“आफ्नो दिल र दिमागमा चलिरहेको संवेदना र बौद्धिक आन्दोलनको रस्साकस्सीबाट जब एउटा कविताको जन्म दिन्छु तब म आफूलाई वर्षात्पछि छ्याङ्ग खुलेको आकाश, लामो प्रसव पीडाबाट गुज्रेर शिशुलाई जन्म दिएकी आमा जस्तै पाउँछु ।”

उदीयमान कवि राधिका कल्पितका कविताप्रति समग्र धारणाहरू उपरोक्त वाक्यांशबाट व्यक्त भएको ठानेको छु । यस पंक्तिकारले सानो छँदा धेरै पढेको पुस्तक महाकवि देवकोटाको मुनामदन र किशोरावस्थामा दोहर्याई तेहेर्याई पढेको पुस्तक साहित्यकार पारिजातको शिरिषको फूल हो । राधिका कल्पितका कवितासङ्ग्रह ‘बरफका कोइलाहरू’ भित्रका केही कविताहरू बढी रुचिपूर्ण मात्र नभै, अग्रज कविहरूको पंक्तिमा उभिन पुगेको छ ।

लामो छैन कवि कल्पितसँग मेरो परिचय । करिब एक वर्ष भयो फेसबुकमा मित्रता जोडिएको । प्रत्यक्ष परिचय हुने अवसर जुरेको थिएन । बेलाबखत छोटो फोन सम्वाद हुन्थ्यो । यस बीचमा फेसबुकका भित्ताहरूमा केशराशि फिँजिएका उनका सुन्दर तस्बिरहरू देख्न र केही थान कविताहरू पढ्न पाएको थिएँ । अधिकांश ती कविताहरूमा विषयवस्तुको उठानदेखि अन्त्यसम्म पाठकलाई सँगै डोर्याएर लैजान सक्ने विशेषता प्राप्त गर्दथे । भावबिम्ब र कला प्रस्तुतिको दृष्टिकोणले ती कविताहरू सबल, स्वादिष्ट र, सुन्दर लाग्दथे । विषयसँगै बिम्बलाई सहज प्रवेश गराउँदै पीँधसम्म पुगेर कवितालाई थप सार्थक बनाउन सक्नु यिनको फरक विशेषता लाग्दथ्यो । ती केही कविताका प्रभावले गर्दा नै देख्न र भेट्न चाहन्थेँ उनलाई ।

 

रामहरि श्रेष्ठ

एक दिन फेसबुकको भित्तामा देखेँ– “बरफका कोइलाहरू” कवितासङ्ग्रह पुस्तकको आवरण । तल पुछारमा लेखिएको थियो– राधिका कल्पित

१६ मङ्सिर, २०७७ मा सो पुस्तकको विमोचन समारोहमा सहभागिताको लागि मेसिन्जरमार्फत् निमन्त्रणा पाएँ । १७ मङ्सिर प्रातः साढे आठ बजे विमोचन कार्यक्रम थियो– मेरै घर आँगन अगाडि सम्पूर्ण पुस्तक नारायणगढमा । त्यहीँ भयो उनी र उनको कविता सङ्ग्रहसँग प्रथम भेट । पुस्तकको प्रथम क्रेता बन्ने संयुक्त अवसर पनि प्राप्त भयो डा.कृष्णप्रसाद पौडेल र मलाई । अनि पुस्तकसहित पुस्तक पसलमै खिच्यौँ पहिलो तस्बिर– मात्र सम्झनाको लागि ।

आफूलाई कवि, लेखक वा असल पाठक मान्दिनँ म । तर कविता सङ्ग्रह “बरफका कोइलाहरू” अध्योपान्त पढेपछि जानी नजानी केही थान कविताहरूमाथि मन खोल्ने जमर्को गरेको छु ।

“मेरो सहरमा एउटा यस्तो मान्छे छ” शीर्षक कविताले मलाई प्रभावित तुल्यायो । यसमा काठमाडौं घुमेका जो कोहीले पनि देखेका र अनुभूत गरेको तर बेवास्ता गरिएको कुरामाथि कविको कवित्वले गहिरिएर डेरा जमाउन पुग्दछ । काठामाडौँ सहरमा लुकेका विसंगति विकृतिलाई देख्न पुग्छ र त्यसलाई उधिनेर कवितामार्फत् व्यक्त गर्दछिन् । अनौठो तरिकाले पाठकको मन र मस्तिष्कमा हलचल पैदा गर्ने शक्तिशाली कविता हो । यसै कविताभित्रको एउटा कवितांश यहाँ पस्कन चाहेँ ।

मेरो सहरमा एउटा यस्तो मान्छे छ
जो बिहानभरि भगवानलाई बेच्छ
दिनभरि इमानलाई बेच्छ
साँझभरि आफैँलाई बेच्छ
रातभरि सप्पैलाई बेच्छ
के तपाईं उसलाई चिन्नुहुन्छ ? (पृष्ठ २६)

