रातो आकासमुनि निर सूर्य, त्योभन्दा मुनि पहेँलो जमिन लमतन्न तन्केको थियो । त्यही जमिनको एउटा कुनाबाट भागिरहेका थिए, दुई पाउ । पाउभन्दा वेग अघिल्तिर हुत्तिरहेका थिए दुई आँखा । टाउको मास्तिर सँगसँगै दौडिरहेको थियो त्रिकोणाकार सूर्य । एक्कासि सूर्यको नीलो शितल उज्यालो छेल्लियो । हठात् आकासतिर पसारिए दुई आँखा । दुई हातले दुवै आँखा मिच्चिए । फेरि उँभो हेरेनिर सूर्यलाई एउटा भीमकाय आकृतिले छेकेको थियो । व्यग्रित दुई पाउ धरमराए । भीमकायी आकृति झन् भीमकायी हुँदै नजिक आउँदै थियो । ऊ आत्तियो । फोक्सोभरि सास फुलाउँदै दगुर्‍यो । त्यो आकृतिले उसलाई पछ्याइरहेको थियो । झन्झन् नजिक हुँदै थियो । डरले ऊ स्याउलाको झ्याङमा लुक्यो । त्यो आकृति ऊ नजिकै पहेँलो जमिनमा उत्रियो अनि हिंस्रक पाउले स्याउलाहरु तहसनहस पार्दै, चुच्चा परेका तिख्खर ठुँड स्याउलामा रगड्दै, झुसैझुसले भरिएको जीउ ढलपलाउँदै, छत्रीझैँ झुसे पखेटा भ्याटभ्याट पार्दै, नितान्त नज्दिक आयो । डरले सिकुडिदै, आँखा चिम्चिमाउँदै ऊ भूइँमा थचक्क बस्यो । त्यो आकृतिले आफ्नो भद्दा पञ्जाले उसको जीउलाई अठ्याउन तम्तयार थियो । अठ्याउँदा नअठ्याउँदै बङ्लङ्ग आडैमा ढलेको उसका चिम्सिएका आँखाले देखे । ‘चेरेत् चेउ’ गर्दै ऊ उत्तानो परेर ढलेको थियो । एकछिन फटफटायो, अनि अजङ्गका पखेटा भ्याटभ्याट पार्दै आकासियो । उसलाई लाग्यो ठूलो कालबाट जोग्गिएँ । उसलाई जोगाउने भैशादा थियो । उसको मालिक कुखुराकाँको छिमेकी ।
….. ….. ….. ….. ….. ….. ….. ….. ….

–‘आँई कुखुराकाँ । बाइर आँइजा ।’

मनोज अज्ञात

–‘अचिँयाँ किन बोलायो ? क कक्, भन ।’ भन्दै बाहिरियो कुखुराकाँ ।
–‘ओँए, लाह् तैँले पालेको मान्छे । धन्अँई नरभक्क लगेन । सिङले दनक दिएर पो बच्यो । नत्र, ऐले नरभक्क्षिका बचेराले आहार बनाई सक्थे,’ भन्दै मान्छेको तुरी छोड्यो । मान्छे जमिनमा थेचारियो । भैशादाले मान्छेको तुरी समातेर झुण्डाउँदै ल्याएको थियो । घोर भित्रबाट ती मान्छेका परिवारले अधैर्यका साथ हेरिरहेका थिए । मान्छेले एकपटक आफ्ना परिवारका सबै सदस्यलाई हेर्‍यो । ती सबै नाङ्गै भुतुङ्गै थिए, नीरझैँ बदन, ज्यादै छोटा कद । झट्टै आफूलाई नियाल्यो । नितान्त उस्तै देख्यो र लाचार हुँदै आफू पछारिएको भुईंबाट बल गरेर उठ्यो । उँभो हेर्‍यो । कुखुराकाँ बिल्कुल अगाडि उभिएको थियो ऊ । देख्यो, आफूभन्दा दोब्बर अग्लो । उसको आँखा र ठुँड देखेर मान्छे एकपल फेरि झस्क्यो, अनि शीर नुगायो । कुखुराकाँका आँखा रिसले आगोझैँ रात्तिएका थिए । दुवै पखेटा फटफटाइरहेका थिए । ठुँड कट्कटाई रहेको थियो । ठुँड मुन्तिरको लघेत्रो झलमलाई रहेको थियो । शीर मास्तिरको माहुर रत्तिएर ठाडो भएको थियो । कुखुराकाँले मान्छेलाई एकपटक तिर्छे हेर्‍यो । र ठुँडले क्याप्प पाखुरा समायो । अनि पखेटाले घोक्रेठ्याक लगाउँदै, खुट्टाको पञ्जाले घोरभित्र हुत्याइदियो । मान्छे भुईमा बजारिँदै उछिट्टिएर परिवार अघिल्तिर घोप्टियो । सबैजना डरले लगलग काँपिरहेका थिए । पोथीमान्छे ऊ नजिक आई । आँखा टिलपिल पार्दै उसलाई सुम्सुम्याई । भाले मान्छे सकी नसकी उठ्यो । अनि घाँटी थरथराउँदै बेजुबान बलिन्द्र आसु झार्‍यो । कुखुराकाँका खोर अगाडि भैशादाले आफ्नो बडेमानको टाउको झलमलायो, कान फटपटायो र कुखुराकाँलाई भन्यो –‘आँई कुखुराकाँ, तैले पालेको मान्छेलाई राम्ररी घोरमा घोराँ, होईँ । आईन्दा भाग्न खोजे भने खुरले कुचेर कि सिंङले हानेर मार्दिन्छु अनि तेरा आँगनाँ ल्यार फाल्दिन्छु । तेरो पाल्तु हो भनेर बचाएर ल्याइदेको हुँ, बुझिस् । छिमेकी भेडाभा र बाख्राबाका पाल्तुहरु पनि सब भागे रे ! हाम्रा पाल्तुहरु पनि सलबलाइराछन् । जंगल पसेर के लछारपाटो लाउँछु भन्याछन् यी मन्छेहरु ? अझ, जंगल पसेर प्रकृतिसँग विद्रोह गर्ने रे !’ आकाशतिर उभो हेर्दै – ‘उह्, सितल उज्यालो छर्ने अटल सूर्य जलाउने रे ! त्यसपछि मात्रै मान्छेका सबैखाले अधिकार सुनिश्चित हुन्छ रे ! झेक्नेहरु जंगलाँ नरभक्षीका सिकार बन्न उल्किएका । फेरि, जङ्गल पसेर यिनीहरु सफल भए भने हाम्रा दिन गए नि । कुरा बुझ । जसरी हुन्छ दररी कैद गर् । पाल्तु बनाई राख् । नत्र तँलाई मेरो सिङको मार थाहै छ । त पनि पर्लास् फेलाँ । आँई ।’

