गोरेटोमा केही आकृतिरू छन् । एउटा पुरुष ६० वर्षको । एकै जीउडालका तीन वटी केटीहरू, सत्र–अठारका ।
‘कस्तो टम्म मिलेको जीउ र बारुले कम्मर थियो भने उसको…’ हाट भर्न जाँदै गरेकामध्ये पुरुष आकृतिले दुलही सम्झिँदै भन्यो, ‘ओठ सुन्तला–केस्रे, गाला स्याउ जस्ता ।’
पुरुष आकृति आफ्नो विवाहको संस्मरण सुनाउँदै थियो ।
‘त्यसबेला ऊ बाह्र वर्षकी मात्र थिई । तर हलक्क बढेकी थिई ।’
‘हो र !’ आश्चर्य–मिश्रित स्वरमा केटीहरूमध्ये एउटीले उसको कुरोमा कुरो मिसाई । पहाडमा पानी–पँधेरो, हलो–मेलो, बाटोघाटोमा यस्ता गफहरू गर्नु सामान्य मानिन्छ ।
केटीहरू चाख मानेर सुन्दै थिए ।
‘उन्माउने बेलामा मैले यसो चिमोटिदिएको थिएँ । ऊ त कहलिएर कस्तरी रोई भने !’
‘आम्मै ! त्यत्रा मान्छे वरिपरि हुँदाहुँदै कसरी गर्न सकेको होला त्यस्तो,’ जो बोल्दै थिई उसले नपत्याएको भावमा सोधी, ‘त्यसो भए यिनलाई पनि बाजा बजाएरै ल्याएको हो त ?’
केटीको जिज्ञासामा अधबैँसे पुरुषका घुमाउरो कुराको प्रभाव छचल्किँदै थियो ।
‘हो त नि ! झ्याइँ–झ्याइँ नौमती बजाएर ल्याएकी ऊ त तेस्री पो हो,’ उसले पैतृक पुरुषार्थको बखान गर्दै भन्यो, ‘जोईहरूलाई खुसी बनाएर राख्नु हाम्रा पुर्खाहरूकै चलन हो । हजुरबाका सात वटी थिए, बाउका चार वटी । कोही ल्याइते कोही ब्याइते ।’
‘अनि ?’ केटीको स्वरमा बुझ्न बाँकी जिज्ञासा थियो ।
‘मान्छे बूढो भए पनि मन बूढो हुँदैन क्यारे ! उस्तै पर्यो भने अझै एउटीसम्म चाहिँ मन गरुँ कि भन्दैछु ।’
केटी जो उससँग कुरा गर्दै थिई, अलमलमा परी ।
तर अरू दुईवटीको अनुहार रातोपिरो भएर आयो ।
‘पातकी बूढा हामीलाई पो राख्छु भन्दो रै’छ हौ !’ बोल्दा–बोल्दै एउटीले बूढाको जुल्फी समातेर तानी । अर्कीले पछाडिबाट एक मुड्की हानी ।
साथीहरूले एकाएक बल प्रयोग गरेको देखेर अर्कीले पनि बूढालाई हात हाली ।
म पछि–पछि आउँदै थिएँ । हेर्दाहेर्दै अनपेक्षित दृश्य आँखाअघि थियो ।
केटीहरूले झाङ्गल–झुङ्गल पार्दै बूढालाई पछारे । नुनथलाको उकालोमा साग बेच्न हिँडेका अरू केही आइमाईहरू पनि थपिए । बूढालाई बाँकी आत्मरतिमा रमाउन त्यहीँ छोडेर केटीहरू तिनै आइमाईका पछि लागे ।
घटना एकाएक विकसित र स्खलित भयो ।
…
‘हाम्रो सहरमा मान्छेले यसरी दुःख गर्नुपर्दैन, भारी पनि ठेलागाडीले बोक्छ ।’
म उसलाई आफूतिर आकर्षित गर्न चाहन्थेँ ।
सोलुखुम्बु जिल्लाको उत्तर–पश्चिम एउटा गाउँ छ गोली । गोली क्षेत्रीहरूको बाहुल्यता भएको गाउँ हो । यात्राको क्रममा म यही गाउँमा पुगेको छु ।
मेरो कुराले केटीको मनका तारहरू बज्न थाले सायद ।
‘ठिक भन्नुभो दाइले, मलाई पनि सहरका धेरै कुरा थाहा छ ।’
मेरो कुराले ऊ छक्क पर्ली भनेको त उसका कुराले आफू छक्क पर्नुपर्ने भयो ।
त्यसपछि उसले दुई वर्षअघि मैले भनेको सहरभन्दा पनि पर बम्बै पुगेको कुरा बताई । जुहुबीचको समुद्री किनारमा साँझपख डुल्न गएको र त्यसबाट उसलाई आनन्द मिलेको कथाको सारांश सुनाइसकेर भनी, ‘सहरमा त पैसा चाहिँ चाहिन्छ । साह्रै रमाइलो हुन्छ । होइन त दाइ ?’
