निलञ्जना रोय

निलञ्जना रोयअन्य क्षेत्रझैँ पुस्तक प्रकाशन संस्थाले पनि यो महामारीको वर्षमा तीव्र रूपमा घटनाक्रमहरू बेहोर्यो । ऊ आफैँ परिवर्तनको संघारमा उभिएको महसुस गर्यो । लेखकहरू, पुस्तक वितरक तथा बिक्रेता, प्रकाशकहरू सबै आफ्ना सारा ध्यान अनलाइन बिक्रीमा केन्द्रित गर्नुपर्ने अवस्थामा पुगे । यस क्रममा उनीहरूले आफूहरूलाई केही सम्भावना पनि देखे । तर सँगैमा उनीहरूले पनि केही तीव्र गतिको कर्पोरेट परिवर्तनको अवस्था देखे ।

गएको जुन महिनामा बुक एडभाइजर्स नामक आर्थिक सल्लाहकार संस्थाले प्रकाशकहरूबीच मर्जर र स्वामित्व स्वीकार्नेजस्ता अवस्था सिर्जना गर्ने, सशक्त प्रकाशकहरूबीच सहकार्य बढ्ने तथा लगानीको दर बढाउने सम्भावना व्यक्त गरेकत्र थियो । नभन्दै नोभेम्बर भमहिनामा जर्मनीको मिडिया सञ्चालक बर्टेल्सम्यानले प्रकाशन संस्था पेइन्गुइन रेन्डम हाउसले अमेरिकी प्रकाशन संस्था साइमन एन्ड सुस्टर खरिद गर्ने घोषणा गर्यो । अमेरिकी सरकारले स्वीकृति दिन अझै बाँकी भए पनि संसारकै पाँच ठूला (ह्याचेट, हार्पर कोलिन्स, म्याकमिलन, पेइन्गुइन रेन्डम हाउस र साइमन एन्ड सुस्टर) अब ठूला चारमा परिणत हुनेछन् ।

आशावादीहरूले अझै पनि पेइन्गुइन रेन्डम हाउस र साइमन एन्ड सुस्टरको मिल्ती सम्भव देखिरहेका छन् र यिनको एकताले बजारीकरण र वितरणमा अमेजनले दिएको चुनौतीलाई राम्रैसँग सम्हालेर बजार नियन्त्रण गर्न सक्ने सम्भावना देखिरहेका छन् । अर्काथरिले भने यो मर्जरले पुस्तक बजारका कर्मचारी कटौतीमा पर्ने र ठूलो संख्यामा बेरोजगारहरू बढ्ने सम्भावना देखाइरहेका छन् । अर्को तर्फ, केही मध्यम किसिमका लेखकहरूको पारश्रमिकमा भारी कटौती हुने सम्भावनासँगै विविध क्षेत्र र जातिका लेखकहरूका प्रकाशन बजारसम्म जान नपाउने सम्भावना पनि उत्तिकै देखिने बताइरहेका छन् ।

त्यसो त यस किसिमको गुनासो नयाँ होइन । सन् १९८७ ताका लेखक एडविन म्याकडोनेलले न्युयोर्क टाइम्स पत्रिकामा पछुताउँदै लेखेका थिए, एकपछि अर्को कम्पनी किन गाभिदैछन् ? यस किसिमको मर्जर पुस्तक क्रेताका कोणबाट आजसम्म फाइदाजनक देखिएको छ र ? छैन भने नाफाका लागि मात्र साहित्यजस्तो क्षेत्रमा काम गरिनु उचित होला र ?

हुन पनि ७० र ८० को दशकमा स्वतन्त्र प्रकाशक निकै नै जन्मिएका थिए । तर ती सबै प्रकाशकका लागि वितरक भनेका केही सीमित नै थिए । तिनले संसारभरिका पुस्तक वितरण सम्हालेका थिए । तिनीहरू पहिले बिग सिक्सका रूपमा प्रख्यात थिए, जुन २०१३ मा पेइन्गुइन र रेन्डम हाउस गाभिएर हाल बिग फोर बन्न पुगेका हुन् ।