–‘क कक् । भैसादा, आइन्दा एकडेग यताउति हुन दिन्न यीन्हरलाई । ढुक्क भ’र जानुस्’ – भन्दै कुखुराकाँले आश्वासन दियो । भैसादा भिमकायी शरीर ढल्काउदै आफ्नो गोठतिर लाग्यो ।

भैसादाले थर्काएपछि कुखुराकाँको रिस झनै चर्केको थियो । घेक्रो बङ्ग्याउँदै ऊ घोरभित्र छिर्‍यो । र ठूला तीन मान्छेहरु च्याप्प समायो र आफ्ना फालिझै ठुँडले ठुङ्दै बाहिरियो । एउटी पोथीमान्छे आफ्नी जहानलाई दियो । एउटा भालेमान्छे छोरालाई दियो र एउटा आफूले लियो । घोर बाहिर कुखुराकाँहरुले मान्छेहरुलाई ठुँगीठुँगी मारे र चौटा लुछ्दै केहीबेरमै खाइसके । घोरभित्रबाट घाइते भालेमान्छेले सब देखिरहेको थियो । टुलुटुलु हेर्नु, बेजुबान आँसु तप्काउनु शिवाय के नै गर्न सक्थ्यो र ! त्यो हविगत देखेर मनमनले सोच्यो – ‘याँट नभाग्ने हो भने मलाई पनि यसरी नै खान्छन् ।’ उसले लामो साँस फोक्सोभित्र हुत्याउँदै घोरभित्रका सबैलाई हेर्‍यो । ती सबै आ–आफ्नै धुनमा सलबलाइरहेका थिए । उसले फोक्सोमा गुम्सिएको हावा मुखबाट हुत्यायो । अनि मुन्टो उँभो पार्‍यो । देख्यो, फाटेको खरको छानो मास्तिर उहीँ त्रिकोणाकार सूर्य चम्किरहेको । निर्निमेष ऊ हर्षित भयो । चम्किरहेको सूर्य देखिने सोही छेद उसको लागि वहिर्गमन मार्ग थियो । खुसीले घोरभित्र चारैतिर फिलिली कुद्यो । दगुर्दा उसको तुरी लतफताई रहेको थियो । घोरभित्रका एघाह्र सानाठूला मान्छेले उसलाई अनौठरी हेरिरहेका थिए । तीमध्ये अलिक ठूली पोथीमान्छे ऊ नजिक आई । उसका हात बेलगाम उसका तुरीतर्फ बढे र तुरीमा सलबलाउन थाले । त्यो स्पर्शले भालेमान्छको जिउलाई सिरिङ्ग बनायो । ऊ उत्तेजित हुनथाल्यो र पोथीमान्छेको वक्ष समायो । जहाँ दुईवटा साह्रा डल्लाहरु गिलामा परिणत हुन लालायित थिए । ती साह्रा डल्लाहरु त्यहीँ भित्रैका भालेमान्छेहरुले गिलामा परिणत गर्थे । उसले त्यहीँ डल्ला दुई हातले अँठ्याइरहेको थियो । पोथीमान्छे झनै उत्तेजित भइरहेकी थिई । पोथीमान्छेले बेझिझक भालेमान्छेलाई आफ्नो बदनमाथि तानी । भालेमान्छेले केहीबेर खुब हुक्यो र स्खलित हुँदै उठ्यो । भित्तामा आडेसिदै, घोरभित्रका मान्छेहरुतर्फ आँखा डुलायो । अरु भालेमान्छेहरु पनि डल्ला गिल्याउनमा तल्लिन थिए । स–सना भाले–पोथीमान्छेले पनि सिको गरिरहेका थिए । बाहिरबाट कुखुरीकाँले घोरको भित्ता बन्न उभिएका बाँसका चेपबाट भित्रका सबै दृष्य हेरिरहेको थियो । ऊ गद्गद भयो । अब उसले पालेका पोथीमान्छेले अण्डा पार्नेछन् । केही अण्डा कोरल्नेछन् र केही उसले आफ्नी जनीलाई खुवाउनेछ । जो छिट्टै सुत्केरी हुँदैथिई ।

‘ठूला केही भालेमान्छेका मासु सुत्केरी जहानको लागि खुराक बन्नेछ,’ भनी मनमनले गुन्यो अनि निश्चिन्त हुँदै दानाको जोहो गर्न बारितिर कुद्यो । बारीबाट केही आलु र पिँडालु ल्यायो । घोरको ढोका खोल्यो । ढोकैबाट उसले मान्छेहरुका लागि दाना फाल्यो । भुइँका दाना टिप्न मान्छेहरु हुरुरु अघिल्तिर आए । कुखुराकाँले मान्छेहरुको सङ्ख्या घटेको देख्यो । एकजोडी भाले र पोथीमान्छे त्यहाँ थिएनन् । कुखुराकाँले मुरमुरिँदै कक् कक्क् गर्‍यो । हत्तपत्त ढोका लगायो । अनि खोज्न दगुर्‍यो । उसले अघिल्तिर पर देख्यो सरस्यूँको पहेँलो खेतमा उनीहरुको टाउको निलो भकुण्डो झैँ गुड्की रहेको । उसले उतैतिर रफ्तार बढायो । अनि करायो – ‘कुखुरी काँ । तँ हरु नभाग्, बन्छस् आज साग ।’ यो आवाजसँगै छिमेकी भैसादा, भेडाभा र बाख्रबा पनि जर्‍याक्क भए । कुखुरीकाँलाई पछ्याए । दुई मान्छे झनै रफ्तारका साथ गुटुटु कुद्न थाले । पोथी मान्छेको पाउ खेतको डल्लामा ओट्टियो । ऊ बङ्लङ्ग लडी । भालेमान्छे रोकिदै पछाडि हेर्‍यो, उठायो अनि फेरि कुदे । कुखुरीकाँ, भैसादा, भेडाभा र बाख्राबाले आ–आफ्ना रफ्तार तेज पारे । दुई मान्छेलाई भेट्न केहीबेर मात्रै बाँकी थियो । पहेलै फुलेको सरस्यूँको खेत कटेर जङ्गल छेउ पुग्नै आँटेका थिए मान्छेहरु । अजङ्गको भैसादाले पोथीमान्छेलाई भेटिहाल्यो । सिङले ढाडमा बजायो । पोथीमान्छे उछिट्टिएर कुदिरहेको भालेमान्छे माथि थेचारिई । दुवै जना जङ्गल छेऊ डिलमा ठेस्सिए । कुखुराकाँ भुतभुताउँदै अघि बढ्यो । भालेमान्छे डरले लगलग काँपिरहेको थियो । पोथीमान्छेको होस ठाउँमा थिएन । धारिला फालीझैँ ठुँड भुईंमा उध्याउँदै कुखुरीकाँले भालेमान्छेलाई ठुँग्यो तर उसले छल्यो । छल्दा पोथीमान्छे माथि खप्टिन पुग्यो । दुवै आलिङ्गनमा नजानिदरी बाँधिएका थिए ।