उसको अनुहारमा एकटक लगाएर हेर्दै, कथा सुन्दै गरेको म अचानकको प्रश्नले झस्किएँ ।
भन्ज्याङको चिया पसलमा हाम्रो भेट भएको थियो ।
यसो तरुनी केटी देख्यो कि बोल्न मन लागिहाल्ने जमाना थियो । तर उसको अचानकको प्रश्नले के बोल्नु, के बोल्नु भयो ।
‘ए, अँ अँ !’ जवाफमा यतिमात्र भनेँ अरू केही भन्न मन लागेन ।
उमेर हेर्छु, भर्खर पन्ध्र पुगेकी हुँदी हो । अनुभव सुन्छु पत्याउनै गाह्रो ।
‘ल त, बस्नुस् है !’ चिया सिद्धिइसकेको थियो । काम केही थिएन । रुकस्याक बोकेर आफ्नो बाटो लागेँ ।
यहाँनेर म चुप लाग्नुको अर्थ मभित्रको वात्स्यायन त्यो केटीको अनुभवका अगाडि नतमस्तक भएको हुनुपर्छ ।
…
राति सँगै बास बसियो ।
उनीहरू दिदी–बहिनी दुई जना थिए । दिदी बहिनीभन्दा राम्री थिई । गुरुङ जातकी सत्र बर्से केटी, देख्दा त्यसै पनि लोभलाग्दी । परम्परागत पोसाकमा उसको हाँसो र हाँस्दा नजानिँदो पाराले गालाको माझमा बन्ने बन्ने मसिना खोबिल्टाहरू हुरुक्क पार्ने खालका थिए ।
राति अपेक्षाकृत केही भएन । गन्तव्य हाम्रो अलग–अलग भए पनि अँधेरी गड्तिरदेखि बास बस्ने ठाउँसम्म सँगसँगै हिँडिएको थियो ।
पहाडमा यात्राका क्रममा जुन ठाउँमा पुगेर खाना खाइन्छ, त्यही ठाउँमा सित्तैमा बास बस्न पनि पाइन्छ । बास बस्ने ठाउँ टाँडमाथि हुन्थ्यो । लहरै गुन्द्री ओछ्याएको हुन्थ्यो, साँझ त्यहाँ खाना खाने सबै मान्छे लहरै त्यहीँ सुत्नुपर्छ । ओड्ने–ओछ्याउने कतै छ भने दिइ पनि हाल्थे । छैन भने आफ्नो जे छ त्यही ।
खाना खाएपछि केहीबेर यात्राका कुरा भए । दिदी–बहिनी मेरो छेउमै ढल्केका थिए । दिदी–बहिनी दुवै मप्रति जिज्ञासु थिए । म को हुँ, के गर्छु, कहाँ हिँडेको आदि–इत्यादि सबै बाटैमा सोधिसकेका थिए ।
मेरो बिहे भएको छैन भन्ने पनि उनीहरूले बुझिसकेका थिए ।
दिदीको बिहे हुने कुरो चल्दै रै’छ । बहिनीले त्यही प्रसङ्ग झिकी ।
‘मलाई गाउँतिरको भेना ठिक लाग्दैन, सहरतिरको भए हुन्थ्यो । डुल्नु–घुम्नु पाइन्थ्यो !’ बहिनीले जिस्क्याई ।
‘आफैँ जानू नि सहरका केटा खोज्दै,’ दिदी च्याँठिई ।
म रमाइलो मान्दै दिदी–बहिनीका कुरा सुन्दै थिए । भुसुक्क निदाएँछु । बिहान छर्लङ–छर्लङ चुरा बजेको आवाज सुनेपछि पो ब्युँझिएँ ।
चिया सँगै खाइयो । पैसा मैले तिरिदिएँ र बिदा भएर अगाडि बढेँ ।
म अलिकति पर के पुगेको थिएँ, बहिनी कुद्दै मेरो पछिपछि आई ।
‘सर, चियाको पैसा तिरिदिनुभएछ,’ नजिकै आएर बहिनीले भनी, ‘यो लिनुस् फिर्ता । दिदीले भन्नुभा’को हाम्रो तिर्नुपर्दैन रे !’
