साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मानिस केले बाँच्ने गर्छ ?

प्रसिद्ध रूसी साहित्यकार लियो टोल्सटोयको नेपालीमा अनुवाद गरिएको कथा
अनुवादक: प्रकाशकुमार शर्मा

 

रूसको कुनै गाउँमा आफ्नो नाउँमा एकबित्ता पनि जग्गाजमिन नभएको सिमोन नाउँ गरेको एउटा गरीब सार्की बस्थ्यो । त्यसैले उसले आफ्नी श्रीमती र छोराछोरीहरू राख्नलाई एउटा किसानको छाप्रो भाडामा लिएको थियो र ज्यालादारीबाट पेट पाल्थ्यो । ज्याला सस्तो थियो तर रोटी महङ्गो थियो त्यसैले उसले कमाएजति सबै खानामा खर्च भाइहाल्थ्यो । हिउँदमा लगाउन भनेर सिमोन र उसकी श्रीमती दुवै जनाका लागि भेडाको छालाको एउटामात्रै कोट थियो; त्यही पनि पुरानो र ठाउँठाउँमा फाटिसकेको । नयाँ कोट सिलाउन भनेर सिमोनले भेडाको छाला किन्नखोजेको पनि दुई वर्ष भइसकेको थियो । यसपल्ट भने हिउँद लाग्नुअघि नै केही पैसा जोगाउन सिमोन सफल भयो । तीन रूबल स्वास्नीको कन्तुरमा लुकाइराखेको थियो अनि गाउँका गाहकीहरूबाट उसले पाँच रूबल र बीस कोपेक उधारो उठाउन बाँकी थियो ।

लियो टोल्सटोय

एक बिहान उसले भेडाको छाला किन्न गाउँतिर जाने तयारी गर्‍यो । कमिजमाथि उसले श्रीमतीको ज्याकेट लगायो अनि त्यसमाथि कपडाको कोट पनि लगायो । स्वास्नीको कन्तुरबाट पैसा निकाल्यो र खल्तीमा हाल्यो र बिहानको नास्ता खाएर लठ्ठी टेक्दै गाउँतिर निस्कियो । “उठाउँन बाँकी पाँच रूबल त उठाइहाल्छु,” उसले सोच्यो, “आफूसित भएको तीन रूबल थप्छु । यति पैसाले त जाडोको कोट सिलाउन भेडाको छाला किन्न जत्ति पनि पुग्छ ।”
ऊ गाउँमा आयो र किसानको छाप्रोमा गएर बोलायो तर घरको मालिक थिएन । किसानकी श्रीमतीले अर्को सातासम्ममा उधारो चुकाउने वचन दिई । सिमोन अर्को किसानकहाँ गयो । तर त्यसले आफूसँग पैसा छैन भनेर किरिया खायो र सिमोनलाई तिर्न बाँकीमध्ये जम्मा बीस कोपेक मात्रै दियो । पैसा उठाउन नसके पछि सिमोनले उधारोमा भेडाको छाला किन्ने कोसिस नगरे पनि होइन तर व्यापारीले उसलाई पत्याएन ।
“नगद ल्याएर ल्याऊ‚ रोजीछानी छाला लैजाऊ‚” त्यसले भन्यो । जम्माजम्मी बीस कोपेक उधारो उठाउनू र एकजना किसानले मर्मत गर्न दिएको एकजोर बाक्लो ऊनी कपडाको बुट बोकेर ल्याउनु मात्रै बिचरो सार्कीको त्यसदिनको उपलब्धी भयो ।
सिमोन निराश भयो । उसले भोड्कामा बीस कोपेक खर्च गर्‍यो र छालासाला नकिनी फर्कियो । बिहान उसलाई जाडो लागेको थियो । तर अब भोड्का पिइसकेपछि भेडाको छालाको कोटबिनै पनि उसलाई न्यानो लाग्यो । एक हातले तुषारो जमेको भूइँमा ट्वाकट्वक हिर्काउँदै र अर्को हातले ऊनी कपडाका बुट हल्लाउँदै ऊ एक्लै केके कुरा फलाक्दै घरतिर हिँड्यो ।
