धेरै पहिलेको कुरा हो । एउटा रमणीय ठाउँ थियो । त्यहाँ कुनै मानव बस्ती थिएन । त्यसैले टाढा टाढासम्म घर खेत केही पनि देखिँदैन्थे । देखिन्थे त मात्र जंगल, रूख, तलाउ र जंगली फूलका विरूवाहरू । त्यहाँ भएको सानो तलाउ नजिकै एउटा बूढो भइसकेको ठूलो रूख थियो । रूखको छेउमा एउटा सानो जंगली फूलको विरूवा थियो । त्यो विरूवा कलिलो थियो । कोमल थियो । स्निग्ध थियो । त्यही भएर नै होला लोभलाग्दो गरी सुन्दर थियो ।

जाडो यामको बेला थियो । बिहानैदेखि हुस्सु लागेको थियो । ठूलो रूखका पात अनि हाँगाहरूबाट रातभरि जम्मा भएका शितका थोपाहरू चुहिरहेकाथे । केही थोपाहरू त्यो विरूवामाथि पनि झरिरहेका थिए तप्प तप्प । शितका थोपाहरुका स्पर्शले त्यो सानो विरूवालाई जाडो लाग्न थालेको थियो । उसमाथि निरन्तर झरिरहेका शितका थोपाहरूका कारणले ऊ धेरै नै नरमाइलो महसुस गरिरहेको थियो । उसलाई त्यो रूखसँग साह्रै नै रिस उठिरहेको थियो ।

“म यसको फेदमै त छैन नि ! यसलाई किन यति सारो ठूलो हुनु परेको भन्या ! यसका परपरसम्म फैलिएका पातबाट झरेका थोपाहरूले मलाई भिजाउनसम्म भिजाइसके !” ऊ मुर्मुरिँदै थियो । उसलाई अँध्यारो, हुस्सुले भरिएको त्यो चिसो न चिसो मौसम अलिकति पनि मन परिरहेको थिएन ।

विषादले उसलाईे घेर्न थालेको थियो । बिस्तारै हुस्सु फाट्दै गयो । शित झर्न बन्द भयो । आकाश सफा भयो । वातावरणमा न्यानोपनको महसुस हुन थाल्यो । विरूवाको कठ्यांग्रिएको शरीरमा जीवनको सञ्चार हुन थाल्यो । उसले आनन्दित हुँदै आकाशतिर हेर्यो । कस्तो अचम्म ! सुनौलो, कलिलो र ऊ जस्तै मृदुल सूर्य पनि उसलाई नै हेरिरहेको रहेछ । सूर्यको स्नेहिल दृष्टि पाएर ऊ अलिकति पुलकित भयो । अलिकति लजायो पनि । ऊ मनमनै गीत गुन्गुनाउन थाल्यो । हर्षित हुनथाल्यो । ती जाडो महिनाका दिनहरूमा सूर्य अलि ढिलो झुल्कन्थ्यो । मृदुल सूर्य प्रचण्ड नभैकनै गइहाल्थ्यो । सूर्य जाने बेला उदास देखिएझैँ लाग्दथ्यो त्यो विरूवालाई ।

‘मेरो प्रेममा परेको यो सूर्य जान त चाहन्न, तर प्रकृतिको नियमको अघि कसको के नै पो लाग्छ र !’ यही सोच्दै त्यो विरूवाले चित्त बुझाउने प्रयास गर्दथ्यो । तर पनि मनभरि छाएको उदासीले उसलाई छोड्दैनथ्यो । अनायासै उसका आँखाबाट आँशु झर्न थाल्दथे । सूर्यविहीन त्यो आकाशतिर उसलाई हेर्नै मन लाग्दैन्थ्यो । ऊ रातभरि घोसेमुण्टो लगाएर निहुरिरहन्थ्यो ।

बिहानै जब छेउको रूखबाट उसको शरीरमाथि शितका थोपा झर्न थाल्दथे, ऊ फेरि अवसादग्रस्त हुन पुग्दथ्यो । प्रत्येक बिहान सूर्यका कलिला किरणहरूले उसलाई स्पर्श गर्दा ऊ त्यति नै आनन्दित र हर्षित हुन्थ्यो, जति भर्खरै प्रेममा परेकी युवती आफ्नो प्रेमिको सानिध्य पाउँदा हुन्छिन् । सूर्यबाट पाएको प्रेमले ऊ पुष्ट, बलिष्ठ हुँदै हुर्कंदै जान थाल्यो । मध्याह्नतिर त्यो छेऊमा भएको रूखको छाया उसमाथि पर्दथ्यो । त्यो छाया पर्दा उसलाई उठनसम्म रिस उठ्दथ्यो । आफू र आफ्नो प्रेमीबीच कोही बाधा पुर्याउन आएझैँ उसलाई भान हुन्थ्यो ।