आम्मामा ! मेरो भावनाको यत्रो ठूलो मजाक ? … म खङ्ग्रङ्ग भएँ ।
पैसा समात्दै मैले भनेँ, ‘किन हो यतिसारो, दुई रुपियाँ पैसाले मोहनी त लाग्दैन थियो होला नि !’
‘लागे त राम्रै हुन्थ्यो बरु,’ जवाफमा बहिनीले भनी । म केही बोलिनँ । फिस्स हाँसे मात्र ।
बहिनीको उमेर मोहनी लाग्ने बेला भएकै थिएन । अघिल्लो हप्तामात्रै मैले ब्लादिमिर नोवाकोवको ‘लोलिता’ उपन्यास पढिसिध्याएको थिएँ ।
दिदीतिर फर्केर हेरेँ, उसमा त्यस्तो केही देखिनँ, जसको खोजीमा म थिएँ ।
…
‘म तपाईंलाई राम्ररी चिन्दछु,’ कुरा पहिले उसले नै सुरु गरी ।
‘म तपाईंको लेखन शैलीको फ्यान हुँ,’ उसले भनी, ‘विशेषगरी तपाई नारी पात्रहरूलाई सम्मानका दृष्टिकोणले प्रस्तुत गर्नुहुन्छ ।’
‘धन्यवाद !’ मैले कृतज्ञता व्यक्त गरेँ ।
‘आखिर तपाईं कसरी यस्ता विषयवस्तु र पात्रहरू फेला पार्नु हुन्छ, जसले निर्भिक भएर समाजका विकृतिहरूमा प्रहार गरिरहेको हुन्छ ?’ उसको जिज्ञासामा म आफ्नो लेखनशैलीको प्रभाव प्रतिबिम्बित भएको पाइरहेको थिएँ ।
‘यो सबै तपाईंहरूकै माया र पृष्ठपोषणको प्रतिफल हो,’ मैले भनेँ, ‘तपाईंहरू पढिदिनुहुन्छ, प्रतिक्रिया दिनुहुन्छ र त लेख्न मन लाग्छ ।’
‘तपाई त लेख्नमात्र होइन कुरा बनाउन पनि खप्पिस हुनुहुँदो रै’छ,’ उसले हाँस्दै भनी ।
तर मैले कुरा बनाएको थिइनँ । जे हो त्यो, जस्ताको त्यस्तै भनेको थिएँ ।
पीपलबोटभन्दा अलिकति पूर्व जम्काभेट भएको थियो लेखक र पाठकको ।
‘उफ ! कस्तो गर्मी !,’ उसले छवैको एउटा होटलतिर देखाउँदै भनी, ‘जाऊँ त्यहाँ बसेर गफ गरौँला अनि खाजा पनि खाऔँला ।’
प्रस्ताव निकै लोभलाग्दो थियो । तर लेखकसँग खल्तीमा पाँच–सात रुपियाँमात्र थियो । दुई जनाको बिल तिर्ने ल्याकत थिएन । जिउ सिरिङ्ङ भएर आयो । दुई महिनादेखि पत्रिकामा रचनाहरू नछापिएर पारिश्रमिक पाइएको थिएन । डेराको बहाल तिर्न बाँकी नै थियो ।
म केही नबोली खुम्चिएको देखेर ऊ मेरो आँखामा हेर्दै रहिछ ।
‘ओ सर, कता हराउनुभयो तपाईं त !,’ उसले व्यङ्ग्य कसी, ‘कि मलाई नै पात्र बनाएर कुनै कथा सोच्न थाल्नुभो ?’