भैसादाले नाकको पोर्रा फुलाउँदै फ्वा फ्वा गर्‍यो र सिङले हान्न खोज्यो । उनीहरु गुडुल्किए । सिङले नभेटेपछि पुच्छरले सट्का हान्यो । सट्का खाँदै मान्छेहरु कान्लामुनि थेचारिए । भेडाभा र बाख्रबाले बौरिदै कान्लामुनि फाल हाने । अनि हुरहुर्ती सिङ प्रहार गरे । छातिमा चोट खेप्दै दुबै मान्छे डिलमुनिको झाडीमा घोल्सिए । पहेँलोे भूगोल उनीहरुको आँखामा कालो बन्यो । भालेमान्छेले छामछुम गर्‍यो । पोथीलाई छोयो र समायो । अनि फेरि पछिल्तिर छाम्यो । डिलमुनि प्वालको आभास पायो । पोथीमान्छेको हात तान्दै प्वाल भित्र घोल्सियो । भैसादाले उनीहरुलाई खोज्न झाडी माड्दै थियो । थिलो परेको पोथीमान्छेलाई काँधमा बोकेर ऊ प्वालभित्र झन् भित्र कुद्यो । केही पर कुदेपछि रोकियो । पोथीमान्छेलाई भूँइमा उतार्‍यो ।

देख्यो उसका आँखा बलिरहेका । आफ्नो आँखा अगाडि हत्केला उभ्यायो अनि थाहा पायो । प्वालभित्रको अध्यारोमा कुद्न सक्नुको रहस्य । पोथीमान्छेको ढाडमा घाउ भएको थियो र एउटा स्तन सुन्निएर गुबारा झै फुलेको थियो । उसका आँखाका डिल तुलबुलाई रहेका थिए । भालेमान्छेको जिउ हेर्दा घाउ र चोटले अरठ्ठिएकोझै देखिन्थ्यो । उनीहरुले एकापसका घाउमा माटो दलेर सुम्सुम्याए । अनुहारको हाउभाउ र आँखाको भाकाले प्रेम जताए । भालेमान्छेको आँखाले ‘अब हिँड्नुपर्छ’ भन्यो । दुवैजना उठे । हिँडाइको रफ्तार बढाए । अल्लि पर पुगेपछि प्वालको टुङ्गो सकियो । उसले केहीबेर गम खायो र टाउको उँभो पार्‍यो । देख्यो अर्को प्वाल । दुवैजना माथिल्लो प्वालमा उक्लिए । र, फेरि गन्तव्यहीन कुद्न थाले । केहीबेर कुदेपछि उनीहरु असमञ्जसमा फसे । त्यहाँ थुप्रै प्वालका सुरुङमार्ग देखिए । कुन प्वाल हुँदै अघि बढ्ने ? केहीबेर मेसो पाएनन् । त्यहाँबाट पार लाग्नै थियो । उनीहरुले प्वालको डोरेटो बदले । मोड आयो । कोहिसंग मोडमा एक्कासि ठोक्कियो भालेमान्छे र गम्रङ्ग पछारियो । पोथीमान्छेले त्यहाँ अर्को प्राणी उभिएको देखेर डरले भित्तामा चिप्किई । हडबडिँदै भालेमान्छे उठ्यो । अघिल्तिरको अर्को प्राणिको आँखा फाटे, नाक सुर्कियो, ओठ कलेटियो, आँत सुक्यो । उसलाई हगम्, मुतम् भयो । आत्तिदै उफ्रियो । ‘अबि मान्छे, अनौठो मान्छे, ला, ओहो, धत्तेरी..’ भन्दै केहिबेर फिटिटी कुद्यो । कुद्दा उसले मेसो पाएन । अघिल्तिरको भित्तामा ठोक्किएर उत्तानो पर्‍यो । क्षणभर धिमासाँसमा ढलिरह्यो र धरमरिदै उठ्यो । लाम्कर्ण, तेजिला नयन, माथ्ला मिलेका दन्त, सफेद बदन भएको प्राणी खरायो थियो । दुवै अलग प्राणीका कद बराबरझैँ देखिन्थ्यो, सरस्यूँको वयस्क बिरुवा जत्रै । खरायोले पाइला चाल्दै अघि बढ्न खोज्यो । भालेमान्छे डरायो र भित्तामा चिप्कियो ।

खरायोले भेउ पायो अनि चतुर हुदै बोल्यो –‘अरे रे ! को हो रे तँ हरु ? काँ’बाट आ’का ?, हिंस्रकले लुछेका ! मोहडा हेर्दा तेस्तै छ । बिचरा ! धेरै मान्छेहरु समस्यादेखि यसरी नै भाग्छन् हुँ ।’ भन्दै भालेमान्छेको टाउको छुन खोज्यो । उसले हतासिदै टाउको हटायो । खरायोले अनुहारको नाप लियो । छाति, पेट हुँदै उसको हात तुरी नेर पुगेर टक्क रोकियो । भालेमान्छेले आँखा चिम्साउँदै भित्तातिर मोडिन खोज्यो । उसको तुरी भित्तामा ठेस्सियो । दुख्यो क्यार ! मुख बिटुल्याउँदै उसले खरायोलाई हेर्‍यो । त्यही मौकामा खरायोले उसको तुरी च्याप्प समायो । मुन्टो नजिक्याउँदै तुरीतर्फ मुख बढायो र जिब्रो लोप्राउँदै बोल्यो । ‘उ हुँ यार, छ्या रे, नुहाउने गर रे मान्छे’ भन्दै उसको मोखडा पोथीमान्छेतर्फ फर्कियो । भालेमान्छेले फोक्सोमा गुम्सेको हावा बेस्मरी फ्याक्यो । पोथीमान्छेले लामो साँस फोक्सोमा भरी अनि थरथरीदै भालेमान्छेतर्फ हेरी । खरायोले उसको गुबारझैँ फुलेको स्तन चलाइरहेको थियो । पोथीमान्छेको स्तनमा उसको हात काँडा चुभेझैँ चुभिरहेको थियो । र त पीडाले पुरा शरीर थरथराइरहेको थियो ।

