‘किस्ता किस्तामा जिन्दगी’ आर. बी. निश्चलको कवितासङ्ग्रह हो । २०७६ साल वैशाख महिनामा प्रकाशित यस कृतिलाई मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो । कक्षा चारमा पढ्दैगर्दा २०५२ सालतिरबाट कविता सिर्जना गर्न थालेका निश्चलको यो पाँचौँ कृति हो । कवितामै कलम चलाउन मन पराउने निश्चलका यस अघि ‘मौन हिमाल’ (२०६२), ‘आँसु खस्दै गर्छ’ (२०६३), ‘पैताला पुकार’ (२०७३) कवितासङ्ग्रहका साथै ‘सपना फूल’ (२०६२) खण्डकाव्य प्रकाशित छन् । निश्चलको काव्यिक उचाइ ‘पैताला पुकार’बाट प्राप्त भएको हो र उनी यही कृतिबाट क्रमशः बौद्धिक, आध्यात्मिक, भाषिक परिष्कार, ओजपूर्ण कवित्वयुक्त स्रष्टाका रूपमा प्रकट भएका हुन् । उनको पछिल्लो कृति ‘किस्ता किस्तामा जिन्दगी’ यस दृष्टिले एक पाइला अगाडि छ ।

मूलतः सवाल्टर्निक चिन्तनलाई पूर्वीय तथा पाश्चात्य आध्यात्मिक चिन्तन दर्शनका सापेक्षतामा प्रस्तुत गर्दै प्राचीन चिन्तन दर्शन र तिनबाट प्रभावित वर्तमान समाज व्यवस्था र चिन्तनप्रति तीक्ष्ण प्रहार गर्ने कवि निश्चलका कवितामा मानवतावादको आग्रह पाइन्छ ।

कुल १३० पृष्ठको गोजी पुस्तिका (पकेटबुक) आकारको यस कृतिमा १७ पृष्ठबाट कविताहरू समावेश भएका छन् । कृतिलाई तीन खण्डमा विभक्त गरिएको छ । पहिलो खण्डमा १२ वटा कविता छन्, जसमध्ये सातौँ क्रममा रहेको ‘चिन्तन अस्तित्वको’ कवितालाई यस खण्डको शीर्षक चयन गरिएको छ । दोस्रो खण्डमा १२ वटा कविता छन् । यस खण्डको तेस्रो क्रमको कविता ‘कवि–पक्षी र पिंजडा’ खण्डको शीर्षक चयन भएको छ भने तेस्रो खण्डमा १४ कविता समाविष्ट छन् । छैटौं क्रममा रहेको ‘उत्कण्डा मुक्तिको’लाई यस खण्डको नामकरणका निम्ति चयन गरिएको छ । यसरी कुल अडतीसवटा लामा छोटा कविताहरूको सङ्ग्रह ‘किस्ता किस्तामा जिन्दगी’को मूल्य २२५ रु. निर्धारण गरिएको छ । कृतिको आवरण ज्यादै सुन्दर कलेवरमा तयार पारिएको छ । आवरणले सीमान्त वर्गको आवेश र आक्रोशको अभिव्यञ्जन गरेको देखिन्छ ।

डा. शंकरप्रसाद गैरे

अनुप्रासको सशक्त प्रयोग उनका कविताको एउटा महत्त्वपूर्ण विशेषता बनेको छ भने उपमा, रूपक, दृष्टान्त, उत्प्रेक्षा आदि अलङ्कारको प्रयोगले यिनका कवितालाई शक्तिशाली तुल्याएको छ । स्वच्छन्दतावादी, मानवतावादी भावधाराका कवि निश्चलको यस कृतिले उनलाई हार्दिक, बौद्धिक कविका रूपमा समेत परिचित गराउँछ । सवाल्टर्न उनका कविताको मेरुदण्ड हो । नेपाली समाजका सिमान्तीय वर्गको आवाज उठाउने क्रममा उनी मूलतः दलित वर्गप्रति सहानुभूति राख्दछन् र कथित ब्राह्मणवादी पुरातन चिन्तनप्रति कटाक्ष गर्दै विद्रोह गर्छन् । निश्चल सिमान्तीय सन्दर्भमा भन्छन् “ब्राह्मण प्रभु !, हजुरको छत्रछायाँमा, हजुरकै असीम करुणामा बाँच्नुपर्ने, यो ‘कुजातको’ रगत” (पृ.९९) ।
कवि निश्चलले यस कृतिभित्रका कवितामा वास्तविक जीवनको सत्य पहिचान गर्ने प्रयास गरेका छन् । म को हुँ, र के हुँ ? भन्ने मनस्तत्वको खोजीबाट क्रमशः अघि बढेका निश्चलका प्रथम खण्डका कविताहरूमा यही तत्त्वको खोजी गर्ने प्रयत्न गरिएको पाइन्छ ।