“भेडाको छालाले बनेको कोट नलगाए पनि मलाई त न्यानै छ,” उसले भन्यो, “अलिकति तीनपाने के लगाएको थिएँ यसको नशा त मलाई मजैले चढेछ‚ भेडाको छाला के चाहियो र । त्यो नभए पनि मलाई बालै भएन । म भेडाको छालाको कोटबिना पनि बाँच्न सक्छु । तर यो पक्का हो कि मेरी श्रीमती भने सुर्ताउनेछ । मैले दिनभरि काम गरेर पनि आफ्नो ज्याला नपाउनु त लाजमर्नु हो । एकछिन पर्ख त ! तिमीले मेरो उधारो तिरेनौ भने पक्का हो म तिम्रो छाला काढेर कोट लगाउँछु; भेडाको होइन । फेरि भन त ? तिमीले एक पटकमा जाबो बीस कोपेक दिने ! के गर्नु मेले त्यो कोपेकले ? पिउने‚ अरू के नै गर्नसकिन्छ र त्यो जाबो पैसाले ! तिमीहरूले गोजी रित्तै छ भन्दा हुने; साँच्चै होला रे । अनि मेरो हालचाहिँ के नि ? तिमीसँग आफ्नै घर छ, गाईवस्तुहरू छन्, सबथोक छ । मेरो हेर त सम्पत्तिका नाउँमा यी यही आङ्का लुगा मात्रै हुन् । तिमी मकै आफै उमार्छौ मैले त हरेक अनाज किन्नुपर्छ । खुरुक्क मेरो उधारो तिर; अरुलाई मूर्ख बनाउन नखोज !”
यसरी फत्फताउँदै ऊ सडकको कुइनेटोमा रहेको प्रार्थनाघर नजिक आइसकेको थियो । मास्तिर हेर्दा उसले प्रार्थनागृहको पछिल्तिर केही सेतोसेतो चिज देख्यो । दिन ढल्दैथियो त्यसैले उसले त्यो वस्तुलाई नियालेर हेरे पनि के हो भनेर खुट्याउन सकेन । “पहिले यहाँ कुनै सेतो ढुङ्गो त थिएन । के यो साँढे होला त ? साँढे जस्तो पनि छैन । यसको टाउको त मानिसको जस्तो छ तर यो धेरै सेतो छ । यस्तो चिसोमा त्यहाँ मान्छे के गरेर बस्छ ?”
नजिक पुगेपछि ऊ तीनछक्क पर्‍यो त्यो त वास्तवमा मान्छे नै थियो । जिउँदो हो कि मरेको हो ठम्म्याउन नसक्किने‚ पूरै नाङ्गो अनि प्रार्थनागृहमा अडेस लागेको । सिमोन डरले काम्यो । उसले सोच्यो, “कसैले यसलाई मारेर नाङ्गै पारी यहाँ ल्याएर छोडिदियो होला । म यसको नजिक गएँ भने पक्कै पनि झमेलामा पर्छु ।”

प्रकाशकुमार शर्मा

यति विचार गरेर ऊ तर्किएर हिँड्यो । त्यस मानिसलाई देखर्नुपर्ला कि भनेर ऊ प्रार्थनागृहको अघिल्तिरबाट भएर गयो । अलिकति अगाडि गएर हेर्छ त त्यस मानिसले आफैलाई हेरिरहेको; सिमोन पहिलेभन्दा झन् डरायो र सोच्यो, “फर्केर जाऊँ कि बाटो तताऊँ ? उसको नजिक गयो भने खतरामा पर्नसक्छु । कसलाई थाहा र त्यो कस्तो मानिस हो ? उसको नजिक गएँ भने उफ्रेर त्यसले मलाई घाँटी अँठ्याएर मार्ला । मामाथि जाइ लागेन भने पनि मलाई त्यो घाँडो बन्नसक्छ । त्यस नाङ्गो मान्छेका निम्ति मैले गर्नसक्नै कुरा नै के छ र यिनै आफूले लगाएका लुगा फुकालेर दिए मात्रै त हो ।”