भालेमान्छेलाई सही नसक्नुभयो । ऊ एक्कासि अघि बढ्यो । खरायोलाई पाडेमुक्काले दनक दियो । खरायो उछिट्टिएर भित्तामा ठेस्सियो । –‘यसरी नि कसैले ठोक्छ यार,’ भन्दै कनेर उठ्यो । अनि परसम्म बरबराउँदै हिँड्यो र फरक्क फर्केर नजिक आयो । दुवैजनालाई पुच्छरले स्पर्श गर्‍यो अनि भन्यो –‘बदला त लिन्छु रे मान्छे, एकदिन त मौका मिल्छ !’ भन्दै वेगले उफ्रियो र कुद्यो । भाले र पोथी मान्छेले उसलाई अजिवसँग हेरे अनि बाटो लागे । खरायो फेरि कुदेर आयो । उनीहरुको बाटोमा तगारो बन्यो । उसको हातमा कालो बिरुवा थियो । गर्‍याम–गर्‍याम चपायो र जिब्रो फड्कार्दै उनीहरुको छेवैमा आयो । भालेपोथी मान्छेका अङ्गप्रत्यङ्ग चाट्यो । यस पटक उनीहरुलाई सुखराश लागेको थियो होला । त्यसैले प्रतिक्रिया केही जनाएनन् । र साँच्चै चाटेको केहीबेरमा नै गुबारझैँ फुलेको स्तन घट्दै थियो । दुवै जनालाई चोट र थकानबाट आराम मिलेको थियो । मान्छेहरुलाई लाग्यो त्यो प्राणी असल रहेछ । भरोसाको लायक रहेछ । तथापि उनीहरु खरायोकै इसारामा पछिपछि लागे ।

खरायोले प्वालको मार्ग देखाउँदै बरबराइरहेको थियो । ‘अब जाऔं सिधा अगाडि । दायाँ मोडौं, चलौं । माथिल्लो प्वालमा उक्लौं । ओरालो लागौं, चलौं । अब बायाँ मोडौं, उकालो हिडौं । फेरि दायाँ मोडौं, चलौं । सिधा, तेर्सो, तल, माथि, उकाली, ओराली, दायाँ, बायाँ ।’ चारैतिर प्वाल भित्रको फन्कोले भाले र पोथी मान्छे पुनः लखतरान भए । त्यसैमा खरायो रोकियो र भन्यो –‘अब हाम्रो आँगन आउँदैछ रे हँ ?’ केहीबेरमा नभन्दै उनीहरु फराकिलो ठाउँमा पुगे । त्यहाँ गोलाकार भित्ताहरुमा चारैतिर थुप्रै प्वालहरु देखिए । भालेपोथी मान्छेले ती प्वालहरु ट्वाँ परेर हेर्दै थिए ।

–‘छैन त सुन्दर ? हेर ऊ तो करेसाबारी जाने बाटो, तो चाँई घुम्नजाने प्वाल, उह् तो शत्रुलाई घनचक्कर लाउने प्वाल, खुफिया प्वाल चाइने तो हो, यता हेर रे ऊ तो हो घरभित्र पस्ने प्वाल,’ भन्दै नानाभाँति प्वालमार्गहरु परिचित गराउँदै थियो खरायो । मान्छेहरुले सबै प्वालमार्ग प्रत्यक्ष अनुभूत गरे बल्कि तीमध्ये दुई प्वालमार्ग उनीहरुको समझमा आएन । भाले मान्छेले अनुहार र हातको इशाराले भन्यो ।

–‘खै त तेरो घर पस्ने प्वाल अनि खुफिया प्वाल ?’

–‘हँ के भनिस् रे मान्छे ! बोल्न सक्दैनस् ? अ ह ह, मलाई लागेकै थियो रे, मान्छेहरु त्यतिबेला बेजुवान हुन्छन्, जतिबेला आफूभित्रै गुमनाम हुन्छन् । यो सब नाटक हो रे मान्छे । केही त लोच्चा छ हुँ । केइ छैन,’ भन्दै दुई पञ्जा भित्तामा हान्यो ।

माटो खस्केर प्वाल देखियो । भालेमान्छे चकित भएझै गरी मुख चोस्यायो । उसका आँखा फाटेका थिए ।

–‘ल पिछा लाग रे मान्छे’ भन्दै खरायो अघि बढ्यो । फराकिलो गोलाकार आँगनबाट केही उकालो लागेपछि देखे साँघुरो प्वाल । त्यही प्वालभित्र खरायो छिर्‍यो । दुई मान्छे संगसंगै छिरे । तिनीहरुलाई देखेर खारायोकी जहान जर्‍याक्क उठी । छरिएका ससाना पाठाहरु डरले आमा वरपर गोठ्ठिए । खरायोले आफ्नो परिवारलाई आड दिँदै भन्यो –‘अ ह ह, छैन पिर, छैन डर । मान्छे हुन्, सँई बन्छन् तर नपर्नु है भर ।’

खरायोका जहानबच्चा सम्हालिएझै भए । भालेमान्छेले त्यो परिवार र उनीहरुको घर एकटकले नियाल्यो । पोथीमान्छेलाई पाहुनाको रुपमा स्विकार्दै पोथीखरायोले आफूहरु बसेको ठाउँमा तानी । उसको बुङ्गो जिउमा भएका घाउ सुम्सुम्याई । भालेखरायोले धन्सारबाट एकमुठा दुबो ल्यायो र आफ्ना जहानबच्चालाई खान दियो । पोथीखरायोले पोथीमान्छेलाई आफ्नो भागबाट एकमुठी दुबो दिई । उसले उनीहरुले झैँ खान सकिन । भालेमान्छेले दुबो टोक्यो र थु थु गरी रह्यो । खरायो चतुर थियो । उसले बुझिहाल्यो र भन्यो – ‘अरे यार मान्छे, तँहरु के खान्छ रे ? जे खानुपर्ने त्यो खाँदैन मान्छे । नखानुपर्ने त्यो जान्दैन मान्छे । जहाँ जानुपर्ने जाँदैन मान्छे । यो सब नाटक हो रे मान्छे । तँ जे खानुपर्ने तो म आजै ख्वाउछु रे । त जाँ जानपर्ने त्याँ आजै लान्छु ।’ भन्दै भालेमान्छेको पाखुरा समायो र घर बाहिरतर्फ डोर्‍यायो । केहीबेरमै उनीहरु घनाजङ्गलमा उक्लिए । त्यहाँ निलो चमकमा पहेँलो भूगोल देखे । उनीहरुका आँखा कस्कसाए अनि मिच्न थाले । केही निको लागेपछि हत्केला हटाए । देखे चारुओर घनाजङ्ल, खैरा रुखहरु, खैरा बुट्यान, झुट्यान, खैरा झार, खैरा पात, पूरा वनस्पति खैरा । बस् त्यहाँ दुई प्राणि अलग थिए । सेतो खरायो, नीलो मान्छे । दुवै एकापसमै अलग । भालेमान्छेले याद गरेझै गरी मुन्टो मास्तिर उठायो । उभो हेर्‍यो । घना रुखका खैरा पातहरुका चेपबाट त्रिकोणाकारनिर सूर्य जहाँको तहीँ झुण्डिरहेको देख्यो । केहीबेर त्यसैमा रुमलियो । र मुन्टो सोझ्याउँदै अघिल्तिर हेर्‍यो । देख्यो पर झुट्यान हुँदै एक हुल आफूजस्तै प्राणीहरुका टाउकाहरु पश्चिमी भेगतर्फ बेग्गिदै गरेका । उसका आँखा हठात् चौडा भए, निधार खुम्चिए, पाइला बिथोलिए । त्यतिञ्जेलमा खरायो दक्षिणी भेगतर्फ पर पुगिसकेको थियो ।

