‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ –नेपाली सांगीतिक क्षेत्रमा चर्चित एवं लोकप्रिय गीतको पङ्ति हो । अति भावुक र कोमल शब्दहरूको संयोजनबाट गीत तथा कविताहरूको सिर्जनामा जीवन अर्पण गरेका कवि दुर्गालाल श्रेष्ठको यो सिर्जनालाई घरगृहस्थी त्याग गरी बौद्ध संघमा प्रवेश गरेका आनी छोइङ् डोल्माले स्वर दिएकी छन् र यो गीत नेपाली जनजीवनको जिब्रोमा नै बसेको पाइन्छ । सामान्य कुराकानीदेखि गम्भीर बहसमा समेत यो गीतको पहिलो पङ्तिलाई उद्धृत गर्ने गरिन्छ । तर गीतका पङ्तिहरूलाई यत्तिकै सुन्ने र सुनाउने हो भने सा¥है मिठास लागेपनि सोचविचार गर्दा गीतका प्रायः पङ्तिहरूको आसय ठम्याउन गाह्रो हुन्छ । यहाँ यही कुरालाई ध्यानमा दिएर समीक्षा गरिएको छ ।

गीतको पहिलो पङ्ति ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ ले के भन्न खोजिएको बुझ्न सकिन्न । खराब मान्छेको आँखामा सबै मान्छे खराब अनि असल मान्छेको आँखामा सबै असलै हुन्छन् भन्ने आसय दर्साउन खोजिएको भने स्पष्ट बुझिन्छ । र, अन्यले पनि यही आसयबाटै बुझेको र प्रयोग भएको देखियो । यही आसयमा यो गीत चर्चित पनि भयो । आफ्नो प्रायः सिर्जनामा बुद्ध र बौद्ध विषयवस्तुलाई बिम्व, प्रतीक तथा उपदेशबाट रंगाउने प्रवृत्ति भएका कविको यो सिर्जनालाई सर्वसाधारणले पनि बौद्ध गीत वा बौद्ध दर्शनबाट प्रभावित गीतका रूपमा लिएको देखिन्छ । गीतको गाम्भीर्यतामा डुबुल्कि मार्दै यसलाई बौद्ध दर्शनसँग जोड्नेहरू पनि पाइन्छ । तर गीतलाई बौद्ध दर्शनसँग जोड्ने हो भने गीतको यो पङतीले पल्टा खान्छ । बौैद्ध सन्दर्भमा फूलको आँखामा फूल नभएर काँडा देख्छ ।

बुद्ध राग, द्वेष, मोहलगायत तृष्णादिले मुक्त एक सत्व हुन् । फूलको आँखाले फूलै देख्ने भए बुद्धको आँखाले सबैलाई आफूजस्तै बुद्ध नै देख्नु पर्ने हो । बुद्धको उपदेशमा चार आर्यसत्यलाई बुझ्नु ‘सम्यक दृष्टि’ हो र त्यसमा पनि पहिलो सत्य ‘दुःख’ हो । दुःखै दुःखले भरिएको जगतलाई दुःखको अन्त्य गर्ने शिक्षा नै बौद्ध शिक्षा हो भन्नुमा मतैक्य छैन । निर्वाण प्राप्त गर्ने सत्व नै बुद्ध हुन् र निर्वाण प्राप्तीको अवस्थामा सुखै सुख हुन्छ भन्ने बौद्ध धर्मदर्शनको मान्यता मात्रै नभएर अनुभवीहरूबाट व्यक्त हुने वचन हो । तर फूलको पर्याय बनेका बुद्धको आँखाले जगतमा काँडैकाँडा देखेजसरी सत्व प्राणीहरूमा दुःखै दुःख देख्छन् र करुणाले ओतप्रोत भई दुःखबाट मुक्त पार्न उपदेश दिन्छन् । ‘फूलको आँखामा फूलै संसार’ हुने हो भने बुद्धले अरुलाई पनि बुद्ध नै देख्नुपर्ने थियो र करुणाको जरुरत नै पर्दैनथ्यो । फूलको आँखामा फूलै संसार हुने हो भने कुनै पनि न्यायाधीसले कसैलाई पनि चोर अथवा खराब भनेर दण्ड दिनु पर्दैनथ्यो वा चोरले सबैलाई चोरै देख्ने हुन्छ । यसर्थ फूलको आँखामा फूलै संसार हुने मान्यताले सबै कुरालाई गोलमाल पारिदिने हुन्छ ।

