अल्बेयर कामुको प्रख्यात उपन्यास ‘आउटसाइडर’ (कतिपयले ‘द स्ट्रेन्जर’ नाममा पनि अंग्रेजीमा छापेका छन्) यो नेपाली अनुवाद ‘आगन्तुक’ हामीलाई प्रख्यात अनुवादक हरिहर खनालले उपलब्ध गराउनु भएको हो । उहाँका धेरै अनुदित कृति बजारमा आएका छन् ।
अल्बेयर कामुको परिचय
अल्बेयर कामु १९१३ मा अल्जेरियामा जन्मिएका थिए । उनको बाल्यकाल गरिब थियो तथापि बेखुसी थिएन । उनले अल्जियर्स विश्वविद्यालयमा दर्शनशास्त्र अध्ययन गरे र एउटा पत्रकारका साथै Théâtre de l’équipe नाम भएको नयाँ एवम् प्रगतिशील विचारको नाटक मण्डलीको गठन गरेर त्यसको अगुवा बने । उनका सुरुका निबन्धहरू L’Envers et l’endroit (The Wrong Side and the Right Side) र Noces (Nuptials) मा सङ्ग्रहित छन् । उनी प्यारिस गए जहाँ उनले अल्जेरिया फर्कनुभन्दा अघिसम्म Paris Soir भन्ने अखबारमा काम गरे । उनको नाटक Caligula १९३९ मा प्रकाशनमा आयो । उनका पहिला दुई महत्त्वपूर्ण पुस्तकहरू L’Etranger (The Outsider) र लामो निबन्ध Le Mythe de Sisyphe (The Myth of Sisyphus) उनी प्यारिस फर्केपछि प्रकाशित भएका थिए । १९४१ मा जर्मनहरूले फ्रान्सलाई नियन्त्रणमा लिएपछि कामु प्रतिरोध अभियानका बुद्धिजीवी नेताहरूमध्ये एक भए । उनले Combat नामक भूमिगत अखबार सम्पादन गरे र त्यसका लागि लेखहरू लेखे, जुन पत्रिकाको स्थापनामा उनले सहयोग गरेका थिए । युद्ध समाप्त भएपछि उनले आफूलाई लेखनमा समर्पण गरे र La Peste (The Plague, 1947), Les Justes (The Just, 1949), र La Chute (The Fall, 1956) जस्ता पुस्तकहरूबाट अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे । १९५० को दशकको अन्त्यतिरको समयावधिमा लेखेर र William Faulkner को Requiem for a Nun र Dostoyevsky को The Possessed को निर्देशन गरेर कामुले थिएटरप्रतिको उनको चाखलाई पुनर्जागृत गरे । १९५७ मा उनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । १९६० मा उनी एउटा सडक दुर्घटनामा मारिएका थिए । उनको अन्तिम उपन्यास Le Premier Homme (The First Man) उनको मृत्युको समयमा अपुरो थियो र त्यो १९९४ मा पहिलोपल्ट प्रकाशित भयो । तत्कालै त्यो अत्यधिक बिक्री हुने पुस्तकहरूको सूचीमा पर्यो, व्यापक रूपमा बहुचर्चित भयो र तीसभन्दा बढी देशमा अनूदित र प्रकाशित भयो । कामुका अधिकांश कृतिहरू पेन्गुइनमा प्राप्त छन् ।
सात्रले उनको समवेदना सन्देशमा कामुप्रति यसरी श्रद्धा अर्पण गरेका छन्ः
