शहर यस्ती निष्ठुर सुन्दरी हो, जसले हरेकलाई आकर्षित गर्छे तर रत्तिभर भाउ दिन्न । ऊ कमाउनेहरूकी हो ! हरेक दिन केही न केही कमाउनै पर्छ । त्यसपछि शहर उसप्रति फिदा हुन्छे, उसप्रति समर्पित हुन्छे । यो उसको नियति हो । गुण र बैगुन पनि हो । अनि फेरि शहर त्यस्ती परित्यक्ता देहव्यापारी स्त्री हो, जसको सौन्दर्य गुमेपछि कसैले पनि उसलाई फर्केर हेर्दैन । प्राचीन समयको भग्न ऊर शहरदेखि अहिलेको रंगेलीसम्म यसका अनेकन् उदाहरण छन् ।

हालैका केही दिनअघि म छोटो ट्रान्जिट पिरियडका लागि विराटनगर पुगेको थिएँ । कुनै कविले निकै हेयका साथ विराटनगरलाई ‘खरदारहरूको शहर’ नामकरण गरेका थिए । निकै आलस्य, सुस्त गतिको सरकारी कर्मचारी ! कुनै समयको हाकिमजस्तो ! समय क्रममा अरू शहर कहाँबाट कहाँ पुगिसके ! ऊ भने बाध्यतामा हिँडिरहेको बूढो मान्छेजस्तो !

एउटा पुस्तकको शीर्षक थियो, ईश्क में शहर होना… । भारतीय कवि रविश कुमारको छोटा कथाहरूको संग्रह । शहर हुनु विस्तार हुनु हो, अरूलाई आफूमा समाहित गराउनु हो । केही धमिलिनु हो र केही सङ्लिनु पनि हो । समग्रमा शहर आफैँमा ईश्किनु हो, प्रेममा पर्नु हो, रत्तिनु हो… आफैँमा मग्न हुनु हो । शहरको गुण हो, आत्मरति, आफैँप्रतिको ईश्क र प्रेममा पर्नु । अरूलाई प्रेममा पार्नु । र, यसरी म विभिन्न शहरसँग ईश्कमा परेको पनि दशकौँ बितिसकेछन् !

विराटनगरबाट हुत्तिँदै पहिलो पटक जब म किशोर कालमा भारतको गोरखपुर महानगर पुगेको थिएँ- त्यहाँको भिड देखेर म अचम्भित भएको थिएँ । फुटपाथमा भिड, रेस्टुराँमा भिड, फराकिला सडक, अटाइनअटाईका सवारीसाधन ! त्यो हेरिकन विराटनगर दाँज्दा उही ‘खरदारहरूको शहर’को उपमा मलाई ठीकै लागेको थियो ।

त्यसपछि म छिरेको थिएँ, काठमाडौँ ! लगभग १५ सय वर्षदेखि यसले नगरको उपमा पाएको छ । यो एक प्राचीन ठाउँमा उभिएर कयौँ कवि लेखकले यसको महिमा गाइसकेका छन् । आज म गाउने प्रयासमा छु ।

काठमाडौँ के हो ? शहर हो कि भिडभाडयुक्त गाउँ ? शहर भएर पनि यो शहरजस्तो छ कि छैन ? यसलाई शहर बनाउने अवयव के हुन् ? यसबारे विज्ञहरूको छलफल लामो समयदेखि छँदैछ । तर एउटा कुरा अवश्य हो, एउटा प्राचीन अवशेषमाथि म पनि यतिबेला लडिबुडी गरिहरेको छु ।

‘कोटेश्वरको केटो’ (राजेन्द्र पराजुली)का नजरमा शहर शनैशनै विस्तारित भाग हो । कोटेश्वरका लागि पहिला शहर भन्नु कि त मंगलबजार थियो कि असन । अहिले शहरले नै कोटेश्वर कटेर बेपत्तासँग फैलिरहेको छ । यो यति उदार छ कि सबैलाई समेटेर अघि बढिरहेको छ । शहर हुन नसकेको काँठमाथि पराजुलीको निकै मीठो टिप्पणी त्यस पुस्तकमा मैले पढेँ ।

