उसले लेख्न थालेको धेरैवर्ष भैसक्यो । प्रारम्भमा कविता लेख्यो । उसले कविता स्कुल पढ्दादेखि नै लेख्न थालेको हो । विद्यालयस्तरीय प्रतियोगिताहरूमा विद्यालयको प्रतिनिधित्व गर्दै थुप्रै पुरस्कारहरू पनि पायो । आफ्नो स्कुलमा शिक्षक तथा विद्यार्थीहरूमाझ ऊ कविका रूपमा प्रसिद्ध थियो । फलस्वरूप उसको काँधमा थप जिम्मेवारी थपियो । उसका साथीहरू भन्थे “यार पदम एउटा कविता लेखिदे न प्रेमिल भावको । म उसलाई प्रपोज गर्छ ।”
साथीहरूको आग्रहलाई नकार्न सकेन र साथीहरूका निम्ति थुप्रै गीत, गजल र कविता लेख्यो । सुरुसुरुमा त त्यसको प्रभाव पनि देखिएको हो केटीहरू बीचमा । भनेका पनि हुन् “तिमी पनि त राम्रो लेख्दारहेछौ पदमले जस्तै ।”
तर बिस्तारै थाहा हुँदै गयो जति प्रेमी कवि बनेका थिए सबै पदमकै बलमा बनेका थिए । नेपाली विषय पढाउने शिक्षकले एकदिन सोधेका थिए “पदम तिमी आफ्ना रचना अरुलाई दिएर किन दुरूपयोग गर्छौ ।”
उसले प्रत्युत्तरमा भनेको थियो “सर साथीहरू आग्रह गर्छन् । म नाइ भन्न सक्दिन । मेरो पनि यही बहानामा अभ्यास भैरहेको छ ।”
केटाहरूका काव्यिक प्रस्तावहरू बिस्तारै बालुवाका घरझैँ भत्किएका थिए र फिर्ता हुन थालेका थिए । विद्यालयमा यस कार्यले चर्को रूप लिएपछि र एउटा काव्यिक पत्र आफ्नै भतिजीको किताबमा भेटिएपछि एकदिन हेडसरले पदमलाई अफिसमै बोलाएर हप्काएका थिए । भनेका थिए “यो कविता लेख्ने उमेर होइन । पढ्ने उमेर हो । कविता पढाइ सिध्याएर लेख्न थाले पनि हुन्छ ।”
“स्वरी सर ।” प्रतिक्रियामा यतिमात्र भनेको थियो पदमले र नरमाइलो अनुभव गर्दै अफिसबाट निस्किएर कक्षाकोठामा प्रवेश गरेको थियो ।
त्यसपछि उसले विद्यालय तहको पढाइ नसकुन्जेल कविता, गीत लेखेन । प्रतियोगिताको निमन्त्रण आउँदा सरहरूले निकै अनुरोध गरे र पनि उसले मानेन । भन्यो “हिँजोआज म कविता लेख्न सकिरहेको छैन सर । त्यसैले म प्रतियोगितामा जान्न । साथीहरूलाई पठाउनुहोस् ।”
तर यथार्थ त्यस्तो थिएन । उसको मनमा कविताका ज्वारभाटाहरू आउँथे र विशेषतः सरहरूले आग्रह गरेको बेला त झन बढी बिद्रोही भावहरू उत्पन्न हुन्थे “नबाँध मलाई लगाम लगाएर, विचारमाथि त्यो शासन चलाएर ।”
पदमले ती विचारका ज्यारभाटाहरूमाथि आफैले लगाम लगायो र सिर्जनालाई मनमनै दबायो । त्यसपछि प्रतियोगितामा विद्यालय पुरस्कृत हुन छाड्यो । एकदिन अफिसमा हेडमास्टरले भनेका थिए “पदमको अहंकारले उसलाई पनि खानेभयो । स्कुल पनि पछाडि प¥यो ।”
सायद नेपाली शिक्षकलाई हेडमास्टरको टिप्पणी चित्त बुझेको थिएन र उनले शान्त भावमा भनेका थिए “सर सिर्जनामाथि लगाम लगाउनुको परिणाम हो यो ।”
