सार
दामोदर पुडासैनी ‘किशोर’का कवितामा सांस्कृतिक प्रतिरोधको यथेष्ट सङ्केत पाइए पनि उनका कवितामाथि भएका हालसम्मका अध्ययनहरूले त्यस विषयलाई उठान गर्न सकेको देखिँदैन । उनका कवितामाथि सांस्कृतिक दृष्टिकोण राखिए पनि त्यस अध्ययनले उनका कवितामा अभिव्यक्त प्रतिरोधी वैचारिकताको समग्र अवस्थालाई छुन सकेको छैन । उनका कवितामाथि भएका हालसम्मका अध्ययनहरूले उठान नगरेको प्रतिरोध चेतनाको सांस्कृतिक विषयलाई यस अध्ययनमा विविध विषयगत क्षेत्रमा रहेर अवलोकन गरिएको छ । कविले टिपेको वर्तमान नेपाली समाजको चित्र र त्यस चित्रमा प्रकटित राष्ट्रवादी, सांस्कृतिक, पर्यावरणीय तथा मानवतावादी आवाजलाई यहाँ प्रतिरोधी वैचारिकताका पृष्ठभूमिमा नियालिएको छ । सांस्कृतिक चेतनाको सन्दर्भ प्रतिरोधी वैचारिकतासँग जोडिएर प्रकट हुने यथार्थलाई यस अध्ययनमा अवलोकन गरिएको छ । दामोदर पुडासैनीकृत कविताकृति हिमालका आवाजलाई पृष्ठभूमिमा राखी, सचेत स्रष्टाको सिर्जनशील आवाज समाज रूपान्तरणका पक्षमा अग्रसर हुनुपर्ने मान्यता पर्गेल्ने प्रयत्नमा यस अध्ययनलाई अघि सारिएको छ । राष्ट्रवादी आवाज ध्वनित गर्दै अघि बढेका प्रस्तुत सङ्ग्रहका कविताहरू पुडासैनीमा रहेको प्रतिरोधी वैचारिकताको सचेत र सफल आयोजना हुन् भन्ने निचोडमा प्रस्तुत अध्ययन पुगेको छ ।

बीजशब्दः संस्कृति, सांस्कृतिक चेतना, प्रतिरोध चेतना, प्रतिरोधी वैचारिकता, पर्यावरण, पर्यावरणीय प्रतिरोध, मानवतावाद, राष्ट्रवाद, शक्तिसम्बन्ध, प्रभुत्व, परिधीय शक्ति ।

१. विषय प्रवेश

हिमालका आवाज दामोदर पुडासैनी ‘किशोर’ (२०१९) को नवौँ कविताकृति हो । भ्रमणमा रुचिपूर्वक सहभागी भई त्यसलाई साहित्यका पृष्ठहरूमा उतार्ने पुडासैनीले स्थानीय विषयहरूलाई नियात्रा तथा कविता सिर्जनामा उठाउने गरेका छन् । भ्रमणमा भेटिएका विषयहरूलाई कविताको लय दिएर उनले समसामयिक राजनीतिक तथा सांस्कृतिक परिवेशको चित्र खिच्ने गरेका छन् । हिमालका आवाजमा पुडासैनीको यस्तो प्रवृत्ति दोहोरिएको पाइन्छ । हिमाली इलाकामा कार्यका सिलसिलामा रहँदा उनले त्यस समयलाई कविताको विषय बटुल्ने अवसरका रूपमा प्रयोग गरेका छन् । कविताको बोलीमा हिमाललाई राष्ट्रका सन्दर्भमा प्रयोग गरी उनले वर्तमानका तमाम विकृति र विसङ्गतिप्रति गहिरो चिन्ता प्रकट गरी राष्ट्रवादी आवाज उरालेका छन् । प्रकृतिलाई नजिकबाट नियाली शब्दमा दृश्यहरू खिच्ने पुडासैनीमा पर्यावरणप्रतिको चिन्ता र चासो पनि उत्तिकै सबल बनी प्रकट भएको पाइन्छ । विश्व परिवेश, मानवता, प्रकृति, संस्कृति, राष्ट्रवाद जस्ता विषयहरूमाथि उनका कविताहरूको सबल आयोजना देख्न सकिन्छ । हिमालका आवाजहरूभित्र यिनै विषयहरूमाथि विमर्श भएको पाइन्छ । यहाँ, उनको कविताले समातेको प्रतिरोधी वैचारिकताको तहलाई पर्गेल्ने प्रयत्न गरिएको छ ।


२. सांस्कृतिक अध्ययनका सैद्धान्तिक पृष्ठभूमिमा प्रतिरोध चेतना

जीवसँग रहेको चेतनाको तहगत क्षमता शक्तितर्फ रहने भएकाले मानिसको चेतना पनि शक्तिप्राप्तिको प्रयत्नतर्फ प्रयासरत रहन्छ । शक्ति प्राप्त गर्ने चाहनाले जन्माउने सत्ताप्राप्तिको चाहना सत्तामा पुगेपछि सधैँ त्यसै स्थानमा रहिरहने चाहनाद्वारा निर्देशित हुन्छ । सत्ताबाहिरकालाई सत्ताप्राप्तिको चाहना हुन्छ । सत्तामा रहनेलाई सधैँ त्यसै स्थानमा अडिएर शासन गर्ने चाहना जागृत भइदिन्छ । दुवै पक्षको चाहनाले सिर्जना गर्ने द्वन्द्वात्मक अवस्थामा परिधीय शक्ति र प्रतिरोधको जन्म हुन्छ । फुकोले जहाँ शक्तिको अभ्यास देखिन्छ त्यहाँ प्रतिरोधको सम्भावना पनि जीवित रहन्छ भनेका छन् । फुकोको अभिव्यक्ति उठाउने क्रममा सिद्धान्तका कुरा कृतिमा सञ्जीव उप्रेती भन्छन्ः “फुकोले भनेझैँ जहाँ शक्ति हुन्छ त्यहाँ शक्तिको प्रतिरोध पनि स्वतःस्फूर्त उब्जिन्छ । …. जहाँ शक्तिको अभ्यास देखा पर्छ, त्यहाँ त्यसको प्रतिकारको सम्भावना पनि साथसाथै मौलाउँछ । त्यसैले शक्तिको अभ्यास र त्यसको प्रतिरोधलाई छुट्टाछुट्टै नभएर एउटै प्रक्रियाका दुई भागको रूपमा हेरिनुपर्छ” (३३ र ४१) । उप्रेतीले प्रभुत्व र शक्तिसम्बन्धलाई प्रतिरोधको कारणका रूपमा अथ्र्याएका छन् ।

