धेरै दिनपछि ‘सम्पूर्ण किताब’ नारायाणगढ पुग्दा लेखाराम सापकोटालाई पसलमै भेट्ने अवसर जुर्यो | मैले सोधेँ– ‘कुनै नयाँ पुस्तक, लेखा भाइ ?’, उनले भने ‘अहिले त छैन सर |’

मेरो नजर र्याकमा राखेको एउटा पुस्तक ‘रित्तो गाउँ’ माथि पर्‍यो| कभर पृष्ठमा एउटा फिस्स हाँसेको तस्बिर  अनि शीर्षकमुनि लेखेको थियो – ‘श्यामल |’

तस्बिर कवि श्यामलकै थियो | कवि श्यामल मेरा प्रिय कवि हुन् | ‘नया कवितासंग्रह हो ?’ मैले सोद्धा उनले भने– ‘होइन सर, यो त निबन्ध सङ्ग्रह हो  |’ कवि श्यामलको निबन्ध संग्रहबारे मलाई थाहा थिएन | मैले किनेर ल्याएँ |

घर पुगी पुस्तकका पाना पल्ट्याउँदै गर्दा ‘प्रकाशकीय’ र ‘उठान’ भित्रको लेखन कलाले निकै प्रभाव पार्यो | पहिलो निबन्ध ‘पीङजस्तो हल्लिइरहेको जिन्दगी’ शीर्षकले खासै प्रभावित नगरेकै हो तर निबन्धको पहिलो वाक्य ‘रेशम विरहीलाई चिन्ने पनि थुप्रै छन्, नचिन्ने पनि थुप्रै |’ ले आकर्षित गर्यो | मेरा प्रिय कवि निबन्धकार रेशम विरहीका बारेमा रहेछ | मैले शब्दै नबिराई दुईपटक पढेँ | धेरै दिनपछि सुन्दर निबन्धहरू पढ्ने अवसर पाएको अनुभूति भयो | कवि श्यामलले आफ्नो निबन्ध सङ्ग्रह ‘रित्तोगाउँ’मा केही दिवङ्गत राष्ट्रियस्तरका कवि लेखकहरूको पङ्क्तिमा चितवनको एक जना जीवित र साहित्य छेत्रमा छुट्टै पहिचान बनाएका कवि रेशम विरहीमाथि पनि सुन्दर निबन्ध समावेश गरेको देखेर म निकै खुशी भएँ |

रेशम विरही सरसँग मेरो परिचय भएको पनि एउटा छुट्टै कथानक छ | कवि श्यामलले रेशम विरहीमाथि लेखेको निबन्धमा चितवनका त्यस बखतका युवा साहित्यकार अनिल सिग्देलको प्रसङ्ग छ तर वरिष्ठ कवि साहित्यकार प्रेम विनोद नन्दनको प्रसङ्ग छुटेको छ | न छुट्नु पर्ने हो, किनकि अनिल सिग्देल, प्रेम विनोद नन्दन र रेशम विरही यी तीन जनाको बीच निकै घनिष्टता रहेछ र चितवनको साहित्य श्रीवृद्धिका लागि तीनै जनाको योगदान उल्लेख्य रहेछ | उमेरमा अलिक प्रौढ नन्दन र समवयी युवा सिग्देल तथा विरही त्यतिबेलाका चितवनका जल्दाबल्दा साहित्यकार रहेछन् |

