नहोलान्
सुनका हाडहरु,
हिराका नङहरु,
र चाँदीका दाँत पनि
नहोलान् ।
हाम्रो भोक बालेर खाएपछि
अघाउनुहुन्छ कि भोकाउनुहुन्छ ?
यी हाडको मूल्यवान् ओछ्यानमा
आराम लिनुहुन्छ कि बेचैन बन्नुहुन्छ ?
तपाईंको पर्फ्युम हाम्रो पसिना पो हो कि ?
त्यो बैठक कोठाको उज्यालो
यी औँलाका कापबाट छिरेको पो हो कि ?
तपाईंको सभ्य लवज
यी जिब्रो छेडेर निस्किएको पो हो कि ?
मूलको पानीसँगै उम्रिएको हाम्रो रगत
धरतीमा रगडिएरै बलिया भएका हाम्रा हाड
ताराका आँसु पिउँदापिउँदै चम्किएका हाम्रा आँखा
तपाईंको जुहारातजस्तै मूल्यवान् छैनन् र ?
हेक्का छ छैन ?
इन्द्रेणी बेरेर लगाइरहेछौँ लुगा
पढिरहेछौँ जून छुँदै बादलमा हिँड्ने देउताका सन्देश
पृथ्वीको मुटु छोएर पुकारी रहेछौँ अलिखित पूर्खाहरुलाई
नाचिरहेछौँ बतासले नचाउने पातहरुसँग
गाइरहेछौँ पहरामा ठोक्किएर जाने नदीसँगै
अनवरत हाँसिरहेछौँ
रोइरहेछौँ पतंग र चरासँगै ।
घाँसेफूल भई उम्रन्छौँ
फुल्छौँ, फल्छौँ र झर्छौँ आफैमाथि
हामी त सिंगै बाँचिरहेछौँ जन्मैदेखि
तपाईंले सबै पाएर पनि कसरी रित्तो हुनु भयो ?
जीवनको पल्लो कुनामा पुगेर
आखिर
हामीले नै झैँ माग्नु हुनेछ
एकमुठी माटोभित्र आफ्नै अनुहारको राग
धिक्कार्नु हुनेछ आफ्ना हातका नङ्ग्राहरुलाई
गाउनुहुनेछ केवल एक अञ्जुली पानीको निम्ति
हामीले जीवनभर गाएको ‘असभ्य गीत’ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।