‘कामु हाम्रो सांस्कृतिक विचार पद्धतिका प्रधान शक्तिहरूमध्ये एक हुन कहिल्यै पनि छाड्ने छैनन्, न त उनले आफ्नै तरिकाले फ्रान्सको इतिहास र यो समाजको प्रतिनिधित्व गर्न नै छाड्ने छन् ।’
०००
तीन
०००
आज अफिसमा मैले निकै परिश्रम लगाएर काम गरेँ । मेरो हाकिम दयालु थियो । उसले मलाई म थकित छैन कि भनेर सोध्यो र उसले मेरी आमा कति वर्ष पुग्नुभएको थियो भनेर पनि जान्न चाह्यो । मैले गल्ती नहोस् भनेझैँ गरेर भनेँ, ‘लगभग ६० ।’ र कुनै कारणबश ऊ चिन्तामुक्त भएजस्तो र त्यो विषयलाई टुङ्गिएजस्तो मानेको देखियो ।
मेरो टेबलमा बिलको एउटा ठूलो चाङ थुप्रिएको थियो र मैले ती सबै हेर्नुपर्ने थियो । बिहानको खाना खान जानका लागि अफिसबाट हिँड्नुभन्दा अगाडि मैले हात धोएँ । बिहान खाना खाने बेलामा यसो गर्न म मन पराउँछु । बेलुका मलाई यसो गर्न मन पर्दैन किनभने डन्डीमा भएको तौलिया दिनभरि त्यहीँ हुन्छ र सबै मान्छेले प्रयोग गरेको हुनाले पूरै भिजेको हुन्छ । एक पटक यो कुरा मैले मेरो हाकिमलाई भनेँ । उसले के जवाफ दियो भने उसलाई त्यो कुरा अप्रिय लाग्यो, तर त्यसो भए पनि यो एउटा खासै महत्व नभएको एउटा नालीबेली थियो । म अलिकति ढिलो हिँडेँ, साढे १२ बजे, इम्यानुअलसित, जो वितरणमा काम गर्छ ।
कार्यालयबाट समुद्र देखिन्छ र बन्दरगाहमा चर्को घाममा हामीले डुङ्गा हेरेर केही मिनेट बितायौँ । त्यैल बेला एउटा मालवाहक गाडी त्यसका साङ्ला बजाउँदै र इन्जिनले धुवाँको मुस्लो निकाल्दै वेगवान् गतिमा आयो । इम्यानुअलले, ‘जाऊँ’ भन्यो र म दौडन थालेँ । मालबाहक गाडीले हामीलाई उछिन्यो र हामी त्यसको पछिपछि दौडियौँ । म हल्लीखल्ली र धुलोमा डुबेको थिएँ । मैले केही पनि देख्न सकिन र मैले थाहा पाएका कुरामा यो अस्तव्यस्त दौडाइ, भित्र र बाहिरका क्रेन र सामान लोड गर्ने भीमकाय यन्त्रहरू, क्षितिज किनारामा फर्फराइरहेका पालहरू, छेउमा दौडिरहेका पानीजहाजहरू थिए । पहिले मैले समातेँ र उफ्रेर चढेँ । त्यसपछि मैले इम्यान्युअललाई माथि तान्न सघाएँ । हामीहरू स्याँस्याँ गरिरहेका थियौँ र मालगाडी बन्दरगाहको गोला ढुङ्गा छापिएको खस्रो बाटोमा घाम र धुलोमा उफ्रँदै थियो । इम्यानुअल यति धेरै हाँसिरहेको थियो कि त्यसलाई सास फेर्न पनि मुस्किल परिरहेको थियो ।

हरिहर खनाल
