मंगलेश डबरालको जन्म १६ मई, १९४८ मा टिहरी गढवाल, उत्तराखण्ड, भारतमा भएको हो । उनको निधन गत हप्ता ९ दिसम्बर २०२० मा दिल्लीमा भयो । डबराल आधुनिक हिन्दी कविताका अत्यन्त सम्मानीय र शीर्ष रचनाकारहरूमध्ये एक हुन् ।

उनले हिन्दी कवितालाई नयाँ अनुभवहरूले सम्पन्न बनाउने काम गरेका छन् । ‘पहाड़ पर लालटेन’ उनको पहिला कविता सङ्ग्रह थियो जुन १९८१ मा छापियो । ‘नये युग में शत्रु’ सबैभन्दा पछिल्लो सङ्ग्रह हो, जसको प्रकाशन सन् २०१३ मा छापिएको थियो ।

पहाड़ पर लालटेन, घर का रास्ता, हम जो देखते हैं, आवाज भी एक जगह है र नये युग में शत्रुजस्ता पाँच कविता सङ्ग्रह उनले हिन्दी साहित्यलाई दिएका छन् ।

मंगलेश डबरालको सुन्दर र सोद्देश्य गद्यलेखन उनका यात्रा डायरी ‘एक बार आयोवा’ र ‘लेखक की रोटी’ मा औँल्याउन सकिन्छ । उनी आफ्नो समयका सिनेमा, सांस्कृतिक सवाल र सञ्चार माध्यम तथा विश्वका संवेदनशील घटनाहरूमाथि टिप्पणी गर्दै आएका थिए । उनले विश्व कविताका केही सुन्दर अनुवाद पनि गरेका छन् ।

मंगलेश डबरालका कविताहरू भारतीय भाषाहरूका अतिरिक्त अङ्ग्रेज़ी, रूसी, जर्मन, डच, स्पेनिस, पोर्चुगाली, इटालियन, फ़्रान्सेली, पोलिस र बुल्गेरियाली भाषाहरूमा अनुवाद भएका छन् । मंगलेशका कवितामा सामन्ती संस्कारको विरोध एवं पुँजीवादी छलकपट दुवैको प्रतिकार पाइन्छ ।

उनको सौन्दर्यबोध सूक्ष्म छ र भाषा पारदर्शी । उनी पत्रकारका रूपमा समेत सुपरिचित थिए ।

दिल्ली हिन्दी अकादमी के साहित्यकार सम्मान, कुमार विकल स्मृति पुरस्कार तथा आफ्नो सर्वश्रेष्ठ रचना ‘हम जो देखते हैं’ का लागि साहित्य अकादमीद्वारा सन् २००० मा साहित्य अकादमी पुरस्कारबाट सम्मानित मंगलेश डबरालको कोरोनाका कारण दुःखद् निधन भएको हो । एक महान् तर शान्त प्रगतिशील कवि डबरालप्रति सादर श्रद्धाञ्जलीका साथ यस पटक उनका केही कविताहरू भाषान्तर कविता शृङ्खलामा समावेश गरिएका छन् ।

१. नयाँ युगमा शत्रु

मंगलेश डबराल

अन्ततः हाम्रो शत्रु पनि एउटा नयाँ युगमा प्रवेश गर्छ
आफ्ना जुत्ता, लुगा र मोबाइलहरूका साथ
ऊ ढकढकाउँछ एउटा शताब्दीको ढोका
र जान्छ त्यसको गर्भगृहमा
जुन अज्ञात छ यो शताब्दी र सहस्राब्दीको भविष्यजस्तै
जितेर आएको छ ऊ र जान्दछ अहिले जितिसकेको छैन पूर्णरूपले
बाँकी छन् उसका लडाइँहरू
हाम्रो शत्रु कुनै एकै ठाउँमा बस्दैन
तर हामी जहाँ गए पनि थाहा पाउँछौँ ऊ बसिरहेछ अन्त कतै
आफ्नो परिचयलाई उसले हरेक ठाउँमा घुलमिल बनाएको छ
जो बसेका देखिन्छन् उच्च आसनका भव्य कुर्सीहरूमा
ती शत्रु होइनन् उसका कारिन्दा मात्र हुन्
जसलाई ऊ भर्ना गरिरहन्छ यसकारण कि हामी प्रयास नगरौँ उसलाई खोज्ने

ऊ फैलाउँछ आफूलाई कम्प्युटर, टेलिभिजन, मोबाइल
आइप्याडहरूका जटिल अन्द्राहरूभित्र
कुनै महँगो गाडीभित्र देखिन्छ उसको छाया
तर त्यहाँ पुगेपछि देखिन्छ- ऊ छैन त्यहाँ
बरु कुनै अर्को अझ नयाँ गाडीमा बसेर हुइँकिएको छ
लाग्छ कहिलेकाहीँ कुनै फेसन परेडमा सहभागी छ ऊ

