पचास सालभन्दा पनि अघि वर्धमान शहरदेखि सोह्र कोश टाढो दामोदर नदीको किनारमा नन्दीपुर र गोसाईंगञ्ज नामक गाउँहरु आसपासमा थिए । यी दुवै गाउँका सीमारेखामा एउटा प्राचीन विशाल वरको रुख थियो । अब यी दुवै गाउँ पनि छैनन्, वरको रुख पनि छैन । दामोदरको बाढीले यिनीहरुलाई बगाएर लग्यो ।
फागुनको महिना थियो, एक प्रहर समय बितेको थियो । गोसाईंगञ्जका श्रीमान् हीरालाल दत्त हातमा हुक्का लिएर पिउँदै थिए । छिमेकी श्यामापद मुखुज्जे औ केनाराम मल्लिक छेउ बसेर यो वर्ष चैतमा सार्वजनिक अन्नपूर्णाको पूजा कसरी मनाउनु पर्छ त्यस बारेमा छलफल गरिरहेका थिए । छेउका नन्दीपुरमा पनि हरेक साल चन्दा जम्मा गरेर अन्नपूर्णाको पूजा धुमधामसित मनाइन्थ्यो । यस्तो हल्ला थियो । नन्दीपुरले यो वर्ष जात्रा त निकाल्छ नै, यसबाहेक कलकत्ताबाट गीत गाउने पार्टी पनि ल्याउने छ । कलकत्ताबाट गीत गाउने पार्टी कहिले आएको थिएन । यदि यो हल्ला साँचो हो भने गोसाईंगञ्जले पनि जात्रा मात्र निकालेर भएन । कलकत्ताबाटै गीत गाउने पार्टी ल्याउने सुरसार कसे । यसमा जति रुपैयाँ लागे पनि केही छैन । गोसाईंगञ्ज कुनै कुरामा पनि नन्दीपुरमा झुकेको छैन– आज पनि झुक्ने छैन ।
आगामी सार्वजनिक पूजाको विषयमा गाउँका यी तीन प्रधान व्यक्तिहरुमा गम्भीर छलफल चलिरहेको थियो, त्यही समय रामचरण मण्डल स्याँ–स्याँ गर्दै त्यहाँ आए र हातको लठ्ठी भुईंमा फ्याँकेर जमीनमा थचक्क बसे । उनको भावभंगिमा देखेर हीरालाल दास दत्तले सोधे–’क्या हो मण्डल, किन यसरी बस्यौ ? के भयो ?’
रामचरण दुवै आँखा फारेर स्याँ–स्याँ गर्दै भने, ‘के भयो यो सोध्दै्छौ, हीरालाल ! अब के हुनु बाँकी छ र ? हे भगवान् – मेरो फुटेको भाग्य ।’
श्यामापद र केनाराम पनि बडो बेचैनीसित रामचरणलाई हेर्न लागे । हीरालालले भने– ‘के भयो ? ठीकसित भन न ? अहिले कहाँबाट आएको ?’
लामो सास तानेर रामचरण्ले भने– ‘नन्दीपुरबाट । यता नराम्रो भयो । अन्तमा नन्दीपुरको सामु हाम्रो शिर नीचा भयो ।’ – यति भनेर रामचरणले आफ्नो टाउको ठोक्यो ।
हीरालालले सोधे, ‘किन ? किन ? नन्दीपुरका मानिसहरुले यस्तो के गरे ?’
‘भन्छु, भन्नैलाई आएको हुँ । यस्तो कडा घाममा एक कोस दगुर्दै आएको हुँ । गला सुक्यो, मुखबाट कुरा त निस्कँदैन । एक लोटा पानी…’
हीरालालको आदेशले तुरुन्तै एक लोटा पानी आइहाल्यो । रामचरणले लोटा उठाएर डिलमा गएर पानीले हात, खुट्टा र मुख धोए । पानी घटघट पिए । फेरि हात मुख पुछ्दै छेउमा आएर बसे अनि गहिरो वेदनाले शिर झुकाएर बसिरहे ।
हीरालालले भने– ‘अब भन के भयो ।’
रामचरणले भने – ‘के भयो र ? जे नहुनुपर्ने त्यही भयो । ठूला –ठूला शहरमा जुन हुँदैन, त्यही नन्दीपुरमा भयो । यी पछौटे गाउँमा जुन कुरा कसैले सपनामा सोचको थिएन, त्यही कुरा भयो । उनीहरुकले स्कुल खोले । तीनै जनाले एकै स्वरमा भने– यो के हो ? स्कुल के हो ?
