साँझ परेपछि मलाई नरमाइलो लाग्ने गथ्र्यो । साँझको अँध्यारोसँगै डर र त्रास उक्लँदै गथ्र्यो । बुवा घरभित्र पस्नु हुन्थ्यो । बेलाबेलामा नानीआमालाई असह्य पीडा हुने गरेर शूल हुने गथ्र्यो ।
नानीआमा बुवाको अर्की आमा हुनुहुन्थ्यो । उहाँहरु एकै उमेरको हुनुहुन्थ्यो र असाध्यै मिल्नुहुन्थ्यो, म र मेरी साथी कान्छीजस्तै । म उहाँलाई ‘नानीआमा’ भन्ने गर्थें । उहाँ मलाई ‘नातीबाबु’ भनेर माया गर्नुहुन्थ्यो । एक दिन मैले एक्लै विचार गरेँ, ‘हजुरबुबा पनि बाँच्नु भएको भए अझ मलाई कति माया गर्नुहुन्थ्यो होला । बुबाले मलाई त्यत्ति धेरै माया गर्नुहुन्न । नानी आमासँग जति पनि मसँग बोल्नुहुन्न । अगाडि प¥यो कि, कि त बाख्रो चराउन जा भन्नुहुन्छ, कि त पढ्न जा भन्नुहुन्छ, कि त खेल्न जा भन्नुहुन्छ । मैले गरेको कुरा पनि सुन्नुहुन्न । मसँग कुरा गर्न पनि रुचाउनुहुन्न ।
एक दिन बुवा खेतमा जानु भएन । मलाई लिएर गाउँको नजिकैको स्कुलमा जानुभयो र मलाई भर्ना गराउनुभयो । आफ्नो हातमा किताब र खुट्टामा चप्पल हेरेर म खुसी भएँ । मेरो मनभित्र गौरवको चुड्की बज्यो, ‘म पनि स्कुल जाने भएँ, म पनि जुत्ता लगाउने भएँ ।’ त्यो साल मेरो परीक्ष आइरहेकाो थियो । पल्लो कोठामा बसेर दुई क्लासको किताब पढिरहेको थिएँ । त्यतिबेला झमक्कै साँझ परिसकेको थियो । त्यसैले मैले टुकीको उज्यालोमा पढ्न शुरु गरेँ । अकस्मात् अर्को कोठामा नानीआमा असपटाएर हलुकासँग रोएको आवाज मैले यतैबाट सुनेँ । मेरो शरीरभित्र पेटबाट माथि छातिसम्म पुग्ने गरेर त्रासको कालो मेघ, सर्पसरी कुद्यो, नानीआमालाई शूल पो भयो कि क्या हो ! मेरी आमा भान्सामा भात पकाइरहनु भएको थियो ।
हामी पहाडिया कट्टर बाहुनहरुको भात पकाएको भान्छा छोड्नु हुँदैनथ्यो । भान्छा छोड्यो भने छोइन्थ्यो र पकाएको भात विवाह गरेका र जनै लगाउनेहरु कसैले पनि खान हुँदैनथ्यो । यो कुरा मैले एक दिन भइँचालो जाँदा आमाले भान्छा छोडेर तल आउनु भएको बेला थाहा पाएको थिएँ । भुइँचालो जाँदा र नानीआमालाई शूल हुँदा, यी दुई घटना हुँदा मलाई औधी डर लाग्थ्यो । हातखुट्टा काँप्थ्यो । नानीआमाको रोएको मसिनो आवाज सुन्दा मलाई फेरि डर लाग्यो । जोडसँग ढुकढुक गरेको मुटु लिएर मैले बिस्तारै नानीआमाको ढोकाको सँघारबाट भित्र चिहाएँ । भित्र कोठामा बुवा हातमा तेल लिएर नानीआमाको पेटमा घसिरहनु भएको थियो । अगाडि ठूलो मकलमा आगो पनि थियो । आगो बलेको हो कि निभेको हो, त्यत्ति थाहा हुन्थेन । मलाई त्यो आगो फुकिदिएर सघाउन मन लाग्यो र बाहिरैबाट मुन्टो मात्र ढोकाभित्र छिराएर भनेँ, ‘बुबा, म आगो फुकिदिऊँ ? नानीआमालाई धेरै पेट दुखिराखेको छ ? कहिले बिसेक हुन्छ होला ?’
