विर्सजन गर्नुभयो ।
साह्रै रोइन् तिनी आमाको गोडामा टाउको राखेर तर मुखबाट पटक्कै आवाज निस्किएको थिएन ।
आज जब घरको सम्झना आउँछ, एकैचोटि सारा विगत मान्द्रोझैँ ओच्छ्याएर आउँछ आँखाअघि, त्यसको मेसो र बुनोट एकएक गरी देखिन थाल्छन् ।
जतिपल्ट घर जाउँ भन्यो तर के भएर हो खुट्टै लाग्दैनन् । जीउ नै भारी हुन्छ । अनुहार नै अँध्यारो बन्छ । आँखाभर चलचित्र नै जिन्दगी ओच्छ्याइए पनि शरीरले त्यसलाई अँगाल्न सकिरहेको छैन । अपराधबोधको यो कहालीलाग्दो भीरमा उभिएर आज पश्चातापमा बगिरहेका यी आँसुको के अर्थ छ र – तैपनि, मनले कहिल्यै बिसाउन नपाएको यो भारी आफैँलाई छातीमाथिको ढुङ्गो भएको छ ।
धेरै प्रयत्न गरेर, कष्ट गरेर, आफूलाई मानसिक रूपमा तयार गरेर, थुप्रै स्पष्टीकरणहरू लिएर, निकै संवेदनशील कथाहरू बनाएर एक वर्षअघि म घर पुगेको थिएँ ।
लथालिङ्ग भएको थियो सबैथोक । फुङ्ग उडेको थियो परिवेश । घर वरपर सधैँ फुलिरहने फूलबारी मासिएको थियो, गमलाहरू रित्ता र चर्केका, फुटेका थिए । गोबरग्यास प्लान्टमा गोबर नहालेको कहिलेदेखि हो, सुक्खा थियो । परपरसम्म बारी बाँझै थियो । सुपारीका बोटहरू टुप्पिएछन्, सिसौका जतासुकै छरएिका हाँगाले बारी मात्र सेपिलो भएको थियो । बरन्डाको खाँबोबाट धमिराले माथि चढ्ने बाटो बनाएको रहेछ । भान्साघरको झ्यालको एउटा पल्ला मकाएर कब्जा खुस्की झुन्डिरहेको थियो । आँगनमा जतासुकै झारैझार, हिँड्ने गोरेटो मात्र थियो आँगन ।
घर सुनसान थियो, कहीँ कुनै चालचुल थिएन । सबै ढोकाहरू बन्द थिए । वरपर कोही मानिसहरू पनि देखिएनन् । भित्र कोही छन् कि भनी ‘खाक्खुक्’ गरेँ । एकदम नै असजिलो लाग्यो । कसैले देखिहाल्छन् कि भनेझैँ पनि भयो मन । स्वाट्टै घरभित्र पसिहाल्न पाए हुनेझैँ हतार पनि लाग्यो । हिँड्ने बेलामा सोचेको थिएँ, “कसैलाई भेट्दिनँ गाउँकाहरू । सीधै घर पुग्छु, भित्रै बस्छु, श्रीमतीको अनुहार हेर्छु, बोलिछन् भने दुई-चारवटा मनका पीर बिसाउँछु, बोलिनन् भने पनि एकपल्ट हेरेर साँझ-साँझ पारेर फर्किन्छु । राति बिर्तामोडतिरै बास बसेर बिहान ४ बजेको बसबाट फर्किहाल्छु ।”
भित्र कोही हुनुपर्छ भन्ने लाग्यो । बिस्तारै थरथराउँदा पाइलाले सिँढी उक्लेँ । बरन्डामा पुगेर एकपल्ट परपरसम्म हेरेँ । आँखै उज्यालाजस्ता भए । एकाएक मन रमाएजस्तो भयो । बिस्तारै ढोका ढक्ढकाएर बोलेँ, “को छ भित्र ? दिउँसै ढोका किन लगाएको ?”
