मध्याह्नलाई छोडेर दिन उकालो लाग्दै थियो । स्वयं देवादिदेव महादेव प्रकट भएर आशीष दिँदै भन्न लाग्नुभयो, ‘हे बालक के वरदान माग्न चाहन्छौ, माग ।’

कोही यो भन्दा भाग्यमानी कसरी हुन सक्छ ? मलाई आफ्नो भाग्य बुझ्न केही समय लाग्यो ।

‘पहिला त हे महादेव म बालक होइन, अनि दोस्रो तपाईं को मलाई वरदान दिने ? कतै ढोँगी साधु त होइन तपाईं ?’

‘तँलाइ कुत्ता म हुनु नहुनुको प्रश्न गर्ने तँ को ?’ उहाँ रिसाउनु भयो तर संयमित भएर फेरि सम्झाउँदै भन्नुभयो, ‘पहिला मागेर त हेर् ।’

फेरि सोचेँ, अचम्मको चिठ्ठा परेको छ । केही मागिहाल्छु । गए झटारो त हो ! केही गहन सोचपछि भनेँ, ‘मेरो जीवनमा सबै कुरा त छ के मागौँ ?’

शिवजी हाँस्दै भन्नु भयो, ‘त्यही भएर त म तँलाई फ्रिमा वरदान दिन आएको ।’

म गदगद भएँ । सोचेँ, म सम्पन्न मान्छे । मसँग के छैन ? फेरि भनेँ, ‘अजन्म हुने बरदान मागौँ भने तपाईंले झुक्काएर भए पनि दिने होइन । अब तपाईं बन्न पनि मलाई मन छैन । तपाईंको जीवनशैली जिउने रहर छैन मलाई । सलमान खान, ब्राड पिट हुन चाहने हो भने पनि उनीहरु बूढो भइसके । फेरि सेलिब्रिटी हुनुका अर्कै बेफाइदा छन् । कुनै राजकुमार हुने हो भने पनि कहिले हत्या हुने हो या आफैँले आफ्नाको हत्या गर्दै हिँड्ने हुँ या आफैँले आफ्नो विनाश गर्दै हिड्ने हुँ थाहा छैन । म को बन्न चाहन्छु र म को हुँ ? म जे छु सन्तुष्ट छु ।’

‘यही सन्तुष्टि रहिरहोस् । तथास्तु,’ शिवजी आफ्नो परिक्षण सफल भएकोमा सन्तुष्ट भएर अन्तरध्यान हुनुभयो । म उहाँ गएपछि म टोलाइरहेँ । अरे के भइरहेको छ ?

म कति मुर्ख मान्छे । केही त सोच्नपर्ने हो । शिवजी मुर्ख भए पनि दयालु छन् । आफ्ना भक्तलाई जे पनि दिन तयार छन् । कहिले सरप्राइज दिँदारहेछन् । दुई मन लिँदै म उडेँ । मेरा छातीमा टाँसिएका पङ्खाहरुले मलाइ फुर्र उडाएर गन्तव्य पुर्याउँदैथिए ।

मेरो मनलाई दोमनले हडप्न लाग्यो । घना बादलको बाटो हुँदै उड्दै गर्दा बादलले मलाई नुहाइदिने प्रस्ताव राख्दै थियो । हाम्रो संसारमा नाइँ भन्ने शब्द छैन । फेरि म बादलको राज्यमा थिएँ । मनलाई छोप्दै मेरा ग्लानिका हरियो घाँटीसम्म आइपुगे । म देख्न नसक्ने भइसकेको थिएँ । ग्लानि मस्तिस्कबाट ओरालो झर्दै थियो । अब छाती हुँदै खुट्टासम्म पुग्न लाग्यो । म नुहाइरहेँ खुट्टा चल्न नसक्ने भयो । मलाई लिन मेरो वायुपंखी घोडा आइपुग्यो । म उसको ओछ्यानमा बटारिएँ । घर पुग्दा दैलोमा सुन्दरी मुस्कान ओछ्याएर प्रतिक्षामा थिइन् । मेरो लोभी बन्धन घाँटीसम्म खोलिए । मेरा आवस्यक अङ्गले धित मारे । उनीबाट तृप्त भएँ म । तृप्त मन मस्तिस्कलाई आदेश दिनेबित्तिकै फेरि मेरो विमान आयो र उडाएर लग्यो । अर्को घरमा उस्तै सुन्दर महिला मेरो प्रतिक्षामा थिइन् । उनको पछि सानी परी उड्दै थिइन् । मेरा सम्पूर्ण साङ्ला खुले । म घरमा बिलाएँ । राती सुत्न लाग्दा टाउकामा लुकेका कालोहरु बढिरहे । म निदाएछु ।

घाम पहिला मलाई छुन्छ अनि विचलित हुन्छ । पानी पहिला मलाई छुन्छ अनि अरुको बन्छ । बिजुली पहिला मलाइ छुन्छ अनि अरुकोमा सञ्चारित हुन्छ । यहाँ सबै प्रथम छन् । म पनि यसको नियमबाट अछुतो छैन । म उठेँ चप्पल मेरो खुट्टामा आइपुग्यो । खाट कमबोर्ड बन्यो । हावा आयो, आची सफा गरेर लगिदियो । ऐना ब्रसमा पेष्ट भरेर मलाइ दाँत मजाउँदै थियो । आज मलाई दाह्री काट्न मन छैन । म उड्दै गएँ । चौरासी व्यञ्जन मेरो सामु थियो । मेरो सानो परिवारले मलाई साथ दियो ।