प्रभुत्वशाली वर्गको दमनका कारणले परिधीय तहमा प्रतिरोध उत्पन्न हुन्छ । परिधीय शक्तिमा शिक्षाका कारणले जब चेतनाको तह थपिन्छ त्यस अवस्थामा पनि उनीहरूमा प्रतिरोधी विचार सशक्त बन्न जान्छ । राज्यमा हुने राजनीतिक परिवर्तनका घटनाले पनि परिधीय शक्तिलाई प्रतिरोधको जागृतिमा महत्त्वपूर्ण टेवा प्रदान गर्दछ । सांस्कृतिक प्रतिरोधको अवधारणा र इतिहासका सन्दर्भमा http://sociology.iresearchnet.com/sociology-of-culture/cultural-resistance/ (प्रयोग मितिः सन् २०२०/१२/०८) ले भनेको छः

सांस्कृतिक प्रतिरोध अर्थ र प्रतीकहरू प्रयोगको अभ्यास हो । यो प्रभावशाली शक्तिको परीक्षण र लडाइँको संस्कृति हो । यो प्रक्रिया प्रायः विश्वको एक फरक दृष्टिकोण निर्माणको कार्यमा अघि सर्दछ । यो अभ्यास इतिहास जत्तिकै पुरानो अभ्यास हो । उदाहरणका लागि, हिब्रु धर्मशास्त्र एउटा सांस्कृतिक माध्यम थियो जसका माध्यमबाट यहुदीहरूले पहिचान बनाए र त्यसलाई उनीहरूले रोमन दमनका समयमा बोके । जिसस र मोहम्मदका कथाहरूले पनि यस्तै कार्यहरू गरेको पाइन्छ । सांस्कृतिक प्रतिरोधको आधुनिक सिद्धान्तलाई उन्नाइसौँ शताब्दीको मध्यतिर मैथ्यु आर्नोल्डले अघि सारेका थिए ।

प्रभावशाली शक्तिका विरुद्धको सङ्घर्षका रूपमा प्रस्तुत सन्दर्भले प्रतिरोधको चिनारी दिएको छ । प्रतिरोध हरेक दमनका बीचमा उत्पन्न भई त्यसका विरुद्धमा अग्रसर हुने धारणा पनि उद्धृत सन्दर्भले अघि सारेको छ । प्रभुत्वशाली वर्गबाट उत्पीडित हुने हरेक वर्ग प्रतिप्रभुत्वको अभ्यासमा रहने प्रक्रिया नै प्रतिरोधको सांस्कृतिक अभ्यास हो भन्ने धारणा उल्लिखित सन्दर्भले प्रस्ट पारेको छ ।

शक्तिअभ्यासमा हुने शक्तिको टकराव तथा शक्तिमा रहेको प्रभुत्वशाली वर्गको व्यवहारका कारणले परिधीमा रहने वर्गमा उत्पन्न हुने प्रतिरोधको अवस्था सार्वजनिक गर्दै प्रतिरोधको सांस्कृतिक प्रवृत्तिमाथि विष्णुप्रसाद ज्ञवालीले निम्न धारणा सार्वजनिक गरेका छन्ः

शक्तिको केन्द्रमाथि अर्थात् सत्तामा मात्र हुन्छ र त्यो परिधितिर विस्तारित हुन्छ भन्ने मान्यताको विपरीत ज्ञान र शक्तिको आधार परिधिमा पनि रहेको हुन्छ जो शक्तिकेन्द्रको प्रतिरोध गर्दै माथितिर जाने प्रयास गरिरहेको हुन्छ । ज्ञान शक्तिको स्रोत हो । ज्ञानरूपी शक्तिको प्रयोग हरेक कालखण्डको विमर्शात्मक संरचनामा हुन्छ तर त्यो परम्परागत रूपमा स्वीकार गरिए झैँ केन्द्रबाट परिधितिर मात्र फैलिएको हुँदैन । एउटै विमर्शात्मक संरचनामा पनि केन्द्रबाहेकका थुप्रै स्थानीय निकाय वा घटकहरूका माध्यमबाट शक्ति प्रवाहित भइरहेको हुन्छ । त्यसैले शक्तिको स्रोत केन्द्र मात्र हो भन्न सकिने स्थिति रहँदैन । परिधिको शक्तिमाथि सधैँ केन्द्रको शक्तिले शासन चलाइरहन चाहन्छ, त्यसलाई दबाएर आफ्नोे शासनलाई निरन्तरता दिन चाहन्छ तर जहाँ शक्ति हुन्छ त्यहाँ त्यसको विरोधी शक्ति पनि रहेको हुन्छ । त्यसैले यी दुई शक्तिका बीचमा सधैँ द्वन्द्वको स्थिति रहन्छ । परिधिको शक्ति समान हैसियतमा आउने प्रयासमा लागिरहेको हुन्छ । यिनै शक्तिकेन्द्रसँग सम्बद्ध रहेर उच्च र लोकप्रिय संस्कृतिको विकास भइरहेको हुन्छ । उच्च संस्कृतिको नेतृत्व केन्द्रीय शक्तिले गरिरहेको हुन्छ भने त्यसकै समानान्तरमा परिधिको शक्तिले पनि लोकप्रिय संस्कृतिलाई अगाडि बढाइरहेको हुन्छ । हरेक कालखण्डका सामाजिक संरचनाका घटकहरूले यस्तो शक्तिनिर्माणमा सहयोग गरेका हुन्छन् (१४) ।

हेमबहादुर भण्डारी

ज्ञवालीले परिधीय शक्तिले केन्द्रीय शक्तिका विरुद्ध चालेको प्रतिप्रभुत्वको कदम नै प्रतिरोध हो भनी प्रस्ट्याएका छन् । शक्तिअभ्यासका क्रममा प्रभुत्वमा रहेको केन्द्रीय शक्तिका विरुद्ध परिधीय शक्तिले पनि शक्तिअभ्यासको यथेष्ट प्रयत्न गरिरहेको हुन्छ भन्दै त्यही शक्तिको प्रयत्नशील अभ्यासलाई उनले प्रतिरोधका रूपमा अथ्र्याएका छन् ।

सांस्कृतिक अध्ययनले प्रतिरोध चेतनाको अध्ययनमा विशेष रुचि राखे तापनि प्रतिरोधका माध्यमबाट कुनै पनि विषयलाई निचोडमा पुर्याउने वा पुर्याउनुपर्ने मान्यता भने राख्दैन । यसले केन्द्रीकृत सङ्घर्ष वा प्रतिरोधलाई भन्दा खण्डित र टुक्रे प्रतिरोधलाई बढी महत्त्व दिन्छ र क्रान्तिको सम्भावनालाई निषेध गर्छ (पाण्डेय सांस्कृतिक अध्ययन र विकलका उपन्यासको भूमिका) । प्रतिरोधी वैचारिकताका सवालमा सांस्कृतिक अध्ययनले आफ्नो प्रस्ट अभिमत प्रकट गरे पनि प्रतिरोधका माध्यमबाट कसरी प्रभुत्वशाली वर्गका विरुद्धमा उत्रिने भन्ने सन्दर्भमा भने यसमार्फत कुनै अभिमत अघि सारेको पाइँदैन । माक्र्सवादीहरूले यही विषयलाई सांस्कृतिक अध्ययनको दुर्बल पक्ष भनी औँल्याएको पाइन्छ ।

