खलिल जिब्रान

सिंहासनमा सुतेकी बुढी रानीको बगलमा उभिएका चार जना दास पंखा हल्लाउदै थिए । उनी जोड जोडले घुर्दै थिइन् । उनको काखमा सुतेको बिरालो म्याऊँ म्याऊँ गर्दै आफ्ना तिखा आँखाले ती दासलाई कटाक्षले घुर्दै थियो ।

पहिलो दासले भन्यो, ‘सुङ्गुर झैँ सुतेकी यो बुढी कस्ती ढोक्सी देखिन्छे । यसको घोसे मुन्टो हेर; सास त यसरी लिँदैछे, मानौं कुनै दैत्यले यसको घाँटी थिच्दैछ ।’
बिरालोले म्याऊँ गर्दै भन्यो, ‘यो जागेको बेला तिमर्ले गुलामी गर्दैगर्दा तिमर्कों नजरमा यो जति कुरुप देखिन्छे सुतेको बेलामा त्यसको आधि पनि देखिन्न ।’

दोस्रो दासले भन्यो, ‘सुतेको बेला यसका चाउरी अझ चाउरी नपरेर उल्टो साम्य पो हुन्छन् | जरुर कुनै षडयन्त्रको सपना देख्दै हुँदी हो ।’

बिरालोले म्याऊँ गर्यो, ‘तिमर्ले पनि यसरी नै निदाउनु पर्दछ र स्वतन्त्रताको सपना देख्नु पर्दछ ।’

तेस्रो दासले भन्यो, ‘यसबाट मारिएका मानिसहरु जुलुसको भेषमा यसको सपनामा आएका हुँदा हुन् ।’

बिरालोले म्याऊँ गर्यो, ‘अलिक मिलेन, यो बुढी जुलुसको भेषमा तिमेर्का पुर्खाको मात्र होइन आउनेवाला तिमेर्का सन्तानको पनि सपना देख्दै छे ।’

चौथो दासले भन्यो, ‘यसका बारेमा कुरा गर्नु त मजै लाग्छ, तर के गर्नु ?! यसलाई खडा भएर पंखा हल्लाउँदा हल्लाउँदाको मेरो थकानको कुरा गरेरै साध्य छैन ।’

बिरालोले म्याऊँ गर्यो, ‘तिमेरु जस्ता नामर्दले अनन्त अनन्त कालसम्म पंखा हल्लाउनु नै बेस हो, यस धर्तीमा मात्र होइन माथि स्वर्गमा पनि ।’

रानीको गर्धन एकाएक लत्रियो र शिरले उँधोमुन्टो लगायो । शिरको मुकुट डङ्ग्रङ्ग भुईंमा पछारियो ।

दास मध्येको एउटाले भन्यो, ‘यो त अपशकुन भो ।’

बिरालोले म्याऊँ गर्यो, ‘एउटाको अपशकुन अर्का निम्ति शकुन पनि हुन्छ ।’

अर्को दासले मुख खोल्यो, ‘बिउँझिदा यसले कथं आफ्नो शिरमा मुकुट देखिन भने यसले हाम्रो शिरै उडाइदिन्छे ।’

बिरालोले म्याऊँ गर्यो, ‘हर रोज यो तिमेर्को गर्धन छिनाउँदै आ’की छ । तिमरलाई यसको अत्तोपत्तो नै छैन ।’

तेस्रो दासले भन्यो, ‘ठीकै भनिस् तैँले । देउतालाई हाम्रो बलि दिने निहुँमा यसले हाम्रो घाँटी रेटाउँछे ।’

बिरालोले म्याऊँ गर्यो, ‘देउताको सामुन्ने केवल कमजोरहरुलाई मात्रै बलि दिइन्छ ।’

तब चौथो दासले सबलाई चुप हुन इशारा गर्यो । उसले मुकुट उठायो र रानीको निद्रा नटुटोस भन्दै बहुत जतनका साथ उनैको शिरमा लगाइदियो ।

बिरालोले म्याऊँ गर्यो, ‘दासले मात्रै गिरेको मुकुटलाई पुनः राजाको शिरमा पहिर्याउन सक्दछ ।’

एकै छिनमा बुढी रानी जागिन् । वर्तिर पर्तिर हेरेर हाई काट्दै उनले भनिन्, ‘मैले कता कता एउटा सपना देखेँ जस्तो लाग्छ – त्यसमा मैले एउटा बिच्छी चार वटा किरा-फ़ट्याङ्ग्रालाई एउटा पुरानो देवदारको मुढामा यता र उता लखेट्दै गरेको देखेथें । त्यस्तो पो नराम्रो सपना देखेँ मैले त !’

यति भनेर उनले फेरि आँखा छोपिन् र मस्त निदाइन् । घुर्ने काम फेरि सुरु भयो । चारै जना दास उसरी नै फेरि पंखा हल्लाउन थाले ।

तब बिरालो उङ्घ्न थाल्यो, ‘पंखा हल्लाउँदै जाओ, अरु हल्लाउँदै जाओ, मुर्ख हो ! तिमेर्लाई पत्तै छैन, तिमेरु आफैँ जलेर खाक हुने आगामाथि पंखा हल्लाउँदै छौ ।’
भावानुवाद : टंक कार्की