–‘अरे मान्छे अलमल नपर, होइजान्छ देर हुँ,’ भन्दै बलबलायो । भाले मान्छेले फटाफट पाइला चाल्यो । सिरुका झाडिभित्र फुत्रुक्क फुत्रुक्क कुदिरहेको थियो खरायो । सिरु पन्छाउँदै भाले मान्छे पछिपछि लाग्यो । सुनसान घनाजङ्गलबिच खरायो बोलेको आवज गुञ्जिरहेको थियो । – ‘लह् अब पुग्नेबेला भो गन्तव्य । मनग्गे लानुपर्छ तरुल र पिडालु । बुझिस् रे मान्छे ?’ भाले मान्छेले बुझे झै गरी आँखा सिकुडायो ।
……………………………………….
उनीहरु पिडालुघारी पुगिसकेका थिए । पिडालुघारीसंगै पर उभिएका रुखहरु अनगिन्ति लहराले जेल्लिएका थिए । तिनै लहराहरुमा तरुलका फलहरु वरैबाट लटरम्म फलेका देखिए । लहरा झुण्डिएका रुखका काँपकाँपमा मौरीका गोला यत्रतत्र देखिन्थे । भाले मान्छेले मुख मिठ्यायो । कक्रिएको पेट फुलायो । खरायोले आफ्नो आवाज धिमा बनाउदै बोल्यो –‘अरे मान्छे यो ठाउँमा सतर्क भएर हिड् । होसियार । ठाउँ अनुसारको हाउभाउ र नाउ अनुसारको बडगाउँ हुनुपर्छ । कि ज्यादा बोले रे । खैर बिस्तारै हिँड,’ भन्दाभन्दै भालेमान्छे पिडालुको झ्याङमा अल्झेर लड्यो ।

–‘अरे रे मैले भनेकै थिए नि । मान्छेहरु जे नगर भन्यो, त्यहीँ गर्छन् । धन्नै सन्गोहीको अण्डा फुटालेनस् ।’

ऊ घोप्टो परेको टाउको अघिल्तिर सानाठूला अण्डाहरु यत्रतत्र छरिएका थिए ।

–‘उठ् । चारैतिर हेर् मान्छे । सन्गोही, गोही, सर्पजस्ता थुप्रै नरभक्षी उभयचरका अण्डा हुन् यी । याँ एगुटा गल्ति गरिस् कि मरिस् रे । ध्यानपूर्वक फटाफट हिड् ।’

भालेमान्छेले खरायोको पाइलामा आफ्नो पाइला टेकाउँदै पछिपछि हिड्यो । खरायो धिमा आवाजमा बलबलाई रहेको थियो । धिमा आवाजमै जङ्गल गुञ्जिरहेको थियो । पिडालुका गाँजसंगै उभिएको दुधाशंख रुखहरुमा झुण्डिएका लहरा फेदैमा पुगेपछि खरायो टक्क अडियो । भालेमान्छे एक्कासि रोकिन सकेन । उसको तुरी खरायोको पिछाडमा ठोस्सियो । बुरुक्क उफ्रदै खरायो बुँदबुदायो ।

–‘अरे यार सम्हालेर राख तेरो तुरी, धन्नै सिध्याएन मेरो बुरी हुँ,’ भन्दै हातले आफ्नो पिछाड पुछ्यो अनि सुघ्यो । ‘अरे छि छि रे कति गन्हाउछ रे तेरो तुरी ? अ ठिक । अब पहिला जलक्रीडा गराउँछु अनि फलक्रीडा गर्ने है त ! ल हिड् रे मान्छे ।’

खरायोले बाटो फेर्‍यो । भाले मान्छेले थुतुनो चोस्याउँदै ऊ पछिपछि लाग्यो । केहीबेरमै उनीहरु तलाउ छेउ पुगे । परको पहाडबाट बहेको झरना बग्दै आएर त्यहाँ तलाउ बनेको थियो । तलाउ छेउछाउमा पहेला कमलका फूलहरु ढकमक्क फक्रेका थिए । दृष्य सुन्दर थियो । त्यही तलाउमा खरायोले फालहान्यो । ‘झ्यापुल झ्याप’ पौडियो र भन्यो –‘अरे मान्छे फाल हान्, मयल फाल् । तेरो के जान्छ बाल ।’

पौडिदै पर पुगेको थियो खरायो । तलाउ छेउ सङ्लियो । उसले पानीमा हेर्‍यो । एक्कासी झस्क्यो अनि पछि हट्यो । र फेरि हेर्‍यो । अनि मनमनले गुन्यो ‘ओहो सधै टाउकामाथि हुने सूर्य अहिले पानीमा पो छ ।’

पत्यार लागेन उसलाई । उभो हेर्‍यो । देख्यो उतै । फेरि पानीतिर आँखा मोड्यो । देख्यो पानीमै । उसको दिमागमा केही सुझेन । थुतुनो चोस्याउँदै, आँखा फाड्दै घरि तल घरि माथि लगातार हेर्न थाल्यो । हेर्दाहेर्दै पानीको सूर्य सलबलाउन थाल्यो र बिलायो । भालेमान्छेले फेरि मास्तिर हेर्‍यो, हेरिरह्यो । पौडिदै तलाउ छेउ आइसकेको थियो खरायो । उसैले बिथोलेको थियो सङ्लो पानी र सूर्य ।

–‘अरे माथि हेरेर किन फाल्छौ समय खेर, भैसक्यो देर । मान्छेहरु माथि मात्रै ताक्छन् । सपनाको गतिसंगै माथि पुग्छन् । आँखा खुलेपछि जहाँको तहीँ थस्किएको थाहै पाउँदैनन् । यै हो रे धेर मान्छेको हबिगत,’ भन्दै भालेमान्छेलाई पानीमा तान्यो । उसको छायाँ पानीमा झिलमिलायो । केहीबेरपछि पानी सङ्लियो । उसले आफूसहित खरायो र सूर्यलाई पनि पानीमा देख्यो अनि मनमनले भन्यो – ‘छ्या कस्तो बिचित्र म । खरायो र सूर्यझैँ रहेनछु ।’