हामीहरू पसिनाले निथ्रुक्क भिजेर सेलेस्टको घर आइपुग्यौँ । ऊ ठूलो भुँडी, एप्रोन र फुलेका जुँगामा सदाकोझैँ त्यहीँ थियो । उसले मलाई ‘सञ्चै छौ ?’ भनेर सोध्यो । मैले अँ भनेँ । मलाई भोक लागेको थियो । मैले खाना निकै छिटो खाएँ र अलिकति कफी पिएँ । त्यसपछि म घर गएँ र एकछिन सुतेँ किनभने मैले एकदम धेरै मदिरा पिएको थिएँ । जब म बिउँझेँ, मैले चुरोट खान मन लागेको महसुस गरेँे । ढिलो भैसकेको थियो र म ट्राम समात्न दौडेँ । मैले दिनभरि काम गरेँ । अफिसमा धेरै गर्मी थियो । साँझमा जब म हिँडेँ, म जहाजको अगाडितिर जाँदा बिस्तारै टहल्दा खुसी भएँ । आकाश निलो थियो र मैले खुसी अनुभव गरेँ । त्यसरी नै म सोझै घर गएँ किनभने मैले आफैँ केही उसिनेको आलु पकाउन चाहेको थिएँ ।
भरेङबाट माथितिर जाँदै गर्दा मेरो छिमेकी वृद्ध सालामानोसित म ठोकिन पुगेँ । ऊसित उसको कुकुर पनि थियो । तिनीहरू विगत आठ वर्षदेखि सँगै छन् । त्यो लामकाने कुकुरलाई छालाको रोग, लुतो आएको थियो । मलाई लाग्छ, जसले त्यसका पूरै राँै झर्न सक्छन् । त्यसको शरीर खैरो कपडा र घाउको पाप्राले ढाकिएको छ । यति लामो समय ती दुई प्राणी सानो एउटै कोठामा बसेपछि सालामानोले त्यसलाई कुकुरका रूपमा हेर्न छाडेको थियो । उसको अनुहारमा रातो लुतो आएको छ र उसको कपाल पातलो र पहेँलो भएको छ । कुकुरले उसको मालिकको जस्तै केही कुरा विकास गरेको थियो । त्यसको गर्धन पूरै कुप्रिएको र अगाडितिर तन्किएको थियो र त्यसको नाक बाहिरतिर झुन्डिएको थियो । ती दुवै एकै जातका प्राणी हुन् कि जस्ता देखिन्छन् । तिनीहरू एक अर्कालाई घृणा गर्छन् । दिनमा दुई पटक, ११ र छ बजे त्यो वृद्ध मानिसले कुकुरलाई घुमाउन लान्छ । आठ वर्षसम्म तिनीहरूले बाटो बदलेका छैनन् । सालामानोलाई ठेस नलागेसम्म रु द लियोनमा कुकुरले उसलाई तानिरहेको जोकोहीले पनि देख्न सक्छ । त्यसपछि उसले कुकुरलाई पिट्छ र गाली गर्छ । कुकुर डरले लुत्रुक्क पर्छ र पछितिर घुस्रिन्छ । त्यसपछि तान्ने पालो वृद्ध मानिसको हो । कुकुरले बिर्सेपछि त्यसले फेरि मालिकलाई तान्न थाल्छ र त्यसपछि पिटाइ र गाली खान थाल्छ । त्यसपछि ती दुवै बाटामा रोकिन्छन् र एकअर्कालाई आँखा तरेर हेर्छन् । कुकुर आतङ्कित छ । मान्छे घृणामा छ । प्रत्येक दिन यो त्यस्तै छ । कुकुरलाई सु गर्न मन लागेपछि उसको मालिकले त्यसलाई समय दिँदैन र त्यसलाई तान्छ जसबाट लामकानेले थोरै सानासाना थोपा त्यसका पछि बाटामा चुहाउँछ । तर कुकुरले कोठामा त्यसो गरेको बेला त्यसले फेरि पिटाइ खान्छ । आठ वर्षसम्म यस्तै चलिरहेको छ । सेलेस्ट सधैँ भन्छ, ‘त्यो डरलाग्लो कुरा हो ।’ तर वास्तवमा कसैले कहिल्यै पनि भन्न सक्तैन । मैले उसलाई भर्याङमा भेट्दा सालामानो कुकुरलाई गाली गर्नमा व्यस्त थियो । ऊ भन्दै थियो, ‘घिनलाग्दो, फोहोरी जनावर !’ र कुकुर सानु आवाजमा कुइँकुइँ गर्दै रोइरहेको थियो । मैले भनेँ, ‘सुसायङ्काल,’ तर त्यो वृद्ध मानिसले लगातार कुकुरलाई गाली गरिरह्यो । त्यसैले, कुकुरले के गर्यो भनेर मैले उसलाई सोधेँ । त्यसपछि मतिर नफर्कीकन उसले एक प्रकारले रिस दबाएको स्वरमा भन्यो, ‘ऊ सधैँ उस्तै छ ।’ त्यसपछि उसले कुकुरलाई आफ्नो पछिपछि तान्दै त्यहाँबाट हिँड्यो । कुकुर सानो स्वरमा रुँदै, कुइँकुइँ गर्दै, बाटामा खुट्टा लतार्दै घिस्रँदै थियो ।
त्यसको लगत्तैपछि मेरो अर्को छिमेकी आयो । स्थानीय मानिसहरू उसले महिलाहरूसित पैसा मागेर काम चलाउँछ भन्छन् । तथापि कसैले उसलाई के काम गर्छौ भनेर सोधनी गर्दा ऊ ‘माल गोदाममा’ काम गर्छ भन्ने उत्तर दिन्छ । धेरैजसो मानिसहरू उसलाई त्यति मन पराउँदैनन् तर ऊ प्रायजसो मसित बात मार्छ र कहिलेकाहीँ एकाध मिनेटका लागि आउँछ, किनभने मैले उसलाई सुन्दछु । उसले भनेका कुरा मलाई चाखलाग्दा लाग्छन् । यसका साथै, मैले ऊसित कुरा गर्न नपर्ने कुनै कारण फेला पारेको छैन । उसलाई रेमन्ड सिन्टे भनिन्छ । ऊ अलिकति होचो कदको छ, उसका काँध चौडा छन् र उसको नाक मुक्केबाजको जस्तो छ । ऊ सधैँ चिटिक्क पारेर लुगा लगाउँछ । हामीहरूले सालामानोका विषयमा कुरा गरिरहँदा उसले मलाई एक पटक यसो पनि भन्यो, ‘यो डरलाग्दो छैन त ?’ उसले मलाई यसबाट घृणा उत्पन्न हुँदैन ? भनेर सोध्यो र मैले अँहँ भनेँ ।
हामी माथि तलामा गयौँ र मैले उसलाई शुभरात्री भन्नै थालेको बेलामा उसले भन्यो, ‘मेरो कोठामा केही अङ्गुरको मदिरा र सुँगुरको रगतबाट बनेको ससेज छ । तिमी मसँगै अलिकति खान चाहन्छौ ?’ मैले के महसुस गरेँ भने यसले मेरो आफ्नै लागि पकाउने समय बचाउन सक्छ, र मैले स्वीकार गरेँ । उसको पनि एउटै मात्र कोठा र झ्याल रहित भान्छा छ । उसको बिछ्यौनामाथि बैजनी र सेतो रङ्गको प्लास्टरमा देवदूत छ, प्रख्यात खेलाडीहरूका केही तस्बिरहरू छन् र दुईतीनवटा पिन लगाइएका छन् । कोठा फोहोर थियो र बिछ्यौना मिलाइएको थिएन । सबभन्दा पहिले उसले टुकी बाल्यो र त्यसपछि उसको गोजीबाट शङ्कास्पद देखिने पट्टी झिक्यो र उसको दाहिने हातमा बेर्यो । उसले के गरेको हो भनेर मैले सोधेँ । उसले के भन्यो भने एउटा मान्छेसित उसको लडाइँ परेको थियो जसले झमेला निम्त्यायो ।