गमेर ल्याउँदा शहरमाथि विदेशमा त धेरै पुस्तक लेखिएका छन् । र, धेरैले भन्छन्- ओरहान पामुकको ‘इस्तानबुल’ सबैभन्दा उम्दा उदाहरण हो । नेपालीमा ? सेतोपाटीका सम्पादक सुदीप श्रेष्ठको शृंखलाबद्ध लेखनी ‘कथा येँ’ शहर उधिनिएको एउटा उम्दा प्रयास हो । अँ, यसमा छुटाउनै नहुने नाम गिरीश गिरीको ‘वीरगञ्ज’ र प्रकाश सायमिको ‘काठमाडौँ सेल्फी’ पनि छन् ।

केही विज्ञ भन्छन्, शहरको उत्पत्ति भएको धेरै भएको छैन । जम्मा चार हजार वर्षअघि मात्र वर्तमान युगमा शहर भन्न सकिने अवयव शुरू भएका थिए । त्यो मापनमा पर्ने पहिलो गाउँ ‘ऊर’ थियो रे ! ऊरलाई विज्ञजनहरूले संसारकै पहिलो शहर भनी मान्यता दिएका छन् । शहर भनेपछि व्यापार हुन्छ, व्यापार भएपछि त्यहाँ धेरै कुराका ‘व्यापार’ हुन्छन् ।

सन् १८०० सम्म पनि संसारका जम्मा ३ देखि ५ प्रतिशत मानिसहरू शहरबासी थिए । अहिले त हरकोही शहरबासी बन्न पुगेका छन् । जो शहरबासी छैनन्, तीमध्येका जो कोही पनि एक जना त शहरमा अवशेष छाडेर आएका अवश्य छन् । कोही अध्ययनका लागि, कोही जागिरका लागि, कोही केका लागि… तर हर कसैको कोही न कोही त अवश्य छ शहरमा ! शहरसँग नाता जोड्नु अहिलेको समयको आवश्यकता र बाध्यता दुवै छ ।

एउटा अध्ययनले भन्छ, सन् २०५० सम्म शहरमा बसोबास गर्ने जनसंख्या दुई तिहाई पुग्छ । अहिल्यै पनि शहर कति क्राउडेड छ भने नाइजेरियाको लागोस शहरमा मात्र पूरा देशको जनसंख्याको १० प्रतिशत ओइरिएको छ र यही शहरले देशको ६० प्रतिशत औद्योगिक गतिविधि गर्छ । यही कुरा मस्को र जोहानेसबर्गको सन्दर्भमा पनि लागू हुन्छ । चीनकै चार ठूला शहरले देशको ४० प्रतिशत औद्योगिक गतिविधि पूरा गर्छ । भनेपछि शहर यति अघि दौडदैछन् ।

जब यस्तो गतिविधि बढ्दै जान्छ, यो एउटा अलग्गै राज्यका रूपमा विकसित हुँदै जान्छ, अटोनमस रिजनका रूपमा । चाहे त्यो दिल्ली होस् या न्युयोर्क ! यो शहरको चरित्र हो । उसले आफूलाई विस्तार गर्दै जाँदा यति धेरै विकास गर्छ कि देशलाई नै उछिनूँलाझैँ गर्दै आफ्नो बेग्लै अस्तित्व बनाउन थाल्छ र प्रशासनिक इकाईका रूपमा आफूलाई उभ्याउन थाल्छ ।

यस्ता अनेकन् उदाहरण बेन विल्सनले उनको नयाँ पुस्तक ‘मेट्रोपोलिसः अ हिस्ट्री अफ द सिटी, ह्युमनकाइन्ड्स ग्रेटेस्ट इन्भेन्सन’मा दिएका छन् ।