यो कविता पढिसकेपछि आँखा अगाडि आएर बस्छ, एकाबिहानै पशुपतिमा हात हेरेर अरूको भाग्य र ग्रहदशा बताउन निधारमा चन्दन लेपन गरेर बाटोबाटोमा बसेका गेरुवस्त्रधारीहरूको आकृति । केहीपछि उही व्यक्ति देखिन्छ गौरीघाटतिर निर्लज्ज अवस्थामा । खाना खानेबेला उही देखिन्छ गौशालाका होटलमा बिफ र बिरयानीको स्वादमा जमिरहेको । अनि देखिन्छ उही मान्छे मध्यान्हमा रत्नपार्कको पेटीतिर घाउले कुहिन लागेको झैं लेप लगाएको हातगोडा देखाएर भुइँमा अलापविलाप गरेर लडिरहेका मगन्ते अवस्थामा । उही देखिन्छ साँझतिर भोटेनीको भट्टी कुनामा तोङ्बा तानेर नशामा लठ्ठिदै धूवाँ उडाइरहेको । र राति उही व्यक्ति देखिन्छ ठमेलतिर यौन धन्दाको दलाल पेसामा ।

“मधुरात्रि” कवितामा मधुमासको रङ्गीन कल्पना शिखरमा हराएका नववधुका समग्र मनोविज्ञानलाई समेट्दै नारी भावनामा छताछुल्ल पोखिएर निस्संकोच प्रस्तुत भएकी छन् कवि । मधुरात्रिको काल्पनिक र यथार्थ संवेदनाभित्र प्रवेश गर्दै शिल्पगत प्रस्तुतिले पाठकलाई रोमाञ्चक तुल्याउँदै सन्देश प्रधान बन्न सफल बनेको छ ।

यस कविताको एकांश यस्तो छ–

सिन्दूरले रङ्गिदैमा
मन रङ्गिन्छ भन्ने छैन
सात फेरो लगाउँदैमा
प्रेमको फेरो लाग्छ भन्ने छैन
आउनोस् मन रङ्गाऔँ आस्थाका सप्तरङ्गले
होली खेलौं समर्पणका स्पर्शले
र भिजौँ छताछुल्ल सानिध्यको मधुरसले
सम्भोगको अर्थ
सम–भोग होस्
यस्तो नहोस्
कि तपाईं मात्र भोग्नुस्
वा म मात्र भोगूँ । (पृष्ठ ३३)

कसैलाई सुपाच्य नलाग्न सक्छ यो कविता । तर यथार्थ गुलियो मात्र हुँदैन । हरेक मधुरात्रि नववर–वधुले कल्पना गरेजस्तो मीठो वा मनचाह बन्न सक्दैन । अनगिन्ती नववधुले यस्तो तीतो यथार्थ भोगेका होलान् । नारी कवि कल्पित स्वयम् नारी भावनामा गहिरिएर नारीमनलाई केलाउन सहज भएको अनुभूत गरेको छु । हाम्रो समाजभित्र युगौंदेखि लुकिरहेको अव्यक्त यथार्थलाई उजागर गर्दै मधुरात्रीको सङ्घारमा रहेका नवजोडी जो कोहीलाई सचेत पार्न सन्देशात्मक रूपमा नारीसंवेदना बोलेको छ यो कविताले ।

“दैव” नामक कविताले पाठक मनमस्तिष्कमा सहजै सशक्त संवेदना जगाउन पुग्दछ । सिमान्तकृत वर्गमाथि आइलागेका अनेकन दुःख पीडाहरूको मार्मिक तस्बिर झल्कन्छ यस कवितामा । झुपडीमा बस्ने गरिब, सिमान्तकृत अर्थात् निर्धा मान्छेहरूको यथार्थ भोगाइलाई समेटिएको मार्मिक कथाको सशक्त कविता हो यो । केही अंश यस प्रकार छः

पोहोर साल
खै कस्तो कामज्वरो हो
बस्ती बस्तीमा काल बनेर छिर्यो
कामज्वरोले थलिएको मेरो छोराको लागि
ओखती किन्न सखारै सहरतिर हानिएको म
डाँडामा घाम अस्ताउने बेला आँगनमा पुग्दा
छोरो अस्ताइसकेको रहेछ मेरो जीवनबाट
दाहसंस्कार गरौँ दाम भएन
चिहान खन्नलाई आफ्नो ठाम भएन
उपाय नलागेर
अँगेनामा खाल्टो खनेर गाडेको दिनदेखि
अँगेनामा आगो बाल्न मन लाग्दैन । (पृष्ठ ७८)