प्रतिरोध चेतनालाई कृतिगत सन्दर्भमा अवलोकन गर्नका लागि कृतिभित्र अभिव्यक्त वैचारिकताका विविध सन्दर्भलाई अवलोकन गर्न सकिन्छ । मूलतः सांस्कृतिक सन्दर्भका विविध आयामहरूमा केन्द्रित भई लेखकद्वारा अभिव्यक्त अभिमतका सिलसिलामा रहेर यसको निरूपण गर्नु सान्दर्भिक हुने देखिन्छ । यहाँ, सांस्कृतिक सन्दर्भका मूल्यमान्यताहरूलाई केन्द्रमा राखेर पर्यावरणीय सन्दर्भमा प्रकटित प्रतिरोधी वैचारिकताका साथै मानवतावादी सन्दर्भमा प्रकटित प्रतिरोधसमेत उठाउने प्रयत्न गरिएको छ ।

३. हिमालका आवाज कविताकृतिमा प्रकटित प्रतिरोधी वैचारिकता

हिमालका आवाज कविताकृतिमा कृतिकार दामोदर पुडासैनी ‘किशोर’का हिमालको आवाज शीर्षकको शृङ्खलाबद्ध पचास कविताहरूको सिलसिला विस्तार भएको छ । हिमाली संस्कृतिका सन्निकटमा पुगी प्रकृति र संस्कृतिको समानान्तर अवलोकनमा कविले कविताको शृङ्खला विस्तार गरेका छन् । शासकीय प्रभुत्वका कारणले हिमसंस्कृतिले भोग्नु परेको उत्पीडनका विषयमा प्रतिरोधको शैली रचना गर्दै कविले पर्यावरण संरक्षणमा चोटिलो विचार सम्प्रेषण गरेका छन् । यस कविता सङ्ग्रहका माध्यमबाट कविमानसमा उत्पन्न प्रतिरोधी वैचारिकतालाई निम्नानुसारका उपशीर्षकहरूमा समेटिएको छ ।

३.१. राष्ट्रवादको प्रतिरोधी आवाज

हिमालका आवाज कविता सङ्ग्रहमा दामोदर पुडासैनी ‘किशोर’ले राष्ट्रवादी स्वरलाई उच्च बनाई प्रस्तुत गरेका छन् । उनले हिमाललाई प्रतीकका रूपमा प्रयोग गरी यसका माध्यमबाट देशको अवस्था सार्वजनिक गरेका छन् ।

शासकहरूको अदूरदर्शिताले नेपालको राष्ट्रियता खतरामा त पर्दैन भन्ने चिन्ता र चासो उनका कवितामा बारम्बार प्रकट भएको पाइन्छ । कवितात्मक फड्को मार्दै सङ्ग्रहको प्रारम्भमा उनले भनेका छन्ः

देशमाथि अँध्यारो थोपर्ने हक कसैलाई छैन
देश टोकेर सम्राट् बन्न खोज्नेलाई
चपरी र ढुङ्गाहरूले पुर्छु म

(हिमालको अन्तिम आवाज) ।

कवितात्मक भूमिका प्रस्तुत गर्ने क्रममा कविले देशलाई अँध्यारो बाटामा हिँडाउन खोज्ने शासकीय अभिमानका विरुद्धमा धावा बोलेका छन् । मुलुकप्रतिको चिन्ता र चासोको प्रत्यक्ष आवाज उनको कविताशैलीमा सुन्न सकिन्छ ।
देशमा मौलाइरहेको विविध विकृतिले उत्पन्न जटिलतालाई कविले कविताको आवाजमा समेटेका छन् । देश कतातिर जाँदै छ भन्ने विषय उनको चिन्तामा प्रस्ट रूपमा प्रकट भएको पाइन्छ । यस्ता विकृति र विसङ्गतिबाट मुलुकलाई बाहिर ल्याउनका लागि हामीमा उत्पन्न हुनुपर्ने सचेतनाका लागि उनले उत्प्रेरणा भर्ने काम गरेका छन् । यस्तै सिलसिला जोड्ने क्रममा कवि भन्छन्ः

हिमालको आँखामा आगो दन्किरहेछ
तिमीले र मैले
एक एक पसर आगो सापटी लिनुपर्छ हिमालसँग
र पगाल्नुपर्छ ढिक्का बनेर बसेको
हामीभित्रको अँध्यारो डरलाई (३२) ।

प्रस्तुत कवितांशमा कविले शासकको खराब शैली र चरित्रका कारण मुलुक सङ्कटको दलदलमा फस्दै गएको विषयलाई उठान गरेका छन् । शासकीय प्रभुत्वका विरुद्धमा ढिलो नगरी उत्रिनुपर्ने र त्यस्तो साहस जुटाउन डर फालेर अघि सर्नुपर्ने धारणा राख्दै कविले उज्यालो यात्रामा लम्किन अब ढिलाइ गर्न नहुने प्रतिरोधी वैचारिकता उरालेका छन् । कविमा उत्पन्न यस वैचारिकताले राष्ट्रवादका सवालमा विशिष्ट प्रतिरोध निर्माण गरेको छ ।

जस्तोसुकै विषम परिस्थितिमा पनि देशको स्वाभिमान झुक्नुहुन्न भन्ने राष्ट्रवादी अडानलाई कविले अघि सारेका छन् । देशको स्वाभिमान सङ्कटमा पर्दा अग्र पङ्क्तिमा रहेर हरेक देशभक्त काँध थाप्न तयार हुनुपर्ने मान्यता अघि सार्दै कविले कविताको शैली निर्माण गरेका छन् । देशको स्वाभिमानी अस्तित्व बचावटका पक्षमा कविले गम्भीर आवाज सम्प्रेषण गरेका छन् । राष्ट्रमाथि उत्पन्न खतराका सङ्केतहरू प्रस्तुति गर्ने क्रममा कवि भन्छन्ः

हातखुट्टामा घाउ लाग्न सक्छ
तर हिमाललाई कहिल्यै घाउ लाग्न दिनु हुँदैन
आँखा र कानहरूमा फल्न सक्छन् भ्रमका लहरहरू
हिमालमा धमिलो रङ्ग मिसिन सक्दैन
हिमाललाई हिमाल नै रहन देऊ
हिमालको बर्खिलापमा कुनै सपना र कुनै तेलचित्र कोरिन सक्दैन (४४) ।

प्रस्तुत कवितांशमा कवि पुडासैनीले नेपाली अस्मिता बचावटका पक्षमा सबल विमर्श सार्वजनिक गरेका छन् । नेपाली भूमिमा धमिलो खेलको कुनै सपना कसैले नदेखोस् भनी उनले राष्ट्रवादको गम्भीर प्रतिरोध पेस गरेका छन् ।

राष्ट्रियताका विरुद्धमा हुने कुनै पनि क्रियाकलाप सच्चा देशभक्तका लागि सह्य नहुने कविको आवाज अघि सरेको छ । यो राष्ट्रवादका पक्षमा उर्लिएको प्रतिरोधको ज्वलन्त नमुना हो ।