एकछिनसम्म कुनै चालचुल आएन । फेर एकपल्ट अलिक जोडले ढक्ढकाएँ । भित्र मान्छे भएझैँ चालचुल भयो । ढक्क मन फुल्यो । डरजस्तो, धकजस्तो, अपराध पक्राउ परेजस्तो, कस्तो कस्तो भयो । के गर्नु, के गर्नुजस्तो भयो । ढोकाबाट अलिक पर सरेर रेलिङमा अडेस लागेँ । शरीर भित्रभित्रै कम्पित भइरहेको थियो ।
विस्तारै भित्रबाट कसैले चुकुल खोल्यो । रजनीकै थिए ती चुकुल खोल्ने औँलाहरू । एकापट्टिको ढोकाको पल्ला खुल्यो पहिला र आधा टाउको बाहिर निस्क्यो । झल्याक्क देखेँ तिनलाई । आँखै अँध्यारा भए मेरा ।
केही बोलिनन् तिनी । विस्तारै बाहिर आइन्, फेर भित्र गइन् र एउटा चकटी ल्याएर ओछ्याइन् खाटमा । सिँढी ओर्लिएर तल झरिन् । ट्युबेलमा गएर हातमुख धोइन् । भान्साको ढोका खोलेर भित्र पसिन् । एकछिनपछि एउटा लोटा र गिलास लिएर आइन् । मेरो अगाडि उभिएर एक गिलास चिसो पानी दिइन् । मैले थरथराउँदा हातले गिलास समातेँ र तनतनी पिएँ । छेउमा उभिएर अर्कोपल्ट थप्न खोजिन्, मैले ‘भो’को इसारा गरेँ ।
तिनी गिलास र लोटा लिएर फेरि तल झरिन् । भान्सामा गइन् । बाहिर आइन्, केही झिक्रा र दाउरा लिएर भित्र पसिन् ।
निकैबेरपछि तिनले थालमा ताछिएका उसिनेका आलु र दूध नहालेको कालो चिया लिएर आइन् ।
म यी सबै दृश्य चुपचाप हेररिहेको थिएँ । कतिबेला तिनी मेरो छेउमा बस्लिन्, रोलिन्, दुःखका कुरा गर्लिन्, रिसाउलिन् भनेर प्रतीक्षा गररिहेँ तर उनको अनुहारमा त्यस्ता कुनै लक्षणहरू थिएनन् । तिनी नरिसाएकी जस्ती, न रोलिन् जस्ती । उनको अनुहारको गम्भीरतामा कुनै परिवर्तन आएको थिएन ।
त्यत्तिकै चुपचाप बसिरहेँ म । उनको अनुहारमा सीधा आँखाले हेर्न सकिनँ ।
जति मौनता बढ्यो, उति असजिलो थपिँदै गयो ।
भित्र कता मन हुरुक्क भएझैँ लाग्यो । पुलुक्क हेरेँ तिनको अनुहार । उनी पर कतैतिर हेरेर टोलाइरहेकी थिइन् । दुब्लाइछन्, आँखाका वरिपरि कालो भएको, दुवै आँखाका छेउछेउतिरबाट चाउरी सुरु भएको । निधारमा पनि रेखा देखिन थालेछन् । कपाल निकै बाक्लै फुलेछन् । हातका औँलाहरू फुटेका थिए ।
मेरो जीवनको त्यो स्वणिर्म युवाकालमा, मेरो घरको त्यस्तो विकराल गरिबीमा साँझको बत्तीजस्तो झलल बल्दै प्रवेश गरेकी तिनी । तिनले मेरो मन र शरीर सबैलाई गोडेर, सिँगारेर, सजाएर कति सुन्दर बनाएकी थिइन् । खुसी र हर्षले भरिँदै थियो घर । आमाका जस्ता मायालु हातले सधैँ स्याहार्थिन् उनले मलाई । तिनका काखमा टाउको राखेर कत्ति निदाएको छु म । कुनै नारी हठ थिएन उनमा, असम्भव मागहरू थिएनन् । गरगहना, लुगाफाटा, यात्राभ्रमण, केहीमा दबाब थिएन उनको । न छरछिमेकसँग झगडा, न छोराछोरीसँग झर्को, फर्को, न पाहुनापासासँग झिन्झ्याट । कस्तो एउटा पनि अवगुण नभएको व्यक्तित्व तिनको ?