भालेमान्छेले थुतुनो बिटुल्याउँदै पानीको आकृति र खरायो तर्फ हेर्‍यो । उसका आँखा निकै फाटेका थिए । खरायोले उसको आँखाको भाका बुझ्यो क्यारे । उसलाई पानी छ्याप्दै बलबलायो –‘ल रे न्वाई हाल् । पइला केराझैँ तो साफ गर् । तेल्ले मलाई खुब पिरेको छ । कुभिण्डोझैँ टाउको न्वाँ । तरुलझैँ नाक, च्याउझैँ कान, मुतुनोझैँ थुतुनो, सप्पै सप्पै साफ गर् । छिटो न्वाँ विचित्र मान्छे, हा हा हा ।’

भालेमान्छेले उही मुखाकृतमा डुबुल्की मार्‍यो । छप् छप् गर्दै हरियो पानीमा चोपलिरह्यो । खरायो तलाउ छेउ लाग्दै भाले मान्छेलाई भन्यो –‘लो रे अब जाऔं तरुल घारी, देर नगर पर्ला है फेरि भारी ।’ पानीको छबछबाहटले खरायो बोलेको आवज उसको कानसम्म पुगेन । भालेमान्छे कमल फूलहरु छेवैमा डुबुल्किरहेको थियो । उसका आँखाहरु नजानिदरी कमल फूलतर्फ आकर्षित भए । उतै हात लम्कायो । एक्कासि उसका दुवै खुट्टा पानीमुनि जकडिए र रन्किदै तलाउछेउ हिलोमा थेचारियो । भालेमान्छे बेजोडले रन्थनिएको थियो । ऊ उठ्नै सकेन । डरले खरायोको बोली गुम भएको थियो । पानीभित्र ठूलै हलचल मच्चिएको थियो त्यो पल । पानीमाथि सन्किरहेको थियो भीमकायी मगरमछ । उसका आँखामा रिसका ज्वाला दन्किरहेका थिए । जिब्रो फड्कार्दै, मुख बाएर खाउँलाझैँ गरी बोलिरहेको थियो, ‘ठ्यास्ने । मर्नु छ तँलाई हँ ? यो तलाउको रखवाला हुँ । ह्याँको आकर्षणमा आँखा गाड्छस् । म तलाई गाड्दिन्छु ।’

यसपछि बेगले मान्छेलाई झम्ट्यो । ऊ डरले हिलोमा दोब्रियो । खरायोले उफ्रेर मान्छेलाई समायो र अर्को फाल हान्यो । दुवै जना झुट्यानमा घोल्सिए । अनि हत्तपत्त उठे । दाह्रा कटकटाउदै मगरमछले फेरि झम्ट्यो । उनीहरु त्यहाँबाट कुलेलाम ठोके । उनीहरु घोल्सिएको झुट्यानमा आफ्ना अण्डाहरु फुटेको देख्यो मगरमछले । उसले मुरमुरिदै उनिहरु गएको बाटोतर्फ आँखा पसार्‍यो । केही पर दगुरेपछि खरायोले हेर्‍यो । देख्यो पछिपछि भालेमान्छेलाई । त्योभन्दा पछाडि आँखा कुदायो अनि रोकियो । मान्छे हुत्तिएर ऊतिर आइरहेको थियो । खरायो सतर्क हुँदै उसको तुरीतर्फ आँखा डुलायो र हाँस्यो ।

–‘ हा हा, अरे मान्छे तेरो तुरी त झन् लामो भएछ रे ! फेरि एता ठेस्लास् नि !’ भन्दै उसको तुरीतर्फ हात बढायो । समातेर झ्वाट्ट तान्यो । भाले मान्छेले मोखडा बिटुल्याउँदै उफ्रन थाल्यो । खरायोले –‘ए ए पख् रे । ला इह् हेर् तेरो तुरी’ भन्यो । त्यो तुरी नभएर जुका थियो । ऊ झन् उफ्रन थाल्यो । उसको ढाडमा अर्को जुका ढाडिएर बसेको थियो । उफ्रदै गर्दा भुईंमा झर्‍यो ।

–‘बस् रे भयो अब हिड् । यता छोइएलास् नि फेरि । पहिले त तुरी मात्रै फोहोर झै लाग्थ्यो । अब त झन् पूरै फोहोरी भइस् रे । तनले फोहोरी भए पनि मनले फोहोरी नभएस् । धन्नै मरवाएनस् ।’

भालेमान्छेको जिउभरि हिलो थियो । ज्ञान सुनसान, ऊ अञ्जान थियो । भालेमान्छेले आफ्नो जननेन्द्रिय छामछुम गर्दै खरायो पछिपछि हिँड्यो । केहीबेरमै उनीहरु लहरै लहराले जेल्लिएको रुख मुन्तिर पुगे । त्यहाँ वरिपरि मौरीहरु बिनबिनाइरहेका थिए । चराहरु तितरबितर चिरबिराइरहेका थिए । तरुलका फलहरु लुछिएका थिए । झुण्डिएका लहराहरु छिनेर भूइँमा यत्रतत्र असरल्ल छिरलिएका थिए । बचेखुचेका लहराहरु नाङ्गा थिए । पिँडालुका झ्याङहरु तहसनहस भई मासिएका थिए । भूइँमा छरिएका अण्डाहरु फुटेर छिलबिल परेका थिए । त्यो सब देखेर खरायोको दिमागमा हलचल मच्चियो ।

उसले मनमनले सोच्यो, ‘अब यहाँको रखवालासँग कसरी बच्ने ?’ त्यसै बखत भाले मान्छे आत्तिदै उफ्रन थाल्यो । खरायोले साँसले उसलाई इशारा सहित चुपलाग्न भन्यो ।

‘अरे चुप लाग्, र सुटुक्क भाग्,’ भन्न नभ्याउदै खरायो पनि उफ्रन थाल्यो । मौरीका गोला उनीहरुमाथि खन्निएका थिए । उनीहरु कासघारिभित्र घोल्सिदै भाग्न सुरकसे । त्यो आकस्मिक उफ्राई र कुदाईले नचाहदा नचाहदै तिनका पाउले त्यहाँ छरिएका थप अण्डाहरु फुटेका थिए । अगाडि अजङ्गको अजगर फँडा काढेर उभिएको थियो । मौरीहरु तितरबितर भए । चराहरु झन् तितरबितर भई चिरबिराइरहेका थिए । अजगरले फँडा काढेर जिब्रो फिरफिराइरहेको थियो । उसका आँखामा बदलाका ज्वारभाटाहरु प्रष्ट देखिन्थे । डरले खरायोले तुरुक्क मुत्यो । भाले मान्छेको हबिगत त्योभन्दा ज्यादा थियो । उसको थुतुनो चोस्सिएको थियो । आँखामा त्रासका रेसाहरु प्रष्ट देखिन्थे । निधार मास्तिर उचालिएको थियो । उसका आँखामा अजिबखाले डर देख्यो खरायोले । भयानक अजगरले उनीहरुतिर आँखा तेर्सायो । अनि बेजोडले झम्ट्यो । खरायो र भाले मान्छेले उफ्रदै छले । अनि ओठ कपकपाउँदै खरायो बोल्यो –‘हा हा हा हाम्ले क क क्यै बि बिगारेका छ छैनौं । हा हामीलाई ज जान दिनुुस् रे स स सर्पराज ।’