यस्तै सोचेर सिमोन फटाफट लम्कियो । तर अचानक उसको विवेकले उसलाई धिकार्‍यो र ऊ टक्क अडियो ।
“सिमोन, तँ के गर्दैछस् ?” उसले आफैंलाई भन्यो‚ “त्यो मान्छे मर्न लागेको पनि हुनसक्छ तँचाहिँ तर्सेर भाग्ने । के तँ त्यति धनी छस् र त्यसले तँलाई लुट्ला कि भनी डराएको ? छि: तँलाई त लाज लाग्नुपर्ने ।”
ऊ फरक्क फर्कियो र त्यो मानिस भएको ठाउँमा गयो ।
त्यस मानिसको नजिक पुगेपछि सिमोनले देख्यो कि त्यो त जवान र तन्दुरुस्त थियो अनि उसको शरीरमा कुनै चोटपटक लागेको पनि थिएन । तर ऊ जाडोले कामेको र डराएको भने प्रष्टै देखिन्थ्यो । सिमोन उसको नजिकै गएपछि उसले आँखा उघारेर सिमोनलाई हेर्‍यो । त्यसको पहिलो हेराइ नै सिमोनलाई त्यो मानिस मन पर्नुको कारण बन्यो । उसले आफूले बोकेका जुत्ता भुइँमा फ्याँक्यो अनि आफूले लगाएको कोट फुकाल्दै‚ “यो फाल्तु कुरा गर्ने समय होइन,” भन्दै‚ “ल यो कोट लगाइहाल” भनेर त्यस मानिसको कुहिनो समात्यो र उठ्न मद्दत गर्‍यो । नौलो मानिस उभिए पछि सिमोनले त्यसको जिउ सुग्घर अनि हातखुट्टा सल्सलाउँदा भएको पायो । अनि उसको मुहार सुन्दर र दयालु देखिन्थ्यो । सिमोनले आफ्नो कोट त्यस मान्छेको काँधमा राखिदियो तर त्यसले कोट लगाउन जानेन । सिमोनले त्यसका हात कोटमा बाहुलामा छिराइदियो र जिउमा राम्ररी लपेटिदिएर कोटका फित्ता पनि बाँधिदियो ।
सिमोनले आफ्नो च्यातिएको टोपी पनि त्यसलाई लगाइदिने विचारले फुकाल्यो तर यसो गर्दा उसको आफ्नै टाउको चिसो भयो अनि उसले सोच्यो‚ “म त पूरै तालुखुइले छु तर यसको त घुम्रेको लामो कपाल रहेछ।” यति गमेर टोपी फेरि आफ्नै टाउकोमा लगायो । “उसलाई बरू खुट्टामा केही लगाइदिनु असल होला ।” भन्ठानेर उसले त्यसलाई बस्न लगायो र मर्मत गर्न भनेर ल्याएका बाक्लो ऊनी कपडाका बुटहरू लगाउन मद्दत गर्‍यो ।
“लौ त साथी अब हिँड र जिउलाई न्यानो पार । अरु कुरा गर्दै गरौंला । हिँड्न सक्छौ ?”
त्यो मानिस उठ्यो र सिमोनलाई मायालु भई हेर्‍यो तर एक शब्द पनि बोलेन ।
“तिमी किन बोल्दैनौ ?” सिमोनले भन्यो। “यहाँ बसिरहन धेरै ठन्डी छ, हामी घर जानैपर्छ । तिमीलाई हिँड्न गाह्रो भएको भए मेरो लठ्ठी समाऊ । हामी यहाँबाट हिँडौं ।”
त्यो नौलो मानिसले पाइला चाल्यो र सिमोनभन्दा पछि नपरिकनै सरासर हिँड्यो ।
सँगै हिँडिरहँदा सिमोनले उसलाई सोध्यो, “तिमी कहाँबाट आएका हौ ?”
“म यतातिरको होइन ।”
“मलाई पनि त्यस्तै लाग्यो । यता वरपरका मान्छेहरूलाई त म चिन्दछु । तर तिमी प्रार्थनागृहमा कसरी आइपुग्यौ ?”
“म भन्न सक्दिनँ ।”
“के कसैले तिमीलाई दुर्व्यव्यवहार गर्‍यो ?”
