प्रिय मनुज, यो वर्ष तिमी ८४ वर्षका भयौ । गएका ३० दिन तिमीसँग मैले गफ गर्ने मौका पाएँ । जसरी तिमीले “हेलो मोनालिसा !” मा मोनालिसालाई सम्बोधन गर्दै प्रेम व्यक्त गरेका थियौ – “म ७० वर्षको बूढो तिमी पाँच सय वर्षकी तरूनी….” भनेर । उसैगरी यो गन्थन तिमीप्रति समर्पित ।

खासगरी म कसैसँग टाढिएको थिएँ र मलाई फकाउन उसले थाहै नदिई दुई किताब पठाएको थियो र म चकित परेर लिन पुगेको थिएँ । दुई किताब थिए तीर्थ गुरुङको “पाठशाला” र तिमी अथवा मनुजबाबु मिश्रको “एकालानुभूति” । हुन त म गैरआख्यानभन्दा आख्यानमा डुब्न रुचाउँछु । आख्यानले सिर्जना गर्ने परको दुनियाँमा हराउँदा बिछट्ट आनन्द पाउँछु । तर किताबको गातामा भएको पृथक कलाले म “एकालानुभूति” तिर आकर्षित भएँ । गाताको पछिल्तिर लेखिएको छ, “झण्डै ३० वर्ष….. एकान्तवास बसेका…. मिश्र……”, यो प्रसङ्गले मलाई गम्भीर र आश्चर्यान्वित बनायो र निर्णय गरेँ- ३० दिन लगाएर नै यो किताब पढ्छु, कुनै हतार नगरी । संयोगले किताबमा रहेछन् २९ निबन्ध ।

साहित्यकार अमर न्यौपाने, मनुजबाबुकै पुत्र तथा राजनीतिज्ञ रवीन्द्र मिश्रका भनाइहरू सुरुमा थिए । पहिलो दिन मैले यति मात्रै पढेँ ।

विशालबाबु बस्नेत

फाइनप्रिन्टको प्रकाशनमा रहेको यो निबन्धसङ्ग्रहले छ ओटा विभिन्न निबन्धसङ्ग्रहका ११८ निबन्धमध्येबाट चुनिएका निबन्धहरू समावेश गरेको छ । विभिन्न धार र शैलीका उत्कृष्ट निबन्धहरू सङ्ग्रहित छन् यसमा । तिनीहरूको अध्ययनले कता कता हृदयको अन्तरकुन्तरलाई मीठोसँग स्पर्श गरेको अनुभूति हुन्छ ।

तिमीले आफ्ना विभिन्न अनुभवहरू पस्किएका छौ । कलाकार दृष्टिमा र निबन्धकार दृष्टिमा वा दुवै दृष्टिमा । आफैँ एक पोख्त चित्रकार भएका नाताले चित्रकृतिको बारेमा धेरै दृष्टान्तहरू दिएका छौ । अध्ययनकालमा अनि विभिन्न कार्यक्रमको दौरानमा विश्वका अनेक स्थानहरू पुगेर कलामार्फत् आफ्नो जाति र संस्कृतिको प्रदर्शन गर्दा भोगेका रमाइला र रोचक कुराहरूलाई आफ्नो सुगम भाषामा व्यक्त गरेर नेपाली जातिप्रति गौरव पनि त गरेका छौ । कतिपय अवस्थामा तिमी समाजका विभिन्न पक्षहरूलाई र राजनाैतिक घटनाक्रमहरूलाई चोटिलो व्यङ्ग्य गर्न पनि खप्पिस भेटिन्छौ ।

२०५२ सालमा प्रकाशित “तरङ्ग तरेली” निबन्ध सङ्ग्रहमा रहेको “प्रजातन्त्रको पोट्रेट” निबन्धमा प्रजातन्त्रको चित्रकृति उतार्न प्रजातन्त्रको लिङ्ग, वर्ण र स्वरुप थाहा पाउन परेको अप्ठेरोलाई यति मीठो तरिकाले व्यक्त गरेका छौ कि त्यो एकातिर सरस व्यङ्ग्य जस्तो प्रतीत हुन्छ भने अर्कोतिर स्वैरकाल्पनीक यथार्थजस्तो साँच्चै प्रजातन्त्र भन्ने केही जिनिस नै हो कि जस्तो पनि आभास हुन्छ । तिमीले लेखेको तिम्रै शब्दमा – “मान्छे जस्तै यो पनि उदाउँछ, बढ्छ र सड्छ । यो पनि देख्न, छुन, सुँघ्न, खान र लाउन सक्छ । एउटा मान्छेमा हुने सम्पूर्ण मानवी र दानवी गुण, अवगुण यसमा पनि छन् ।” त्यसमा तिमी सोच्दासोच्दै प्रजातन्त्रको कहालीलाग्दो र वीभत्स पोट्रेट तयार पार्छौ । यसरी – “मान्छेकै आकारको धातु रङको रातो लुगा लगाएको, लिङ्ग छुट्याउन नसकिने आधुनिक “पप” युवा जस्तो, डरलाग्दो अणुबम काँधमा हालेको, कालभैरवको जस्तो भयावह मुख भएको, …….., …..” आदि आदि ।

राजनीतिक कटाक्ष कतै यसरी पनि आएको छ – “सबैका अगाडि गर्न  सकिने त भाषणै मात्र हो । बौद्धिक अन्तर्क्रिया, चिन्तन र मनन् तपस्याविना सिर्जनात्मक प्रतिफल प्राप्त हुनै सक्दैन ।” (भित्र कि बाहिर?)

