१. पहिलो लघुकथा

(अभिनयमा लघुकथा वाचन)

अन्तर्वार्ता

रचना शर्मा

रचना शर्मा

म “दुर्गा देवी” भर्खर खाना खाएर भाँडा माझ्दै थिएँ, त्यत्तिकैमा बाहिरबाट कसैले गेटमा भएको स्विच थिचिदिएछन् ।

“ॐ भुर्भुवस्व : तत्सवितुर्वरेण्यमं” नामको गायत्रीमन्त्रको घण्टीको आवाज आयो । “को आएछ” भनी मेरा श्रीमान् भोलाराम हेर्न जानुभयो ।

“को होला हजुर ?” श्रीमानले राम्रोसँग नहेरिकनै सोध्नुभयो।

“भोलारामजी नमस्कार! म के त ! हिजो हजुरसँग फोनमा कुरा गरेथें नि ! झट्का प्रसाद क्या ! चिन्नु भएन र ? हजुरले दिएको ठेगानाले ठ्याक्कै घर पत्ता लगाएर आइपुगेँ नि !”

“ए हजुर हजुर, नमस्कार ! चिनें चिनें, आउनुस् न भित्रै बसेर कुरा गरौं। अनि भन्नुस् झट्का प्रसाद जी ! के कति कामले पाल्नु भयो ?”

भोलारामको कुरा सुनेपछि झट्का प्रसादले भने, “हेर्नुस् भोलाराम जी ! म एउटा साहित्यकार मात्र नभएर एउटा पत्रकार पनि हुँ । म हजुरसँग सानो अन्तर्वार्ता लिन आएको हुँ। हजुरले पनि साहित्यिक पेजमा राम्रा राम्रा कथाहरु लेख्नुहुँदो रहेछ । तर एउटा कुराको ख्याल गर्नुभएको छ कि छैन कुन्नी ! यी पेजहरु त अहिले लभ स्टोरीमै सीमित भएका छन् नि ! अनि आइमाईका पोस्टहरु आए भने कति लाइक र कमेन्ट बर्साउँछन् । कमेन्टमै दोहोरी खेल्छन् । तर लोग्ने मान्छेको पोष्ट आयो भने दश वटा लाइक आउन पनि कति मुस्किल पर्छ। त्यसैले अचेल त म कथा पोष्ट गर्न पनि छोडें । अझ ५०/६० नाघेका सेते बुढाहरु त कति चम्केका हुन् मेरा बा…. ! तिनलाई पो झन् बढी बैँस चढेको छ त । कस्ता कस्ता कथाहरु पोष्ट गर्छन् । यिनका रुप बाहिर यस्ता, भित्र त…. । ओहो…..भनी साध्यै छैन । मेसिन्जरमा झन् आइमाईसँग त जस्ता पनि कुरा गर्ने रहेछन् । हेर्नुस् अचेल त म आइमाईहरुले फ्रेन्ड रिक्वेस्ट पठाए पनि एसेप्ट गर्दिनँ ।”

भित्रबाट सबैकुरा सुनेर म दंग परेकी थिएँ । भोलारामले भने “अँ त नि” भन्दै अँ मा हँ थपिरहेका थिए । को रहेछ भनेर भित्रैबाट यसो चिहाएर हेरेको त म अचम्ममा परेँ । बोकेदाह्री पालेको, देख्दै घिन लाग्ने उही मान्छे पो रहेछ जसले मसित हिजै भर्खर “छन्द प्रसाद” नाम बताएर म्यासेन्जरमा मस्किंदै कुरा गरेको थियो ।

###
(पछिल्लो समयमा रचना शर्माले अभिनयमा लघुकथा वाचनको काम नेपाली लघुकथाका केही पेजहरूमा गर्दै आउनु भएको छ । एकै व्यक्तिले लघुकथाभित्रका अनेक पात्रहरूको अनेक हुलिया र हाउभाउ वाचन गर्ने कामलाई पाठक र स्वयं स्रष्टाहरूले पनि रुचाएका छन् ।