“होइन‚ ईश्वरले मलाई दण्ड दिएका हुन् ।”
“साँचै हो । सबैमाथि शासन गर्ने त उनै ईश्वर हुन् । तैपनि तिमीले कहिँ खाना र बास खोज्नुपर्ने हुन्छ । कता जान्छौ ?”
“जता गए पनि मलाई उस्तै त हो ।”
सिमोन छक्क पर्‍यो । त्यो मानिस नराम्रो चालको त देखिँदैनथ्यो अनि भलाद्मीपाराले बोल्थ्यो । तर आफ्नो कुनै कुरा पनि खोल्दैनथ्यो । “कसलाई थाहा र यस विचरालाई के भएको थियो ।” सिमोनले सोच्यो अनि त्यस अपरिचितलाई भन्यो‚ “त्यसोभए ठीकै छ मसँगै मेरो घरमा हिँड र कम्तिमा एकछिन भए पनि ज्यान तताऊ ।”
सिमोन घरतिर लम्कियो अनि अपरिचितले उसलाई पछ्यायो । बतास चर्को चल्यो र सिमोनले स्वास्नीको ज्याकेटमात्रै लगाएको हुनाले उसलाई चिसो भयो । ठन्डीले जिउ नै जम्ला जस्तो भयो र बारम्बार उसले आफ्नो नाक पुछिरह्यो अनि स्वास्नीको ज्याकेट जिउमा राम्ररी लपेट्यो । उसले मनमनै सोच्नलाग्यो‚ “म त भेडाको छाला किन्न निक्लेको थिएँ तर फर्किँदा साथमा भएको कोट पनि अर्कैलाई लगाइदिएर फर्किँदैछु । त्यसमाथि एउटा नाङ्गोभुतुङ्गो मानिसलाई साथमा लगाएको छु । म्याट्रिओना पक्कै खुसी हुनेछैन !” स्वास्नीका कुरा सम्झेपछि ऊ विरक्त भयो । तर जब उसले अपरिचितलाई हेर्‍यो र प्रार्थनागृहमा उसको खोजिनीति गरेको सम्झियो; उसको मन प्रफुल्लित भयो ।
त्यस दिन सिमोनकी स्वास्नी म्याट्रिओनाले सबै कामधन्दा बेलैमा सकी । उसले दाउरा चिरी, पानी ल्याई, बच्चाहरूलाई खुवाई, आफूले पनि खाई र पाउरोटी कहिले बनाउनेहोला भनेर डोलिन थाली; “आजै बनाऊँ कि भोलि ?” पाउरोटीको एउटा ठूलो टुक्रो अझै बाँकी नै थियो । “सिमोनले पसलतिरै केही खाएको रहेछ भने र घरमा आएर धेरै खान मन गरेन भने पाउरोटी अर्को दिनलाई पनि पुग्छ ।” उसले सोची ।
उसले पाउरोटीको टुक्रो हातमा लिएर बारम्बार जोखी र सोची‚ “म आज बनाउँदिनँ । हामीसँग केवल एकचोटिलाई पाउरोटी बनाउन पुग्ने पिठो मात्रै बाँकी छ । त्यसलाई त हामी शुक्रवारसम्म फारो गर्न सक्छौं ।”
त्यस्तै सोचेर म्याट्रिओनाले बचेको पाउरोटी रोटी राखी र टेबुलनिर बसेर लोग्नेको फाटेको कमिज टाल्न थाली । कमिज सिलाइरहँदा सिमोनले कस्तो छाला किन्योहोला भनेर सोच्नथाली ।
“छाला बेच्ने त्यो एउटै पसलेले उसलाई ठग्यो कि कतै ! मेरो सोझो लोग्ने कसैलाई ठग्दैन तर उसलाई त बच्चाले पनि उल्लु बनाउन सक्छ । आठ रूबल भनेको स्यानो पैसा होइन । त्यति पैसाले त राम्रो कोटै किन्न पाइन्छ छाला मात्रै हो र । गएको वर्षको हिउँदमा गतिलो कोट नभएर कति गाह्रो भयो । ऊ बाहिर जाँदा हामीसित भएका सबै लुगा खप्टाएर जान्छ र मेरो लागि केही पनि बाँकी रहँदैन । लुगा नभएर म कतै जान पाउँदिनँ । आज ऊ धेर सबेरै त गएको होइन तर अहिलेसम्म त फर्किसक्नुपर्ने । कतै ऊ भट्टितिर त लागेन !”