बुवाले मलाई झपार्नु भयो, ‘जा, जा, बढी कुरा नगर । पल्लो कोठामा पढ्न गइहाल् ।’
त्यति भनी बुवाले नानीआमाको कोठाको ढोका भित्रबाट बिस्तारै आवाज नआउने गरेर लगाउनुभयो र आग्लो पनि मार्नुभयो । म जिल्ल परेर बाहिर उभिइरहेँ । मेरो मनमा जोडले मादल बज्न लाग्यो किनकि बुवाको अनुहार निक्कै गम्भीर थियो । नानीआमालाई शूल भइराखेको थियो ।
साँझपख घरमा बुवा आउनु भएपछि मेरो मनमा आफसेआफ धैर्य र सान्त्वनाको सानो टुकी बल्ने गथ्र्यो । ‘तै नानीआमालाई बुवा राति घरमै भएको बेला पेट दुख्छ, नत्र कसले हेथ्र्यो र ? म सानो छु । आमाले भान्छा छोड्नु हुँदैन ।’
म ढोकाको सँघारनजिकै बसेर नानीआमाको वेदनाको बोली सुन्ने प्रयत्न गर्दैथिएँ । नानीआमा रोएको आवाज अलि कम भएको मैले सुनेँ । मलाई खुसी लाग्यो, बिसेक हुँदैछ क्यारे ! केही दिनअगाडि पनि यसैबेला यस्तै गरेर नानीआमालाई शूल भएको थियो । बुवाले तेल घसिदिन लाग्दा मैले नानीआमाको पेटभन्दा मुनिको भाग पनि अलिकति देखेँ । टुप्लुक्क पुगेको म तुरुन्तै फर्कें र दौडेँ । मलाई लाज लाग्यो । त्यहाँबाट भाग्दा मैले दुवै हातले आफ्नो आँखा छोपिदिएँ । त्यसको भोलिपल्ट नानीआमाले मलाई पैसा चोरेको दोष लगाउनुभयो । उत्तिखेरै मैले धारेहातले सराप्दै भनिदिएँ, ‘पेट दुख्ने शूल भइहालेस्, बिसेकै नहोस् ।’
निहुँ पारेर उहाँले मलाई आँगनमा सुकाइराखेको दाउराको चिर्पट उठाएर लखेट्नुभयो र त्यसले हिर्काउनुभयो । मेरो निधारमा नीलो डाम बस्यो । आमाले डाम बसेको ठाउँमाा तेल दलिदिनुभयो । बुवाले आमालाई पो गाली गर्नुभयो । आमा बेस्सरी रुनुभयो । यसरी आमा, बुबाले नानीआमालाई ल्याएको बुट्टे धोती आमालाई नदिँदा पनि, रुनु भएको थियो । त्यसै दिन आफ्नो घुँडा फाटेको सुरुवालमा हत्केला हटाएर आमाको उदासीन चिउँडो हेरेर मैले भनेको थिएँ, ‘भोलिपर्सि म ठूलो भएपछि तपाईंलाई त्योभन्दा पनि राम्रो बुट्टे फरिया किनेर ल्याइदिन्छु है !’
दोस्रो दिन नानीआमाले दिनुभएको दुइटा पुष्टकारी मलाई असाध्यै मीठो लाग्यो । आमासँग त पैसै हुँदैनथ्यो, पुष्टकारी कहाँ खान पाउनु ? नानीआमाको त्यस दिन मलाई अरु बढी माया लागेर आयो । यो सबै घटना मेरो आँखाअगाडि आइरह्यो । दायाँ खुट्टा ढोकाको सँघारमा राखेर घुँडा दाहिने हातले टेकेर मैले भयाएजति कान काठको चिराभित्र पसाउँदै नानीआमाको शूलको वेदनाको तीव्रता सुन्ने प्रयत्न गरेँ । मलाई एउटा डर थियो, नानीआमाको शूल बढ्ने हो कि र अर्को चाहना र उत्सुकता थियो, नानीआमाको शूल बिसेक भइदिने हो कि !