अ हिस्ट्री अफ बुक पब्लिसिङ इन द युनाइटेड स्टेट्समा जोन तेबेल लेख्छन्, ‘किताब प्रकाशनमा ठूला कम्पनी आएर के भो ? तिनले फाइदा नै ल्याए । तिनले लेखकका लागि अवसर भित्र्याए, सँगैमा खतरा पनि ल्याए र आफूलाई वृहद् रूपमा विस्तारसमेत गरे । कतिसम्म भने पोप जोन पल द्वितीयको संस्मरण क्रसिङ द थ्रेसहोल्ड अफ होप (१९९४) का लागि ८५ लाख डलर तिर्ने क्षमता बढ्यो । बाराक ओबामा र मिसेल ओबामा दुवैको संस्मरणका लागि ६ करोड ५० लाख डलरको प्याकेज ल्याइयो । त्यो प्याकेजले अ प्रमिस्ड ल्यान्ड र बिकमिङजस्ता पुस्तक बजारमा मात्र आएनन्, पाठकको दायरा बढाउनसमेत भूमिका खेल्यो ।

त्यसो त लेखक बन्नु र लेखेरै कमाउनु भनेको चाहिँ आकाशको फल नै भएको छ । लेखक संघ (अथर्स गिल्ड)ले सन् २०१८ मा गरेको एउटा सर्भेले विविध विधामा लेख्ने ५ हजारभन्दा बढी लेखक २० हजार डलरभन्दा बढी नकमाएको देखिएको थियो । उनीहरूको काम नै वर्षभरि लेख्ने भए पनि तिनको आम्दानी बढ्न सकेको देखिएन ।

लेखनमा सबैभन्दा चर्को कुरा चाहिँ पाठकको स्वाद हो । पाठकको स्वादभन्दा बाहिरका पुस्तक निकाल्न प्रकाशकहरू हच्किने गरेका छन्, जसका कारण विविध विधाका पुस्तक बजारमा निस्कन सकेका छैनन् । बरू स्वतन्त्र प्रकाशकहरूले विविध पुरस्कार जित्ने गरेका छन् तर ठूला प्रकाशकका पुस्तकले विरलै त्यस्ता पुरस्कार हात पार्ने गरेका छन् । यस वर्षको बुकर पुरस्कार हात पार्ने डग्लस स्टुआर्टको सुगी बेइन ३२ पटक अस्वीकृत उपन्यास हो । यस कारण यो पुस्तक अस्वीकृत भएको थियो कि प्रकाशकहरूले निम्नस्तरको काम गरी खाने वर्गको एउटो केटोको कोणबाट लेखिएको पुस्तक संसारभरका पाठकले पढ्छन् कि पढ्दैनन् भन्ने दुविधा थियो ।

पछिल्लो पटक लेखकहरू सिर्जनामा भन्दा बढी मार्केटिङ टुलका रूपमा उपयोग भइरहेका तर्फ पनि कतिले चित्त बुझाएका छैनन् । उनीहरूलाई सामाजिक सञ्जालमा हाइफाइ देखिनुपर्ने बाध्यता सिर्जना भइरहेको छ । उनीहरूका रचना बारम्बार मेडियम र सबस्टाकजस्ता देखिनुपर्ने, नत्र उनीहरू लेखकमै गन्ती नहोलान् कि भन्ने डर सिर्जना गर्ने गरिएको छ ।

रोचक के छ भने यतिबेला महामारीका कारण विभिन्न साहित्य सम्मेलन अनलाइन नै सम्पन्न हुन थालेका छन् । लेखकहरू यस्ता कार्यक्रममा बोल्न नाइँ पनि भन्न नसक्ने, चाहिँदोभन्दा बढी समय तिनलाई दिइनुपर्ने, लामो तयारी गर्नुपर्ने तर सुक्को आम्दानी नहुने हुनाले धेरै पलायन हुनुपर्ने अवस्थामा पनि छन् । तर यसमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको विज्ञहरू बताउँछन् । कतिपय लेखकहरूले विभिन्न संस्थाहरूसँगको सहकार्यमा काम गरिरहेका छन् । तिनले सामान्य अवस्थामाभन्दा बढी पनि कमाइरहेका छन् । जस्तो कि, आफ्नो रूचिको लेखनीमा आधारित संघसंस्थाहरूसँग मिलेर ती विषयमा जनचेतना बढाउन न्युजलेटर लेखिदिने, तिनै विषयमा साना कथा र लघुउपन्यास तयार पारी अनलाइनमा सित्तैमा बाँड्नेजस्ता कार्यबाट उनीहरूले पैसा कमाइरहेका छन् ।

जति जति सम्भावना खुम्चिदै जान्छ, सिर्जनशील दिमागले नयाँ नयाँ बाटो खोल्दै जाने नै छन् । त्यसैले यस्ता मर्जर र खुम्चदै गएका प्रकाशन संस्थाहरूबाट डराउन नहुने केहीको सुझाव छ ।