म्याट्रिओनाले यस्तो सोचिभ्याएकी मात्रै थिई; दैलोमा हिँडाइको आवाज सुनि अनि कोही भित्र पस्यो । म्याट्रिओनाले सियोलाई कमिजमै सिउँरी र बाहिर निस्की । त्यहाँ उसले दुईजना मानिस देखी; सिमोन र कपडाको बुट लगाएको टोपीबिनाको मानिस ।
म्याट्रिओनाले उसको लोग्नेले रक्सी खाएको पत्तो लगाई । “रक्सी पो धोकेको रहेछ ।” उसले मनमनै भनी र देखी कि सिमोनले कोट लगाएको थिएन‚ आफ्नो ज्याकेट मात्र लगाएको छ अनि भेडाको छालाको कुनै पोको ल्याएको छैन । सिमोन लाजले भुतुक्कै भएर चुपचाप उभिएको थियो । म्याट्रिओनाको मन निराशाले चुँडियो । “पैसा जति पिएर सक्यो,” उसले सोची, “यही बेकम्मा मानिससित पिएर सक्यो होला ।”
म्याट्रिओनाले तिनीहरूलाई छाप्रोतिर जान दिई । अनि आफू पनि तिनीहरूका पछिपछि लागी । उसले देखी त्यो नौलो मानिस पातलो र जवान छ अनि त्यसले सिमोनको कोट लगाइराखेको छ । उसले कोटको भित्रपट्टि कमिज लगाएको थिएन न त टोपी नै लगाएको थियो । घरभित्र छिरेर पनि त्यो मानिस ठिङ्ग उभिइरहेको थियो; टाउको झुकाएर । म्याट्रिओनालाई लाग्यो‚ “यो पक्कै खराब मानिस हुनुपर्दछ नत्र किन डराउनुपर्थ्यो र ।”
तिनीहरूले अब के गर्छन् भनेर हेर्नलाई म्याट्रिओना अगेनुछेउ गएर बसी । केही पनि नभएकोजस्तो गरी सिमोन टोपी फुकालेर बेन्चमा गएर बस्यो ।
“लौ म्याट्रिओना‚ खाना तयार छ भने हामीलाई केही खान देऊ ।”
म्याट्रिओना आफैसित बर्बराई तर डेग चलिन । पालैपालो तिनीहरूलाई हेरी र मुन्टो हल्लाई । सिमोनले आफ्नी स्वास्नी क्रोधित भएकी छ भन्ने चाल पायो तर केही पनि थाहा नपाएकोजस्तो गरेर नौलो मानिसको हात समातेर भन्यो‚ “बस साथी । हामी केही खानेकुरा खाऔं ।”
अपरिचित बेन्चमा बस्यो ।
“हाम्रो लागि केहि पनि पकाएको छैन ?” सिमोनले फेरि सोध्यो ।
म्याट्रिओनाको रीस भुलुक्कै उम्लिएर पोखियो । “मैले पकाएकी त छु तर तिम्रो लागि होइन । तिमी त भेडाको छाला किन्न गएका थियौ तर रक्सीले टिल्ल परेर भएको एउटै कोट अर्कैलाई लगाइदिएर आयौ । अझ यतिले नपुगेर यो नाङ्गो अपराधीलाई पनि सँगै ल्यायौ । तिमीहरूजस्ता जँड्याहालाई दिन मसित केही खानेकुरा छैन ।”
“भयो म्याट्रिओना । बिनाकारण नचिल्लाऊ । बरू तिमीले सोध्नुपर्ने यो कस्तो किसिमको मानिस…।”
“लौ भन‚ पैसा के गर्‍यौ ?” म्याट्रिओना सिमोनको कुरा बीचैमा काटेर कड्किई ।
सिमोनले ज्याकेटको खल्तीबाट तीन रूबल बाहिर निकाल्यो र भन्यो‚ “यहाँ छ । त्रिफोनोफले पैसा दिएन तर छिट्टै तिर्छु भनेको छ ।”
म्याट्रिओना झन् रिसाई । सिमोनले भेडाको छाला किनेको थिएन उल्टै आफूसित भएको कोट एउटा नाङ्गो मान्छेलाई लगाइदिएर उसलाई आफूसितै घरमा ल्याएको थियो ।
उसले टेबुलबाट नोट टप्प टिपी र भनी‚ “म तिमीहरूलाई खाना खुवाउन सक्दिनँ । संसारका सबै नग्न मतवालाहरूलाई हामी घिचाउन सक्दैनौं ।”
“म्याट्रिओना मुख सम्हाल । पहिला सुन यो मानिसको भन्नु के छ…”
“जँड्याहा मूर्खबाट म केचाहिँ उपदेश सुन्न पाउँछु ? तिमी रक्स्याहासित मैले विहे गर्न नचाहेको ठीकै थियो । कोट सिलाउने छाला किन्न गएको मान्छे सबै पैसा पिई सिध्यायौ !”
