जहाँ छन् बुद्धका आँखा
स्निग्ध, शान्त र सुन्दर……..

भक्तराज आचार्यले गाएको कालजयी यो सुन्दर गीत । लुम्बिनीको पावनभूमिमा टेक्दा नटेक्दै मनभित्र गुञ्जिन थाल्यो । टाढैबाट हेर्दा पनि सुन्दर र हरियाली रूख वृक्षहरूले झकिझकाउ परिसर देख्यौँ । स्वर्गको एक टुक्रामध्ये यो पनि हो कि भन्ने प्रतीत भयो । अघिल्लो रात काठमाडौँबाट रिजर्भ गाडी चढेर रातभरि यात्रा गरी बिहानीपख लुम्बिनी झरेका थियौँ । गाडीको अगाडि सहकारीका भ्रमण टोली अंकित फ्लेक्स बोर्ड देखेर लुम्बिनी बसपार्क वरिपरिका होटले साहुहरु खाजा र खानाको प्रस्ताव लिएर हामीलाई घेर्न आइपुगेका थिए । हाम्रा दुईवटा रिजर्भ गाडीमा सत्तरी असी जना जति यात्रु सवार थियौँ ।

विश्व विभूति गौतम बुद्धको पावन जन्मथलोमा प्रथम पटक पाइला टेक्न पाउँदा खुसीले मन गमक्क फुलेको थियो । कहीँ न कहीँ जान पनि त दिन आउनु पर्ने रहेछ । नेपालमै जन्मिएर यही हुर्किएर जीवनको तीन दशक बिताइसक्दा पनि यति महत्वपूर्ण ठाउँ घुम्न ढिला भएको छुकछुकीले मन पछुतो मान्दै थियो । यस्ता पछुतो मान्ने स्थान अझ कति होलान् । कहिले पुग्न पाइएला मनले ठम्याएका ती ठाउँहरूमा ?

रातभरको अनिदो आँखालाई नखोली सुख थिएन । बिहानको चिसो सिरेटोले मन र मष्तिस्क उघार्दै लगेको थियो । एउटा होटलमा गएर हामी आउने जतिलाई चिया र खाजाको अर्डर गर्यौँ । खाजा बनिन्जेल समयलाई छोप्न हामी मुख धुन र शौचालयको काम सम्पन्न गर्नपट्टि लाग्यौँ । पानी र शौचालयको राम्रै प्रबन्ध रहेछ । खाजा खाएपछि फोटोजेनिक राम्रा लुगा फेरेर हामी घुम्नका लागि तयार भयौँ । बिहानको आठ बज्नै लागेको थियो । २०७० सालको माघ महिनाका पारिलो तातो घामले सबैलाई लोभ्याएको थियो ।

प्रभा बराल

लुम्बिनी परिसर विशाल भएकोले रिक्सामा चढे सजिलो हुने कुरा स्थानीयबासीले गरे । अघिदेखि रिक्साचालकहरु टुलुटुलु हाम्रो मुखमा किन हेर्छन त भन्ने ठानेको त उचित समयको प्रतीक्षालाई पो कुरेका रहेछन् । आज एकाबिहानै सजिलै एक बस ग्राहक भेटियो भनेर फुरुक्क भएका होलान् विचरा । एक घण्टाको एक जनाको डेढ सयको दरले दुई जना बस्नलाई रु तीन सयमा हामीले रिक्सा रिर्जभ गर्यौँ । दुई जना बस्न मिल्ने रिक्सामा गफ गर्दै गुड्न रमाइलो पनि हुने रहेछ । अब राम्रैसँग लुम्बिनी घुमिने भइयो भनेर फुरुक्क भयो मन ।

हरियाली काव्यकुञ्ज प्रतीत हुने रमाइलो ठाउँ थियो । मन आनन्दको बुर्कुसीमा उफ्रिरहेको थियो । हतारको सम्पूर्ण दैनिकी काठमाडौँमै बिसाएर आएकोले मन प्रफुल्ल थियो । मन खुसी भएपछि सारा जगत् नै खुसी देखिने नै भयो । हाम्रो रिक्सामा गीता दिदी र म थियौँ । सहकारीको भ्रमण भए पनि हामीलाई भने साहित्यिक भ्रमण जस्तो लागिरहेको थियो । सायद वेभलेन्थ मिल्ने मान्छे फेला परेपछि यस्तो सुखद अनुभूति भएको होला ।