रामचरणले भने– ‘अरे म नि त कहाँ जान्दथेँ र स्कुल केलाई भन्छन् । आजै सुनेको अंग्रेजी पढाउने पाठशालालाई स्कुल भन्दोरहेछ ।’
हीरालालले भने– ‘अहो ! अहिले बुझेँ, स्कुल खोल्यो ।’
‘अँ यही खोलेको छ । एउटा मास्टर पनि आएको छ । अंग्रेजी पढाउने गुरुलाई शायद मास्टर भन्छ । आफ्ना आँखाले हेरेर आएको । मास्टरले बसेर दश–बाह्र केटाहरुलाई अंग्रेजी पढाइरहेको छ ।’
हीरालालले लामो सास तानेर गालामा हात राखेर सोच्न लागे । केहीबेरपछि उनले सोधे– ‘मास्टर कहाँबाट ल्याएछ, केही सुन्यौ कि ?’
‘सबै खबर लिएर आएको छु । वर्धमानबाट ल्याएछन । ब्राह्मणको छोरा रहेछ, इन्दन चक्रवर्ती । महिनाको पन्ध्र रुपियाँ, खाना र घर पनि । सबै खबर लिएर आएको छु ।’
यही समय कोलाहल सुनियो । एक छिनमा मानिसहरु धमाधम भित्र आउन थाले । रामचरण बाटोमा आउँदै यो खबर सबैलाई भन्दै आएको रहेछ । सब आएर चित्कार गर्दै नाना छन्दमा बोल्न लागे– ‘यो सर्वनाश भयो । नन्दीपुरको हातमा यो अपमान ! हामीले पनि स्कुल खोल्ने उपाय गर्नुपर्छ ।’
हीरालाल त्यहीँ उभिएर हात हल्लाउँदै भन्न थाले– ‘भाइहरु तिमीहरुले के सोचेका छौ – तीन पुस्ता पछि गोसाईंगञ्ज नन्दीपुरको सामु झुक्छ ? अँहँ, यस्तो त हुनै सक्दैन । यो शरीरमा प्राण रहुन्जेल यस्तो हुने छैन । हामी पनि स्कुल खोल्ने छौँ । तिमीहरु शान्त भएर घर जाओ । आजै म खाना खाएर निस्कन्छु । कलकत्ता जाने रेल खोलिएको छ । अब केही चिन्ता छैन । म कलकत्ताबाट त्यो भन्दा पनि राम्रो मास्टर ल्याउँछु । उनीहरुले प्रन्ध रुपियाँ दिएर मास्टर ल्याएका छन्, हामी पच्चीस रुपैयाँ दिएर ल्याउँछौँ । उनीहरुको मास्टरलाई पनि पढाउने मास्टर ल्याउँछौँ । एक हप्ताभित्र चण्डीमण्डपमा स्कुल खोल्छौं, खोल्छौं । अब तिमीहरु घर जाओ, खान–पिन गर ।’
‘जय गोसाईंगञ्ज ! जय हीरालाल !’ उल्लाससित चीत्कार गर्दै जनताले प्रस्थान गरे ।
कलकत्ताबाट मास्टर लिएर हीरालाल चौथो दिनमा गाउँमा फर्के ।
मास्टरजीको नाम वज्रगोपाल मिश्र । तीस वर्ष पुगेको, होचो व्यक्ति । मिष्टभाषी । अंग्रेजी बोल्न, लेख्नमा खुबै सिपालु । अंग्रेजीमा उनी यति अभ्यस्त कि मानिससित कुरा गर्दा पनि अंग्रेजी शब्द लगाएर बोल्थे ।
हीरालालको प्रतिज्ञाअनुसार भोलिपल्टै स्कुल खोलियो । प्रन्ध–सोह्र केटाहरूलाई लिएर मास्टरजीले अध्यापन सुरु गरे । कलकत्ताबाट हीरालालले आफ्नै खर्चले स्लेट, पेन्सिल र जोन साहेबको स्पेलिङ बुक किनेर ल्याएका थिए । छात्रहरुको उत्साह बढाउनलाई यी सित्तै बाँडिए ।
गोसाईंगञ्जका मानिसहरूले नन्दीपुरका मानिस कहीं भेटे उनीहरु आफ्ना–आफ्ना मास्टरका बारेमा आलोचना गर्थे ।
यथास्थान दुवै गाँउको सार्वजनिक पूजाको उत्सव शुरु भयो । दुवै गाउँका मानिसहरुले प्रतिमा दर्शन, प्रसाद–भक्षण, जात्रा र संगीत सुन्न निमन्त्रण गरे ।
यही उपलक्ष्यमा दुवै मास्टरको भेट भयो औ दुवै सभास्थलमा प्रवेश भए । दुवै अघिदेखि नै परिचित थिए । पूजाको अन्त्यमा गोसाईंगञ्जका मानिसहरु एउटा कुराले चिन्तित थिए । नन्दीपुरको मास्टरले भनेछ – ‘गोसाईंगञ्जको मास्टर त मसँगै पढेको । महामूर्ख थियो । स्कुल पनि सानैमा छोडेको । यस्तोले के पढाउन सक्छ ?’