सिमोनले श्रीमतीलाई आफूले बीस कोपेक मात्र खर्च गरेको कुरा सम्झाउन खोज्यो । उसले त्यो मान्छे कसरी फेला पारेको थियो भन्ने कुरा पनि बताउन चाह्यो । तर म्याट्रिओनाले उसलाई एक शब्द पनि बोल्न दिईनँ । दशौं वर्ष अगाडिका कुरा झिकेर फतफताइरही । अन्तमा सिमोनमाथि जाइलागी र ज्याकेटको बाहुला तानी ।
“मेरो ज्याकेट देऊ । मसित भएको यही एउटा हो । त्यही पनि तिमी आफैले लगाउनलाई मबाट यो खोस्छौ । घीनलाग्दो कुकुर ! तिमीलाई पिसाचले लगोस् !”
सिमोनले ज्याकेट फुकाल्न थाल्यो । म्याट्रिओनाले लुछी र त्यो ध्यार्र च्यातियो । उसले ज्याकेट थुतेर काँधमा हाली र ढोकासम्म गई । ऊ बाहिर जानखोजेकी थिई तर निधो गर्न नसकेर रोकिई । ऊ आफ्नो रीस मार्न चाहन्थी तर नौलो मान्छे कस्तो होला भन्ने खुल्दुली पनि उसलाई थियो ।
म्याट्रिओना रोकिई र भनी‚ “यो असल मानिस हुँदो हो त नाङ्गो किन हुन्थ्यो र । यससित एउटा कमिजधरि छैन । गतिलो मान्छे भएको भए त तिमीले यसलाई कहाँ भेट्टायौ भनिहाल्ने थियौ नि ।”
“म तिमीलाई भन्न खोज्दैथिएँ”‚ सिमोनले भन्यो, “म प्रार्थनागृहमा आइपुग्दा मैले उसलाई जाडोमा नाङ्गै कठ्याङ्ग्रिएको देखें । नाङ्गै बाहिर बसिरहनलाई यो राम्रो मौसम होइन ! ईश्वरले यसलाई मकहाँ पठाइदिए नत्र त ऊ मरिसक्थ्योहोला । म के गरू ? यसलाई जे पनि हुनसक्थ्यो नि । त्यसैले मैले यसलाई आफ्ना लुगा लगाइदिएँ‚ किसानले मर्मत गर्न दिएका बुट पनि लगाइदिएँ र साथमा लिएर आएँ । यसरी नरिसाऊ म्याट्रिओना । यो पाप हो । एक दिन हामी सबैले मर्नैपर्छ भन्ने नबिर्स ।”
म्याट्रिओना सिमोनलाई मुखभरिको जवाफ दिन उठी तर नौलो मानिसलाई देखेर चुप लागी । त्यो मानिस बेन्चमा निश्चल भई बसेको थियो; टाउको छातीसम्मै झुकेको, आँखा बन्द र भृकुटीहरू खुम्चिएका‚ गहिरो पीडामा भएजसरी । म्याट्रिओना चुप बसेको मौका छोपेर सिमोनले भन्यो‚ “म्याट्रिओना, के तिमी ईश्वरलाई प्रेम गर्दिनौ ?”