आज,
अनाथ, टुहुरी, विधवाजस्ती असहाय भएर यत्रो घर-व्यवहारका बीच एक्लै धुमधुम्ती बसेकी छन् ।
उनलाई आफूतिर आकर्षित गर्न एकपल्ट घाँटी साफ गरेँ र बल गर्दै बोलेँ, “केटाहरूले फोन गर्दैछन् ? कति भयो गएका ?
पुलुक्क हेरिन् ।
आँखा काला र ठूला भएका थिए । नाकका पोरा फुलेका थिए । अनुहार अकस्मात् बिग्रिएको थियो । घोप्टिएर भुइँतिर हेररिहिन् निकैबेर । मौनता धेरै नलम्बियोस् भनेर थपेँ, “मसँग पनि धेरै पैसा थिएन । खोजखाज गरेर एक लाख रुपियाँ पुर्याइदिएको थिएँ । राम्ररी जानू, आमाको ख्याल गर्नू भनेको थिएँ ।”
झन्झन् झररिहेका थिए, तिनका आँखाबाट आँसु । दह्रो गरी रेलिङ् समातेर उभिएकी थिइन् ।
“तीन वर्षपछि त आइहाल्छन् केटाहरू । कमाएर आऊलान्, व्यवहार हेर्लान् । ठूलोचाहिँको बिहे भएपछि बुहारी साथी भइहाल्छे ।”
म के-के, के-के, जे पायो त्यही बोलिरहेको थिएँ एकोहोरो । बल गरेर आफूलाई नियन्त्रण गरेको थिएँ । तर, तिनी बोलेकी थिइनन्, एकोहोरो हेररिहेकी थिइन् ।
जीवनमा ठूलै गल्ती गरेको छु मैले । यसको कुनै प्रायश्चित हुन सक्दैन । यो गल्तीलाई सुधार्ने ठाउँ पनि छैन । अब खालि यो गल्तीबाट प्राप्त मन नपर्दो परिस्थिति भोग्ने बाध्यता मात्र छ ।
निकैबेर फेरि मौनता छायो । मेरा बोल्ने कुराहरू सकिएका थिए । एकोहोरो बिनाप्रसङ्ग, बोल्ने कुराहरू पनि सकिएझैँ लाग्यो । लामो मौनतापछि एकपल्ट तिनले खोकिन् । नराम्रो सुनियो त्यो खोकी । बिरामी रहिछन् भन्ने लाग्यो । असह्य भयो मन । फेरि बोलेँ, “रजनी ! किन चित्त दुखाउँछ्यौ ? मैले आफ्नो भूल स्वीकार गरिसकेँ । मैले माफी पनि मागिसकेँ । म आफ्नो कर्तव्यबाट विमुख भएको छुइनँ । जहाँ बसे पनि तिमीहरूको खोजखबर गरिरहेकै छु । यथासक्य आर्थिक सरसहयोग पनि गररिहेको छु । मैले नगर्ने काम गरेको हुँ तर अब त्यसबाट उम्किने पनि त उपाय छैन । त्यस्तै भइगयो, अर्काकी कलिली छोरी जिम्मा लिइहालियो । उता पनि साना केटाकेटीहरू छन् । तिनको पनि स्याहार गर्नैपर्यो । म यो भासमा आफैँ पसेको छु । यस जीवनमा उम्किन पनि सक्दिनँ । मैले यी सबैकुरा बाँड्ने यस संसारमा तिमीबाहेक कोही छैन । किन किन अचेल तिमीलाई म आमाजस्तो ठान्छु रजनी ।”