जिब्रो लिप्लिपाउँदै अजगरले भन्यो – ‘तिम्हर जस्तैले याँको यो हालत बनाका हुन् । ऊ तो जस्तै एक हुल मनुवाले हाम्रो बास उजाडे । अण्डा फुटाले । तैले तिन्हरलाई साथ दिएको होस् । त्यसैले तँ र तो’हरुसंग बदला नलिई छोड्दिन म ।’ खरायोले केही भन्न नभ्याउदै अजगर उनीहरुतिरै हुत्तियो । खरायो र मान्छे आफ्नो मुटुको धड्कनलाई उछिनेर कुदे । कुद्दा मेसो हराएर रुखमा ठेस्सिए । ‘यिन्हरलाई बाँकी राख्न हुन्न । मेरो अण्डा पनि फुटालेका छन् ।’ भन्दै मगरमछ अचानक झाडीबाट फालहान्दै निस्क्यो र काडेदार जिउ उतै हुत्यायो । खरायोले लहरा पुग्न फाल हान्यो । मान्छेले उसको खुट्टा समायो । लहरामा दुबैजना हुत्तिएर झुले । झुलेर अर्को रुखको लहरा समाते । अजगर र मगरमछ दुबैले उनीहरुलाई पछ्याए । उनीहरु तरुलको लहरोको झुला झुल्दै पर पर गए र जमिनमा मिल्किए । त्यहाँ वरिपरि मरेका मानिस असरल्ल देखिए । कसैका टाउका नभएका, हात नभएका, खुट्टा, जीउ नभएका, दृश्य विभत्स थियो । भालेमान्छे हक्कानियो । उसको जउि लल्याङ लुलुङ भयो । उसका गोला आँखामा मृत्युको भय झन् गाढा देखियो । खरायोले उसलाई सान्त्वना दिदै भन्यो –‘अरे मान्छे तेरो दाइ ह्या हुँदाहुँदै किन चिन्ता । बरु छिटो हिड् त ।’ आहट बिहीन उनीहरु त्यहाँबाट लस्के ।

भाग्दाभाग्दै उनीहरु बाँदरको हुलमा पसे । ती बादरहरुले खरायो र मान्छेलाई गिज्याइरहेका थिए । मान्छेले बादरहरुको नक्कल गरिरहेको थियो । त्यो देखेर खरायो हाँस्दै हनहनियो –‘बाँदरहरु मान्छे बन्न कहाँ सक्छन् र मान्छेहरु नै सहजै बादर बन्न सक्छन् बरु ।’ मान्छेले आँखा चिम्सो र थुतुनो चोसो पारेर उनीहरुको चर्तिकला हेरिरहेको थियो । केही बादरहरु रुखका हाँगामा फाल हानिरहेका थिए । केही बादरहरु दगुरा दगुर, केही लहरामा झुला झुलिरहेका थिए । एकजोडी बाँदर रुखको कापमा चरम सम्भोगमा मस्त थिए । मान्छेको आँखा त्यसैमा पुगेर टक्क अडियो । खरायोले मान्छेलाई पाउदेखि शिरसम्म हेर्‍यो । उसको आँखा तुरीमा पुगेर टक्क अडियो । मान्छेको तुरी मोटाएर ठनक्क परेको थियो ।

–‘अरे मान्छे । तेरो तुरी नबना है छुरी, मदेखि बढा है दुरी,’ भन्दै दुरी बढायो । भालेमान्छे खरायोतर्फ बढ्यो । खरायोले मुख अमिल्याउँदै दगुर्‍यो । भाले मान्छेले रफ्तार बढायो । खरायोले हातबाट पिछाड छोप्यो अनि झनै रफ्तार बढायो । बाँदरहरुले उनीहरुलाई परसम्म पछ्याए । खरायो अघिअघि भाले मान्छे पछिपछि बेतोडले दगुिररहेका थिए । परको पश्चिमी भेगतर्फबाट भयानक कोलाहल आएर खरायोको कानमा ठोक्कियो । खरायो खङ्ग्रङ्ग भयो र थामिदै बोल्यो –‘रे पख्, थम्मा थम्मा ।’

उसले कान ठाडो बनायो । पिछाडबाट हात हटेको थिएन । भाले मान्छे परै थामियो र थुतुनो चोसो पार्दै ‘गु उ उ’ आवाज निकाल्यो ।

–‘अरे के भन्छ ? यस्तो बेलामा गु हग्न आयो ? जा हग् । पेट साफ राख्, दिल साफ हुन्छ । जा रे जा । हा हा यसैलाई भन्छ होला लगनको बेलामा हगन । हुँ ।’ भाले मान्छेले चोसो परेको थुतुनो बाट ‘गु उ उ’ आवज निकाल्दै औलाले तुरीमा ठोसे झै गर्‍यो ।