‘बुझ्यौ मरसोल्ट’ उसले भन्यो, ‘म अरूसित निहुँ खोज्ने मान्छे होइन, तर म डरछेरुवा छैन । यो मान्छे, यसले मलाई भन्यो, “यदि तँ मान्छे होस् भने ट्रामबाट तल झर् ।” मैले उसलाई भनेँ, “शान्त होऊ, हुन्छ ?” त्यसपछि उसले मलाई म मान्छे होइन भन्यो । त्यसैले म ट्रामबाट उत्रेँ र उसलाई भनेँ, “ठीक छ, अब पुग्यो, नत्र तेरो नाक कुच्च्याइदिन्छु ।” उसले भन्यो, “कसले ?” त्यसैले मैले उसको नाक कुच्च्याइदिएँ र ऊ पछरियो । मैले उसलाई उठ्न मदत गर्न थालेको थिएँ, तर उसले मलाई मुक्का हान्न थाल्यो । त्यसैले मैले उसलाई घुँडाले एक दनक दिएँ र एकाध झापड लगाएँ । उसको अनुहार रगतपच्छे भएको थियो । उसलाई मैले पुग्यो कि अरू दिऊँ भनेर सोधेँ । उसले भन्यो, “अँ ।” यो पूरै समय, सिन्टे उसको पट्टीसित खेलिरहेको थियो । म ओछ्यानमा बसिरहेको थिएँ । उसले भन्यो, ‘पहिले हात हालेको मैले होइन बुझ्यौ । पहिले उसैले मलाई हात छोडेको थियो ।’
यो साँचो थियो र मैले त्यसलाई स्वीकारेँ । त्यसपछि उसले के भन्यो भने, वास्तवमा उसले मसित उसको कामबारे सल्लाह लिन खोजेको थियो, किनभने म जानकार मान्छे थिएँ र मैले उसलाई सहयोग गर्न सक्थेँ र पछि ऊ मेरो साथी हुन सक्थ्यो । मैले केही पनि भनिन र उसले म उसको साथी हुन चाहन्छु कि भनेर मलाई फेरि सोध्यो । मैले केही छैन भनेँः ऊ खुसी देखियो । उसले सुँगुरको रगतबाट बनेको अलिकति ससेज झिक्यो, त्यसलाई ततायो र केही गिलास, प्लेट, चम्चा र काँटा र दुई बोतल अङ्गुरको मदिरा टेबलमा राख्यो । यो सबै काम उसले चुपचाप गर्यो । त्यसपछि हामी बस्यौँ । हामीले खाएपछि उसले मलाई उसको कथा सुनाउन सुरु गर्यो । सुरुमा ऊ अलिकति हिचकिचायो । ‘यो त्यही केटी थिई …ऊ मेरी गृहिणीजस्तै थिई ।’ त्यो मान्छे जोसित उसको लडाइँ भएको थियो ऊ त्यो केटीको दाजु थियो । उसले मलाई के भन्यो भने उसले त्यसलाई राखेको थियो । मैले केही भनिन र त्यसमा उसले तत्कालै के थप्यो भने स्थानीय मानिसहरूले के भनेका थिए त्यो उसलाई थाहा थियो, तर उसको स्पष्ट धारणा थियो र ऊ माल गोदाममा काम गर्ने मान्छे थियो ।
‘मेरो कथामा फर्किऊ,’ उसले भन्यो, ‘मैले के अनुभव गरेँ भने त्यहाँ कुनै षडपन्त्र हुँदैछ ।’ उसले त्यो केटीको जीवनयापनका लागि प्रशस्त पुग्ने दिने गर्थ्यो । उसले उसको भाडा तिर्थ्यो र दिनको बीस फ्रयाङ्क खानाका लागि दिन्थ्यो । ‘कोठाका लागि तीन सय फ्रयाङ्क, छ सय फ्रयाङ्क खानाका लागि, बेलाबेलामा एक जोर लामो मोजा, सबै मिलाउँदा हजार फ्रयाङ्क पुग्थ्यो । उसको स्त्रीत्वले काम गरेन । तर उसले मलाई सधैँ के भनिरही भने यो पर्याप्त थिएन, मैले उसलाई जे जति दिन्थेँ, त्यसबाट उसले निर्वाह चलाउने व्यवस्था मिलाउन सक्तिनथी । र मैले उसलाई घरीघरी भन्ने गर्थेँ, “तिमी किन एउटा आंशिक काम गर्दिनौ ? यो अलिकति अतिरिक्त काम गर्दा तिमीले मेरो निम्ति सजिलो बनाउन सक्थ्यौ । मैले तिम्रा लागि यो महिना एउटा नयाँ सुट किनेँ, म तिमीलाई दिनको बिस फ््रयाङ्क दिन्छु, मैले तिम्रो भाडा तिर्छु र तिमी हरेक दिउसो तिम्रा साथीहरूसित जान्छ्यौ र कफी पिउँछ्यौ । तिमीले कफी र चिनी प्रदान गछ्र्यौ । तर मैले त पैसा प्रदान गर्छु । म तिमीसित इमानदार भएको छु, तर तिमी मसित इमानदार भएकी छैनौ ।” तर ऊ काम गर्दिन, ऊ मसित के मात्रै भन्ने गर्छे भने ऊ व्यवस्था मिलाउन सक्दिन र त्यसैले मैले के महसुस गरेँ भने कुनै छलकपट हुँदैछ ।’
त्यसपछि उसले मसित के भन्यो भने उसले उसको झोलामा एउटा चिट्ठाको टिकेट फेला पारेको थियो र उसले त्यको भुक्तानी कसरी गरी भन्ने कुरो व्याख्या गर्न त्यो सक्षम भएकी थिइन । केही पछि उसले उसको कोठामा ‘एउटा लिलामीको टिकेट’ फेला पार्यो जसले उसले उसका दुइटा बाजु लिलामीमा बेचेकी थिई भन्ने कुरा देखायो । त्यति बेलासम्म ती बाजु छन् भन्ने कुरासम्म उसलाई थाहा थिएन । म के भन्न सक्थेँ भने कुनै किसिमको छलछाम भैरहेको छ । त्यसैले मैल उसलाई त्यागेँ । र त्यसपछि मैले उसलाई केही तीतो सत्य बताएँ । मैले उसलाई के भनेँ भने उसको एउटै मात्र चाख रतिरागमा संलग्न हुने धेरै साथीहरू राख्नु थियो । मैले उसलाई के भनेँ त्यो यही कुरो थियो, बुझ्यौ मरसोल्ट, “तिमी के कुरा अनुभूत गर्दिनौ भने मैले तिमीलाई दिएको खुसीबाट हरेक मान्छे इष्र्यालु थियो । तिमी कति खुसी थियौ भन्ने कुरा एक दिन तिमीले थाहा पाउने छौ ।”’
त्यो रगतपक्ष नभएसम्म उसले त्यसलाई पिटेको थियो । त्यसभन्दा पहिले उसले त्यसलाई पिट्ने गर्दैनथ्यो । ‘मैलै उसलाई हिर्काउने गर्थेँ, तर एक प्रकारको स्नेहपूर्ण किसिमले । ऊ अलिअलि कराउँथी । म सटर बन्द गर्थेँ र सधैँ हुने काम यसरी नै सकिन्थ्यो । तर यस पटक मेरो वास्तविक अभिप्राय यही हो । र मलाई लाग्छ मैले उनलाई धेरै सजाय दिएको थिइन ।’
त्यसपछि उसले के अथ्र्यायो भने उसले केही सल्लाह खोजेको यसै विषयमा हो । बत्तीको डढेको थुर झार्न ऊ रोकियो । म अझसम्म सुनिरहेको थिएँ । मैले लगभग एक लिटर जति मदिरा पिएको थिएँ र मेरा कनपट तातिरहेका थिए । मैले रेमन्डको चुरोट खाइरहेको थिएँ किनभने मेरो सकिएको थियो । अन्तिम ट्रामहरू जाँदै थिए र तिनीहरू सँगै सडकको हल्ला पनि तिनीहरूसँगै टाढाटाढा धुमिल हुँदै गएको थियो । रेमन्ड भन्दै गयो । उसलाई झ्वाँक चलेको