एस्. एल्. सी. पछि जब पदम उच्च शिक्षाका निम्ति क्याम्पस भर्ना भयो सिर्जनात्मक प्रतिबन्ध फुकुवा भएको महसुस ग¥यो । त्यसपछि ऊ फेरि लेखनमा लाग्यो । क्याम्पसमा कविता लेख्न उसलाई कसले रोक्ने ? बरु प्राध्यापकहरू उसका कविताको टिप्पणी गर्थे र थप प्रेरित गर्थे ।
कलेजमा उसले छोटो समयमै आफ्नो अलग्गै पहिचान बनायो लेखकका रूपमा । स्थानीय पत्रपत्रिकाहरूले उसका कविताको माग गर्न थाले । कलेज पढ्न थालेपछि उसको साहित्यिक अध्यनयको दायरा फराकिलो बन्दै गयो । उसले स्वदेशी तथा विदेशी, नेपाली तथा गैर नेपालीभाषी लेखकहरूका चरनाहरू पढ्ने अवसर पायो । फलस्वरूप ऊ कवितामात्र नभै बिस्तारै कथा र निबन्धहरू पनि लेख्न थाल्यो ।
साहित्यिक प्रतियोगिता तथा गोष्ठीहरूमा उसका रचनाको विशेष फर्माइस हुन थाल्यो । मान्छेहरू भन्थे “पदमका कविताले मान्छेका रौँ ठाडा पारिदिन्छन् । ऊ भविष्य बोकेको राइटर हो ।”
पदम बिस्तारै आफ्नो अध्ययनलाई पनि अगाडि बढाइरहेको थियो भने आफ्नो साहित्यिक यात्रालाई पनि सँगसँगै अगाडि बढाउँदै थियो ।
प्रवीणता उत्तीर्ण गरेर स्नातकमा पुग्दा पदम जिल्ला तहका अग्रणी स्रष्टाहरूको पंक्तिमा चिनिन थालेको थियो । एकातिर लामो समयदेखि कलम चलाएर पनि र किताब प्रकाशित गरेर पनि चर्चामा आउन नसकेकाहरू पदमको बढ्दो चर्चाका कारण ईष्या गर्न थालेका थिए भने एउटा वर्ग उसको ससम्मान खोजी गथ्र्यो र मञ्च प्रदान गथ्र्यो ।
पदमले बुझेको थियो हरेक ठाउँमा सहयोगीका साथै ईष्या गर्नेहरू पनि हुन्छन् । त्यसकारण त्यसको वास्ता नगरेर आफ्नो बाटो हिड्नुपर्छ । ऊ त्यही गरिरहेको थियो ।
स्नातक उत्तीर्ण हुँदा नहुँदै उसका रचनाहरू राष्ट्रिय पत्रपत्रिकाहरूबाट पनि प्रकाशित हुन थाले । उसले केही सानाठूला पुरस्कारहरू पनि प्राप्त ग¥यो र राष्ट्रिय स्तरमै सम्पर्क कायम भयो ।
ऊ आफ्नो सफलतामा सन्तुष्ट थियो । मान्छेले जीवनमा सबै कुरा गर्न सक्दैन । आफूले प्रयास गरेको एउटा क्षेत्रमा उच्च सफलता हासिल गर्नु नै मान्छेको सफलता हो र त्यसमा सन्तुष्ट हुन सक्नुपर्छ भन्ने पदमको धारणा थियो । “मलाई पहिचान दिने क्षेत्र साहित्य हो । त्यसैले म साहित्यमै समर्पित भएर लाग्नुपर्छ” भन्ने अठोट पदमले ग¥यो ।
स्नातक समाप्त भएपछि काठमाडौँमै गएर स्नातकोत्तर अध्ययन र साहित्ययात्रालाई सँगै अगाडि बढाउने सोँच बनाएको पदमलाई उसका आमाबाबुले रोक्छन् । “तँ हाम्रो एउटा छोरो, बी. ए. पढिस् । सधै तेरैमात्र मनको गर्छस् कि हाम्रा रहर पनि पु¥याउँछस् ?” रिसाउँदै बाबुले भनेका थिए । बाबुलाई केही जवाफ दिँदो हो । आमाका आँखाभरि आँसु र ती आँसुले पनि बाबुले जस्तै रहरहरू बोकेको देखेपछि पदम अनुत्तरित भयो ।
उसले भन्यो “तपाईँहरूको ईच्छा के हो त ? मैले अब के गर्नुपर्ने हो ?”