आफ्नै कपाल, दाँत, दिसा, अनुहार आदिलाई बिम्ब बनाए जसरी तिमी पाठकलाई गम्भीर भई सोच्न बाध्य तुलाउँछौ । यी निबन्धहरूभित्र रहेको हाँस्य तथा व्यङ्ग्य दुवै यति सन्तुलित र मिहिन छन् जसमा घुलिँदै जाँदा आफूभित्र रहेको आडम्बर, घमण्ड र फूर्ति क्षणभरमै चकनाचूर हुनेछन् ।

हवाइयात्रादेखि नै साथी बनेको झिँगो युरोपसम्म पछ्याएर सँगै फर्किएको बयान गरेर रचित “एउटा झिँगा युरोपको सहयात्री” निबन्धमा झिँगालाई मान्छेभन्दा विशिष्ट स्वरूपमा चित्रित गरेका छौ । वास्तवमै तिमीले भनेजस्तै हामी सबै झिँगाको समाजमा हुर्किएका एकएक थान झिँगा पो हौँ कि ? आफूमा रहेको अनन्तः झिँगापन उही झिँगाबाट पाएको हामीले बिर्सेका पो हौँ कि ?  तिम्रै शब्दमा – “आखिर मानिसले अर्काको भाग चोरेर खाने, फोहोरमैलादेखि रगतसम्म अरूकै खाने, अगाडिबाट पुच्छर लुकाएर भागे पनि पछाडिबाट गएर पाखुरा खैंचिने आदि शिक्षा त झिँगाबाटै सिकेको हो ।”

तिम्रो हठी र निर्धक्क स्वभाव “एउटा बेवकुफको बेवकुफी” मा चर्चा गरिएको छ । आफ्नो मनोवृत्ति, अभिनय र स्वभाव समाजभन्दा उल्टो वा व्यवस्थाइतर रहेको र यसमा कत्ति पनि गुनासो नरहेको गर्विलो भावना पोखेर तिमीले भनेका छौ- “रातोलाई कालो र नीलोलाई पहेँलो भनी घोषणा गर्दै हिँड्ने आजको राजनीतिक विश्वमा जन्मिएर पनि सत्यवादी बन्न खोज्नु साँच्चै मेरो बेवकुफी नै थियो ।”

तिमी आरामले भन्छौ तर म एक वाक्यमा घण्टौं गम्न विवश हुन्छु । जस्तो कि, “म विद्वान् भन्दा मूर्ख छु र मूर्खभन्दा विद्वान् पनि छु ।” (म परिचयविनाको मान्छे)

एउटा साहित्यकार वा कलाकारले कतिपय अवस्थामा लाजका सीमानाहरू पनि पार गर्नुपर्ने भनाइमा सहमत नहुँदो हौ त तिमी “दिसा” निबन्धमा रङ्गशालामा आफ्नो पिसाब खुस्किएको अनुभवदेखि दिसामा लतपतिएको चस्मा पिसाबले पखालेको वर्णन विना कुनै हिचकिचाहट गर्दैन थियौ होला ।

स्वच्छन्दवादिता, प्रभाववादिता र मानवतावादिता विभिन्न तरिकाले यस पुस्तकभरि प्रस्फुटित भएका छन् । आफ्नो अध्ययनशील जीवनको चरितार्थ दृष्टान्त दिने क्रममा विभिन्न कवि, साहित्यकार र लेखकहरूका किताब वा भनाइहरू उद्धृत पनि गरेका छौ ।

यो पुस्तकमा सङ्ग्रहित निबन्धहरू लरतरो अध्ययनबाट हतारोमा लिखित आजका गफगाफहरूभन्दा पृथक लाग्यो मलाई । पढिरहँदा त्यसमा पाइने श्रृंगारयुक्त भाव त छँदैछ, त्यसमाथि बोधगम्य सन्देश र शिक्षा पनि यथेष्ट छ । भलै केही मान्छेहरू तर्क पनि गर्लान्, शिक्षाप्रद कुराहरू के पढ्नु ?

‘मै जान्ने हुँ मै बुझ्ने हुँ’ भन्नेहरू पनि हुनसक्छन् । तर मननीय ढङ्गले अभिव्यक्त एकेक विचारमा शालीन विद्रोह र समयचेत रहेको कुरा नकार्न सकिँदैन । शब्दको चयन र भाषाको संयोजन यस लेखाइका राम्रा पक्षहरू हुन् । शीर्ष निबन्ध ‘एकालानुभूति’ पुस्तकको पछाडि रहे पनि बेजोड छ । यसमा एक्लो हुनु वा एकको महत्वलाई विशेष स्थान दिएर तिमीले प्रष्ट भनेका छौ- “म स्वयम् पनि आखिर एक्लै नबसी लेख्ने, पढ्ने, चित्र रचना गर्ने आदि सिर्जनात्मक कार्य गर्न सक्दिनँ नि ।”

२०७५ सालमा दिवंगत भए पनि आम मानसपटलहरूमा आफ्ना चित्रकला र यस्ता अभिव्यक्तिहरूमार्फत् दीर्घकालसम्म जीवित रहनेछौ मनुजबाबु मिश्र तिमी । उही तिमीले मोनालिसालाई भनेकै भाकामा यो गन्थन टुङ्ग्याउँछु- मेरो भावाकाशमा तिम्रो प्रभाव मात्र पनि प्रलयङ्कारी बादल बनेर बढ्न खोज्दैछ ।