एलबी क्षेत्री

रेशम विरहीसँगको मेरो परिचयको गाँठो वरिष्ठ साहित्यकार कवि प्रेम विनोद नन्दनसँग  जोरिएको छ | राष्ट्रकवि माधव घिमिरेकै शब्दमा ‘गोलसिमल’को नामबाट परिचित चितवनका साहित्यिक बिम्ब प्रेमविनोद नन्दनको २०६७ जेठ १७ गते भव्यताकासाथ् हीरक जयन्ती मनाइएको थियो र साथै साहित्यकारहरूको एउटा समिति गठन गरी  ‘नन्दन अभिनन्दन ग्रन्थ’ प्रकाशित गर्ने निर्णय भएको थियो | विशेष कारणले गर्दा ‘नन्दन अभिनन्दन ग्रन्थ’ प्रकाशित हुन सकेन | कविडाँडा साहित्य समाजले मेरो प्रधान सम्पादकत्वमा ‘चरैवेति’ साहित्यिक पत्रिका प्रकाशित गर्दछ |  एकदिन म नन्दन दाइको किराना पसलमा पुगेर भलाकुसारीको क्रममा ‘नन्दन अभिनन्दन ग्रन्थ’को चर्चा चल्दा उहाँको अनुहारमा मलीनता देखेजस्तो अनुभव भयो | उक्त ग्रन्थ प्रकाशित हुन् नसकेकोमा उहाँ अलिक दुखी  रहनुभएको मैले उहाँको अनुहारमा पढेँ | एल.बी. शैलीमा सोधि हालेँ– ‘म चरैवेति प्रकाशन सममूहमा प्रस्ताव राखौँ दाइ ?” त्यसोभन्दा उहाँको आँखामा भिन्नै चमक थियो  र भन्नुभयो – ‘मलाई थाहा छ, हजुरले चाहेमा सक्नू हुन्छ, गर्नूस् न सर |’

‘चरैवेती’को ‘प्रेमविनोद नन्दन विशेषाङ्क’को काम सुरु भयो | म नन्दनजीबारे लेख रचना खोज्नतिर लागेँ | कसैले सुझाव दिनुभयो – आजभोलि नन्दनजीका पुराना मित्र रेशम विरही पनि चितवनमै हुनुहुन्छ | म रेशम विरहीजीलाई खोज्दै हिँडेँ, भेट भयो |  त्यो मेरो उहाँसँगको पहिलो भेट थियो | भेट परिचयमा परिवर्तित हुँदा घनिष्टता बढ्यो | उहाँले एउटा लेख दिनु भयो | मैले पढेँ र दङ्ग परेँ | वाह ! यो पो साहित्य लेखन | नन्दनमाथि लेखेको निर्बन्धीय टिप्पणीका हरेक वाक्यहरूले नन्दनको व्यक्तित्व उचालिरहेको थियो र समग्र रचनाशिल्प मुखर गरिरहेको महसुस भयो | लेखको पहिलो अनुच्छेदले नै मलाई मन्त्रमुग्ध पारेको थियो |

“म कवि तथा गीतकार प्रेमविनोद नन्दनको काव्यिक गुणवत्ताको  पीँधसम्म पुग्न सकेको छैन | नन्दन चितवनका निरवच्छिन्न साधक हुन् भन्ने विषयमा भने झन्डै आधा शताब्दीदेखि सुनेको छु र चार दशकदेखि उजाड करेसामा गुधौँली फूलजस्तो देखेको छु, सुँघेको छु |” यस प्रकारका सुन्दर भावहरू पोखिएका छन् |

नेपाली साहित्य र भाषासँग म भर्खरभर्खर परिचित हुन थालेको थिएँ र त्योबेला मलाई लग्यो, यी शब्दसुमनहरू वरिष्ठ कवि प्रेमविनोद नन्दनका लागि मात्र चयन हुन सक्छन् र यस्ता  वाक्य संरचना रेशम विरहीले मात्र गर्न सक्छन् |

रेशम  विरही

कवि श्यामलले रेशम विरहीले चितवनमा ‘भरतपुर’ पत्रिका प्रकाशनको प्रसङ्ग राख्नुभएको छ | ‘भरतपुर’ धेरै राम्रो र स्तरीय पत्रिका थियो | मलाई त्यो पत्रिकाले निकै प्रभावित बनाएको थियो | म पत्रिकाको लेआउटबाट मात्र नभएर उहाँको सम्पादन कौशलता र लेखनशैलीबाट पनि निकै प्रभावित भएको थिएँ |  कवि श्यामल लेख्नुहुन्छ, ‘ट्याम्पुमा नारायणगढ आउँछ |  फर्कन्छ | कहिले भरतपुरतिरै सुतिदिन्छ |’

