प्रा. डा. गोविन्दराज भट्टराईसँगको अन्तर्वार्ता ।
अन्तर्वार्ताकारः महेश पौडेल, अंग्रेजीका अध्यापक, त्रि.वि. ।
पढियो, पहिलो पठनमा मनमस्तिष्कमा सुनामी नै आए जस्तो लाग्यो, पुरै हल्लियो; त्यसैले दोस्रोपटक पढ्नु पर्ने भयो सुस्थिर भएर । फेरि पनि पढ्नु पर्ने अनुभव भएको छ। यस अन्तर्वार्तामा त्यो शक्ति छ जसले पाठकलाई बारबार आकर्षण गर्दछ। अन्तर्वार्तामा सर्जक-समालोचक डा. भट्टराई फराकिलो आँगनमा कतै ठेस नलागी, नहिचकिचाइकन निर्भीकताका साथ पूरै खुलेर बोल्नुभएको छ।
नेपाली भाषामा यत्तिको शक्तिशाली लेखन, यत्तिको प्रभावी अन्तर्वार्ता आजसम्म पढेको रहेनछु । पहिले त साहित्यपोस्टलाई धन्यवाद भन्छु ।
लेखकीय स्वाधीनताका पक्षधर डा. भट्टराईले अन्तर्वार्ताको सुरुमै इतिहासका डरलाग्दा काल खण्डमा पिल्सिँदै घिस्रिँदै यहाँसम्म आइपुगेको अनि मान्छेलाई चिन्तन र विचारले यहाँसम्म ल्याएको भन्नु भएको छ । साहित्य सिर्जना र समालोचनाका सन्दर्भमा उहाँले गहन विचार राख्नुभएको छ । उत्तरआधुनिक बहुल विचारमा बहुलता र उदारताका प्रवक्ता डा. भट्टराईको एउटै विचारलाई मात्र मान्ने सङ्कीर्ण भावादर्शीहरु प्रकृतार्थमा स्वाधीन होइनन, गुलाम हुन भन्ने अभिमत छ। आफ्नो परिवेशको साहित्यलाई अरुले बनाएको सिद्धान्तले हेर्नु त्रुटिपूर्ण हो। आफ्नो सिद्धान्त नहुनु अनि आयातित विभिन्न सिद्धान्तका समालोचकहरुको जगजगीमा सर्जकको सातोपुत्लो उडने डरलाग्दो समय देखाइएको छ। डा. भट्टराईका अनुसार हिजोआज साहित्य सिर्जना गर्नु खतरनाक खेल हो। रोला बार्टको लेखकको मृत्युको यसै सन्दर्भमा मनोग्राही व्याख्या पनि छ। आजको नेपाली समालोचना त्रुटिपूर्ण रहेको, समालोचकहरु आन्तराष्ट्रिय बन्ने तीव्र चाहनाले घरको र वरिपरिको परिवेश अध्ययन गर्न चुकेका हुन भन्ने डा. भट्टराईको ठम्याइ छ। जननी भाषा संस्कृतलाई नराम्रो भन्दै त्याज्य र आयातित अंग्रेजीलाई राम्रो ठान्नु पनि घातक कुरा हो- विचार सोह्रै आना सही छ, समर्थनयोग्य छ ।
पश्चिमले जे दिनु थियो दिसक्यो, अब लेखक, पाठकको दृष्टि पश्चिमेतर एसियातिर छ भन्ने सन्दर्भमा डा. भट्टराईले श्रीलङ्का, अफगानिस्तान, जापान, भारत आदि देशमूलीय लेखकले डायस्पोरा साहित्यको माध्यममा आफ्नो देशको गरिमा बढेको उल्लेख गर्नु भएको छ । यता नेपालमा भने हाम्रो अतीत, परम्परा र संस्कृतिको राम्रो उत्खनन् हुन सकेको छैन। डायास्पोरा सिद्धान्तको कुनै ज्ञान नभएका एक दुई जना टपर्टुइँया छिपछिपेमा रमाएर कराउदै छन् भनेर हामीलाई सचेत गराउन चुकेका छैनन् ।