गोसाईंगञ्जका मानिसहरुले वज्र मास्टरलाई सोधे– ‘यो हामीले के सुन्दैछौँ ?’
वज्र मास्टर यो सुनेर हा हा हा गर्दै हाँसे– ‘स्कुल त त्यसले पो छोडेको त ! मैले कहाँ छोडेँ ? त्यो महालद्दु थियो । मास्टरजीले क्वेस्चन गर्थे, त्यसले आन्सर नै दिन सक्तैनथ्यो ।’
नन्दीपुरका मानिसहरुले पनि यो कुरा सुने । अब गोसाईंगञ्ज र नन्दीपुरका मानिसहरुको मनमा आफ्ना–आफ्ना मास्टरहरुको विषयमा शंका जाग्यो ।
अन्तमा यही तय भयो, कुनै एउटा ठाउँमा मास्टरको परीक्षा हुनेछ । कसले कसलाई जित्दा रहेछन् ।
दुवै गाउँका मान्य व्यक्तिहरु मिलेर सल्लाह गरे । परीक्षा त्यही वरको रुखमुनि हुने भयो । तर दुवै गाउँका मानिसहरु अंग्रेजी ठयाम्मै जान्दैनथे । यसैले जय-पराजय थाहा पाउनलाई उनीहरुले सरल उपाय निकाले । एउटा मास्टरले अंग्रेजी शब्दको अर्थ सोध्नेछन्, अर्को मास्टरले त्यसको जवाब दिनेछन् । यदि दुवैले बताए भने दुवै बराबर । एउटाले अर्कोलाई हराउन सके उसैको जीत हुने ।
परीक्षाको दिन ठीक भयो । आगामी वैशाखी पूर्णिमा । स्थान– वरको रुखमुनि । समय – साँझ ।
निश्चित दिनमा ठीक समयमा गोसाईंगञ्जका मान्य व्यक्तिहरुले वज्र मास्टरलाई साथमा लिएर वरको रुखतिर जुलुस लिएर हिँडे । उनीहरुको साथमा ढोलक आदि बाजाहरु बोकेर मानिसहरु हिँड्न थाले । एउटाले ठूलो तुरही बोकेको थियो । जीत भएको खण्डमा उनीहरु ढोल बजाउँदै आनन्दसाथ गाउँमा फर्कन चाहन्थे । बाटामा जाँदा वज्र मास्टरलाई मानिसहरुले भन्न लागे– ‘कसो मास्टरजी ! हाम्रो नाक राख्नुपर्छ नि ! एकदम सोचेर उत्तर दिनुहोस् है । यस्तो सोध्नोस् कि इन्दन मास्टरले भन्नै नसकोस् ।’
वज्र मास्टरले भने– ‘किन चिन्ता गर्नुहुन्छ ? हेर्नुहोस् न म के गर्छु ? यस्तो क्वेस्चन सोध्छु कि उसको बुद्धि नै गुम हुनेछ ।’
हीरालालले भने– ‘हेर, आज हाम्रो शिर उँचा राख्नुभयो भने तपाईंको तलब पाँच रुपियाँले बढ्ने छ ।’
वज्र मास्टरलाई थाहा थियो, यदि हारियो भने भोलि नै गाउँ छोडेर जानुपर्छ ।
ठीक समयमा उनीहरु वरको रुखमा पुगे । भुइँमा दरी ओछ्याइएको थियो । उताबाट नन्दीपुरबासीहरु पनि ठाउँ–ठाउँमा बसे । गाउँका मान्य व्यक्तिहरु अघिल्लो पंक्तिमा बसेका थिए ।
कुन मास्टरले पहिला प्रश्न सोध्ने यस विषयमा विवाद उठ्यो । अन्तमा बूढाहरुले भने कि हीरालालले एउटा लठ्ठी घुमाएर फ्याँक्नेछन् । लठ्ठीको छुप्पा जुन गाउँतिर खस्छ, त्यही गाउँका मास्टरले पहिला प्रश्न गर्ने अधिकार पाउने छन् ।