सुग्घरी बाटो, फुलिरहेका फूलहरुको बैँसालु मादकताले पनि वातावरण रौनकमय थियो । यहाँ कति सुन्दर रहेछ है लुम्बिनी ? मन आफैँसँग सवालजवाफ गरिरहेको थियो । पहिला कहाँ लैजाने, के देखाउने, यहाँ कति समय लाग्छ भन्ने कुरामा अभ्यस्त भइसकेका रिक्साचालकले नै हामीलाई गाइड गरे । हामीजस्ता हजारौँ पर्यटकलाई यिनले घुमाइसके होलान् । देशविदेशका यात्रुसँगको साक्षात्कारमय दैनिकीले हरेक दिन पुलकित हुँँदा हुन् यिनीहरू । खुट्टाले रिक्साका पाइडल घचेट्दा कति गाह्रो होला यिनलाई । म रिक्सामाथि बसेर पाइडल ठेलिरहेका रिक्साचालकका पाइताला हेर्छु । तराई क्षेत्र भएकोले फागुनको महिना भए पनि हल्का गर्मी थियो । वैशाख जेठको गर्मीमा त कति गाह्रो होला यिनलाई ? कति पसिना तरतरी चुहिँदो हो । श्रमले बाँच्ने यिनको टीठलाग्दो पेशाप्रति मन कुँडियो एकछिनसम्म ।

सर्वप्रथम उनीहरुले हामीलाई थाइल्याण्डले बनाएको बौद्ध गुम्बा अगाडि झारिदिए र भित्र जानुस भने । आम्मामा ! कति टलक्कसँग माझिएको यहाँको परिसर । मार्बल र चिप्स पुछेर टलक्क पारिएका यहाँका भुइँ वरिपरि जापनीज दुबोको हराभरा देखिन्थ्यो । मनै हरर भयो । एकछिनसम्म बस्यौ बुद्धको पाउ छोयौँ । मुसुक्क हाँस्दै केही तस्वीरहरु खिच्यौँ ।

अन्तराष्ट्रिय विमानस्थलको फोहोर र काठमाडौँका फोहोरका थुप्रा हेरेर अमिलिएका पर्यटकका मन लुम्बिनी आएपछि भने हँसिला बन्ने रहेछन् ।

बौद्ध धर्म मान्ने विश्वका कतिपय राष्ट्रले लुम्बिनी क्षेत्रभित्र ठाउँ ठाउँमा आफ्नो देशको कला सस्कृति झल्किने खालका भवन बनाएका रहेछन् । थाइल्याण्ड, श्रीलंका, जापान, बर्मा आदि मुलुकले बौद्ध गुम्बाहरुको निमार्ण गरेका थिए । भर्खर रङ लगाएजस्ता देखिने अत्यन्त सुन्दर ती भवनहरुमा धुलो र फोहोर कत्ति थिएन । टालो लिएर भुइँ पुछ्दै गरेका दृश्य र कुचो लिएर फोहोर बढार्नेहरुको बाक्लो उपस्थिति देख्दा उनीहरु सरसफाइमा कति सचेत छन् भनेजस्तो लाग्यो । आँखामा भने काठमाडौँका अस्पताल र सार्वजनिक बाटाघाटोमा थुप्रिएका फोहोरको डङुगरको झझल्को आइरहयो । लुम्बिनीजस्तै सफा हाम्रो काठमाडौँ पनि बनाउन पाए । त्यो पनि त देशको राजधानी हो नि ।

हाम्रो देशका हरेक पर्यटकीय क्षेत्र मात्रै पनि यस्तै सफा र चुस्त राख्न सक्ने हो भने विश्वमा नेपालको कति राम्रो सन्देश जाने थियो होला भन्ने लाग्यो । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा समेत समयसापेक्षको सरसफाइ गर्न नसक्दा पर्यटकको नेपालप्रतिको प्रथम हेराइ नै धुमिल हुन पुग्छ । विकास गर्न त सकेनौँ तर सरसफाइ गर्न त सक्थ्यौँ नि ? यति सम्म पनि नगर्ने हाम्रो देशमा भ्रष्टाचारले सबैको आँखा टम्म टालिदिएको छ । अन्तराष्ट्रिय विमानस्थलको फोहोर र काठमाडौँका फोहोरका थुप्रा हेरेर अमिलिएका पर्यटकका मन लुम्बिनी आएपछि भने हँसिला बन्ने रहेछन् । अलिकति भए पनि सभ्यताको परिभाषा यी स्थानले दिलाउने रहेछन् । वितत आनन्दले मेरो मन पनि रमायो एकछिनसम्म ।

अझ लुम्बिनी वरपर अन्तराष्ट्रिय विमानस्थल बन्दै छ । विदेशबाट आउने पर्यटकका प्रथम आँखा सोझै लुम्बिनीमा पर्नेछन् । कति रमाउलान् त्यतिबेला । मेरो मन आगतको कल्पनामा मग्न बन्यो ।