बसन्त महर्जन

यसरी नै ‘काँडाको आँखमा काँढै संसार’ हुने भए अर्थात खराब मान्छे सँधै खराबै भइरहन्छन् । किनभने उसले खराबै खराब देख्छन् । उसलाई असल मान्छे बन्नु पर्ने चेत नै आउँदैन वा जरुरत नै पर्दैन । खराब मान्छेले असल मान्छे देख्यो भने मात्र उ पनि असल बन्न प्रेरित हुन्छन् । यस अर्थमा यो पङ्ती पनि न यथार्थ छ, न त तर्क संगत नै ।

‘झुल्किन्छ है छायाँ वस्तुअनुसार’ पद्यांश पनि अति नै भावुक तर भ्रमपूर्ण छ । सामान्य बुझाइमा वस्तुअनुसार छायाँ झुल्किने भएपनि यो कुरा प्रकाशमा आधारित हुन्छ भन्ने कुरा भुल्नु हुँदैन । एउटै वस्तुको छायाँ विहान घाम उदाउँदादेखि अस्ताउँदासम्म निरन्तर रूपमा परिवर्तन भइरहन्छ । प्रकाशको अभावमा छायाँको अस्तित्व नै हुँदैन । छायाँ स्पष्ट देखिनु र नदेखिनुसँग वस्तुको कुनै सम्बन्ध हुँदैन पनि ।

‘चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्’ भनेर कामना गर्नु राम्रै हो । चित्त शुद्ध भयो भने स्वतः बुद्ध होइन्छ । बुद्धले बोल्ने बुद्ध बोली नै हुन्छ । यसर्थ दार्शनिक पृष्ठभूमिमा दुबै शब्दले एउटै अर्थ राख्दछ । यस अर्थमा कविले यहाँ शब्दमात्रै थोपर्ने काम गरेको बुझिन्छ । र, यसबाट चित्त शुद्धि र बुद्ध दुई बेग्लाबेग्लै विषयको रूपमा भ्रम सिर्जना हुन पुगेको छ ।

‘मेरो पाइतालाले किरै नमरोस्’ भन्ने वाक्यलाई आजभोलि सहज रूपमा बौद्ध आदर्शका रूपमा लिने गरिन्छ । यस गीतमा बुद्धको उपमा दिइएको, बुद्धलाई नै विम्ब र प्रतीक बनाएर लेखिरहने कविबाट यो गीत सिर्जना भएको र गृहस्थ जीवन त्याग गरी बौद्ध संघमा बसेकी व्यक्तित्वबाट गाइनु हो । कुनै पनि प्राणीको हत्या नगर्नु बौद्ध आदर्श वा दैनिक जीवनमा अपनाउनु पर्ने एउटा शील हो । यसअनुसार जानीबुझी कुनै प्राणीको हत्या बौद्ध हातबाट हुँदैन पनि । तर आफ्नो पाइतालाले किरा पनि नमरोस् भनेर सजग भई हिड्ने वा हिड्दै नहिड्ने बौद्धहरूबाट हुँदैन । चित्तले हत्या आसय नलिएको अवस्थामा हुनगएको हत्यालाई हिंसा मानिन्न । यो कुराको उदाहरण बुद्धकै सन्दर्भबाट उजागर गर्न पनि सकिन्छ । त्यति बेला शीलले सम्पन्न एक भिक्षु थिए, आँखा नदेख्ने । विहारमा यताउता हिड्दा उनीबाट किराफट्याङ्ग्रा कुल्चिन्थे र मर्थे । सबै प्राणीलाई बराबर देख्ने भिक्षुहरूलाई ठुलो चिन्ता थियो, विहारमा साना साना प्राणीहरू कुल्चिएर मरिरहेका छन् र कुल्चने भिक्षुलाई पनि पाप लाग्ने भयो । भिक्षुहरूको यो चिन्ता र कुल्चने भिक्षुप्रतिको गुनासो बुद्धसमक्ष पुग्दा आँखा नदेख्ने भिक्षुले जानीजानी किरालाई कुल्चेको र मार्छु नै भनेर मारेको नहुँदा यसलाई अन्यथा लिन नहुने उपदेश दिएका थिए । बरु आफ्नो पाइतालाले किरै नमरोस् भनेर अँध्यारोमा हिड्दै नहिंड्ने, आफू आएको जनाउ दिन लौरो टेकेर हिड्ने र स्वास फेर्दा पनि नाक र मुखबाट किरा छिर्ला भनेर मुखमा पट्टी बाँधेर हिड्ने अथवा अहिंसाको अभ्यास वर्धमान महावीरको जैन धर्मको आदर्श हो ।