“बिहे गर् ।” पदमको प्रश्न नटुङ्गिदै बाबुले भने “बिहे गर्, नोकरी गर् । स्वास्नीलाई र हामीलाई पनि पाल्ने जिम्मा अब तेरो हो । यसरी जिम्मेवारीबाट उम्कन पाउँदैनस् अब ।”
“मेरो पढाई नै सकिएको छैन ।” पदम भन्दै थियो । उसले आफ्नो कुरा पूरा गर्न नपाउँदै बाबुले कुरा काटेर भने “जाबो पढाइ कहिल्यै पूरा हुँदैन । अब कमाउँदै पढ्दै गर् ।”
“हुन्छ अब म हजुरसँग खर्च माग्दिन । तर बिहे …।”
“तरसर होइन । एउटा छोरो; के हाम्रो पनि रहर हुँदैन ।” आमाले दुबैलाई उछिनेर भनिन् । उनका आँखाबाट आँसु खसिरहेकै थिए । आमाका आँसुको अगाडि उसको के लाग्थ्यो । पदमले पढ्न काठमाडौँ जाने सपना देख्न छोडिदियो । बिहे ग¥यो र एउटा काम पनि खोज्यो । पदम दिनभरि अफिस जान्थ्यो । साँझ घर फर्केर लेख्न बस्थ्यो । सुरुसुरुमा त केही भनिनन् तर पछिपछि पत्नी रमिलालाई पदमको बानी असह्य भयो । “कस्तो मान्छे । दिनभरि बाहिर गयो । घर आएर कापी कलम समायो । यसो घरमा अरु पनि काम हुन्छन् । वास्तै छैन ।”
रमिलालाई पदमको साहित्य सिर्जना बिस्तारै सौता बन्दै गयो । दिनदिनको कचकचका कारण पदमले अफिसबाट आएर लेख्न छोड्यो । ऊ आधारातमा पत्नी निदाएको बेला उठ्थ्यो र अर्को कोठामा बसेर लेख्थ्यो तर उसको लेखन बन्द भएन ।
पछिल्ला दिनहरूमा पदमका बाबु उसलाई देख्नासाथ यही भन्थे “अरुका छोरा विदेश जान्छन् । दाम कमाउछन् । घडेरी किन्छन्, घर बनाउछन् । हाम्रो नाथे किताब लेखेँ भनेर फूर्ति लगाउँछ । के नापियो किताब लेखेर ?”
यति सारो त भन्थिनन् तर रमिलालाई पनि लोग्ने विदेश गैदिए हुन्थ्यो भन्ने लाग्दो हो । ससुराले छोरालाई यस्ता वचन बोल्दा मुस्कुराउँथिन् । उनको हाँसोमा पदम आफूप्रतिको तिरस्कार पाउँथ्यो ।
पदमको मन छियाछिया भएर आउँथ्यो । लेख्न बस्यो पत्नीको कचकच । दाम कमाएन भन्ने बाबुको कचकच । सहज वातावरण नभएपछि सिर्जना कसरी हुन सक्थ्यो र । ऊ आफ्नो डायरी बन्द गथ्र्यो र श्रीमतीलाई काममा सघाउन थाल्थ्यो ।
पदमले लेख्न छोडेर सघाउन थालेपछि रमिला फुरुक्क पथ्र्यी ।
पदमको लेख्ने काम पातलिँदै गए पनि जिल्ला तहमा हुने साहित्यिक कार्यक्रमहरूमा निमन्त्रणा आउन छोडेको थिएन । ऊ एक स्थापित लेखक जो थियो । त्यस्ता निमन्त्रणामा यथासम्भव उपस्थित हुन्थ्यो र आफ्नो भूमिका निर्वाह गथ्र्यो ।
कार्यक्रम प्रारम्भ हुनुपूर्व वा कार्यक्रमपश्चात्, अनुकूल पर्दा कार्यक्रमकै बीचमा पनि साथीहरू सोधिहाल्थे “क्या हो पदमजी हिँजोआज तपाईँको रचना पढ्न पाइएको छैन नि !”