आहा ! बुद्धको जन्मभूमि ।

आहा ! यो पवित्रस्थल भन्दै पक्कै प्रशंसाको वर्षा गर्नेछन् । नेताको गुरुयोजना र योजनामा लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थल बनाउने भावीनक्शा त उहिल्यै नै कोरिएको थियो । तर राजनैतिक अस्थिरताले गाँजेको हाम्रो देशको कार्यशैलीको शिकार लुम्बिनी क्षेत्र पनि हुन पुग्यो । सानैदेखि सुनेको यो समाचारले छिटै साकार रूप पाउने छाँट देखिदै छ । मेरा आँखामा समाचारका बाइलाइनहरू तँछाडमछाड गर्न थाल्छन् ।

‘भाइसाहेब ! अब हाम्रो गन्तव्य कता ?’ भनेर सोध्नै खोज्दा फेरि उनले सुन्दर गुम्बाअगाडि रोकिदिए । विभिन्न माला, भगवानका मूर्ति, शंख, पोस्टर आदि सामानले झकिझकाउ पारेका बजारका साहुजीहरु नयाँ ग्राहक आए भनेर सल्बलाउन थाले । व्यापार बढ्ने भयो भनेर अनुहार सकेसम्म उज्यालो बनाउँदै हामीलाई यो किन्नुस र त्यो किन्नुस भने्र आग्रह पनि गरिरहेका थिए । केही साथीहरुले केही केही सामान किने पनि ।

अब हाम्रो रिक्सा गौतम बुद्धको जन्म भएको दरबारतिर मोडिएको कुरा रिक्सा चालकले गरे । रिक्सा अलि परै राख्नु पर्ने रहेछ । त्यहाँसम्म पुग्नका लागि पाँच, सात मिनेट पैदल हिँड्न पर्छ भनेपछि हामी रिक्साबाट उत्रियौँ । दिदी र म रमाउँदै हिँडिरहेका थियौँ । बाटोपारिको तलाउमा कमल फुलेको सुन्दर दृश्यले मनै लोभ्यायो । मलाई हातले नै कमलको फूल टिप्न मन लाग्यो । यति धेरै कमल फुलेको दृश्य म जीवनमा प्रथमपटक देख्दै थिएँ । राजधानीको कंक्रिटको जंगलमा बसोबास गर्ने हामी यस्ता प्राकृतिक दृश्यसँग कमै साक्षात्कार भइन्छ । दबदबे हिलो भएको सानो पोखरीमा कति धेरै बाक्लिएर कमल फुलेका ‘लौन दिदी एउटा फोटो खिच्नु पर्यो ।’ मैले र दिदीले पालैपालो कमलको फूललाई पृष्ठभूमि बनाएर फोटो खिच्यौँ । वरिपरि पनि नौला नौला फूलहरुले वातावरण शोभायमान बनाइरहेका थिए । हामी अपलक यी दृश्यहरुलाई हेरिरहन्छौँ । सफा बाटोको छेउछाउमा फुलेका पहेँला, राता र बास्ना चल्ने अन्य फूलहरुले पर्यटकलाई मोहनी नै लगाएको भान हुन्थ्यो । बसन्त ऋतुको आगमनमा सबै फूलहरुले स्वागत गरेका हुन् कि जस्तो लाग्दथ्यो ।

आएका सबै साथीहरु तितरबितर भएका थियौँ । कोही साथी फर्कदा हामी पुगेको स्थिति थियो । अझ फोेटो खिच्ने र वातावरण नियाल्ने कामले हामी नै ढिला भएका हौँ कि जस्तो लाग्दथ्यो । घुमिसकेपछि सबैजना बाहिर चिया खाएको ठाउँमा भेला हुने सर्त थियो । हामी बल्ल गौतम बुद्धको दरबारमा आइपुग्न थालेका थियौँ । अशोक स्तम्भ, बलिरहेको आगोको ज्वाला र बोधिवृक्षको स्मृति आँखामा वर्षौँअघिदेखि सजिएको थियो । आज त्यसलाई वास्तविकतामा सार्थकता भेट्नु थियो ।

गरिब राष्ट्र भएपछि जसरी दुःख दिए पनि हुने रहेछ जस्तो लाग्यो । भारतमाथिको हाम्रो परनिर्भरताले उसले हामीलाई पाइला पाइलामा हेपेको छ । हामी दिनपरदिन साँगुरिदै गइरहेका छौँ ।