शहरले अवसर दिन्छ, प्रतिस्पर्धा गराउँछ । ज्ञान एकअर्कालाई बाँढ्छ, सामूहिक कामले उद्यमलाई सफल बनाउँछ र समृद्धि बढाउँछ । जति जति समृद्धि बढ्दै जान्छ, शहरले गाउँगाउँबाट बसाइँसराई बढाउँदै लैजान्छ । हुन त बसाइँसराईको मूल कारण सम्पन्नताको खोजी मात्र होइन, हिंसा र अनेकन् समस्या पनि हो तर विश्वमा हरेक वर्ष सात करोड ८ लाख मानिस गाउँबाट सम्भावना खोज्दै शहरतिर लम्कन्छन् ।

अवसर खोज्नु मान्छेको आकांक्षा हो । म पनि त अवसर खोज्दै यहाँ आइपुगेको थिएँ ! २०४८ सालपछि आर्थिक अवसर र २०५२ सालपछि हिंसा र प्रतिहिंसाका कारण काठमाडौँको ढोका खुलेको थियो । सुरक्षा र भविष्य खोज्दै आउनेको चाप २०५६ देखि यति बढ्यो कि त्यसपछि काठमाडौँ खुम्चिएर बस्नै सकेन । अहिले त यो डाँडादेखि खेतखलियानसम्म फैलिइरहेको छ ।

काठमाडौँ एकताका गन्हाउँथ्यो, मान्छे नाक थुनेर हिँड्थे । यस्तो लाग्थ्यो, अब काठमाडौँको आयु सकियो तर त्यस्तो भएन । यसले क्रमशः वायुमा सुधार गर्यो, सरसफाईमा ध्यान दियो । कतिसम्म भने लकडाउनका बेला भोका गरिबगुरूवाहरूलाई समेत यसले उपेक्षाको नजरले हेरेन ।

जब-जब शहर अब सकियो, यसको भविष्य छैन, भविष्य भनेको गाउँ नै हुन् भन्ने ठहर हुन थाल्यो, शहरले आफूलाई परिस्कृत गर्दै लग्यो । माथिका केही उदाहरण शहरले समयक्रममा आफूलाई गर्ने परिष्करण, उदात्तीकरणको उदाहरण हुन् । र, यस्ता परिष्करण र उदात्तीकरण समयक्रममा अझै बढेर शहरले आफ्नो औचित्यलाई साबित गरिरहने छ । धेरैले लकडाउन र कोरोनाकालपछि आधा शहर खाली हुने अपेक्षा, आशा र आशंका गरेका थिए । तर त्यसो भएन र त्यो हुँदैन पनि । यसले आफूलाई अझ परिष्कार गर्नेछ र बढीभन्दा बढी मानिसलाई लोभ्याउने छ ।

शहर अघि बढ्दै जाँदा नयाँ-नयाँ शरणार्थीले नयाँ-नयाँ अवसर हात पार्छन् र स्थानीय पछाडि पर्छन् । स्थानीयले नवधनाढ्यको आरिस गर्छन् । जस्तो कि प्राचीन कालमा पनि यस्ता कयौँ घटनाहरू नदेखिएका होइनन् । रोमन साम्राज्य सम्पन्न हुँदै जाँदा छेउछाउका मुलुकबाट त्यहाँ बसाइँ सर्ने क्रम ह्वात्तै बढ्यो । सिरियालीहरूको संख्या अन्यको तुलनामा बढी थियो । त्यो बेला रोमनहरू सिरियालीलाई हेयको भावले हेर्थे । कारण, रोमन भन्दा सिरियाली मिहिनेती र काममा सिद्ध थिए । शहरमा जति बढी मिहिनेत, उति बढी कमाई, जति बढी कमाई उति बढी खर्च र जति बढी खर्च उति बढी रसरंग र देहव्यापारको जालो !