उसको मन छियाछिया हुन्थ्यो तर प्रतिक्रियामा मुस्कुराएरै पदम भन्थ्यो “अँ हिँजोआज त्यति लेख्न सकिरहेको छैन ।”
“भाउजूलाई समय दिनुपरेकोले व्यस्तता बढेको होला नि ।” अर्कोले व्यङ्ग्यात्मक झटारो हान्थ्यो, अनेकार्थी वाक्यको प्रयोग गरेर ।
जुनसुकै अर्थमा किन नहोस्, जस्तोसुकै मनसायले किन नहोस् पदमको लेखनप्रति चासो राख्ने यही साहित्यिक गोष्ठी÷कार्यक्रमहरूमा भेट हुने मित्रहरूले त हो । त्यसैले पदम ती मित्रहरूका अभिव्यक्तिबाट एकप्रकारले सन्तुष्ट नै हुन्थ्यो ।
“यिनीहरू मलाई लेखक ठान्छन् र त मबाट रचनाहरूको अपेक्षा गर्छन् । मेरा रचनाहरू गहकिला हुन्छन् होला र त मैले लेख्न नसकेकोमा, आफूले पढ्न नपाएकोमा गुनासो गर्छन् ।
यो सन्तुष्टि पदमले अन्यत्रबाट कहाँ पाओस्, कसबाट पाओस् ।
पदमलाई न सामाजिक कार्यहरूमा सम्लग्न हुन मन पथ्र्यो न मावली ससुराली जान । यसको अर्थ यो होइन कि पदम असामाजिक र वैयक्तिक स्वभावको मान्छे हो । यो पनि होइन कि ऊ ज्यादै अन्तमुर्खी छ । कारण यही हो कि ऊ परिवारबाट, आमाबाबुबाट, र श्रीमतीबाट, समाजबाट, इष्टमित्रबाट जुन कुराको अपेक्षा गर्छ त्यो व्यवहार र सद्भाव पाउन सक्दैन र त पदम आफन्तहरूमाझ नै पनि एक्लो हुँदै, एक्लो महसुस गर्दै गैरहेको छ ।
हिँजोआज समाजका भद्र भलादमीसँग भेट भयो कि सोधिहाल्छन् “होइन पदम के गरिरहेका छौ तिमी ? यसो बजारतिर, मधेसतिर घर घडेरी जोड्ने विचार, सुरसार छ कि छैन ?”
वास्तवमै पदम यस्ता कुरामा ध्यानै दिँदैनथ्यो । ऊ भन्थ्यो “किन चाहियो घर घडेरी बजारमा, मधेशमा ? पैत्रिक सम्पत्ति गाउँमा छँदैछ । घर छ । नियमित खर्चका लागि नोकरी गरिरहेकै छु ।”
“आदर्शवादी नबन, भोलि पछुताउला । प्रतिक्रिया यस्तै आउँथ्यो ।
कहिलेकाँहीँ ससुराली जान्थ्यो । सासुससुराको सधै यही अनुरोध हुन्थ्यो “ज्वाइ यसो विदेशतिर जाने प्रोसेस गरे पनि हुन्थ्यो । नेपालमा बसेर त के हुन्छ र !”