दरबारको गेटैको मूलद्धारमा सुरक्षाकर्मी खटिएको देखेँ । अन्ततः सुरक्षाकर्मी पनि खासै देखिएको थिएन । यो गौतम बुद्ध जन्मिएको विशेष निवास भनेर बढी सुरक्षा अपनाइएको होला । हाम्रो झोलाहरु जाँच गरियो । आडैमा लुम्बिनी घुम्न आउनेहरुका लागि बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाण सयुक्त राष्ट्र संघमा पेश गर्नका लागि दश लाख हस्ताक्षर संकलन गर्ने अभियान चालिएको रहेछ । मैले पनि सगर्व हस्ताक्षर गर्ने मौका पाएँ । सन्तुष्टिको अनुभव पनि भयो । मौकैमा आइएछ भनेजस्तो लाग्यो । हामीसँग बुद्ध जन्मिएको यति ठूलो प्रमाण लुम्बिनी परिसर हुँदाहुँदै, विश्वका कतिपय मुलुकले आआफ्नो कला संस्कृति झल्कने भवनहरु निर्माण गरेर हामीलाई समर्थन गर्दागदै पनि यो प्रमाण पेश गर्ने कुराले दुःख पनि लाग्यो । गरिब राष्ट्र भएपछि जसरी दुःख दिए पनि हुने रहेछ जस्तो लाग्यो । भारतमाथिको हाम्रो परनिर्भरताले उसले हामीलाई पाइला पाइलामा हेपेको छ । हामी दिनपरदिन साँगुरिदै गइरहेका छौँ ।

उसको आशय हामी नबुझेका हौँ कि बुझेर पनि बुझपचाइरहेका छौँ बुझनलाई गाह्रो छ । गौतम बुद्ध जन्मिएको दरबार त भग्नावशेषको रूपमा यतिकै छाडिएको रहेछ । आखिर २५ सय वर्ष अगाडिको कुरा न पर्यो । ठूला ढिस्काहरु मात्र थिए । यो पिँढी रे, यो भान्छा रे भन्दै थिए त्यहाँका स्थानीय मान्छे ।

भित्र खासै त्यस्तो केही नदेखेपछि बाहिर निस्क्यिौँ । बोधिवृक्षको छायामुनि बीस पच्चीस जना बौद्ध भिक्षुहरु तुमुल ध्वनि निकालेर ग्रन्थ पाठ गरिरहेका थिए । गेरुवस्त्र, मुडुला टाउका, मंगोलियन अनुहार एउटा अपूर्व दृश्य देखिन्थ्यो । सबै सबै गौतम बुद्धका चेला जस्ता । उनीहरुको एकाग्र मनबाट मन्त्रोच्चारण हँदा निकै आध्यात्मिकमय भएको थियो वातावरण । वरिपरिको हरियाली वातावरण, ठूलो वृक्ष, आडैमा पानीको तलाउ, फलैफलैको बगैँचा निकै मनमोहक थियो वातावरण आखिर राजदरबार न थियो यो । यति सुन्दर वातावरण पनि छोेडेर गौतम बद्ध कसरी दरबारबाट भागे होलान् ? आफ्नी प्रिय यशोधरालाई बिर्सिन सके होलान् ? के उनले खोजेको मनको शान्ति यो दरबारमा भेटिने थिएन र ? भनेजस्तो लाग्यो । केही समयअघि मैले लेखेको बुद्ध कविताका हरफहरु मलाई सम्झिन मन लाग्यो ।

बुद्ध
सन्नाटाले छाएको एक रात
वैराग्यले पुलकित मन
राजमहलबाट निस्किरहेछ

खोजको कालरात्रि अन्त हुँदा
मनको अध्याय समाप्त हुँदा
जीवन सत्य अनुकम्पित
भएको छ बोधिवृक्षमुनि

म सोचमग्न छु, जुन अनुकम्पा
उनीमाथि भयो
के यो राजमहलमा
सम्भव थिएन र उनी
भागे संसारबाट एक्लै ?