परिवर्तनको नारा दिएर सत्तामा उक्लिए पनि सत्ताको स्वादमा रमाएपछि आफ्नो धरातल बिर्सिनेहरूका कारण देशको अवस्था क्रमशः नाजुक बन्दै गइरहेको विषय कविले कवितामा अटाएका छन् । देशलाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाई खतराको भुमरीमा होमेर नाफाको राजनीति गरिरहेका सत्ताधारीप्रति लक्षित कविको कवितात्मक आक्रोशले गति लिएको देखिन्छ । देशलाई दुर्दशामा फसाउन लागिपरेकाहरूका विरुद्धमा आवाज घनीभूत पार्दै कवि भन्छन्ः

देशलाई च्युरा मुछेर चपाइरहेछन् केही मान्छेहरू
जसले जे गरे पनि चुपचाप सहने मेरी आमाजस्तो
युगौ युगदेखि उठेको देशको नीलडामविरुद्ध उभिएको छु
…म देश कफनमा च्यानाकुटीभ्mयाइँ बजेर हिँडिरहेको हेर्न सक्दिनँ (५७) ।

आफ्नो स्वार्थसँग राष्ट्रियता साट्नेहरूका विरुद्धमा कविको कवितात्मक बल प्रतिरोधको पौँठेजोरीका लागि तम्सिएको देखिन्छ । देशलाई समय समयमा लगाइएका नीलडामहरूका विरुद्धमा उभिन तयार आवाज बोकेर कवि पुडासैनीले देशको दुर्दशा टुलुटुलु हेरेर बस्ने निरीह पात्रका स्थानमा आफूलाई राख्न चाहेका छैनन् । राष्ट्रियताका सवालमा कविमा निर्मित यो विशिष्ट प्रतिरोधको अवस्था हो ।

कवितामा नेपाललाई हिमालका सादृश्यमा उभ्याएर कवि पुडासैनीले नेपाली स्वाभिमानलाई गलत कदमले स्पर्श गर्न खोज्नेको दुर्दशा निश्चित भएको दाबी गरेका छन् । राष्ट्रियताका विरुद्धमा कदम चाल्ने जोसुकै पनि नेपाली शक्तिका पराक्रम र प्रतापका कारणले खरानी बन्ने चेतावनी दिँदै कवि भन्छन्ः

हिमालबाट होसियारीपूर्वक सेकिनु
जथाभावी हिमाल ताप्न थाल्यौ भने
डढेर खाक बन्नेछौ कुनै क्षण (७२) ।

उद्धृत कवितांशमा पुडासैनीले नेपाली स्वाभिमानी अस्तित्वको सबलताको परिचय दिएका छन् । नेपाली स्वाभिमानलाई गलत रूपमा बुझ्ने र व्याख्या गर्ने परिपाटीका विरुद्धमा यहाँ कविले सबल प्रतिरोधी वैचारिकताको आयोजना गरेका छन् ।

नेतृत्वको असल चरित्र नदेखेपछि आक्रान्त भएका नेपाली जनताको प्रतिरोधी आवाज उठाएर कविले राष्ट्रियताका सवालमा सबल वैचारिकता निर्माण गरेका छन् । नेपाल र नेपालीको स्वाभिमानलाई कुर्सीमोहमा नामेट पार्ने षड्यन्त्रको सङ्केत गर्ने क्रममा कवि भन्छन्ः

कुर्सी ठिङ्ग उभिइरहन्छ
मान्छेलाई भुलाइरहन्छ
हिमाल स्वाभिमानको धरोहर हो
हिमालमाथि कुनै कुर्सीको पाइताला पर्न दिने छैन (८६) ।

प्रस्तुत कवितांशका माध्यमबाट कविले नेपाली राजनीतिक परिवेशमा निर्मित खराब चालबाजी र यसको चारित्रिक स्वभावलाई उदाङ्गो पारेका छन् । स्वार्थी राजनीतिक नेतृत्वले नेपाल र नेपालीको स्वाभिमानी अस्तित्व सङ्कटमा पर्न थालेको सन्दर्भ उद्घाटन गरी कविले त्यस्ता फोहोरी खेलविरुद्ध सशक्त प्रतिरोधमा उत्रिनुपर्ने आवाजसहित सचेत नेपाली मनहरूलाई आह्वान गरेका छन् ।

३.२. सांस्कृतिक चेतनाको प्रतिरोधी आवाज
कवि पुडासैनीले यस कविताकृतिका माध्यमबाट मौलिक संस्कृति निर्माणका पक्षमा आवाज बुलन्द गरेका छन् । हामीले निर्माण गरेको संस्कृतिमा आयातित संस्कृतिको सघनतामाथि विमर्श गर्दै कवि आफूलाई बुझेर मात्रै आफ्नो भूमिलाई सही पहिचान र दिशा दिन सकिने विषयमा सचेतनासहित प्रस्तुत भएका छन् । नेपालीहरूले माटोअनुसारको सांस्कृतिक धरातल निर्माण गरी पहिचानको बाटो निर्माण गर्नुपर्ने धारणामा केन्द्रित हुँदै कविले निम्नानुसारको कवितात्मक लय निर्माण गरेका छन्ः

आर्किमिडिजहरूले मात्र पुग्दैन हिमाललाई
हब्स, लक र रुसोहरूसँग पनि सन्तुष्ट छैन हिमाल
माक्र्सका ठेलीहरू अपुरा भए, भए अपुरा सबै धर्मका दर्शनहरू
हिमाल छुँदैमा कहाँ गाँसिन्छ र हिमालसँगको नाता
हिमालका दर्शन र आविष्कार
अहिलेसम्म कसैले कोट्याएकै छैन (६०) ।

प्रस्तुत कवितांशमा कवि पुडासैनीले नेपाल निर्माणका लागि नेपाली संस्कृति निर्माण हुनुपर्ने मान्यता सार्वजनिक गरेका छन् । अरूको अन्धानुकरणले हाम्रो माटोलाई सही दिशा दिन नसक्ने मान्यता सार्वजनिक गर्दै कविले त्यसका विरुद्धमा प्रतिरोधी वैचारिकता अघि सारेका छन् । माटाको सुगन्ध बुझी संस्कृति चिनेर विकासका प्रयासहरू अघि बढ्न सके हामी र हाम्रो मान्यताले सही दिशा समाउन सक्ने विषयमा कविको सचेतना अग्रसर भएको पाइन्छ ।
भूमण्डलीकरणका नकारात्मक प्रभावहरूको तीव्र विस्तारका सम्बन्धमा कविको सचेत लेखनी सार्वजनिक भएको छ । पूँजीवादी अर्थसंस्कृतिको व्यावसायिक विस्तारको मारमा हामीले भोग्नु परेको सांस्कृतिक प्रभुत्व सार्वजनिक गर्ने क्रममा कवि लेख्छन्ः