हो, मैले देखेको छु रेशम विरहीलाई ‘भरतपुर’ पत्रिका निकाल्नेताका उहाँ चितवन हाईस्कुलअघि भाडामा लिएको एउटा कोठामा आफ्नो ल्यापटप र विस्तारा राखेर रात रातभरि काम गर्नुहुन्थ्यो | त्यहीँ सुत्नुहुन्थ्यो | ‘भरतपुर’ पत्रिकाको पहिलो अंकको विमोचनको भव्यता मैले अझै बिर्सेर्को छैन | तर के भयो कुन्नि – पत्रिकाले  ८ अङ्कपछि निरन्तरता पाउन सकेन | तर उहाँले हिम्मत हार्नु भएको होइन | उहाँले एक्लै चितवनबाट दैनिक पत्रिका निकाल्ने योजना बनाउनुभएको थियो |  मसँग कुरा गर्नुभयो र मैले प्रस्ट भनेको थिएँ – आर्थिक पक्ष मेरो भयो, बाँकी काम तपाईं गर्नूस् |

तीनवटा जति हामी होटेल भरतपुर गार्डेनमा बैठक पनि बस्यौँ | अन्य प्राविधिक मित्रहरूसँग पनि परामर्श भयो तर पछि गएर विभिन्न कारणले त्यो प्रयास सफल हुन सकेन | त्यसपछि सायद उहाँ  काठमाडाैँतिर लाग्नुभयो |

यसरी प्रकारान्तरमा  मलाई  लाग्थ्यो, म रेशम विरहीलाई राम्ररी चिन्दछु |  तर मलाई त उहाँको नाउँ रेशमराज घिमिरे हो भन्ने पनि थाहा रहेनछ | कवि श्यामलको निबन्ध पढेपछि थाहा भयो – मलाई त रेशम विरहीबारे केही पनि थाहा रहेनछ | मैले चिनेका रेशम विरहीले त आफ्नो पछाडि  ठूलो इतिहास बोकी हिँडेका रहेछन् – पारिवारिक, सामाजिक, राजनैतिक,साहित्यिकलगायत विभिन्न परिवेशमा उहाँसँग लामो दुखद र सुखद गाथाहरू रहेछन् | म कवि श्यामललाई धन्यवाद भन्न चाहन्छु, ऐतिहासिक पीडा र सङ्घर्षमय इतिहास बोक्दै हिँडेका ऊर्जावान् रेशम विरहीबारे लिखितममा धेरै जानकारी दिएकोमा |

‘पीङजस्तो हल्लिइरहेको जिन्दगी’मा अनिल सिग्देलको प्रसङ्ग छ | मभन्दा लगभग ५-७ वर्ष कान्छा अनिल र म एउटै गाउँमा हुर्केकोले हामी बालसखा हुनुपर्ने तर हामी दुवै भिन्दाभिन्दै  परिवेशमा हुर्केकोले बालसखा हुनबाट वन्चित भए तापनि पछि युवासखा बन्यौँ | उहाँसँग मेरो परिचय २०३६ सालतिर मात्र भयो | अनिलले ‘बुलबुल’ पत्रिका चलाएको मलाई भन्नुभएको थियो तर उहाँको रेशम विरहीसँगको मित्रता र ‘बुलबुल’लाई रेशम विरही र अनिल मिलेर ‘आरन’ नाउँमा २०३७-३८ ताका दर्तावाला चितवनको नम्बर १ पत्रिका भएकोबारे केही थाहा थिएन | तर त्यो समयका चितवनका केही पत्रिका ‘दोभान,’ ‘नौलो राँको’ ‘छहरो’ आदिको कुरा गर्नुहुन्थ्यो अनिलजी | २०३६ सालमा भएको जनमत सङ्ग्रहमा म पनि निकै उत्साहित भएर भाग लिएको थिएँ | अनिल र रेशम विरही फरक धारका हुँदाहुँदै पनि दुवै बीच राम्रो घनिष्टता रहेछ | दुवैले मिलेर चितवनको साहित्यलाई निकै ऊर्जावान् बनाउन खोज्नुभएको रहेछ तर कसरी  रेशम विरहीसँग मेरो परिचय हुन गएन ? सम्झदा आज अफसोच लाग्छ | कतिपय निजी परिवेशले गर्दा हामी दुई त्यतिबेला परिचित हुन नपाए पनि वर्तमानमा आएर हामी दुवै एकअर्काप्रति विचार विनिमयमा क्रियाशील रहँदै आएका छौँ |