हामी लुम्बिनी घुमेर सुनौलीको बाटो हुँदै भारतको नौतनवा रेल स्टेशनसम्म पुग्नु थियो । लुम्बिनीको भ्रमण सकेर हलुका खाजा खाई हामी बुटवल पुग्यौँ र त्यहाँको एक होटलमा खाना खाएर सुनौली जाने बाटोतिर सोझियौँ । सहकारीका धेरैभन्दा धेरै दिदीबहिनीहरुले टेलिभिजनको स्क्रीनमा बाहेक रेल नदेखेको गुनासो गरेपछि हामी सबैजना त्यता जाने तयारी गरेका थियौँ । रेलै नदेखी मरिन्छ कि क्या हो भन्ने उनीहरुको कारुणिक भनाइले हामी सबै भावुक भएका थियौँ । आन्दोलनै आन्दोलनले फुर्सद नपाउने देशमा के विकासको अपेक्षा गर्नु र ? सुनौलीबाट नौतनवा दश कि.मि जति पर्ने रहेछ । हामीले दुईवटा गाडी रिर्जभ गर्यौँ । जताततै फोहोर, थोत्रा गाडी, र अव्यवस्थित बसोबासले यहाँको परिसर निकै दुर्गन्धित देखिन्थ्यो । अझ यो त गाउँ पञ्चायत रहेछ । नेपालीहरु नै यहाँको बजारको ग्राहक भएकोले नेपाली दाजुभाइ देख्नु उनीहरुलाई आश्चर्य लाग्ने कुरा थिएन । हाम्रो ठूलो फौज पक्कै पनि भ्रमण टोली हो भन्ने उनीहरुले अड्कल काटे । हामीलाई रिजर्भ लगेको गाडी आधा घण्टापछि हामीलाई लिन आउने भनेर स्टेशन अगाडि झारेर हिँड्यो । हामीले उसलाई पैसा दिएका थिएनौँ, समयमै हामीलाई लिन आउने कुरामा हामी ढुक्क थियौँ ।

रेल आउन पन्ध्र मिनेट बाँकी छ भनी काउन्टरका पदाधिकारीले भने । नेपालबाट रेल हेर्ने लामो लर्को देखेर एकछिन त अचम्मित पनि भए उनीहरु ।

त्यहाँ त रेलको लिक मात्र थियो । रेल आउनेबेला भएको रहेनछ । रेल आउन पन्ध्र मिनेट बाँकी छ भनी काउन्टरका पदाधिकारीले भने । नेपालबाट रेल हेर्ने लामो लर्को देखेर एकछिन त अचम्मित पनि भए उनीहरु । जे जस्तो ठाने पनि नेपालमा रेल छैन भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो, लुकाएर लुक्ने कुरा पनि होइन । हामी सबै जना त्यहीको शीतल रूख भएको चौतारीमा बस्यौँ र रेलको प्रतीक्षा गर्न थाल्यौैँ । विशाल खेतीयोग्य फाँटहरु टाढा टाढासम्म देखिन्थे । यहाँ खेती योग्य जमिन त कति छ कति । हामी नेपालीहरुको प्राण त यिनकै उत्पादनले भरिन्छ भने अरु के करा गर्नु । हामी उत्पादन गर्न सक्षम भइकन पनि अल्छी र निष्किृय बन्नाले भारततर्फै निर्भर छौँ ।

भारतीय भूमिको प्रगति देखेर छातीभरि आफ्नो देश भने दुखिरह्यो । साथीहरु पनि आआफ्नै सुरमा गफ गरिरहेका थिए । हामी बसेको करिब पन्ध्र मिनेटपछि परबाट रेल छुकछुक गर्दै आइपुग्यो । रेल निकै पुरानो थियो । पुरानो नै सही हाम्रा लागि त नौलो र अजीव वस्तु नै लागेको थियो । स्टेशनमा आएर रेल अडियो । झर्नेहरु झरे । चढ्नेहरु चढे । हाम्रा दिदीबहिनीहरु जसले रेल देखेका छैनन् उनीहरु रेलमाथि चढेर डिब्बा हेर्न थाले । कस्तो हुँदोरहेछ बस्ने ठाउँ भन्ने जिज्ञासा दूर गर्न होला सायद ।

एक्काइसौँ शताब्दीको यो माहोलमा विकसित देशका जनताहरु अन्तरिक्षमा बसोबास गर्ने सम्भाव्यताबारे खोजी गर्दै छन् भने हामी नेपाली आफ्नो दैनिकी सुखपूर्वक कसरी चलाउने भन्ने ध्याउन्नमै छौँ । देशलाई कसरी धनी बनाउने भन्ने कुरा व्यक्ति विशेषले चाहेरभन्दा पनि राजनीतिक स्थिरता, त्याग र समर्पणले बन्ने रहेछ । हाम्रो नेपालमा त्यस्ता त्यागी नेता र देशप्रेमी भावनाको खानी नेता पाउनै सकिएको छैन । एउटा खल्तीमा विदेशको पिआर कागज बोकेर अर्को खल्तीमा नेपाल बनाउने मित्था भाषणको खोस्टोे बोक्नेहरुबाट के आशाा गर्नु । एउटा निराशाले लतपतिएको दुखी मन बोकेर हामी बाँकी गन्तव्य तय गर्न अगाडि बढ्यौँ ।