गाउँ भत्किएको छ सडक खन्ने नाममा
मान्छेहरू सबै काम छोडेर नेता बन्न दौडिएका छन्
सेलफोनमा टाँसिएका छन् अहोरात्र आँखाहरू (८१) ।

विकासको मौलिक शैली निर्माण हुन नसक्दा हामीले भोग्नु परेको विनाशको सही परिदृश्य कविले उल्लिखित कवितांशका माध्यमबाट सार्वजनिक गरेका छन् । हामीले प्राप्त गरेको उपलब्धिको सही मूल्याङ्कन हुन नसक्दा उपलब्धि नै आज कसरी हाम्रा लागि भारी भएको छ भन्ने यथार्थ कवितामा ध्वनित भएको छ । साइबर संस्कृतिको आहालमा डुबुल्की मारिरहेको हाम्रो वर्तमानले बेहोर्नु परिरहेको पूँजीवादी संस्कृतिको नीलडामको स्पष्ट चित्र कविले प्रस्तुत कवितांशमा उतारेका छन् ।

साइबर संस्कृतिको प्रभावले नेपाली समाजमा पुर्याएको असरको लेखाजोखामा कविको चेतना अघि बढेको देखिन्छ । हाम्रो सांस्कृतिक अधीनस्थताको अवस्थामाथि चिन्ता व्यक्त गर्दै कविले यतातिरको सचेतनाका सम्बन्धमा आवाज बुलन्द गरेको पाइन्छ । भर्चुअल विश्वको अनुकरणमा नेपाली संस्कृतिको अनुहार देखाउने क्रममा कवि भन्छन्ः

खेलाडीहरू खेलाडीसँग होइन
प्रतिस्पर्धारत छन् डोपिङसँग
यो सारा विश्व लुकिसकेको छ
भर्चुअल विश्वका् मुठीभित्र
लुकाउने जतिको बजार फैलिरहेछ
देखाउने जतिको व्यापार खुम्चिरहेछ (८३) ।

यस कवितांशमा कविले साइबर संस्कृतिले भित्र्याएको असरको लेखाजोखा गरेका छन् । उनको यो चासो नेपाली मौलिकताका पक्षमा जोडिएको सचेतनाको विषय हो । पूँजीवादी अर्थसंस्कृतिले व्यापारका नाममा खेलेको नक्कली खेलको विषयलाई उठान गर्दै कविले नेपालजस्तो मुलुकले भोग्नु परेको सांस्कृतिक अधीनस्थताको स्पष्ट चित्र सार्वजनिक गरेका छन् । कविमा उत्पन्न सांस्कृतिक चेतना, सांस्कृतिक प्रभुत्वका विरुद्धमा प्रकटित प्रतिरोधी वैचारिकताको सबल दृष्टान्त हो ।

३.३. पर्यावरणीय चेतनाको प्रतिरोधी आवाज

दामोदर पुडासैनी ‘किशोर’ले प्रस्तुत कविताकृतिमा पर्यावरणीय चेतनाको सुन्दर लय सिर्जना गरेका छन् । भौतिक पर्यावरणको चित्रणका साथै पर्यावरणीय चेतनाको विषयगत पक्षलाई कविले राम्ररी छामेका छन् । प्रकृतिमा उत्पन्न सङ्कटको विषयका साथै पुडासैनीले मानिस र प्रकृतिका बीचको सम्बन्धलाई कविताको सुमधुर लयमा सुन्दर ढङ्गले सजाएका छन् । पर्यावरणको वर्तमान अवस्था र यसमा बढ्दै गएको विकृतिको पक्षमाथि उनको सचेतना उत्कृष्ट लय बोकेर अघि सरेको पाइन्छ ।

हिमाल प्रकृतिको विशेष र सुन्दर नमूना हो । हिमाली प्राकृतिक संरचनालाई जोगाउन सकेमा जीव तथा मानवको अस्तित्व सङ्कटमा पर्दैन । प्रस्तुत शृङ्खलाका कविताहरूमा दामोदर पुडासैनीले प्रकृतिको सबभन्दा ठूलो जादु मान्छे हो भनी प्राकृतिक पर्यावरण एवं मानवका बीचको सहसम्बन्ध औँल्याएका छन् (अवस्थी भूमिका खण्ड) । प्राणीहरूको अस्तित्वरक्षामा सदैव तल्लीन हिमाली पर्यावरणको संरक्षणमा मानवले आफ्नो चेतनाको भरपुर प्रयोग गर्नुपर्ने धारणा सार्वजनिक गर्ने क्रममा कवि भन्छन्ः

मान्छेहरू
मलाई कोपर्न र चिथोर्न नखोज
नसोच मलाई सम्याउन वा ड्याङ र कुलेसो बनाउन
मलाई ‘म’ नै रहन देऊ
मैले संसारको रखबारी गरेसम्म
हराउन दिनेछैन संसारबाट
मान्छेको एउटा अजीव चित्र

(हिमालको अन्तिम आवाज) ।

प्रस्तुत कवितांशमा कविले हिमालको पर्यावरण जोगाउन मान्छेले आफ्नो चेतनाको सही सदुपयोग गर्नुपर्ने सन्देश अघि सारेका छन् । मानिस प्रकृतिको सुन्दर रचना हो । मानिसको अस्तित्व निरन्तरताका लागि प्रकृतिको विकल्प छैन । यस विषयलाई कवितामा टिपेर कविले सचेतनाको गम्भीर पाठ पढाएका छन् । उनले प्रकृतिको संरक्षणमा चेतनशील भएका नाताले मानिसले कुनै कसर बाँकी राख्न नहुने धारणा सार्वजनिक गरेका छन् । यो पर्यावरणीय चेतनाको प्रतिरोधी आवाज हो ।

प्रकृतिमा प्रदूषण भरिएको विषयप्रति कविको जोसिलो खबरदारी अग्रसर भएको देखिन्छ । प्रकृतिमा आउने सङ्कटका कारण जीवहरूको अस्तित्व सङ्कटमा पर्ने यथार्थ अवस्थाको ज्ञात गराउँदै कविले कविताबाट सचेतनाको पाठ पस्किएका छन् । पूँजीवादी अर्थसंस्कृतिको विस्तारले पर्यावरणमा पर्न गएको गम्भीर असरका प्रति कविको सचेत कलम अग्रसर छ । पर्यावरणलाई ध्वस्त बनाउन अग्रसरहरूलाई खबरदारीको औँलो ठड्याउँदै कवि लेख्छन्ः

संसारमा
कसले पोत्दै छ कालो
र कसले पोत्दै छ उज्यालो
होसपूर्वक नियाल्दै छन् हिमालहरू
….किन कैदमा छन् सुकिला पूmलहरू ?
किन बतासहीन बनेका छन् रूखहरू ? (१ र १४) ।