अभिनयमा लघुकथा वाचनमा हालसम्म ७० जना लघुकथाकारको लघुकथाहरू समेटिएको छ ।

प्रस्तुत लघुकथामा तीन पात्रहरू छन् । कथाले मान्छेको दमित इच्छालाई मान्छे आफैँले अनावरण गर्छ र फेरि आफैँ त्यसको खिलापमा खटिन्छ भन्ने देखाइएको छ ।
कथाकार विशेषत: नारीवादी कथाकार हुनुहुन्छ ।)

२. स्वर्णकालीन लघुकथा

 

आलु

सरुभक्त

सरुभक्त

किचनको खण्डे बाकसमन्तिर एक किलो आलु थियो । माथिल्ला खण्डमा प्याज र लसुन थिए । प्याज र लसुन चुपचाप थिए । आलु खण्डमा विवाद चल्यो । विवाद चल्नुको कारण– आलुका विभिन्न स्वरूप थिए । कुनै आलु चिल्ला मोटा थिए । कुनै डल्ला थिए । कुनै गन्ठ्याङगुन्ठुङ परेका थिए ।

“हेर्, त्यो डल्लेलाई ! आलु हो कि लसुन हो ?” एउटा चिल्ल‍ो मोट‍ोले गिज्यायो ।

“नकरा, त्यसलाई हेर् न कस्तो छ ! त्यस्को लेखा म कति राम्रो राम्रो !”

“त्यो गन्ठ्याङगुन्ठुङे– अष्टबक्रे ! त्यस्लाई देख्दा त मलाई आफू आलु भएकोमा दिक्क लाग्छ,” चिल्लो मोटोले मर्ममै पर्ने गरी प्रहार गर्य‍ो ।

“तँलाई दिक्क लाग्छ भने किन आलु भई जन्मिस् त नि !” गन्ठ्याङगुन्ठुङेले चोट खाएर भन्यो ।

“मलाई के थाहा तँ जस्त‍ो पनि आलु भएर जन्मन्छस् भन्ने !” चिल्ल‍ो मोटोले प्रहार गर्न छोडेन ।

“रूपमा धेरै घमण्ड नगर् !” गन्ठ्याङगुन्डुङेले भन्यो ।

“पाएको रूपमा मज्जाले घमण्ड गरिन्छ । तँसित प‍ो छैन र घमण्ड गर्न सक्दैनस् !” मोटो चिल्लोले घमण्डले फुलेर भन्यो ।

गन्ठ्याङगुनठुङ परेको आलु लाजले, संकोचले, अपमानले भुतुक्क भयो । अरू बोल्न सकेन ।

त्यसै साँझ घरधनीले चिल्ल‍ो मोटो आलु र गन्ठ्याङगुन्ठुङ परेको आलुलाई ताछेर, काटेर, मिसाएर, पकाएर खायो । घरधनीको पेटमा पुग्दा दुवै पहिलेक‍ा रूपरङ जम्मै हराएर मसिनो भई रसायनिक सुनामीमा परिरहेका थिए ।

दुवैले एकअर्कालाई समान रूपमा देखे ।

“खोई त हजुरको हिरो रूप ?” पूर्व गन्ठ्याङगुन्ठुङ आलुले छेड हानी सोध्यो ।

“अरे यार, माफ गर साथी ! मलाई आत्मज्ञान प्राप्त भइसक्य‍ो । रूप भनेको बाह्य जगतको भ्रम रहेछ । ब्रह्म सत्य, जगत मित्थ्या,” पूर्व चिल्लो मोटो आलुले लज्जित भई भन्यो ।

पूर्व गन्ठ्यानगुन्ठुङ आलुले आफूले भोगेको लज्जा र अपमानलाई प्रतिष्ठाक‍ो विषय बनाई राख्नु आवश्यक मानेन ।

दुवै पेटको रसायनिक प्रकृयामा गुज्रेर चुपचाप आन्द्रातर्फक‍ो अरू गहन आत्मज्ञानी मार्गमा प्रवेश गरे ।

###
(स्रष्टा सरूभक्त नेपाली साहित्यको ३० को दशकमा पोख्रेली साहित्यलाई उँभो लगाउने सक्रिय एक स्रष्टा हुनुहुन्छ । लघुकथाको स्वर्णकालीन ३० को दशकमा उहाँले लघुकथालाई पनि अभिव्यक्तिको माध्यम बनाई लघुकथाहरू लेख्नु भएको पाइन्छ ।