म ज्यादै भावुक भइसकेको थिएँ । अब आँसु बगाउने पालो मेरो थियो । कहिले कहिलेदेखि मनमा टिलपिल भएको पीडा आज फुटेर बगिरहेको थियो । सानो केटाकेटीजस्तै भएँ म । केही पनि बोल्न सकिनँ ।
तिनी बिस्तारै मेरो छेउमा आइन् । थरथराउँदा हातले मेरो टाउको सुमसुम्याइन् । जुन स्पर्शले आगो लागेको शरीरमा पानी खन्याएजस्तो शीतल हुँदै गयो । सोडाझैँ उम्लिएर आएको मन विस्तारै शान्त हुँदै गयो । विस्तारै टाउको उठाएर हेरेँ । तिनको अनुहार शान्त र सामान्य भइसकेको थियो । बोलिन्, “आफूलाई ख्याल गर्नू, आफ्नो स्वास्थ्यलाई ख्याल गर्नू । त्यो कलिली केटी र तिनका बालकको माया गर्नू । मैले आफूलाई स्वीकार गरिसकेकी छु । जीवनका सबै रङहरू देखिसकेकी छु । मेरो कुनै गुनासो छैन । अब यस्तो भूराजस्तो रुँदै नहिँड्नू । आफ्ना कर्महरूको परिणामलाई स्वीकार्नू । घरीघरी यहाँ आइरहनु पर्दैन । पोइल गएको लोग्ने बारम्बार आइरहनु मेरो अपमान हुन्छ । गाउँ-समाजले राम्रो मान्दैन । मेरो बदनाम नगरिदिनू । यस जीवनको केही काल हामीले सँगै बिताएका थियौँ तर त्यो सबै अब उमेरजस्तै पुरानो भइसक्यो । यस उमेरमा मलाई सम्मानित नारी भएर जिउने इच्छा छ, परपुरुषसँगको कुनै सम्बन्ध मलाई स्वीकार छैन । छोराछोरीहरूसँगको हाम्रो सम्बन्ध समान भए पनि अब तपाईंसँग मेरो कुनै सम्बन्ध छैन । पोइल गएको लोग्नेसँग घरीघरी भेट्नु राम्रो देखिँदैन ।”
उनको बोलीमा अनौठो शक्ति थियो । तिनले त्यति शक्तिशाली कुरा भन्लिन् भन्ने सोचेको थिइनँ । तिनी रोलिन्, बिलौना गर्लिन्, रिसाउलिन्, यस उमेरमा एक्लै बस्नु परेकामा निराशा व्यक्त गर्लिन् भन्ने अनेक सोचेको थिएँ । तर, तिनी त पहरोजस्तो दह्रो छाती भएकी, विदुषीजस्तो संवाद बोल्ने भएकी रहिछन् ।
मन उदास भयो ।
टाउकामाथि परेका उनका हातहरू गह्रौँ भए । यहाँसम्म हिँडेर आएको बाटो पनि लामो भयो । आफ्नै पत्नीका आँखामा आफू परपुरुष भएको बुझेपछि पहिलोपल्ट आफू भासिँदै भासिँदै सकिँदै गएजस्तो हुँदै गयो ।
साँझ पर्न लागेको थियो । बिर्तामोड पुग्न ढिलो होलाजस्तो लाग्यो । जुरुक्क उठेँ, बिस्तारै सिँढी ओर्लें । आँगनमा उभिएर एकपल्ट माथि हेरेँ । बरन्डामा उभिएर एकोहोरो हेररिहेकी थिइन्, आँसु बगिरहेका थिए । आँसु पुछेकी थिइनन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।