सिमोनको यो वचन सुन्नै बित्तिकै म्याट्रिओनाले त्यस अपरिचितलाई हेरी अनि अचानक उसको मन त्यसप्रति पग्लियो । ऊ ढोकाबाट फर्केर भित्र आई र अगेनोमा गएर खाना निकाली । टेबुलमा कप राखी र त्यसमा अलिकति कभास नाउँ गरेको रूसी पेय राखी । त्यसपछि उसले चम्चा र चक्कुको साथमा बचेको पाउरोटीको अन्तिम टुक्रो ल्याएर राखिदिई ।
“खान मन लागेको भए खाओ ।” उसले भनी ।
सिमोनले अपरिचितलाई टेबुलमा तान्यो र भन्यो‚ “यता बस नौजवान ।”
सिमोनले पाउरोटी काट्यो र टुक्राटुक्रा पारेर कभासमा चोप्यो र तिनीहरू खान थाले। म्याट्रिओना टेबलको कुनामा बसेर हातले टाउको अड्याएर तिनीहरूले खाएको हेरिरही ।
अनि म्याट्रिओना त्यस अपरिचितप्रति दयाले भरिई र आफैलाई माया गर्न थाली । एकाएक त्यस अपरिचितको अनुहार उज्यालो भयो । त्यसका भृकुटीहरू अब खुम्चिएका थिएनन् । उसले आँखा उठायो र म्याट्रिओनालाई हेरेर मुस्कायो ।
तिनीहरूले खाना खाइसकेपछि टेबुल पुछपाछ पार्दै उसले त्यस अपरिचितसित कुरा गर्नलागी । “तिमी कहाँका हौं ?”
“म यतातिरको होइन ।”
“यहाँ सडकहुँदो कसरी आइपुग्यौ त ?”
“म भन्न सक्दिन ।”
“कसैले तिमीलाई लुट्यो कि ?”
“ईश्वरले मलाई सजाय दिए ।”
“तिमी त्यहाँ नाङ्गै थियौ ?”
“हो, नाङ्गै र कठ्याङ्ग्रिएको थिएँ । सिमोनले मलाई देखे र ममाथि दया देखाए । उनले आफ्नो कोट खोलेर लगाइदिई मलाई यहाँ ल्याए । तिमीले मलाई टिठ्याएर खुवायौपिलायौ । ईश्वरले तिमीलाई इनाम दिनेछन् !”
म्याट्रिओना उठी र झ्यालमा राखेको टाल्दै गरेको सिमोनको कमिज ल्याएर अरिचितलाई दिई । भित्र पसेर उसले अपरिचितको लागि एक जोडी सुरुवाल पनि ल्याइदिई । यी लुगा लगाऊ र अगेनो छेउ वा मचान जता सुत्न मन लाग्छ सुत ।”
अपरिचितले कोट फुकाल्यो र कमिज लगायो अनि मचानमा गएर सुत्यो । म्याट्रिओनाले मैनबत्ती निभाई‚ कोट लिई र लोग्ने सुतेको ठाउँमा गएर पल्टिई । ऊ कोट ओढेर ढल्की तर निदाउन सकिन किनभने उसले आफ्नो दिमागबाट त्यस अपरिचितलाई हटाउन सकेकी थिइन ।
जब उसले त्यस अजनबीले बचेको पाउरोटीको अन्तिम टुक्रो खाइदिएको र भोलि खानका लागि केही पनि नरहेको‚ अनि लोग्नेको सुरुवाल र कमिज पनि आफूले त्यसलाई दिएको सम्झी उसलाई केही पछुतो लाग्यो । तर जब आफूले खाना दिएपछि त्यो मानिस कसरी मुस्कुराएको थियो भन्ने याद गरी उसको मन त्यसै फुरुङ्ग भयो ।
धेरैबेरसम्म ननिदाइकै ऊ त्यतिकै ढल्किरही । सिमोनले कोट आफूतिर तानेपछि ऊ पनि जागैरहेछ भन्ने चाल पाई ।
“सिमोन !”
“किन ?”
“तिमीहरूले बाँकी सबै पाउरोटी खायौ । भोलि के खाने हो मलाई थाहा छैन । छिमेकी मार्थासित अलिकति सापट त माग्छ सकिन्छ होला ।”
“हामी जिउँदा छौं भने खानका लागि केही न केही भेट्टाउने छौं म्याट्रिओना चिन्ता नगर ।”
ऊ एकछिन यत्तिकै पल्टिरही र फेरि भनी, “त्यो असलजस्तो देखिन्छ तर किन हामीलाई आफ्नो बारेमा केही पनि भन्दैन ?”