२०६८-६९ साल ताका मलाई मेरो कवितासङ्ग्रह निकाल्ने धुन थियो | युनिकोडमा टाइप गरेका मेरा कविताहरू  उहाँलाई म रामपुर लगेर दिन्थेँ | उहाँले सच्याएर दिनुहुन्थ्यो | मेरो नेपाली भाषाको शुद्धाशुद्धि निकै कम्जोर थियो र अझै छ | उहाँले मेरो कवितासंग्रह ‘भीडमा हराएको मान्छे’ को भाषा सम्पादनसहित शुद्धाशुद्धि सबै हेरिदिनु भएको हो ।

रेशम विरही अहिले क्यान्सर पीडित भएर केमो लिँदै गर्दा पनि आफ्नो रामपुरको घरमा बसी साधनारत हुनुहुन्छ | म तीन चारपटक भेट्न पनि गइसकेँ | प्रत्येक भेटमा सोध्छु – “सर के गर्दै हुनुहुन्छ ?”

“म अहिले मेरो अधुरो उपन्यास पूरा गर्दै छु |”, “म मेरो निबन्ध सङ्ग्रह प्रकाशनको तयारी गर्दै छु |”, “छिटै मेरो अर्को निबन्धसङ्ग्रह पनि आउँछ होला |”

म ईश्वरसँग प्रार्थना गर्छु, रेशम विरहीको उर्जा यसरी नै धेरै वर्ष बोलिरहोस्, कलम चलिरहोस् , राजनैतिक  पीङजस्तो हल्लिइरहेको जिन्दगी’मा प्रस्ट छ तर साहित्य जगतमा उहाँको लेखनी र युवाहरूलाई निर्देशनको नितान्त खाँचो छ | राजनीतिले उहाँलाई धेरै धोका दिए होला वा उहाँले राजनीतिमा सफलताको लागि चल्नुपर्ने चाल बिराउनु भयो होला तर उहाँसँग भएको पूँजि साहित्यले उहाँलाई कहिले धोका दिएन, उहाँको कलम कहिलै रोकिएन |  उहाँको पाँच थान कवितासङ्ग्रह, ‘देव्रे आँखा’ निबन्धसङ्ग्रह र ‘प्रेमदासको डायरी’ उपन्यास गरी नौ थान  कृति नेपाली साहित्य बजारमा उपलब्ध छन् |

“तपाईंको अर्को पुस्तक कहिले पढ्न पाइन्छ रेशम सर ?’ भनेर हालै मैले  जिज्ञासा राख्दा उहाँले भन्नुभयो – ‘विश्व महामारीले मानव चलायमानतामा राहत दियो भने आउँदो दशैँ वा मंसिरसम्ममा मेरो एक निबन्धसङ्ग्रह र अर्को उपन्यास तपाईँहरूको हातमा पर्नेछ |’

अन्त्यमा, दुई वर्षअघि उहाँको प्रतिनिधि कवितासङ्ग्रह  ‘तुरूप’लाई ‘कविडाँडा साहित्य समाज’ ले उत्कृष्ट कृतिका रूपमा पुरस्कृत गरेको कुरा पनि स्मरण गर्न चाहन्छु | लामो सङ्घर्ष,पीडा र अनेक अनुभवका गाथाहरू बोकेका रेशम विरही चितवनका एक ऊर्जावान् शब्द्शिल्पी हुन् भन्दा अतिरन्जित नठहर्ला | इमान्दार साधक र ऊर्जावान् स्रष्टाहरूको निजी जीवन सायदै सुखमय होला | पीडामा सिर्जना र व्यथामा संरचना स्रष्टाहरूको वास्तविक नियति  हो | नेपालको मात्र होइन विश्व साहित्यका महारथीहरूको जीवनगाथा हेर्दा हामी यस्ता कष्टप्रद साधकहरूको प्रतिबिम्ब अनुभव गर्छौं |