ऊ प्रतिक्रिया त केही दिँदैनथ्यो तर उसको मन आद्र्र भएर आउँथ्यो यो सुनेर ।
उसका जेठानले पटकपटक फोनमा भनेका थिए “ज्वाइ बहिनीलाई गाह«ो भयो । यसो पासपोर्ट बनाउनुहोस् । म यतै अस्टे«लियाको प्रोसेर चलाउँला ।”
“मेरो यत्रो सम्मान छ देशमा । अस्टे«लियामा कसले चिन्छ र मलाई ?” पदम मनैमन भन्थ्यो तर प्रतिक्रिया जनाउँदैनथ्यो ।
हरेकपटक फोनमा साडुले सालीलाई यही भन्ने गरेका थिए “रमिला पदमलाई प्रोसेस गर्न भन र यतै आओ अमेरिकातिर । हामी पनि सहयोग गरौँला ।”
रमिला भिनाजुसँग “हस्” भन्थी । र सधै पदमसँग कचकच गर्थी “तिमी आफूले त दुःख पाउने भयौ । मलाई पनि सुख कटाउने भएनौ ।”
श्रीमतीका कुराले मन त अमिलो हुँदोहो पदमको तर प्रतिक्रिया कहिल्यै जनाएन ।
एकपटक पत्नीसहित पदम मामाघर गएको थियो । आमाले भनेकी थिइन् “मामाले भेट्न बोलाएका छन् ।” मामा र उनका छोराहरूले आधारातसम्म व्यापार र त्यसबाट भएको आर्थिक उन्नतिको कुरा गर्दै पदमलाई पनि व्यापार गर्ने सुझाव दिएका थिए ।
प्रतिक्रियामा पदमले भनेको थियो “व्यापारमा लागेँ भने त मैले लेख्ने समय नै पाउँदिन ।”
“लेखेर के हुन्छ ? अहिलेसम्म तपाईँले कति कमाउनुभयो लेखेर ?” मामाले सोधेका थिए । उनको प्रश्नमा पदमको अभिव्यक्तिप्रति पर्याप्त असन्तुष्टि देखिन्थ्यो ।
“मामा लेख्ने कमाउनका लागि होइन । कमाउनका लागि त म नोकरी गर्दै छु । लेख्ने त यश र प्रतिष्ठाको लागि हो । समाजमा चेतना र विचार सम्प्रेषण गर्न हो ।”
“नेपालको नोकरीमा कति तलब हुन्छ । कसरी चल्छ त्यसबाट खर्च । तपाईँको तलबको दुईगुना त मैले नोकरहरूलाई दिने गरेको छु ।”
पदमले बुझ्यो आमा र बुबाले मामासँग मप्रतिका असन्तुष्टि व्यक्त गर्नुभएको रहेछ । त्यसैले त मामाले फोनै गरेर बोलाउनुभएको थियो ।
समाजका, इष्टमित्रका यिनै कुरा सुनेर, धाकरवाफ देखेर हो वा उसको आफ्नो विचार र चेतना पनि त्यस्तै हो, रमिलाले पछिल्लो समयमा भन्ने गरेकी थिई “तिमीले आफूले त सुख काट्ने भएनौ । मलाई पनि सुख काट्न नदिने भयौ । भोलि बालबच्चा…।”
उनीहरूका बच्चा नै भएका थिएनन् । पदमले रमिलाको मुखमा हेरेपछि उसले आफ्नो वाक्य अपुरै छोडी ।
यसप्रकारका सुझाव र प्रतिक्रियाहरूले पदमलाई दिक्क पाथ्र्यो तर ऊ आफ्नो लेखनलाई मन्द गतिमै भए पनि अगाडि बढाइरहेको थियो ।
+++
करिब दुई वर्ष भएको थियो पदमले नयाँ रचना नलेखेको । ऊ साहित्यिक कार्यक्रममा सहभागी त हुन्थ्यो तर भन्थ्यो “हिँजोआज मैले मञ्चमा सुनाउन लायक सिर्जना नै गर्न सकेको छैन ।”
मान्छेहरू टिकाटिप्पणी गर्थे “पदमले लेख्न छोड्यो । सधै एकनास कहाँ लेख्न सक्छ मान्छे ।”