त्यसैले राम्रा काम र राम्रा आइमाई सिरियालीको भागमा परे भनेर रोमनहरू ईर्ष्या गर्थे । राम्रो काम र राम्रो आम्दानी हुँदा राम्रा स्वास्नीमान्छेहरू उनीहरूकै ‘भाग’मा पर्थे । त्यसैले सिरियालीहरू रोमनको ईर्ष्याको कोपभाजनमा पर्थे ।

केही अघिसम्म नेपालका मारवाडीहरूलाई बेलामौकामा देश चुसुवाको आरोप लाग्ने, तिनको सम्पत्तिमा आगजनी हुने, कुटपिट हुने कारण त्यस्तै आरिसको एउटा उदाहरण हो ।

तर स्थानीयले के बिर्सन्छन् भने यस्ता शरणार्थीले आफूसँगै कला ल्याउँछन् र कलासँगै समृद्धि भित्र्याउँछन् । यो अलग कुरा हो कि त्यस्ता कला र समृद्धिको सामूहिक वितरणको सुनिश्चितता शहर वा राज्यले गर्न सक्छ कि सक्दैन । जति चाँडो उसले यसमा ध्यान दिन्छ, उति दंगा हुनबाट रोकिन्छ ।

रोम स्थापनाको पहिलो शताब्दीमा युरोपको उत्तरी भेगबाट बसाइँ सर्नेको संख्या बढी थियो तर ईशापूर्व ५०९ देखि २७ सम्म आइपुग्दा यो जनसंख्यात्मक रूपमा निकै बढ्यो । शहरी रूप धारण गर्दै जाँदा जनसंख्या १० लाखसम्म पुग्यो र पछिल्लो समय उत्तर अफ्रिकाबाट आउनेको संख्या पनि बढ्न थाल्यो । यस्तो अवस्थामा स्थानीय रोमनले सधैँ आफूलाई परित्यक्त महसुस गरेकाले कतिपय यस्ता उखान टुक्का बने, जसले बाहिरियाहरूले हाम्रा छोरीचेली सिध्याए भन्नेसम्मका अर्थ लाग्ने गर्थे ।

एक ठाउँको समृद्धिले अन्य ठाउँलाई पनि समृद्ध बनाउन भूमिका खेल्छ । सोही अवधिमा त्यो बेलाका अन्य प्रख्यात सहरहरू फ्लोरेन्स, एलेक्जेन्ड्रिया, एथेन्समा पनि ठूलो संख्यामा प्रवासीहरूको बसाइँसराइ बढेको थियो ।

बेलाबेलामा महामारीले शहरको भविष्य सकिएको पो हो कि भन्ने तनाव थपिरहन्छन् तर शहरले आफूलाई जोगाउन नयाँ-नयाँ तौरतरिकाको खोज र आविष्कार यसले गरिरहन्छ । आविष्कार शहरको खोज हो, गाउँले आविष्कार गरेका उदाहरण निकै कम छन् ।

यति हुँदाहुँदै पनि शहर त्यतिञ्जेल मात्र शहर रहिरहन्छ, जतिञ्जेल मान्छेको महत्त्वाकांक्षा पूरा गर्छ । केही मानिसका लागि यो अझै गाउँ हो । त्यसैले यहाँ अट्न नसकेर कोही लन्डन पुगेका छन्, कोही न्युयोर्क ! त्यहाँ पुगेकाहरूका लागि काठमाडौँ एउटा पुरानो दन्त्यकथा बाँचिरहेको गाउँ त हो ! हजार कमीका बाबजुद पनि यसले ५० लाख बढीलाई आफूमा समेटिरहेको छ । ५० लाखका दुःखदर्दको भारी बोकिरहेको छ ।

हुन त यो निष्ठुर छ र पनि यदि शहरसँग ईश्क गरिन्छ भने त्यो निठूरता पनि अँगाल्नै पर्ने हुन्छ ।