कुरा के थियो भने ऊ ‘अझै त्योसित सुतिरहेको कुरा अनुभव गथ्र्यो’ । तर उसले त्यसलाई सजाय दिन चाह्यो । पहिले उसले त्यसलाई एउटा होटलमा लिएर जाने र वेश्यावृत्ति रोक्ने सुरक्षाकर्मीको दस्तालाई बोलाउने र लोकनिन्दा सिर्जना गर्ने र त्यसलाई एउटी वेश्याका रूपमा दर्ज गर्ने विचार गरेको थियो । त्यसपछि ऊ अपराधीहरूको संसारसित संलग्न उसका केही साथीहरू कहाँ गएको थियो । तिनीहरूसित कुनै विचार थिएन । र जब रेमन्डले मलाई देखायो, अपराधीहरूको दुनियामा हुनु यति नै काफी थियो । उसले भनेको यत्ति थियो र त्यसपछि उनीहरूले त्यसलाई ‘निशान लगाउने’ सल्लाह दिए । तर उसले चाहेको कुरा त्यो थिएन । उसले यस विषयमा विचार गर्न सक्थ्यो । पहिले उसले मसित केही सोध्न चाह्यो । त्यसपछि फेरि, उसले मलाई सोध्नुभन्दा अघि, यो कथाबारे मेरो के सोचाइ छ भन्ने कुरा जान्न चाह्यो ।
मैले उसलाई के भनेँ भने मैले यस विषयमा केही पनि सोचेको छैन तर कुरो रोचक छ । कुनै छलकपट हुँदैछ कि भन्ने कुरा मैले देखेँ कि भनेर उसले मलाई सोध्यो, र मेरो विचारमा जहाँसम्म त्यस्तो कुराको सवाल छ, त्यस्तो छलकपटपूर्ण कुनै कुरा म देख्दिन भन्ने जवाफ दिएँ, र उनलाई सजाय गरिनुपर्छ भन्ने मलाई लाग्छ कि, र उसको ठाउँमा म भएको भए मैले के गर्थेँ होला भनेर पनि उसले मलाई सोध्यो र मैले भनेँ यो कसैले कहिल्यै भन्न सकिने कुरो होइन तर उसले त्यसलाई किन सजायँ दिन चाहिरहेको छ भन्ने कुरा म बुझ्दछु । मैले अलिकति थप मदिरा पिएँ । उसले एउटा चुरोट सल्कायो र मलाई उसको योजना सुनायो । उसले त्यसलाई एउटा चिट्ठी लेख्न चाहन्थ्यो ‘जसले त्यसलाई वास्तविक रूपमा नै आघात पुगोस् र साथसाथै दुःखी पनि बनाओस् ।’ त्यसपछि, त्यो आएको बेलामा, ऊ त्योसित ओछ्यानमा जाओस् र ‘एकदम निर्णायक घडीमा’ उसले त्यसको मुखमा थुकोस् र घचेटेर बाहिर फ्याँकोस् । त्यस कार्यले त्यसलाई ठीक किसिमले सजाय गर्नेछ भन्ने कुरामा मैले मन्जुरी गरेँ । तर रेमन्डले मलाई के भन्यो भने चाहिने जस्तो चिट्ठी लेख्न ऊ समर्थ छ भन्ने कुरा उसलाई अनुभव भएन र उसले त्यस्तो पत्र उसका लागि मैले खेस्रा गर्दिन सक्थेँ भन्ने उसलाई लागेको थियो । मैले केही पनि नभनेपछि, उसले मलाई यो काम अहिले तत्कालै हुन सक्छ कि भनेर सोध्यो र मैले हुँदैन भनेँ ।