प्रस्तुत साक्ष्यमा कविले विश्वमा बढ्दै गएको पर्यावरणीय प्रदूषणको स्पष्ट चित्र खिचेका छन् । विश्व परिवेशको प्रदूषणको असर नेपाली भूमिमा पनि परिरहेको सन्दर्भ यस कवितांशमा सार्वजनिक भएको पाइन्छ । आज विश्वमा बढ्दै गएको प्रदूषणको गम्भीर असर फूलहरूका साथै रूखहरूमा पनि परेको छ, जसले गर्दा हाम्रा अक्सिजनका स्रोतहरू क्रमशः सङ्कटमा पर्दै गएको वास्तविकतामाथि विमर्श गर्दै कविले यस खतराबाट मुक्तिका लागि पर्यावरणीय प्रतिरोधको आवाज बुलन्द गरेका छन् । पर्यावरणीय प्रदूषणको यसै परिदृश्यलाई कविताको अर्को मेलोमा मिसाउँदै कवि लेख्छन्ः

साना नानीहरूले छोपेका हिममलेवाहरू
र मैले ढुङ्गे भित्तामा लेखेको मान्छेको ढुकढुकी
सङ्कटमा छन् दुवै (९) ।

यस दृष्टान्तमा कविले पर्यावरणीय प्रदूषणका कारणले सङ्कटग्रस्त अवस्थामा पुगेका प्राणी तथा भौतिक प्रकृति दुवै विषयको अवस्था सार्वजनिक गरेका छन् । पूँजी सञ्चयको होडबाजीमा लम्किएको वर्तमान विश्वले गरेको स्वार्थको अभ्यासले प्राकृतिक विषयहरूलाई के कसरी सङ्कटग्रस्त मोडमा पुर्याइएको छ भन्ने विषयलाई कविताको यस प्रसङ्गमा सूक्ष्म अवलोकन गरिएको छ ।

मानिस सचेत प्राणी हो । प्रकृतिको संरक्षण गर्ने जिम्मेवारी मानिसको काँधमा छ । मानिसको सचेत प्रयत्नले मात्र प्रकृतिको उचित स्याहार र संरक्षण हुन सक्दछ । मानिसको स्वार्थी प्रवृत्ति नै आज बढिरहेको पर्यावरणीय प्रदूषणको प्रमुख कारण हो । प्रस्तुत कविताकृतिमा प्रकृतिको संरक्षणका लागि मानिसको सचेतनाको विशेष अपेक्षा गरिएको छ । मानिसहरू सचेत भए प्रकृतिमा आएको सङ्कट स्वतः न्यूनीकरण हुने अभिव्यक्ति सार्वजनिक गर्दै कवि भन्छन्ः

हिमालमा

चराहरू समयजस्तै गीत गाउँछन्
गीतले नै हिमाल बिउँझाउँछन्
उकालो र ओरालोलाई जीवन दिन्छन्
हिमाल चढ्दा चराहरूको ख्याल गर्नू
हिमालमा हल्ला चल्यो भने चराहरू ओरालो झर्छन्
चरा र हल्लाहरू कहिल्यै एकसाथ बस्न सक्दैनन् (४४) ।

उद्धृत कवितांशमा कविले प्रकृति संरक्षणका लागि मानवीय सचेतनाको भूमिकामाथि प्रकाश पारेका छन् । मानिसले आफ्नो स्वार्थलाई केन्द्रमा राख्दा प्राकृतिक विषय ओझेलमा पर्ने मात्र नभई यो विषय अन्ततः मानिसकै लागि प्रत्युत्पादक हुने विषयमा कविको सचेत कलम अघि सरेको पाइन्छ । प्रकृतिको संरक्षणमा मानिस नै जुट्नुको विकल्प नभएको पेट बोली अघि सारी कविले पर्यावरणीय प्रतिरोधको लय विस्तार गरेका छन् ।

नेपाली समाजमा राजनीति सेवामुखी बन्न नसक्दा यसका असरहरू चारैतिर विस्तार भएको पाइन्छ । राजनीतिलाई सही दिशा दिन नसक्दा यसले सामाजिक सांस्कृतिक अवस्थाका साथै पर्यावरणीय अवस्थालाई समेत सङ्कटग्रस्त अवस्थामा पुर्याएको यथार्थलाई नजरअन्दाज गर्ने ठाउँ छैन । नेपाली राजनीतिको धमिलो स्वरूपप्रति असन्तुष्टिको आवाज बोल्दै पुडासैनीले यसलाई पर्यावरण प्रदूषणको मुख्य कारण ठहर्याएका छन् । राजनीतिक प्रदूषणका पृष्ठभूमिमा पर्यावरणीय प्रदूषणको चित्र उतार्दै कवि भन्छन्ः

याक र झोक्पेहरू प्रतिस्पर्धामा उभिएका छन् निर्वाचनमा
हिमवाघ र रेडपाण्डाहरू हटेका छन् मतदाता सूचीबाट
हिमाल शासन रुचाउँदैन
हिमाल शान्त सागरको सपना कोरल्छ
म हिमाल नाघ्छु र हरेक पटक हिमाल उचाल्छु (५९) ।

प्रस्तुत दृष्टान्तमा कविले प्राकृतिक विषयमा परेको राजनीतिक असरको अवस्था सार्वजनिक गरेका छन् । राजनीतिले प्राकृतिक विषयलाई सही दिशा निर्देश गर्न नसकेको आक्रोश यस कवितांशले बोकेको छ । राज्यको मूल नीति राजनीति हो भने यसले सबै विषयलाई सही दिशानिर्देश गर्न सक्नुपर्ने कविको दाबी रहेको छ । प्राकृतिक विषय मानिससँग प्रत्यक्ष जोडिएको विषय हो । यसका लागि सचेत राजनीतिक नेतृत्वको सही निर्देशन आवश्यक छ । यस विषयमा उल्लिखित कवितांशले प्रतिरोधी वैचारिकता अघि सारी सचेतना जागरणको प्रयास गरेको बुझ्न सकिन्छ ।
विकासका नाममा विनाश बढ्दै गएको वर्तमान विश्वमा मानवीय स्वार्थले उचाइ नाघेको अवस्थालाई लुकाएर राख्नुको कुनै अर्थ छैन । पूँजीलाई अन्तिम सत्य मानी अघि सरेको जमात पर्यावरणलाई व्यापारिक दृष्टिभन्दा पर्तिर गएर सोच्न सक्दैन । पर्यावरणीय सङ्कटको वास्तविक कारण हामी यसै यथार्थमा नियाल्न सक्छौँ । वर्तमान विश्वपरिवेशको यथार्थ अवस्था विश्लेषण गरी हाम्रो समाजको चित्र कविले त्यसै परिवेशमा राखेर छर्लङ्ग उतारेका छन् । स्वार्थको पाठ पढिरहेका आजका मानिसहरूको असली अनुहार देखाउने क्रममा कविले निम्न कवितांश अघि सारेका छन्ः

तिम्रो र मेरो लहलहाउँदो सम्बन्धलाई
अक्सिजनविहीन भड्खालोमा कोच्नेहरू जमजमाइरहेछन्
….अकबरे खुर्सानीका ढिँडी सोकेसमा सजाएर
इँटाको धुलो बेच्नेहरूको छिनाझपटी छ सहरमा (७१ र ७५) ।