‘केही होइन त्यस्तो,’ मैलै छुटकारा पाउने उपाय खोज्दै भनेँ, ‘होइन, अहिले होस् । मलाई रेडियो नेपालमा इन्टर–भ्युका लागि बोलाएको छ । दुई बजेदेखि लाइभ रे ! पौने दुई हुन लागिसक्यो । म जान्छु ।’
‘ला हो र ! तपाईंसँग बसेर चिया खाने कत्रो रहर थियो आफ्नो,’ निरास हुँदै उसले भनी, ‘चियासम्म त भ्याइन्छ होला ।’
‘हवस् त म लागेँ है । अर्को पटक खाउँला नि !’ बोल्दा–बोल्दै म फुटपाथको भिडमा मिसिइसकेको थिएँ ।
जसले जेसुकै भनोस्, मैले लेखनमा नारी पात्रहरूसँग आजसम्म कुनै सम्झौता गरेको छुइनँ ।
…
‘फूलबारीमा
नर्सरीमा
गमलामा
आकर्षक नीलो
हल्का रातो
फूलहरू फुलेका छन् ।
सडकमा
क्याम्पसमा
क्याफ्टेरियामा
ठिटीहरू छरिएका छन् ।
हामी नर्सरीमा हुर्केका फूललाई
गमलामा सार्छौँ
कारण फूलहरूको कमजोरी
सुरक्षा हो,
सुन्दरता हो ।
स्कर्ट लाएका ठिटीहरूको पनि
कमजोरी
सुरक्षा हो,
सुन्दरता हो ।
तर हामीसँग
ठिटीहरूप्रति फूलहरूप्रति जति पनि
अनुराग छैन ।’
थुप्रै दिनपछि भेटिएका साथीहरू कविता सुन्दै थिए । क्याफ्टेरियामा एकल कवि गोष्ठी चल्दै थियो ।
‘कविता त सधैँ सुनिएकै हो, पहाडको अनुभव सुनौँ न कविजी,’ सुनिलले प्रसङ्ग बदलिँदै भने ।
‘पहाडमा बस्दा मैले लालीगुराँसको न्यानो पहिलोपटक छामेर अनुभव गरेँ ।’
‘लालीगुराँसको न्यानो ?’ तुलसीले छक्क पर्दै सोधे ।
जस्तो लाग्थ्यो मैले बिल्कुल नूतन प्रसङ्ग सुनाएँ । साथीहरूले जीवनमा लालीगुराँस प्रत्यक्ष देखेका थिएनन् । सहरमा वैशाखमा पारिजात र कात्तिकमा सयपत्री टिप्नचाहिँ प्रायः अभ्यस्त थिए । ‘बाटोका दायाँ–बायाँ ढकम्मक गुराँससँग जिस्किन पाएपछि कसले हेर्छ अरू फूलहरू ?’
खासमा जुन दिन मैले लामजुरा पासभन्दा अलिकति तल लालीगुराँसको न्यानो छामेर अनुभव गर्ने मौका पाएको थिएँ, त्यही दिनदेखि गमलाका फूलहरूप्रति मेरो आकर्षण एकाएक घटेको थियो ।
‘लालीगुराँस भनेको लालीगुराँस हो ! यसको तुलना अरू फूलसँग हुन सक्तैन,’ म मनमनै सोच्दै थिएँ ।
त्यही बेला क्याफ्टेरियामा एक हुल ठिटीहरू आए । उनीहरू हामीलाई देखेर खितिति हाँसे, कृत्रिम हाँसो । त्यही भएर मलाई सहरका ठिटीहरू गमलाका फूलजस्तै लाग्छन् । बेमौसमी र अर्ध–प्राकृतिक ।
थाहा छैन, मेरो मनमा गडेर बसेको लालीगुराँसको सम्झना र नजिकबाट छामेको धङधङी कहिले सकिएला ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।