अस्तित्वको चिन्तनका क्रममा जब जीवनजगतका मिथ्याभास, भ्रम, विरोधाभास, दर्शनभित्र नै विचार र व्यवहारको वेमेल देखिन्छ कवि आफूलाई मुक्तिको कामना गर्ने पक्षी; हाम्रो समाज, दर्शन र पद्धतिलाई भ्रम, मिथ्याभासको पिञ्जडा महसुस गर्छन् । त्यसकारण कविलाई हाम्रो दर्शनको भविष्य नै धरातलहीन छ भन्ने लाग्छ । मान्छेले आफ्नै स्वार्थका निम्ति, आफू मालिक बनी अरुलाई दास बनाउने मनसायले नाम, जात, भाषा, धर्म, कर्मको निर्धारण गरेको ठहर गर्दै विभेदको जगमा उभिएको यस दर्शनको भविष्य छैन भन्ने ठहर गरेका छन् ।

मान्छे जुन समयमा जुन समाजमा जन्मिन्छ र हुर्कन्छ त्यस समय र समाजबाट निकै प्रभावित हुन्छ । ऊ समाजले निर्माण गरेका हरेक विधिपद्धतिलाई सत्य सम्झन्छ । शास्त्र विधिसम्मत ठान्दछ र स्वीकार गर्दछ तर जब ऊ चेतनशील हुँदै जान्छ तब उसलाई आफ्नै दर्शन, आफ्नै शास्त्र र समाजनिर्मित विधिहरूमा अन्तर्निहित स्वार्थबारे अवगत हुन्छ । त्यस अवस्थामा ऊ ती विधिहरूबाट मुक्ति चाहन्छ । मुक्तिको कामना गर्दछ । त्यसका निम्ति विद्रोही बन्न पुग्दछ भन्ने अभिव्यक्ति उनको तेस्रो खण्ड ‘उत्कण्ठा मुक्तिको’ भित्रका कविताले प्रस्तुत गर्दछन् । ‘आखिर कसले रोक्न सक्छ र ?” जस्ता कविता जातीय विभेदको विरुद्धमा बिद्रोह बोल्ने कविता हुन् । कवि भन्छन् “मुक्तिको सास फेर्न दिएन समाजले, तर स्वच्छ प्राणवायु दिएकै छ प्रकृतिले । वेदका मन्त्र सुनेमा लाहा पगालेर कानमा हालिदिनु भन्यो समाजले तर मीठो सङ्गीत जीवनको सच्चिदानन्दको गीत सुन्नबाट रोकेकी छैनन् प्रकृतिले” (पृ.९०) । कविका विचारमा जहाँ मानवले अन्याय गर्छ त्यहाँ प्रकृतिले न्याय प्रदान गर्दछ ।

सवाल्टर्नको लेखनधर्मितालाई प्रतिदिन बलियोसँग प्रस्तुत गर्दै गैरहेका कवि निश्चलले मूलतः जातीय विभेदप्रति आक्रोश पोखेका छन् । यस्तै जातीय विभेदका कारण हाम्रो समाज र हाम्रा धर्म संस्कृतिहरू, हाम्रा परम्परागत दर्शन विचारहरू कमजोर हुँदै गैरहेका छन् भन्ने कुरालाई प्रस्तुत गर्दै यी मानव निर्मित धर्म संस्कृति, दर्शनहरूलाई त्यो समाज वहिस्कार गर्नेछ, जसमाथि विभेद भएको छ भन्ने भाव उनका कवितामा प्रस्तुत छ । ‘उत्कण्ठा मुक्तिको’ले यही दिशातर्फको सङ्केत गर्दछ ।

विचार र चिन्तनको गहिराइ बोकेको गद्य लयमा आधारित निश्चलको ‘किस्ता किस्तामा जिन्दगी’ कवितासङ्ग्रह नेपाली भाषासाहित्य फाँटका कविताका पाठकहरूका निम्ति गम्भीर, गुढ र ओजिलो काव्यिक प्राप्ति हुनेछ । मौलिक शिल्प, शैली र सरल भाषामा विचारहरूको सम्प्रेषण समाजदर्शनको चिन्तन र त्यसको आलोचना, आत्मचिन्तन र स्वतन्त्रताको चाहना कवि निश्चलको कविताको प्रमुख विशेषता हो ।