हीरालालले लठ्ठी घुमाएर फ्याँके । सबैले देखे, लठ्ठीको टुप्पा नन्दीपुरतिर खसेको थियो ।
यो देखेर नन्दीपुरबासीहरू उल्लाससित चीत्कार गर्न थाले । गोसाईंगञ्जको मुख चूना जस्तो सेतो भयो । सबै परीक्षापफलको निम्ति आग्रहसाथ प्रतीक्षा गर्न लागे ।
नन्दीपुरको इन्दन मास्टर छाती फुलाएर सामु आएर उभिए । वज्र मास्टर पनि उभिए । उनको छाती ढुकढुक गर्दै थियो । तर बल गरेर उनले अनुहारमा यो भाव प्रकट हुन दिएनन् ।
इन्दन मास्टरले भने, ‘भन्नुहोस्, यसको माने के हो ? हर्न्स अफ अ डिलेमा (Horns of a Dilemma)।’
सौभाग्यले वज्र मास्टरलाई यसको माने थाहा थियो । उनले छाती फुलाएर भने, ‘यसको माने ‘उभय संकट’- ठीक हो कि होइन ?’
‘बतायो, हाम्रा मास्टरले बतायो,’ भन्दै गोसाईंगञ्जका मानिसहरूले तुमुल कोलाहल मच्चाउन थाले । अगुवाहरूले बडो मुस्किलले उनीहरूलाई शान्त पारे । अब वज्र मास्टरको प्रश्न सोध्ने पालो आयो ।
वज्र मास्टरले भने, ‘सुन्नोस्, इन्दन मास्टर ! म तपाईंलाई कडा प्रश्न सोध्दिनँ । एकदमै सरल प्रश्न गर्छु । यस अञ्चलमा हामी दुई जनाबाहेक अंग्रेजी जान्ने कोही छैन । कडा प्रश्न गरेर तपाईंलाई हराउन चाहन्नँ । म अंग्रेजी जान्ने भएर अर्को अंग्रेजी जान्नेको अपमान गर्न चाहँदिनँ । एउटा सरल शब्दको अर्थ सोध्छु- तपाईंले जोरसित दुवै गाउँका मानिसहरूले सुन्ने गरी जवाफ दिनुहोला । लौ, अब भन्नोस्- यसको अर्थ के हो ?- I don’t know.’
‘म जान्दिनँ,’ भनेका मात्र के थिए, गोसाईंगञ्जका मानिसहरू ‘नन्दीपुरले जान्दैन, नन्दीपुरले जान्दैन’ भन्दै उफ्रीउफ्री नाच्न थाले । ढोल ठोके । तुरही फुके । झ्याम्टा पिटे । कोही उता उफ्रे, कोही उता मर्के, कोही कता फर्के । पेट मिचीमिची हाँसे । कम्मर भाँचीभाँची नाचे । ‘गोसाईंगञ्ज अमर रहोस्’ भन्दै गगनभेदी नारा लाउँदै मच्चीमच्ची नाच्दै मरीमरी हाँस्दै हाँस्दै तुरही फुक्दै झ्याम्टा पिट्दै मास्टरलाई काँधमा बोकी गाउँतिर लागे ।
भोलिपल्ट के भयो भने इन्दन मास्टर नन्दीपुर छोडेर गए । त्यहाँको स्कुल पनि बन्द भयो । गोसाईंगञ्जका वज्र मास्टर निर्धक्क मास्टरी गर्न लागे ।
अनुवादः राजनारायण प्रधान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।