यसै बीचमा एकदिन राष्ट्रिय पत्रिकाको शनिबारे साहित्यिक पृष्ठमा रचनागर्भ सहितको पुस्तकको कभर छापियो, पदमले लेखेको उपन्यासको । रचनागर्भमा पदमले जे कुरा उल्लेख गरेको थियो त्यसबाट नै कृतिप्रति पाठकहरूको ध्यान यतिविघ्न आकर्षित भयो कि दुई चार महिनामै हजारौँप्रति कृति बिक्री भयो । ठाउँठाउँमा कृतिमाथि परिचर्चा कार्यक्रमहरू राखिए ।
यसै क्रममा स्थानीय एउटा साहित्यिक संस्थाले पनि पदमको उपन्यास ‘लेखक’माथि परिचर्चा कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा साहित्यकारहरू, साहित्य अनुरागीहरू र साहित्यप्रेमी सयौँ मान्छेका साथै पदमका आफन्तहरू पनि उपस्थित थिए ।
आसनग्रहणको क्रम प्रारम्भ भयो । सञ्चालकले अध्यक्ष, प्रमुख अतिथि, समीक्षकलाई आसन ग्रहण गराएपछि पदमका बुबाआमालाई आसनग्रहण गराउने क्रममा भने “जसले पदम सरलाई जन्म दिए, पढाए र साहित्यमा लाग्न प्रेरित गरे । जसले पदम सरलाई लेख्न प्रेरित गरे र यति ठूलो साहित्यकार बनाए, ती बुबाआमालाई आसन ग्रहण गर्न अनुरोध गर्दछु ।
पदम यथार्थवादी लेखक । उसलाई सञ्चालकको “साहित्यमा लाग्न प्रेरित गरे । जसले पदम सरलाई लेख्न प्रेरित गरे र यति ठूलो साहित्यकार बनाए” भन्ने वाक्यांश पटक्कै मन परेन । उसले मनमनै भन्यो “आमाबुबाले म साहित्यकार भएकोमा कहिल्यै सन्तुष्टि व्यक्त गर्नुभएन । अझ एकपटक त ‘यसले कमाएको जति किताब छापेर भ्याउने भयो’ भन्ने टिप्पणी सम्म गर्नुभयो । कसरी आमाबुबा मेरो साहित्य लेखनका उत्प्रेरक ?”
सञ्चालकले रमिलाको नाम लिए र पदमकी पत्नीको रूपमा परिचित गराउँदै आसनग्रहण गराए, र भने “एक पुरुषको सफलता र असफलतामा उसकी पत्नीको ठूलो हात हुन्छ । ठूलो योगदान हुन्छ । पदम सर स्रष्टाको रूपमा जुन उचाइमा हुुनुहुन्छ त्यसमा रमिला मेडमको ठूलो योगदान छ ।”
रमिला सञ्चालकको टिप्पणीलाई आत्मसात गर्दै बडो प्रसन्नतापूर्वक मञ्चमा उपस्थित भइन् । तर पदमलाई सञ्चालकको टिप्पणी मन परेन । “रमिलाको योगदान कसरी ? उनी त म लेख्न बसेकोसम्म मन पराउँदिनन् । ‘विदेश जाऊँ’ भन्छिन् । नजन्मिएका सन्तानको चिन्ता गर्छिन् र पैसा सञ्चय गर्नुपर्ने विचार व्यक्त गर्छिन् । अनि…?”
सञ्चालकले कार्यक्रममा उपस्थित भएका पदमका सासुससुरालाई पनि आसनग्रहण गराए । त्यस क्रममा रमिलाजस्ती योग्य र संस्कारित पुत्री गन्माएको भनी प्रशंसा गर्न बिर्सिएनन् । पदमका मामालाई पनि मञ्चमा बोलाइयो ।
आसनग्रहणको कार्यपछि कृतिमाथिको टिप्पणी र शुभकामनाको क्रम प्रारम्भ भयो । यस क्रममा शुभकामना व्यक्त गर्न गाउँका एक प्रतिष्ठित राजनीतिज्ञ मञ्चमा उपस्थित भए जसले धेरैपटक पदमसँग सोधेका थिए “घर घडेरी किन्यौ, बनायौ ?” ती व्यक्तिले मञ्चमा उभिएर भने “पदम राष्ट्रका गहना हुन् । यस्ता व्यक्तिलाई राज्यले संरक्षण र सहयोग गर्नुपर्छ । पछिल्लो समयमा लेखकहरू पनि केन्द्रमा बस्ने र विदेश पस्ने प्रचलन बढ्दो छ । राज्यले विदेश जानबाट स्रष्टाहरूलाई रोक्न सक्नुपर्छ । स्रष्टाहरू गाउँ र कन्दरामा