माथिको कवितांशमा मानवीय स्वार्थले निम्त्याएको अमानवीय कार्यको फिरिस्त सार्वजनिक भएको छ । मानिसमा बढ्दै गएको स्वार्थले पर्यावरणीय विषय के कसरी सङ्कटको दलदलमा फस्दै छ भन्ने विषयलाई यस कवितांशका माध्यमबाट कविले सार्वजनिक गरेका छन् । आफूलाई भन्दा अरूलाई नसोच्ने स्वभाव विकास गर्दै जाँदा मानिसको अस्तित्व के कसरी सङ्कटमा पर्दै छ भन्ने विषयमाथि कविले गम्भीर विमर्श गरेका छन् । कविमा उत्पन्न यो कवितात्मक आक्रोश पर्यावरणीय प्रतिरोधको उदाहरणीय पक्ष हो । यसै प्रतिरोधमा जोडेर कविले पर्यावरणीय चेतनाको अर्को कवितात्मक फड्को अघि सार्दै भनेका छन्ः

तिमी नेता बन्दै छौ कि दलाल
…कृषक बन्दै छौ कि क्यान्सरका पिता ? (९७) ।

जैविक विषादीको बढ्दो प्रयोगले क्यान्सरजस्तो प्राणघातक रोगलाई मौलाउने सहज वातावरण सिर्जना गरिदिएको छ । यो नेपाली समाजले भोग्नु परेको कठिन परिस्थितिको नमुना हो । राजनीतिलाई माध्यम बनाएर विकासका नाममा भइरहेको मानवस्वास्थ्यको विनाशको घटनालाई उल्लिखित कवितांशले राम्ररी प्रस्ट्याएको छ । मानिसले उन्नतिका नाममा सिकेको वातावरण विनाशको शैलीले मानवस्वास्थ्य मात्रै होइन प्राकृतिक वातावरणको अवस्था धूलिधूसर बन्न पुगेको आजको वास्तविकतालाई प्रस्तुत दृष्टान्तले छर्लङ्ग पारेको छ । नेपाली समाजको यस वास्तविकताको प्रकटीकरणका माध्यमबाट पुडासैनीले पर्यावरणीय चेतनाका पक्षमा विशिष्ठ प्रतिरोधी आवाज उरालेका छन् ।

३.४. मानवतावादको प्रतिरोधी आवाज

संसारमा मानवीय नाता क्रमशः फितलो बन्दै गएको प्रसङ्ग फुकाई पुडासैनीले कविताको प्रसङ्ग जोडेका छन् । उनले मानवताको क्षयीकरणको सन्दर्भ जोडी त्यसको सबलताका पक्षमा प्रतिरोधको विशेष लय सिर्जना गरेका छन् । हिमालको सन्दर्भ उठाई कविले मानवताको विषयसँग यसलाई जोडेर हेरेका छन् । मानवीय विषयका अघि अन्य सबै विषय फिका हुने उनको तर्क रहेको छ । हिमाल जात, धर्म, भाषा र रङ्गभन्दा माथिको मन्त्र हो भन्दै उनले हिमालका छातीमा समुद्र रहेको र त्यसलाई विनासर्त दान गर्ने हिमाकाङ्क्षा पनि रहेको रम्य कल्पनासमेत यहाँ गरेका छन् (अवस्थी भूमिका) । उनले मान्छेलाई पहिलो स्थानमा राखी त्यसपछि मात्र अन्य विषयहरूले स्थान पाउने विचार सार्वजनिक गरेका छन् । मानवताको सुन्दर लय पस्किने क्रममा कवि लेख्छन्:

हिमाल मात्र होइन
हिमकुहिरो मात्र बन्न सक्छौ भने तिमी
संसारभर खुसी नै खुसीको तरङ्गमा
डाँडा र मैदान जता मन लाग्छ
फुरफुर फुर्किएर समयसँगै हिँड्नुको विकल्प छैन (२) ।

प्रस्तुत कवितांशमा कविले मानवताको नातालाई असल रूपमा स्थापना गरी शान्तिको लहर सिर्जना गर्नुपर्ने मानवतावादी सन्दर्भ उठान गरेका छन् । विश्वमा बढ्दै गएको द्वन्द्व र यसले निम्त्याएको अशान्तिलाई शान्तिमा रूपान्तरण गर्ने कविको चाहना यहाँ प्रकट भएको पाइन्छ । मानवताको नातालाई हृदयमा सजाउने मनको खोजी गर्दै पुडासैनीले विकास हुन नसकेको मानवतावादी समाज र सम्बन्धका विरुद्धमा तीव्र असन्तुष्टि जाहेर गरेका छन् । यो मानवता विरोधी भावनाका विरुद्धमा जागृत कविमा उत्पन्न प्रतिरोधी वैचारिकताको नमुना हो ।

धर्म, राजनीति, जातीयता आदिसँग जोडिएको असान्दर्भिक राजनीतिक आवाजले मानवताको नाता जरैबाट हल्लिएको विषयमा कविको सचेत कलमले सचेतनाको विशेष लय सिर्जना गरेको छ । विश्वपरिवेशदेखि नेपाली जनजीवनसम्म मानवताका विरुद्धमा जन्मिएका विचारका कुरूप हतियारहरूका विरुद्धमा उनको सचेतनाले खबरदारीको उचाइ छोएको छ । मानवताको नातालाई नजोगाई अन्य विषयमा प्रवेश गर्न नमिल्ने जिकिर गर्दै कवि बोल्छन्:

…तर तिनीहरू सधैँ मसँग
राजनीतिक रङ्गको प्रमाणपत्र माग्छन्
धर्मको गन्धको प्रमाणपत्र माग्छन्
जात र रूपको वर्गीकरण माग्छन्
मलाई सग्लो हिममान्छे बनेर बाँच्न किन दिइएको छैन ?
कि यो संसारमा विभाजित नभई कसैलाई बाँच्ने अधिकार छैन ?
मेरा प्रश्नको मूल फुट्न थालेपछि कान थुन्न थाल्छन् कुर्सीहरू (८२) ।

राजनीतिक स्वार्थले खेलेको विभाजनको खेलमा मिसिएको स्वार्थको अनुहारलाई प्रस्तुत कवितांशमा कविले स्पष्टसँग उतारेका छन् । मानिसको प्रथम परिचय मानिस हो भन्ने बिर्सिएर मानिसले थालेको स्वार्थको राजनीति मानवताविरोधी अभिव्यक्तिबाहेक अरू केही पनि हुन नसक्ने कविको ठम्याइ छ । सत्ताको मोहमा परी मानवताको नाता कुल्चिएर अघि बढ्ने चरित्रका प्रति असन्तुष्टिको चहकिलो स्वर उराल्दै पुडासैनीले मानवतावादका पक्षमा प्रतिरोधको विशिष्ट आवाज पस्किएका छन् । उल्लिखित कवितांशको लयमा कविको उच्च मानवतावादी स्वर गुन्जिएको पाइन्छ ।