ढोकाकै चिराबाट मैले कोठाभित्रबाट आएको किसिम–किसिमको स्वर सुनेँ । ती स्वरहरू अघिका भन्दा फरक थिए । नानीआमाको ओछ्यान, भित्र ढोकाको नजिकै थियो तर मैले ढोकाको चिराबाट भित्र केही देखिनँ । केहीबेर दुई मान्छेको केवल लामो दुइटा श्वासको आवाज मात्र सुनेँ । बुवाले नानीआमालाई भुँडीमा तेल धेरै दलेर थाक्नु भएछ कि क्या हो, त्यसैले स्वाँ स्वाँ गर्न लाग्नुभयो । नानीआमा निदाउनु पो भएछ कि क्या हो । एकैछिन कोठाभित्रको हलचल शान्त भएको मैले सुनेँ । मैले अर्को कान फेरेर सुनेँ । त्यसपछि बुवा र नानीआमा खस्याखुसुक्क गरेर कुरा गर्न लाग्नुभयो । त्यो मैले केही बुझिनँ, केवल आवाज मात्र सुनेँ । निकै कोसिस गर्दा पनि कुरा थाहा पाउन सकिनँ । माथि बुइँगलबाट आमाको आवाजले पो म झसङ्ग भएँ, ‘बाबु छोरा, भान्छा तयार भयो । बुबा र नानीआमालाई भनिदे । तँ पनि खान आइज ।’
मैले ढोका ढक्ढक्याएर बोलाएँ, ‘बुवा, बुवा ! ढोका खोल्नुस् । भात पाक्यो रे !’
एक्कै छिनपछि बुवाले आग्लो खोल्नुभयो । त्यसपछि ढोका पनि खोल्नुभयो । म भित्र पसेर नानीआमाको पेट दुखाइलाई निरीक्षण गर्न लागेँ । नानीआमा चाहिँ अस्ति बुवाले ल्याइदिनुभएको पाहेँलो बुट्टे धोती लाएर पछाडि कोल्टे फर्किएर सुत्नु भएको थियो । मैले आशा र हौसलाले बुवालाई हेरेर सोधेँ, ‘बुवा, नानीआमाको शूल बिसेक भयो ?’
ढोकातिर लाग्नुभएको बुवाले भुइँमा हेरेर निहुरेर जवाफ दिनुभयो, ‘भयो ।’
मैले फेरि सोधेँ, ‘नानीआमा निदाउनुभएको हो ?’
बुवाले त्यसैगरी जवाफ दिनुभयो, ‘हो ।’
मैले तेस्रो प्रश्नले बुवाको शान्त र गम्भीर चेहरालाई फेरि कोतरेँ, ‘बुवा, बुवा, सधैँभरिका लागि बिसेक भएको हो कि आज मात्रै ?’
मलाई नानीआमाको औधी माया लाग्थ्यो, उहाँको शूलको अन्त्य भए, साँझमा लाग्ने मेरो डरको पनि अन्त्य हुन्थ्यो– सधैँभरिका लागि ।
नानीआमाको शूल सधैँभरिका लागि बिसेक भइदियोस् भन्ने चाहना छातीभित्र सल्बलाइरहेको थियो । मेरा आशा, चाहना र उत्सुकतालाई साँझको नरमाइलो अँध्यारोले पोतिदिँदा उहाँले छोटकरीमा सानो स्वरले जवाफ दिनुभयो, ‘आजका लागि मात्र ।’
मैले बुवालाई जिद्दीपूर्वक आग्रह गर्दै भनेँ, ‘सधैँभरिका लागि बिसेक हुने औषधि खुवाइदिनोस्न बुवा, नानीआमालाई ! मेरो बिन्ती छ भनेको । त्यो महमा मिसाएर खाने वैद्यको औषधि खान दिनोस्न ।’
बुवाबाट मेरो प्रश्नको जवाफ पाउँदै नपाएपछि मैले आफैँलाई सोधेँ, ‘के नानीआमाको शूल कहिले पनि बिसेक हुँदैन त ? के बुवाले सधैँभरिका लागि बिसेक हुने औषधि खुवाइदिन सक्नुहुन्न त ?’
