एउटा असंगत जीवन उनले बाँचिन् । उनी अर्थात् मेरी गैटस्किल । युवावस्थामा प्रेम अभाव र लागू औषध कुलतका कारण देह बेचिन्, कल गर्ल बनिन् र अन्ततः लेखिका बनिछाडिन् ।

१८ वर्षकी छँदा उनलाई लेखिका बन्ने मन थियो तर त्यतिबेला उनी कुलत र यौन व्यापारको दलदलमा फँसिसकेकी थिइन् । देह व्यापारका क्रममा भेट भएका प्रत्येक पुरूष उनका कथाका पात्र थिए र उनले त्यही बेला सोचेकी थिइन्, ‘जिन्दगीमा केही गर्नु छ त यही लेखनमा गर्नु छ । नत्र अरू केही गरिन्नँ ।’

त्यसपछिका चार वर्ष उनले अनेकन् छोटा कथाहरू लेखिन् तर उनलाई कुनै प्रकाशक वा सम्पादकले कहिल्यै लेखनमा प्रेरित गरेनन् । अन्ततः २२ वर्षकै उमेरमा सन् १९८८ मा पहिलो पटक कथा संग्रह ‘ब्याड बिहेभियर’ छापियो र एउटा लेखकका रूपमा उनी दरिइन् । उनको सोही कथामा आधारित हलिउडको चर्चित फिल्म सेक्रेटरी अहिले कल्ट क्लासिक फिल्ममध्येमा गनिइन्छ ।

यसपछिका लामो समय उनलाई आफ्नो लेखनीका बारेमा आत्मविश्वासको अभाव महसुस भइरह्यो । कतिसम्म भने उनले एकताका आफ्नो जीवनको कुनै अर्थ नभएको भन्दै आत्महत्याको प्रयाससमेत गरिन् ।

उनी असामाजिक ठान्थिन् आफूलाई । विद्रोही चरित्रकी उनलाई सधैँ साथी बनाउन समस्या भइरह्यो । उनलाई आफैँप्रति रिस उठ्थ्यो र लगातार उनी लेख्नलाई नै ध्यान केन्द्रित गर्थिन् ।

त्यसो त उनका कथाहरू अमेरिकाका चर्चित पत्रिकाहरूमा बारम्बार छापिने गरेका भए पनि उनलाई सन्तुष्टि भने भएको थिएन । तर जब उनी चालीस वर्ष लागिन्, उनमा आफ्नो लेखनीप्रति बिस्तारै आत्मविश्वासी हुन थालिन् ।

जब उनी लेखक भइन्, उनले पहिलेको जीवनलाई बिस्तारै त्यागिन् । उनले लेखक पिटर थेचेनबर्गसँग बिहे गरिन् तर पनि उनको छायाँमा परेको महसुस गरिरहिन् । त्यसैले उनीहरूले बिहे गरेको नौ वर्षपछि पारपाचुके गरे । जब उनी एक्ली भइन्, उनलाई आफ्नो लेखनीको शक्ति महसुस हुन थाल्यो ।

उनका कथामा देहव्यापारीहरू मुख्य गरी आइरहेका हुन्छन् । उनी भन्छिन्, ‘म आफैँ कुनै समय युवा हुँदा देह व्यापार गर्थें, कल गर्ल थिएँ । ती अनुभवले मलाई लेख्नलाई सघाउ पुर्यायो ।’

६६ वर्षीया उनका हालसम्म नौ कथा तथा उपन्यास प्रकाशित छन् । २००५ मा निस्किएको भेरोनिका भने अमेरिकाको नेसनल बुक अवार्डको अन्तिम प्रतिस्पर्धी थियो ।

उनको पछिल्लो उपन्यास ‘लस्ट क्याट’ हालै प्रकाशित भएको छ ।