४. निष्कर्ष

प्राकृतिक परिदृश्य अवलोकनमा विशेष रुचि भएका दामोदर पुडासैनी ‘किशोर’ देश तथा विदेशको स्थलगत अवलोकनपछि त्यसलाई कविता तथा नियात्राको सफल शैलीमा सजाउन सिपालु स्रष्टा हुन् । नेपालको हिमाली भूभागलाई अवलोकन गरेपछि विविध राष्ट्रिय मुद्दाहरूलाई पर्यावरणसँग जोडेर एउटै विषयको सेरोफेरोमा कवि पुडासैनीले हिमालका आवाज कविताकृतिका माध्यमबाट पचासओटा कविताको शृङ्खलाबद्ध सिलसिलालाई अघि सारेका छन् । पर्यावरणीय चेतनाको सम्प्रेषणमा कविका यस सङ्ग्रहका कविताहरू सफल रूपमा आयोजना भएका छन् । राष्ट्रवादी विषयमा प्रतिरोधको वैचारिकतालाई सही दिशा दिँदै कवि पुडासैनीले सांस्कृतिक, प्राकृतिक तथा मानवतावादी विषयमा समेत विकृतिका विरुद्ध प्रतिरोधको सचेत लय आयोजना गरेका छन् । विशेषतः यस कृतिका कवितामा उनको प्रतिरोधी वैचारिकता आरोहतर्फ अघि बढेको देखिन्छ ।

प्रतिरोध चेतना सांस्कृतिक चेतना मापनको आधार हो । कृतिकारले कृतिमा सम्प्रेषण गरेको चेतना सांस्कृतिक धरातलमा विस्तारित हुने विषय हो । स्रष्टाको प्रतिरोधी वैचारिकता कृतिका माध्यमबाट समाजमा पुगी चेतनाका तहमा प्रसार हुन्छ । सांस्कृतिक अध्ययनले प्रतिरोध चेतनाको अवस्थालाई विभिन्न सन्दर्भमा जोडेर व्याख्या गर्दछ । प्रस्तुत अध्ययनमा दामोदर पुडासैनीकृत हिमालका आवाज कविताकृतिमा पाइएका विभिन्न सन्दर्भका प्रतिरोधी वैचारिकतालाई विश्लेषण गरिएको छ ।

सत्ताले अभ्यास गरिरहेको शक्तिका कारणले सिर्जित जनस्तरका विभिन्न असहज परिस्थितिमाथि पुडासैनीको प्रतिरोध चेतनाले स्पष्ट आकार लिएको पाइन्छ । राज्यसत्ताको स्वार्थी चरित्रका कारणले राष्ट्रियता खतरामा पर्न लागेको चिन्ता र चासो उनका कवितामा उठाइएको छ । पर्यावरणमा परेको गम्भीर सङ्कटका लागि मानिसको गैरजिम्मेवार चरित्र प्रमुख कारक बनेको सन्दर्भ उद्घाटन गर्दै पुडासैनीले यस दिशामा गम्भीर प्रतिरोधी आवाज सार्वजनिक गरेका छन् । सांस्कृतिक सचेतनाका सन्दर्भमा वर्तमान भोगाइ उठाउँदै कविले हाम्रो सांस्कृतिक अधीनस्थतालाई कविताको बलियो विषय बनाई सार्वजनिक गरेका छन् । मानवताको सम्बन्धलाई राजनीतिमा मिसिएको स्वार्थी मानसिकताले गिजोलेको यथार्थमाथि कविको प्रतिरोधी कलमले सफलतापूर्वक विशेष स्थान बनाएको छ । प्रस्तुत कविता सङ्ग्रहबाट कवि पुडासैनीले प्रतिरोधी वैचारिकता आयोजनाको सुखद प्रारम्भ गरेका छन् । तसर्थ, प्रतिरोध चेतनाको प्रसारका दृष्टिकोणबाट प्रस्तुत कविताकृतिलाई चेतना निर्माणको सफल थालनी मान्न सकिने प्रशस्तै ठाउँहरू सुरक्षित छन् भन्दा अत्युक्ति नहोला ।

========

सन्दर्भ सामग्री
अवस्थी, महादेव. “पुडासैनीको साहित्ययात्रागत परिपक्व जैविकीका नवीन प्राप्तिका रूपमा हिमालका आवाज”.मन्तव्य (२०७६) ः भूमिका खण्ड.
उप्रेती, सञ्जीव. सिद्धान्तका कुरा. दोस्रो संस्क. काठमाडौँ: अक्षर क्रियसन्स नेपाल. २०६८.
एटम, नेत्र. “पर्यावरणीय समालोचना”. रत्न बृहत् नेपाली समालोचना सैद्धान्तिक खण्ड (२०६८): ३१०/३३२.
एटम, नेत्र. “पर्यावरणीय समालोचना ः जीवन, प्रकृति र साहित्यको सङ्गम”. मधुपर्क पूर्णाङ्क ५८५ (२०७४): ५–८.
ज्ञवाली, विष्णुप्रसाद. सांस्कृतिक अध्ययन र विकलका उपन्यास. काठमाडौँ: तन्नेरी प्रकाशन. २०७३.
ज्ञवाली, विष्णुप्रसाद. “गहुँगोरो अफ्रिका कवितामा ज्ञान, पहिचान र शक्तिसंरचना”. (http://nepalisamalochana.com/?p=1334) प्रयोग मिति: सन् २०२०÷१२÷१०.
पुडासैनी, दामोदर ‘किशोर’. हिमालका आवाज. काठमाडौँ: दोभान प्रकाशन. २०७६.
प्mलक, विनफ्रिड. “रेसिस्टेन्स ! कल्चरल स्टडिज एन्ड द कोइसन अफ कल्चरल चेन्ज”. (https://www.jfki.fu-berlin.de/en/v/publications_fluck/2000/fluck_resistance/Fluck_Resistance.pdf) प्रयोग मिति: सन् २०२०/१२/०८.
भट्टराई, रमेशप्रसाद. सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ. काठमाडौँ: भुँडीपुराण प्रकाशन: २०७७.
भण्डारी, हेमबहादुर. “मायालु हुम्ला नियात्राकृतिको पर्यावरणीय अध्ययन” मिर्मिरे वर्ष ४६ अङ्क १ (२०७४): १५९–१९०.
मार्टिन, बट्लर र अरू. रेसिस्टेन्स. (https://library.oapen.org/bitstream/handle/20.500.12657/31366/630211.pdf?sequence=1&isAllowed=y प्रयोग मिति: सन् २०२०/१२/०८.

‘Cultural Resistance’. https://science.jrank.org/pages/11137/Resistance-Cultural-Resistance.html (Accessed 8th Dec. 2020).

‘Cultural Resistance’. http://sociology.iresearchnet.com/sociology-of-culture/cultural-resistance/ (Accessed 8th Dec. 2020).