(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।

यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाे, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीकाे स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)

कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।

यस अभियानले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।

राजेन्द्र पराजुली
सम्पादक
कविता/सोच

 

कवितामा समाजका छटपटीहरू खोज्छु

पुरूषोत्तम सुवेदी

पुरूषोत्तम सुवेदी

म कवितामा मान्छेका समलकालीन छटपटीहरू खोज्छु । भूतको कुचि, वर्तमानको रङ र भविष्यको रेखामा मान्छे वृत्तमा बुनिएका शब्दचित्रलाई कविता भन्छु । उन्मादी, स्वप्नदर्शी र हचुवा लेखनदासको विरूद्ध समाजको भाषामा सत्य र यथार्थको उद्घोषण गर्ने शब्दकर्मीहरूलाई कवि भन्छु । प्रत्येक कवि शैली, विम्व, प्रतीक र शब्द विन्यासका निजी शिल्पमार्फत् आफ्ना संवेदनालाई पाठकमाझ सम्प्रेषण गर्छ । जब कवि सत्ता वा अन्य पूर्वाग्रहको पक्षमा कविताको नाममा पर्चा लेख्न थाल्छ, प्राप्तिको घोडादौडमा सामेल हुन्छ, तत्काल कविको मृत्यु र अभिव्यक्ति सौन्दर्यको समाप्ति एकै पटक हुन पुग्छ । मानव उपस्थितिरहित शब्दजाल कालान्तरमा इतिहासको गर्भमा विलीन हुन्छन्र तर इमान्दार कविका सुन्दर र मानवमूल्यका उद्घोषणा कविताहरू युगयुगसम्म मानवचेतनालाई तृप्त गर्न क्षमता राख्छन् । भावना, आक्रोश, पीडा र बौद्धिकता एक्लाएक्लै आफैँमा कविता हुन सक्दैनन् तर यिनको सुसंयोजनबाट नै कविताको जन्म हुन्छ । सरल हुनु नै न त राम्रो कविताको गुण हो, न त क्लिष्टता वा अप्रत्यक्ष शैली नै कविताको विरोधी हो । निरन्तर साधनाबाट ऊर्जा उपलब्ध गराएर कविले उसको कविलाई निरन्तरता र विशिष्टता दिन प्रतिभामार्फत् कोसिस गर्छ । समाजमा कविले कविताको अनुहार खोज्छ, समकालीन वितन्डा र विसंगतिविरूद्ध आफ्नो जमीन खोज्छ, विचार र विवेकको एकोहोरो जडवादलाई मानवीय मानवीय संवेदनाको पक्षमा खडा गर्न खोज्छ । यद्यपि विज्ञान, चेतना र स्वतन्त्रता विरूद्धको प्रलापहरूलाई कविताको नाममा विज्ञापन गराउने केही अल्पजीवी उपयोगितावादीहरू पनि कविको नाममा सक्रिय रहलान् तर तिनको आयु उपस्थिति समाप्त हुनासाथ समाप्त हुन्छ । पाठकको सार्वभौम इजलाशमा प्रस्तुत मेरा कविताहरू निष्पक्ष र तर्कसंगत न्यायको माग गर्छन् तर दया र पक्षपात विरूद्ध मेरो कविको युद्ध निरन्तर रहनेछ ।

म कविता आफ्ना र समाजका छटपटीलाई कलात्मक शब्दवद्धता प्रदान गर्न लेख्छु, अन्तर र वाह्यचेतलाई पाठकमा सम्प्रेषण गर्ने आत्मसन्तुष्टिका लागि लेख्छु, तिलस्मिता र आडम्बरलाई समाप्त पार्ने अभिप्रायले जिम्मेवारीसाथ लेख्छु तर कुनै भौतिक आग्रह र प्राप्तिका लागि लेख्दिनँ र लेख्ने छैन ।

 

आफ्नो अनुहार खोजिरहेछु

पुरूषोत्तम सुवेदी

लघु आकृति यी अपूर्ण जंगलहरू
मान्छे विमुख घोप्टिइरहेछन्
सडकका अधोर साधनासँग
म मान्छे हुनुको पीडा पोखिरहेछु
समयका पेजमेकरमा पठाइएर निरन्तर
फ्रेमभित्र मेरो कद छाँटकाँट भइरहेछ ।

शुरू विन्दु छानामा बसेका मयूरहरू
अन्त्येष्टि विष्फोट कुनै मिसाइलमा
त्यो शिलालेखजस्तै अनावृत्त जम्न पाए हुन्थ्यो
पढ्ने सबैले आगतहरूको कालक्रम
म पेन्डोरासँग गर्भस्थ रहस्यको अनावरण पर्खिरहेछु ।

आगो, चरू र भोजपत्र ऋचाहरू
प्रायोजित हवनकुण्ड गरिँदैछन्
नयाँ सडकका जुत्ताहरू शिलालेखभन्दा टल्केको हेर्दै
कालक्रमको प्रस्थान हुन्छ शिला छेउबाट
हातका पुस्तकबाट वाच्दै सश्वर इशुवन्दना
म दिग्भ्रम-समय सन्त्रासमा जलिरहेछु ।

एकटक पुतलीको नक्कली नृत्य हेरेर
ए जुडास ! कहिले डुब्छ हँ अभिशप्त पृथ्वी ?
यही छिँडीमा सुत्केरी उमंगहरू पल्टिइरहेछन्
म मेट्छु, कोर्छु र समायोजन गर्छु
इमेजप्रिन्ट यी सपनाहरूको पाण्डुलिपि
अंकहरको विचलनले हिसाब मिल्दै मिलेन
म प्रश्न/प्रतिप्रश्न यो कक्षाको कालोपाटीमा !

मान्छेहरू अर्धचेत घडी हेर्छन्
जुलुसलाई थाहा छ, समय भड्किदै गएको छ
तरल हलाहल पिउने यी मेरा सोक्रेट्स
विप्रय हाँस्दे यो आकृतिको वयात्रामा
हाल मिलाउँदै/हल्लाउँदै शिलालेखसँग
सडकमा अर्धचेत सुतिरहेछन्
अहिले यो शहर शिलालेखको तकियामा मस्त निदाएकत्र छ ।

आवाज र निस्तब्धताहरू एक साथ
सपनाको शवयात्रामा शंख बजाउँदै दौडिरहेछन्
सिसिफस श्रापित थकित आगतसँग
शिलालेखसम्म क्रमबद्ध यात्रा चलाइरहेछन्
कालोपत्र सडकमै शुरू र समाप्तिहरू टेकेर
खडेबाबा-सूर्यलाई हात चढाएर निश्चल हाँसिरहेछ !

अहिले शहर मुर्छित पल्टेको छ
बिहानै ब्युँझन्छ आगतहरूसँग कुस्ती खेल्न
बलात्कृत आमाहरू प्रशव पीडामा छन्
हाम्रा विकलांग प्राप्तिहरू जन्माउन
शहर शिलामा अंकित दुर्घटनाका ग्राफहरू
दुःस्वप्न निधारमा रातो टीकाझैँ टल्केको देख्छु !
श्रापित हामी अर्धचेत सडकको एक कुनामा
हार र क्षयका दुःस्वप्नहरू भोग्दै ऐंठनमा
सडकमा खोजेर आफ्नै अनुहारको परिचय
यो शहर अर्धचेत शिलालेखको तकियामा निदाएको छ
पहिचानको खोजीमा निरन्तर ब्युँझदै
समय शिलालेखमा म आफ्नो अनुहार खोजिरहेछु !