विमान मलाई लिन आयो । सानी छोरी मलाई छोड्न आई । मेरी श्रीमती आफ्नो काममा उडिसकेकी थिई । विमान मलाई लिएर उड्यो । म सुन्दर बगैँचामा पुगेँ । त्यहाँ मजस्ता पुतली मानिसहरु प्रशस्त थिए । हामी हरियो बगैँचा बीचको चौरमा पलेँटी कसेर बसेका थियौँ । हामी सबैका प्वाँखहरु छातीमा लुकेका थिए । सबैका काया उस्तै थिए । समान उचाइ, लम्बाइ, छाती पाखुरा, प्वाँख आदि । तर आज मैले जित्नै पर्छ । म दृढ भएर आज काममा आएको थिएँ ।

सब मौन थिए । शान्त थिए । शान्तिको प्रतिस्पर्धा भइरहेको थियो । जो बढी शान्त हुन्छ, ऊ उत्कृष्ट हुन्छ । यहाँ सबै प्रथम हुन्छन् । म आफ्नो स्तर एक दुई गरेर १०५२ औ स्थानमा पुगेँ । शुक्रबार म यहाँ अडिएको थिएँ । आज कमसेकम १०५५ सम्म पुग्छु पुग्छु । जब लक्ष्यको सोच आउँछ तब असफल भइन्छ यहाँ । किनकि हामी सबै मञ्जिलको दुनियाँबाट माथि थियौँ । म केही दिनदेखि असन्तुष्ट थिएँ । आज त विफल भएँ । यही सोचले म विफल भएँ । विमान फेरि मलाई लिन आयो । आज सुन्दरीको दैलो बन्द थियो । कसैका प्वाँख बाहिर थिए । म मेरो दरबार गएँ । आज उनले २३७२ पुर्याइन् रे ! उनका आँखाले भनेका । यहाँ किन पुरुष र महिलामा विभेद । म शान्त मन लिएर बसिरहेँ ।

छोरी मसँग खेल्न आई । छोरीलाई उडाउँदै थिएँ म । उसको उड्ने गृहकार्य रहेछ । नीला आकाश काला भइन्जेलसम्म उडिरह्यौ हामी । आकाशमाथि निस्पट्ट कालो थियो । तल जंगलका पहेँला खेत खोलाका लाइन, टुकुरटुकुर मानिसका कमिलाहरु थिए । कति परिश्रमी छन् ती कमिलाहरु । परिश्रम नगरे भोकै रहन्छन् उनीहरु । म माथिको कालो अन्तमा सानो प्रकाश बन्छ । मेरो जीवनको उद्देश्य त्यो प्रकाश हो । मलाई सिकाइएको छ । म जन्मैदेखि विद्रोही । चित्त बुझेको छैन ।

छोरी उठदै ओरालो लागी । म उसको पछि पछि लागेँ । छोरीका अनुहार अनायासै खुशीमा प्रवाह हुन लागे । उसले घना जंगल देखेकी थिई । बाघ जंगलमा हरिण मारिरहेको थियो । हरिण भाग्दै थियो । उसले खेतमा पहेँला झुलेका धान देखेकी थिई । म छोरीलाई ठूलो रुखको पात पछाडि लुकाउँदै थिएँ । ऊ धान काटेको हेर्न जान लालायित थिई । एक मान्छे रुखको छहारीमा आएर सुट्टा सल्काउन लाग्यो । मजाले चुरोट तानिसकेपछि ऊ आफ्नो बाटो लाग्यो । अर्को दृष्यमा अरु मानिसहरु आए । रुखको छहारीमा बसेर उनीहरु दारुमा तल्लिन थिए । उनीहरु मात्तिएर नाचिरहेका थिए, हाँसिरहेका थिए । फेरि अर्को क्षण झगडा गरिरहेका थिए । छोरी उनीहरुको झगडामा रमाइलो मानिरहेकी थिई ।

हामीहरु उड्यौँ । एक घरको छेउको रुखमा ओझेल परेर बस्यौँ । घरको आँगनमा एक महिला घर आइपुगेर सानो बच्चालाई दुध चुसाइरहेकी थिई । बच्ची आमा देखेर खुशी थिई । जँड्याहा बूढो आयो । बुढीले गाली गरी । फेरि अर्को समय उनीहरु मायामा थिए । म उनीहरुको मजामा ईर्ष्या मिसाउँदै थिएँ । कहिले दुःखको मजा त कहिले सुखको मजा । सधैँ सुखमा मात्र हुने हो भने त असन्तुष्ट होइँदोरहेछ ।

उनीहरुको माया बढी हुन थालेपछि मैले छोरीलाइ उड्ने इसारा गरेँ । उड्नै लागेकाथियौ फेरि शिवजी वरदान दिन उपस्थित हुनुभयो, ‘के वरदान माग्छौ माग,’ उहाँ मेरी छोरीलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो ।

‘म धर्तीमा बस्न चाहन्छु,’ छोरीले प्रश्न पूरा हुन दिइन ।

शिवजी ‘तथास्तू’ भनेर वरदान दिँदै आफ्नो लामो ओठलाई तन्काउदै बिदा हुनु भयो ।

त्यस दिनदेखि म मेरी बूढी र छोरी आफ्नो पङ्ख स्वर्गलाई बुझाएर धर्तीमा आयौँ ।