जानुपर्छ र बस्नुपर्छ । उनीहरूले पिछडिएका ठाउँ र वर्गका कथाव्यथाहरूलाई उठाउन सक्नुपर्छ । मैले पदमलाई सधै यही भन्ने गरेको छु र उनले पनि गाउँमै बसेर लेखिरहेका छन् । पदमको उपन्यास ‘लेखक’ले लेखकीय पीडालाई उठाएको छ । विशेषतः लेखकलाई आफन्त र समाजले गर्ने निरुत्साहनको विषयलाई यस कृतिले उठाएको छ । राज्य, समाज र परिवारले लेखकलाई प्रोत्साहन गर्नुपर्छ भन्ने अनुरोध गर्दछु ।”
पदमलाई ती भलाद्मीको अभिव्यक्ति पटक्कै चित्त बुझेन । उसलाई एउटा व्यवहार र अर्को कुरा गरेको मन पर्दैन । उसले मनमनै भन्यो “कति आडम्बर ! यस्तैको हातमा परेर त राष्ट्र पछि परेको छ । भाषा साहित्य कला संस्कृतिको उत्थान हुन सकेको छैन ।
कार्यक्रम अन्तिम चरणमा पुग्यो । सञ्चालकले पदमलाई आफ्ना विचारहरू राख्दै धन्यवाद ज्ञापनका लागि आमन्त्रण गरे । यतिबेरसम्म मान्छेका आडम्बर देखेसुनेर मनैमन मुर्मुरिएको थियो पदम । उसले मनैमन यी आडम्बरहरूको भण्डाफोर गर्नुपर्छ भन्ने पनि अठोट गरेको थियो ।
ऊ मञ्चमा पुग्यो । सबैलाई सम्बोधन ग¥यो र भन्यो “म एक लेखक भएकोले यस कृतिमा लेखकहरूकै पीडा लेख्नुपर्छ भन्ने लागेर कलम चलाएँ । तर म यस उपन्यासको लखेक पात्रको जस्तो पीडाबाट मुक्त छु । मलाई सानैदेखि आमाबुबाले साहित्यमा लागेकोमा खुसी प्रकट गर्दै प्रेरित गरिरहनुभयो । स्कुलमा सरहरूले सधै प्रेरित गर्नुभयो । बिहेपछि पत्नी रमिलाको सहयोग र प्रेरणा पनि मेरो लेखनका लागि महत्त्वपूर्ण छ । मेरा मामा सधै भन्ने गर्नुहुन्छ “भान्जा लेख्नुस् । तपाईँ हाम्रो परिवारको गहना हो । तपाईँको नाम चल्दा हाम्रो पनि गर्वले शिर ठाडो हुन्छ । बरु भन्नुहोस् आर्थिक समस्या प¥यो भने सहयोग गर्नेछु ।
मेरा आफन्तहरू विदेशमा हुनुहुन्छ । वहाँहरूलाई विदेश जानुपरेकोमा पछुतो लागेको छ । भन्नुहुन्छ विदेश भनेको विदेश हो । हामी त बिग्रियौँ । तपाईँले देशमै बसेर केही गर्नुपर्छ । बरु हामी पनि सहयोग गर्नेछौँ । मलाई यस्ता शुभचिन्तक इष्टमित्र र आफन्तहरू देखेर गर्व लाग्छ । लेखनमा आत्मबल बढ्छ । मेरो लेखनको सफलतामा यहाँहरूको ठूलो योगदान छ ।”
पदमको अभिव्यक्तिको प्रतिक्रियामा दर्शकदीर्घाबाट करतलध्वनि गुुन्जियो, तर त्यस आवाजले पदमको मनलाई कुनै प्रभाव पारेन । ऊ आफ्नो मन्तव्य टुङ्ग्याएर आसनमा फर्कंदा निराश, उदास र मानसिक रूपमा थकित थियो । उसले ओठमा कृत्रिम हाँसो उत्पन्न गरिरहेको थियो । पदमको नजर एकपटक पत्नी रमिलामा प¥यो जसले अघिदेखि उसैलाई हेरिरहेकी थिई । पदमले महसुस ग¥यो रमिला हीनताबोधले, आत्मग्लानिले, पश्चात्तापले मलिन थिई । त्यसो त ऊ पनि मुस्कुराइरहेकी थिई तर पदमले देख्यो रमिलाका आँखा आँसुले भरिएका थिए । सायद ती आँखा पश्चात्ताप र आत्मग्लानिले रसाएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।