कविताको अन्तर्य यस्तो छ– बाथले कुँजिएकी आमा भुइँचालो आउँदा भाग्न नसकेर दलिनले च्यापिएर मरिन् । दशैँमा घर सिंगार्न रातोमाटो खन्न गएकी श्रीमती माटोको ढिस्कोलो पुरिएर मरिन् । परार साल खहरे बढेर आउँदा सोहरेर लगिदिन्छ उसैको एक कोठे दरबार । पोहर साल छोरोलाई कामज्वरो आउँदा औषधी किन्न बाबु बजार जान्छ र औषधी लिएर आउँदा छोराको अन्त्य भइसकेको हुन्छ । उसँग दाहसंस्कारको लागि समेत पैसा हुँदैन । बाहिर लास गाड्ने ठाम समेत पाउँदैन । यसपछि अगेनोमा खाल्डो खनेर गाड्न बाध्य हुन्छ । अनि त्यस दिनदेखि अगेनामा आगो बाल्न मन लाग्दैन उसलार्ई । कति हृदयस्पर्शी बनिदिन्छ दुःखीको जीवन ।

“मलाई घर पुग्नु छ” कविताले देशको समसामयिक अवस्थामा नागरिकले भोग्न परेका पीडा बोधलाई मार्मिक ढङ्गले उजागर गरेको छ । कवि राधिका दुःखी मान्छेका पीडाहरूसँग अँगालो मारेर आफूसमेत दुःखित बन्न पुग्छिन् । दुःखेका मनहरू सहजै छाम्न सक्छिन् । पीडा बोध गर्न सक्छिन् र उस्तै कविता सिर्जना गर्दछिन् । यो उनको विशेषता हो । ती मान्छेहरू जोे स्वदेशमा रोजगार नपाएर विदेशमा श्रम बिक्री गर्न गएका र कोरोनाको कारण घर फर्किएका तर सिमानामा आफ्नै देशको सरकाले प्रवेश नदिएर अलपत्र परेका गरिब दुःखीको काव्यिक कहानी हो योे । प्रस्तुत छ कवितांश–

मेरो त घरमा लोग्ने मान्छे भन्नु मै एउटो हुम्
जवाफ दे सरकार
मेरी आमाको केही गरी फुस्स सास गयो भनेर
कल्ले पुर्याइदिन्छ घाटमा ? म पुगिनँ भने घर
मेरी दोजिया जहानको
कल्ले छुट्याइदिन्छ साल र नाल ?
कल्ले देला सुत्केरीलाई
एक मुठी ज्वानोको झोल र सातु ?
कल्ले बाल्देला अगेनामा आगो
र पाउला मेरो नव

जातले तातो ?

खोलिदे न ए सरकार यो सिमानाको ढोका
बरु कालीको बगरैबगर हिँडेर पुग्नेछु घर
बरु तगारोमै बसेर हेर्नेछु आमाको अनुहार
दलानमै बसेर सुनुँला बरु प्रसूतिको चित्कार
तर मलाई नछेक सरकार । (पृष्ठ १५५)

कोरोनाको कहरमा गरिब नागरिकले आफ्नै देशभित्र प्रवेश नपाएर, आफ्नै घरमा पुग्न नपाएर र बिरामी आमा, सुत्केरी हुने अवस्थाकी सुत्केरीलाई सम्झी सम्झी मनभरी सन्ताप झेलेर देशको सीमामा आएर छेकिएर बसेका नागरिकको यथार्थ कथाव्यथा बाकेको छ यस कविताले । तर पीडा बुझ्दैन सरकार । अनि कविता बन्छ ती पीडित मनको चीत्कार ।

कवितासङ्ग्रहभित्र कवि कतै बरफ झैँ पग्लिएकी छिन् । कतै हिमाल झैँ अग्लिएकी छिन् । कतै कविता बिम्ब विमानमा सयर गर्छिन् । कतै विषय वस्तुको पिँधमा पुगेर सुन्दर र शक्तिशाली कविता सिर्जना गर्दछिन् । कतै नारी संवेदना छताछुल्ल पार्दछिन् । कतै अनुराग भर्दछिन् । कतै पराग छर्दर्छिन् । कतै रोगग्रस्त पुरुष चिन्तनमाथि धावा बोल्छिन् । कतै सरकारसँग औँलौ ठड्याउँछिन् । कतै समाजभित्र लुकेका विसंगतिलाई उधिनेर सतहमा ल्याउँछिन् । कतै विद्रोह ओकल्छिन त कतै दीनदुःखीहरूको मन बोल्दछिन् । समग्रमा यथार्थताभित्र केन्द्रित रहेर उनका अधिकांश कविताहरूले काव्यिक उचाई ग्रहण गर्दै वर्तमान बोलेका छन् ।

यस पंक्तिकारलाई लागेको छ “बरफका कोइलाहरू” समकालीन कवीतासङ्ग्रहहरूको शीर्ष पंक्तिभित्र पर्दछ र शीर्ष पुरस्कारको सूचिमा पर्नेछ । साथै भविष्यमा अझ सशक्त र सुन्दर कविताहरू पढ्न पाइने आसा गर्दछु । हार्दिक शुभकामना ।