काव्य, आख्यान र नाटक क्षेत्रको लागि सरुभक्त राष्ट्रको एक गहना नै हो । अनगिन्ती पुरस्कार, सम्मान र अभिनन्दनबाट विभूषित उहाँले पागल बस्ती उपन्यासको लागि २०४८ सालमा मदन पुरस्कार प्राप्त गर्नु भएको थियो ।

प्रस्तुत लघुकथाले जगत मित्थ्यालाई बढो कोमल पात्रहरूको प्रयोग गरी हामी मान्छेलाई सचेत गरेको छ ।)

 

३. मलाई मनपरेको लघुकथा :

 

जीवनको जस्केलाबाट

लक्ष्मण अर्याल

लक्ष्मण अर्याल

फोन बज्यो रमलल्लाको मेसेन्जरमा । लुखुरे हेल्पर जसवेन्द्रको बाबु बोलेको रहेछ । आवाज मात्र होइन देखियो पनि । भन्यो – “जसवेन्द्रलाई मान्छे बनाउने जिम्मा तेरै हो है बाबु । जसरी हुन्छ काम सिका ।”

जसवेन्द्रको बाबुले भोजपुरीमा सोधेको थियो जुन नेपालीमा यस्तो हुन्थ्यो – “जसवेन्द्र नुहाउँछ कि नुहाउँदैन ? हप्तामा कतिचोटि नुहाउँछ ? यता हुँदा आमाले नजगल्टाई नुहाउन जान्नथ्यो ।”

जगदीशवाले भन्यो – “हप्तामा एकचोटि नुहाउँछ काका । त्यही पनि कर गर्नुपर्छ । एकचोटि हप्कीदप्की लाएपछि सब ठीक भैजान्छ ।”

जगदीशवाको हातबाट रमलल्लाले फोन थुत्यो । ठुल्ठुलो काम छ काका ल हेर्नुस् भनेर पार्केटिङको काठको थुप्रो र त्यसका लागि सेट गरेका बोर्डर देखायो । बोर्डरका च्यानलहरू देखायो । रमलल्लाले ढाडस दिंदै भन्यो पनि – “एकदुई वर्षमा त जसवेन्द्र मिस्त्री बन्छ काका ।”

जसवेन्द्रको बाबुले भन्यो – “केटालाई भन्द्यौ – अब बिहे गर्नुपर्छ, छिटो छिटो मिस्त्री बन् । आजकल हेल्परको कहाँ भाउ लाग्छ र ? मिस्त्री बन्यो भने आठदश लाख त नमागे पनि दिन्छन् तिलकमा । बारबेर गरेर भए पनि घरजस्तो घर बनाउनुछ ।

“मैं हुँ ना,” जगदीशवाले भन्यो ।

“अपने चिन्ता नलिई चाचा ।” – रमलल्लाले थप्यो ।

बुढो ढुक्क भयो कि भएन था छैन तर मिस्त्री बनेर बेहुला भई सजिएको तानामा जसवेन्द्र टोलाएको कसैले हेक्कासम्म गर्न भ्याएनन् ।

####
(लघुकथाकार लक्ष्मण अर्याल लघुकथामा केन्द्रीत स्रष्टा हुनुहुन्छ । चितवनको उर्भरभूमीमा रही लघुकथा लेख्ने र लघुकथाकारहरूलाई अनावरण गराउने काममा उहाँ खटिइरहनु भएको छ । पेशाले प्राध्यापन भए पनि सौखले उहाँ साहित्यिक सम्पादक पनि हुनुहुन्छ ।

लक्ष्मण अर्यालको सम्पादनमा सम्प्रेशण लघुकथा संगालो र औंला लघुकथा संग्रह प्रकाशनमा आएका छन् ।

प्रस्तुत लघुकथाले बनावटी सीपको नाटकमा तिलक कुम्लाउने बूढो मानसिकतालाई बढो मज्जाले दर्साएको छ ।)