अर्को दिन फेरि साँझ प¥यो । मलाई नरमाइलो लाग्यो । साँझ मलाई नरमाइलो र उदासलाग्दो लाग्थ्यो । साँझको कालो अँध्यारोसँगै मेरो मनमा उदासीनता, डर र त्रास माथिमाथि उक्ल्यो । बुवा घरभित्र पस्नुभयो । भर्याङ पनि उक्लनुभयो । झटपट मैले किताब लिएर बसेँ । भान्छा तयार नभएसम्म र आँखामा निद्रा नआएसम्म डर र आफूसँग भएको सबै सचेतनाले नानीआमाको शूललाई पर्खिरहेँ ।
======
(लोकप्रिय अनलाइन पत्रिका साहित्यपोस्टले प्रत्येक साता नेपाली भाषासाहित्यको एउटा उत्कृष्ट यौनकथा नेपाली पाठकमाझ पुर्याउने प्रस्तावअनुसार यो स्तम्भ सुरु गरिएको छ । यतिखेर म मेरो सम्पादनमा वाणी प्रकाशन, विराटनगरबाट २०५४ सालमा प्रकाशित प्रतिनिधि यौनकथाहरूको सङ्कलन नेपाली यौनकथा पुस्तक सम्झिरहेछु । वाणी प्रकाशनको स्थापनासँगै छापिएका कृतिहरूमध्येकै अत्यन्त महत्त्वपूर्ण यो पुस्तक मानिसहरू नामकै कारणले ‘थर्ड ग्रेड’ को पुस्तक हो कि भन्ने भ्रममा पनि पर्ने गर्छन् । त्यसो होइन ।
उक्त कृतिमा नेपाली साहित्यका स्वनामधन्य विशिष्ट स्रष्टादेखि प्रतिष्ठित एवम् चर्चित सर्जकका उत्कृष्ट कथाहरू सङ्गृहीत गरिएका थिए । प्रकाशन हुनसाथ यो पुस्तकलाई पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहको नेपाली साहित्यमा मनोविज्ञानपरकता, विशेष नेपाली (आठौँ पत्र) को सहायक सामग्रीको रूपमा स्वीकृत गरेको थियो । यस्तो सङ्ग्रह निकाल्ने सोच वाणी प्रकाशनका प्रथम अध्यक्ष, वरिष्ठ कथाकार परशु प्रधानको थियाे । सङ्ग्रहका लागि कथा चयनदेखि सम्पादनसम्मको सम्पूर्ण जिम्मेवारी मलाई दिइएको थियो । याे कथा पुनः सुरू भएकाे बेला म आदरणीय वरिष्ठ कथाकार एवम् वाणी प्रकाशनका तत्कालीन अध्यक्ष परशु प्रधानप्रति हार्दिक आभार व्यक्त गर्छु ।
सङ्ग्रह लाेकप्रिय भए पनि नयाँ संस्करण ननिस्किएपछि वाणी प्रकाशनको लिखित स्वीकृति लिएर दोस्रो संस्करण बीएन पुस्तक संसारबाट २०६९ सालमा र तेस्रो संस्करण शिखा बुक्सबाट २०७५ सालमा प्रकाशित भएको छ । साहित्यपाेस्टका अभिभावक तथा मेरा प्रिय भाइ अश्विनी काेइरालाले यी सबै कुरा याद गरेका रहेछन् । उनकाे आग्रहमा सङ्ग्रहमा रहेका यौनकथाहरू अब साहित्यपोस्टमा प्रकाशित हुनेछन् । सङ्ग्रहबाहेक पनि नेपाली साहित्यमा यस्ता दर्जनाै पठनीय याैनकथा छन्, जसलाइ क्रमशः प्रकाशित गर्ने याेजना छ ।
प्रमोद प्रधान
यौनकथा सम्पादक
साहित्यपाेस्ट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।