सबै प्राणीलाई बराबर देख्ने भिक्षुहरूलाई ठुलो चिन्ता थियो, विहारमा साना साना प्राणीहरू कुल्चिएर मरिरहेका छन् र कुल्चने भिक्षुलाई पनि पाप लाग्ने भयो ।

हिंसा सम्बन्धी महावीरको अवधारणालाई गौतम बुद्ध अतिवादी दृष्टिकोण मान्छन् । यस्तो अतिवादबाट पर बस्न उपदेश दिन्छन् । बुद्धको आदर्श वा पहिचान मध्यममार्गी हो र कुनै पनि अतिवादमा अल्झिने नभएर व्यावहारिक हुने हो । गीतमा जैन आदर्श वा मूल्यमान्यताको प्रभाव परेको छ तर यही प्रभावलाई बौद्ध सन्दर्भमा थोपर्न ल्याइनु कविको भूल हो ।

कालो रातमा केही देखिन्न । कालो रातमा जुन देख्नु भनेको कोरा कल्पना वा अवास्तविक हो अर्थात् प्राकृतिक स्वभावलाई अस्वीकार गर्नु हो । जुन भएरमात्रै टहटह जुन देखिने हो अर्थात् जुन हुनु नै कालो रातको अभाव हुन्छ । ‘टहटह जुन देखुँ कालो रातैमा’ तर्कसंगत छैन । र, जीवनलाई बुझ्न सुखमात्रै होइन, दुःखलाई पनि बुझ्नु पर्दछ तर कविले ‘जीवन संगीत सुनुँ म सुखपातैमा’ भन्नु पनि उस्तै मिल्दो कुरा होइन । यसरी नै सङ्लो मनमा मात्रै होइन, मन नै नभएको अवस्थामा पनि संसार खुल्छ । त्यो संसारलाई कसरी लिने भन्ने कुरा व्यक्तिमा भर पर्दछ । यस अर्थमा ‘राम्रो आँखामा खुल्छ राम्रै संसार’ भनेजस्तै ‘सङ्लो मनमा खुल्छ है सङ्लै संसार’ भन्नु पनि तर्कसंगत छैन ।

गीत साहित्यिक र दार्शनिक दुबै दृष्टिले दोषपूर्ण छ । शब्द लालित्य र मर्मस्पर्शी अभिव्यक्ति नै साहित्यको मापदण्ड होइन, त्यसमा अर्थपूर्ण सन्देशको पनि दरकार पनि पर्दछ । गीतकार यसमा पूर्णतः चुकेको देखिन्छ । तर तिनै शब्दहरू लोकप्रिय हुनु छलफलको बेग्लै पाटो हो । अर्थहीन सन्देश पनि ग्राह्य हुनसक्छ भन्ने कुराको एउटा उदाहरण यो गीत पनि हो । लोकरिझ्याइँमा साहित्यिक एवं दार्शनिक मूल्यमान्यता तथा त्यसको गम्भीरताले खासै महत्व राख्दैन । वास्तवमा साहित्यिक दृष्टिले यो दुर्घटनामा मात्रै हो ।