अर्को गिलास मदिरा पिएपछि ऊ उठ्यो । प्लेट र हामीले छोडेको चिसो ससेजको रहलपहललाई उसले एकातिर पन्छायो । टेबलपोसलाई उसले राम्ररी पुछ्यो । त्यसपछि उसको ओछ्यानको घर्राबाट चारपाटे आकारप्रकारको एक पाना कागज, एउटा पहँेलो लिफाफा, कलम राख्ने काठको एउटा सानोे रातो बट्टा र बैजनी रङ्गको मसी भएको एउटा चारपाटे मसीको भाँडो झिक्यो । उसले मलाई त्यो केटीको नाम बताएपछि मैले त्यो मुरिस रहिछे भन्ने महसुस गरेँ । मैले चिट्ठी लेखेँ । मैले त्यसलाई अलिकति अव्यवस्थित किसिमले गरेँ, तर रेमन्डलाई खुसी पार्नका लागि मैले सकेसम्म गरेँ, किनभने उसलाई बेखुसी पार्नुपर्ने मसित कुनै कारण थिएन । त्यसपछि मैले यसलाई पढेँ । उसले चुरोट तान्दै र टाउको हल्लाउँदै यसलाई सुन्यो, त्यसपछि उसले यसलाई फेरि पढ्नका लागि मलाई अनुरोध गर्यो । ऊ एकदमै प्रसन्न थियो । उसले मलाई भन्यो, ‘तिमी धेरै अनुभवी मान्छे हौ भन्न सक्छु म ।’ सुरुमा मैले ख्याल गरिन, तर उसले मलाई मेरो पहिलो नाम लिएर सम्बोधन गरिरहेको थियो । जति बेला उसले मलाई, ‘अब तिमी साँच्चै नै मेरा साथी हौ’ भन्यो यो त्यति बेलाको कुरो थियो र उसले यसलाई फेरि प्रयोग गर्यो जसले मलाई छोयो । उसले उसको भनाइ दोहोर्यायो र मैले भनेँ, ‘अँ ।’ म उसको साथी हुन बेखुसी छैन र साँचो अर्थमा ऊ यसमा निकै इच्छुक देखियो ।
उसले चिट्ठी खाममा हाल्यो र हामीले मदिरा सक्यौँ । त्यसपछि हामी एकछिन चुपचाप बसेर चुरोट पियौँ । बाहिरतिर हरेक चिज शान्त थियो र हामीले जाँदै गरेको कारको सुइँय्य आवाज सुन्यौँ । मैले भनेँ, ‘ढिलो भयो ।’ रेमन्डले स्वीकार्यो । उसले समय कति छिटो बितेर गयो भन्ने टिप्पणी गर्यो र एक किसिमले भन्दा यो साँचो थियो । मलाई निद्रा लागेजस्तो भयो, तर उठ्न असाध्यै गाह्रो भैरहेको थियो । म थकित देखिएको हुनुपर्छ किनभने रेमन्डले मलाई एक्लै जान दिन्न भन्यो । सुरुमा मैले बुझिन । त्यसपछि उसले आमाको मृत्युबारे सुनेको कुरा व्याख्या गर्यो, तर त्यो एउटा यस्तो चिज थियो जो ढिलो या चाँडो भएरै छाड्थ्यो । मैले सोचेको पनि त्यही थियो ।
म उठेँ । रेमन्डले प्रेमपूर्वक मसित हात मिलायो र के भन्यो भने हामी मान्छेहरू सधैँ एकअर्कालाई बुझ्दछौँ । म बाहिर गएँ र, मेरो पछिल्तिरको ढोका लगाएर, तल झर्ने ठाउँमा, एक छिनका लागि अँध्यारोमा रोकिएँ । घर शान्त थियो र चिसो हावाको एउटा अनिश्चित झोक्का भर्याङको गहिराइबाट बगिरहेको थियो । मैले जे सुन्न सक्थेँ त्यो कानमा धड्किरहेको मेरो रगतको धड्कन मात्र थियो । म एकदम नचलीकन उभिएँ । तर वृद्ध सालामानोको कोठामा, कुकुर मन्द गतिमा कुइँकुइँ गरेर रोइरहेको थियो ।
(क्रमशः बाँकी अर्को साता)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