डा. भट्टराईको प्रज्ञाले नेपालमा मात्र होइन, पुरै विश्ववाङ्मयमा विचरण गर्दछ। उहाँको दृष्टि, उहाँको भिजन अत्यन्त शक्तिशाली छ- नजिकको सूक्ष्मातिसूक्ष्म तत्वलाई देख्छ भने धेरै टाडा- भूत, भविष्य समेत देखेको छ। उहाँका दिव्यचक्षुको प्रकाशमा यता असम मुलुक समेत उद्भाषित हुँदै छ। प्रयोगवादको सन्दर्भमा कुरा गर्दा उहाँले असमेली नवीन कविहरुको उल्लेख गर्नुभएको छ।
सरकारी र प्रतिपक्षीको प्रश्नमा डा. भट्टराईको कथन मननयोग्य छ। उहाँले युवा कवि राजा पुनियानीको एउटा कविता सठिक रुपमा प्रस्तुत गरेर सत्ताधारीका पदलेहनकारीहरुको चाप्लुसे लेखनशैलीलाई व्यङ्गप्रहारले धरासायी पार्नुभएको छ।
ग्रीसेली सुकरातलाई राष्ट्रशक्तिले हेमलक दिएको थियो भने नेपाली सुकरातलाई पनि राष्ट्रले स्लो पोइजन दिएको छ, त्यो हामीलाई थाहा भइसकेको छ । डा. भट्टराईका कथनमा पनि त्यो परिस्फुट भएको छ । शक्तिकेन्द्रमा वरिपरि प्रदक्षिणा गर्दै भजनकीर्तन गाएर रोजीरोटी जुटाउने हजारौँ चारण-लेखक समयको अतल गह्वरमा कता बिलाउँछन् खोजेर भेटिँने छैन, तर सुकरातलाई न त राष्ट्रशक्तिले मार्न सक्यो न त समयले नै छोप्न सक्यो । सुकरात सुकरात नै हो, अजर-अमर। सम्भवामि युगेयुगे भन्दै सुकरात जन्मिरहने छन्, चुनौति दिँदै- राष्ट्रशक्ति होसियार ! होसियार !!
अन्तर्वार्ताकार महेश पौडेलको विलक्षण प्रतिभाको सराहना गर्नै पर्छ । वास्तवमा, प्रश्नकर्ता लेखकीय व्यक्तित्वका विभिन्न पाटाहरुको गहिरो अध्ययन र रौंचिरा विश्लेषण गर्न सक्षम छ भने मात्र लेखकबाट कुरा निकाल्न सकिन्छ । प्रश्नै फितलो भैदियो भने जस्तै उच्चकोटिको प्रतीभाबाट पनि मणिमुक्ता झर्दैन । यस अघि डा. कुमार कोइरालाको अन्तर्वार्तामा डा. भट्टराईको वैचारिक अवधारणा र सिर्जना-समालोचनाका धेरै पाटा खुलेका थिए। अहिले ई-पत्रिका साहित्यपोस्टका लागि समालोचक महेश पौडेलले लिएको अन्तर्वार्तामा ती पूर्णरुपले खुलेका छन्, मानों भगवान श्रीकृष्णले उनको विश्वरुप देखाएका हुन् । डा. भट्टराईले उहाँका सर्जक, समालोचक, अनुवादकादि व्यक्तित्वभन्दा शिक्षक व्यक्तित्वलाई सर्वोपरि मान्नुभएको छ। अनि यसरी खुल्नका लागि विराट स्पेस दिने ई-पत्रिका साहित्यपोस्टलाई मान्नु पर्छ। तेस्रो पाउ कहाँ राखूँ भन्ने समस्या भएन।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।