तर त्यहाँ मात्रै देखिन्छ गन्जी र कट्टुहरूको थुप्रो
सोच्छौँ हामी सायद ऊ गएको छ कुनै गरिबको घरमा आक्रमण गर्न
तर ऊ त्यहाँबाट पनि गइसकेको छ
त्यहाँ एउटा परिवार आफ्नो गरिबीबाट चिहाउँदै टेलिभिजन हेरिरहेछ
जसमा आइरहेछ एउटा रङ्गिन कार्यक्रम

हाम्रो शत्रुसित अनेकौँ फोन नम्बर छन्, धेरै मोबाइलहरू
ऊ सूचना दिन्छ मान्छेलाई तपाईँले जित्नुभयो
एउटा विशाल प्रतियोगितामा निस्कियो नाम तपाईँको
तपाईँ धेरै ऋण लिन सक्नुहुन्छ, किन्न सक्नुहुन्छ अनेक सामान
एउटा अकल्पनीय उपहारले पर्खिरहेछ तपाईँलाई
तर फर्केर फोन गर्दा सुनिँदैन केही

हाम्रो शत्रुले भेट्दैन कहिल्यै हामीलाई आउँदैन अगाडि
चुनौती दिँदैन हामीलाई
हुन त उसको आउनेजाने पदचाप सुनिन्छ हरेक क्षण
कहिलेकाहीँ उसको सन्देश आउँछ- अब छैनन् शत्रु कतै
हामी त मित्र हौँ एकअर्काका
बिर्सेर आपसी मतभेद
आउनुहोस्, हामी एउटै थालमा खाऔँ एउटै प्यालामा पिऔँ
वसुधैव कुटुम्बकम् विश्वास हो हाम्रो
धन्यवाद तथा शुभरात्रि ।
***
साभारः कविताकोश

२. एक स्त्रीका कारण तिमीले भेट्यौ एउटा कुनो

मंगलेश डबराल

एक स्त्रीका कारण तिमीले भेट्यौ एउटा कुनो
तिम्रो पनि भयो प्रतीक्षा

एक स्त्रीका कारण तिमीले देख्यौ आकाश
र त्यसमा उडिरहेका चराहरूको संसार

एक स्त्रीका कारण तिमी पटकपटक चकित भयौ
तिम्रो शरीर भएन बेकामे

एक स्त्रीका कारण तिम्रो बाटो कटेन अँध्यारोमा
देखियो उज्यालो यताउता

एक स्त्रीकै कारण एक स्त्री
बाँचिरहिन् तिमीभित्र ।
***

३. यो एक तस्बिर हो

मंगलेश डबराल

यो एक तस्बिर हो
जसमा थोरै साहस झल्किन्छ
र गरिबीले ढाकिएको देखिन्छ
उज्यालोमा खिचिएको यो तस्बिरपछाडि
लुकेको छ यसैको अँध्यारो
अनुहारको यो शान्ति
छटपटीको एउटा मुखौरो हो ।
***

४. र, यी ती आँखा हुन्

मंगलेश डबराल

करुणा र क्रूरता परस्परमा घुलमिल भएका छन्
थोरै गर्व गहिरो लज्जामा डुबेको छ
लड्ने उमेर जब कि नलडकनै बितिरहेछ
यसमा कुनै युद्धबाट फर्किएको यातना छ
र, यी ती आँखा हुन्-
जसले भन्छन्- प्रेम, जसमा टिकेका छन् सारा चिज
कति कम हुँदै गइरहेछ !
***

५. आत्ममुग्धता र ख्यालठट्टाका बीच

मंगलेश डबराल

आत्ममुग्धता र ख्यालठट्टाका बीच
कैयौँ तस्बिरहरूको एउटा तस्बिर
जसलाई म खिच्न लगाउँछु बारम्बार
एउटा सुन्दर तस्बिर खिच्ने
निरर्थकजस्तै आशामा ।
***
साभार : हिंदीसमय

६. भव्य बगैँचा

मङ्गलेश डबराल

सबैका लागि फुलेका हुन् फूलहरू
हावा चलेको हो सबैका लागि
सबैलाई प्रिय छ- फूलहरूमा हिँड्न सुस्ताउन दौडिन
हेरिरहन फूलहरूसँग हावाको चर्तिकला

एउटा फूल चुँडेर सुँघ्छु म
र अनुवाद हुन्छु कुनै शक्तिशाली राजाको तस्बिरमा
आएर मेरै पैतालामुनि कुल्चिइन्छ एउटा फूल
अनि देख्छु म एउटा निर्धनको अनुहार
अनन्त कालदेखि जसलाई
राजाको बगैँचामा घुम्ने अनुमति छैन ।
***
`आवाज भी एक जगह है´ बाट

७. अनुपस्थिति

मंगलेश डबराल

बाल्यकालमा हिउँ परेको थियो यहाँ
पाखा रूख आँगन र सिँढीहरूमा
त्यसैमा हिँड्दै बनाउँथ्यौँ हामी एउटा बाटो हरेक दिन

पछि जब हुर्किएँ म
पग्लिँदै गरेको हिउँ देखेँ
पानी चम्किरह्यो केही बेर
अन्ततः घामले त्यसलाई उडाइदियो ।
***
`आवाज भी एक जगह है´ बाट
अनुवादः निमेष निखिल
***