सानो विरूवाको सूर्यप्रतिको स्वामित्वको भावना बढ्दै गइरहेको थियो । उसलाई लाग्दथ्यो, सूर्य आकाशमा उसकै लागि झुल्कन्छ । उसलाई देखेर मुस्कुराँउछ र पो धर्तिमा उज्यालो झुल्कन्छ ! जब अन्य विरूवा र वृक्षहरू सूर्यलाई देखेर हर्षित हुन्थे, उसमा साह्रै नै ईर्ष्या जाग्दथ्यो । उसले सूर्यतर्फ हेर्दै भन्थ्यो, “तिमी कति सोझो हो क्या ! हेर न मबाहेक अरू तिम्रो प्रेमको लायक को नै पो छ र ? म तिमीजस्तै कोमल, स्निग्ध र मृदुल छु । घाँसपात पनि तिमीलाई आफूतिर आकर्षित पार्न खोज्दछन् । तिमी तिनीहरूपट्टि ध्यान नदेऊ है ।”

बिस्तारै त्यो विरूवा पनि हुर्कंदै गयो । त्यसमा कोपिला लाग्न थाले । कोपिलाबाट प्रष्फुटित भएर फूल फुल्न थाले । उसलाई यी सबै कुराले ज्यादै नै हर्ष दिइरहको थियो । ऊ त्यति नै खुशी थियो, जति एउटी युवती आफ्नो सन्तानलाई आफ्नो काखमा बोक्न पाउँदा हुन्छिन् । ऊ आकाशमा टल्केको सूर्यले आफूलाई हेरिरहेको पाँउदा र आफ्ना फूलहरूको स्पर्श महसुस गर्दा औधी आनन्दित हुन्थ्यो । आफ्नो परिवार नै भरिपूर्ण भएझैँ लाग्दथ्यो उसलाई ।

जाडो याम सिद्धिएर वसन्त ऋतु पनि आधाउधिजसो सकिन थालेको थियो । विरूवाको छेउमा भएको बडेमानको रूखलाई भने के भएछ कुन्नी वसन्तको कुनै संकेत नै देखा परेन । पुराना पातहरू झरेका थिए तर नयाँ पालुवा भने आउन नै बिर्सेजस्तो भएको थियो । सूर्यप्रतिको आशक्ति र आफ्नै परिवारको रमझममा मस्त भएको त्यो जंगली फूलको विरूवाले कहिल्यै त्यो ठूलो वृक्षलाई तिमीलाई के भयो ? तिमी यति धेरै किन दुब्लाएको ? भनेर सोध्न आवश्यक नै ठानेन । बरू ऊ त त्यो रूखको पातहरू झरेकोमा खुशी नै थियो किनभने त्यो रूखको विशाल छायाँ पनि क्षीण हुँदै गइरहेको थियो । अनि उसमा भने ‘मबाट मेरो सूर्यलाई अब कसैले नि छेक्न सक्दैन’ भन्ने भाव प्रगाढ भइरहेको थियो । पतझड गएझैँ वसन्त पनि जाने नै त भयो । सबैथोक परिवर्तनशील जो छ, यो संसारमा । वसन्त पनि सकियो नै आखिर ।

गृष्मका दिन पनि शुरू भए । कलिलो सूर्य युवा भएको थियो वसन्तमा तर गृष्मयाममा त ऊ सहनै नसकिने गरी प्रचण्ड अनि रापिलो हुँदै गइरहेको थियो । उसको प्रकाश जताततै छाइरहेको थियो । यस्तो दृष्य देखेर त्यो विरूवाको मनमा चसक्क पर्न थाल्यो ।

‘मैले आफ्नो मानेको अनि यति धेरै प्रेम गरेको सूर्य त कति बेइमान रहेछ, पर परसम्म फैलिएको । मलाई मात्रै माया गर्छ भन्ने सोचेको थिए तर घाँसदेखि रूखसम्म सबैसँग मस्किँदो रहेछ, द्म्यामिदो रहेछ,’ भनेर उसलाई चित्त दुख्न थाल्दथ्यो ।

उसले आकाशमा भएको सूर्यलाई भुईंबाट नै गाली गर्न थाल्यो । गुनासो पोख्न थाल्यो । जतिजति ऊ रिसाउँथ्यो, सूर्य त्यति नै रापिलो भएर उसलाई पोल्न थालेको भान हुन्थ्यो । अस्ति अस्तिको कोमल, मृदुल र प्रेमिल सूर्यको क्रूरता यति बिघ्न बढेको थियो कि उसलाई सहनै गाह्रो हुन थाल्यो । उसका फूलहरू पनि मुर्झाउन थाले । ऊ पनि ओइलाउन थाल्यो । शरीर घामले पोलिरहेको बेला उसले छेउको रूखतिर हेर्यो । त्यो रूख त सुकेर ठिंग उभिरहेको थियो, आज ढल्छ कि भोलि ढल्छ जस्तो गरी । त्यो रूखतिर हेर्दै उसले मनमनै सोच्यो, “यो सूर्यको प्रचण्ड गर्मी र क्रूरताबाट मलाई यही रूखले त जोगाउन सक्दथ्यो नि आफ्नो छाया दिएर तर विचरा ऊ नै यस्तो हालतमा पुगिसकेको रहेछ ।”

सूर्यको निष्ठुरता यति बढेको थियो कि उसलाई सूर्य भएको आकाश नि हेर्न मन लाग्दैनथ्यो । त्यसैले ऊ निहुरी नै रहन्थ्यो धेरै जसो समय । त्यही बेलादेखि नै त हो रे नि त विरूवाहरू गर्मी याममा निहुरिएर बस्न थालेका !