–‘अरे हाँ, मौरीले पो ! हा हा त्याँ चिलेको,’ भन्दै आफ्नो पिछाडबाट हात हटायो । मान्छेले निधार खुम्चाउँदै मुन्टो हल्लायो । झन् भयानक आवज सहित जङ्गल चिट्चिटाएको आवाज दुबैले सुने । खङ्ग्रङ खुङ्रुङ हुँदै पश्चिमी भेगतिर हेरे । आगोका लप्काले जङ्गलको मङ्गल खत्तम हुँदै थियो । जीवजन्तुका भयानक आवाज उनीहरुले सुने, भागदौडको महशुस गरे । आगोको ज्वाला यत्रतत्र फैलिरहेको थियो । जीवजन्तुहरु आगोको लप्कामा झोस्सिएर कराइरहेका थिए । कोही आगोबाट मुक्त हुन फाल हानिरहेका थिए । मान्छेका आकृतिहरु वेगका साथ वरवर हुँदैथिए । भाले मान्छेले मुन्टो उठाउँदै मास्तिर नजर डुलायो । आकाश झनै रत्तिएको थियो । अटल निर सूर्य चमकविहीन हुँदैथियो । आगोका धुवा र ज्वालाका तापले ऊ छेलिदै थियो । खरायोले चिन्ता व्यक्त गर्दै भावुक स्वरमा भन्यो, ‘अब प्रकृति उजाडिनेभो ।’ उसका आँखा हठात् ओस्सिन थाले । खरायोले मनमनले गुनेझैँ गर्‍यो । अनि मान्छेको हात समात्दै बेतोडले दगुर्‍यो र कासझाडी भित्र फाल हान्यो । दुवैजना प्वालभित्र घोल्सिए । हतार हतार बासस्थानतर्फ दगुरे । केही बेरमै दुबै गोलो आँगनमा पुगे । त्यहाँको दृष्य हृदय विदारक थियो । खरायोका बचेराहरु अजगर र मगरमछले खाइरहेका थिए । पोथी मान्छे र पोथी खरायो उनीहरुको जकडमा कक्रिएका थिए । खरायो एकपल मुर्छा पर्‍यो । भाले मान्छेको हालत पनि त्यो भन्दा बेहतर थियो । हठात् संयमित भए । दुवैले सकिनसकी अघिल्तिरको ढुङ्गा उचाले । वेगले ती नरभक्षीका टाउकामा प्रहार गरे । मगरमछ र अजगरका टाउका कटकटिदै भूइँमा थेचारिए । पोथी खरायो र पोथी मान्छे उनीहरुको जकडबाट छुटे । भाले मान्छे र भाले खरायोले दुबैलाई त्यहाँबाट ताने । शत्रुलाई घनचक्कर लगाउने बाटो त्यसबेला उनीहरुले भुले । अनि खुफिया बाटो उघार्दै त्यहाँबाट टाप कसे । अजगर र मगरमछले धरमरिदै टाउको उठाए अनि भयानक आवाज निकाले । कराउँदै उनीहरु पनि खुफिया प्वालमा पसे । दुवैले प्वाल ओगटेपछि निलो उज्यालो कालोमा परिणत भयो । खरायोले झट्टै चाल पायो । सबैजना अन्धधुन्ध दगुर्न थाले । अजगर र मगरमछले दारा कटकटाउँदै पछ्याए । ज्यान जोखिममा भएपछि कसैलाई कसैको वास्ता रहेन । वास्ता रह्यो त केवल आफ्नै । भाले मान्छेले भाले खरायोलाई उछिनेर दगुर्न थाल्यो । पोथी मान्छे र पोथी खरायो पछिपछि दगुरिरहे । दगुर्दा दगुर्दै पर अगाडि निलो उज्यालो टिलपिलाएको देखे । त्यो वहीर्गमनको लागि निकास थियो । जीवनको आशामा हस्याङ फस्याङ गर्दै सबैजना उतै कुदे । प्वालबाट पहिला भाले खरायो हुत्तियो । त्यसपछि भाले मान्छे कहालिँदै हुत्तियो र उसको पुच्छर समायो । ती दुबै केहीबेर हावामा तैरिए । अनिमात्र खरायोले रुखको हागा समायो । बोझ भारी भएकोले हागा लच्छिदै चडचडायो । खरायोको हात घर्केर हागाको टुप्पोमा पुगेर रोकियो । त्यसपछि प्वालबाट अजगर जिब्रो फड्कार्दै हुत्तियो । मुख बाएर हावामा तैरिँदै ती दुईलाई लप्क्यो । किन्तु भेट्न सकेन । अनि कर्कश र भयानक आवाजसहित खाडीमा खस्यो । खाडीमुनि ज्वालामुखिका लावा रत्तिएर भुल्किरेहेका थिए । अजगर त्यसैमा परेर जलिरहेको थियो । भाले खरायो र भाले मान्छे खाडिको डिलमा उभिएको रुखको हागामा भुण्डिरहेका थिए । रुख आधाउधि जलिसकेको थियो । उनीहरुले समाइरहेको हाँगा चटचटाइरहेको थियो । मगरमछले प्वालको किनारमा आफ्नो हिंस्रक थुतुनो बाइरहेको थियो । दाँतका चेपमा मासुका चौटाहरु अझै बाँकी थिए । थुतुनो भरि रगत लतपतिएको थियो । खरायोले झट्टै बुझिहाल्यो अनि आखा पिलपिलाउँदै भन्यो –‘मान्छेहरु उचाइ चढ्न पुच्छर समात्छन् । पुच्छर छोड मान्छे, आफ्नै बलबुताले माथि उक्ली ।’ मान्छेले लप्केर खरायोको ढाड समायो । खरायोले हैरान हँुदै आँसु तप्कायो र भन्यो –‘अरे म त जनावर हुँ रे । उचाइ चढन् मान्छेलाई मान्छेकै भर्‍याङ चाहिन्छ । कुरा बुझेनस् के !’ खरायोले जीउ झट्कार्‍यो । खरायोको ढाडबाट मान्छेको हात फुस्केर हागामा पर्‍यो । उसले थाहै नपाई हागा समातेको थियो । उसको हात चिप्लिएर तलतल घर्किरहेको थियो । खरायो खुरखुरिएर माथिल्लो हागामा चढ्यो । मान्छेले उचाइ चढ्ने ध्येयले उभो हेर्‍यो । खरायोभन्दा माथि, सूर्यभन्दा पनि माथि । रातो आकाश झन् रात्तिएर आगोझै देखिएको थियो । त्योभन्दा मुनिको सितल अटल सूर्य रात्तिएर जलिरहेको थियो । भाले मान्छेको आँखा तिरमिरायो । कान टुन भयो र आकासबाणि उसको कानमा गुञ्ज्यिो । ‘हे मान्छे हो प्रकृतिमाथिको बितण्डाले निर झै सितल र अटल प्रकाश अब दिनरात र घामछायाँमा परिणत हुँदैछ । बुझिराख, प्रकृति प्रताडनासंगै मान्छेका संकट बढि रहनेछन् ।’ मान्छेले यत्ति सुन्दा नसुन्दै ऊ झुण्डिएको हाँगा बेजोडले चट्चटाएको थाहा पायो । त्यो हाँगालाई पनि आगोको लप्काले फेला पारिसकेको थियो । उसको जीउ लगलग कपिरहेको थियो । जल्दै गरेको हाँगा छल्दै खरायोले खाडिको डिलमा फाल हानिसकेको थियो । मर्ने पक्का भएपछि मान्छेको आँखामा विगतदेखि वर्तमान घुमिरहेको थियो । उसलाई लाग्यो कुखुराकाँ नै ठिक, त्यो गाउँ नै ठिक, त्यहाँका सबै प्राणिहरु ठिकाठिक । र भावुक हुँदै उसले सम्झ्यो, खरायोले भनेका सबैकुरा ठिक । जहाँ नपुग्नुपर्ने त्यहीँ पुग्न चाहेँ । खरायोले पुग्नुपर्ने ठाउँमा पुर्‍यायो । मौका मिले बदला लिन्छु भनेको थियो । लियो बदला । आफ्नो बचनमा ऊ पक्का भयो । मान्छेले एकपटक आशातीत नजरले खरायोलाई हेर्‍यो । खारायो खाडिको डिलमाथि भक्कानिरहेको थियो । खरायोले उराठिलो नजरले मान्छेतर्फ हेर्‍यो र भन्यो –‘मान्छेहरु महत्त्वाकांक्षी उचाइ चढ्दै गर्दा जीवन र मरणको दोसाँधमा झुण्डिरहन्छन् ।’