“उसका आफ्नै कारण होलान् म्याट्रिओना छोडिदेऊ ।”
“सिमोन !”
“किन ?”
“हामी गरिब छौ र पनि अरूलाई दिन्छौ तर किन कसैले हामीलाई केही दिँदैन ?”
यसको जवाफ के दिनुपर्ने हो सिमोनलाई मेलोमेरो आएन त्यसैले उसले केवल भन्यो, “अब कुरागर्न बन्द गरौं के ।” अनि ऊ कोल्टे फर्किएर निदाउने चेष्टा गर्नथाल्यो ।
*********************************************************************************
सिमोन बिहानै ब्यूँझियो । बच्चाहरू अझै निदाइरहेका थिए; उसकी स्वास्नी छिमेकमा पैँचो माग्न गएकी थिई । पुरानो कमिज र सुरुवाल लगाएको त्यो अपरिचित भने माथितिर हेर्दै बेन्चमा एक्लै बसिरहेको थियो; हिजोकोभन्दा अनुहार उज्यालो पारेर ।
सिमोनले उसलाई भन्यो, “ठीकै छ साथी‚ पेटले रोटी माग्छ नाङ्गो जिउले लुगा ! बाँच्नको लागि काम गर्नुपर्छ‚ तिमी के काम गर्न जान्दछौ ?”
“मलाई केही काम थाहा छैन ।”
सिमोन छक्क पर्‍यो तर पनि भन्यो, “सिक्न चाहनेले जे पनि सिक्नसक्छ ।”
“मानिसहरूले काम गर्छन् त्यसैले म पनि काम गर्दछु ।”
“तिम्रो नाम के हो ?”
“मिखायल ।”
“तिमी आफ्नो बारेमा कुरा गर्न चाहदैनौ भने ठीक छ । त्यो तिम्रो निजी मामला हो तर तिमीले आफ्नो जीविका आफै चलाउनुपर्छ । मैले भनेको जसरी काम गर्छौ भने म तिमीलाई खाने र बस्ने सुविधा दिन्छु ।”
“ईश्वरले तिमीलाई इनाम दिऊन् ! म सिकौंला । के गर्नुपर्ने हो सिकाऊ ।”
सिमोनले धागो लियो, बूढी औंठीमा राख्यो र त्यसलाई घुमाउन शुरू गर्‍यो ।
“हेर त यो सजिलै छ !”
मिखायलले उसलाई हेर्‍यो, केही धागो सिमोनले राखेजसरी नै आफ्नो औंठामा राख्यो, ढकनी समात्यो र धागो कात्यो ।
सिमोनले उसलाई कसरी धागोमा मैन दल्ने भन्ने कुरा पनि गरेर देखायो । यो काममा पनि मिखायल उत्निखेरै पोख्त भयो । अनि सिमोनले उसलाई छालालाई कसरी घुमाएर सिउने भनी देखायो र यो पनि मिखायलले एकैचोटिमा सिक्यो ।
सिमोनले उसलाई जे देखाउँथ्यो त्यो कुरा मिखायलले एकैचोटिमा बुझ्थ्यो । तीन दिनपछि त उसले आफ्नो जीवनभरि नै जुत्ता सिलाएजसरी पारङ्गत भएर काम गर्नथाल्यो । ऊ एकछिन पनि नबिसाई काम गर्थ्यो तर खाना भने थोरै खान्थ्यो । काम सकिसकेपछि ऊ मास्तिर हेर्दै चुपचाप बस्थ्यो; मुस्किलैले सडकतिर निसक्न्थ्यो‚ आवश्यक परेको बेला मात्र बोल्थ्यो, न त कहिल्यै ठट्टा गर्‍यो न त कहिल्यै हाँस्यो । सिमोनको घरमा आएको पहिलो साँझ म्याट्रिओनाले ऊनीहरूलाई खाना खान दिएको बेलामा बाहेक तिनीहरूले उसलाई मुस्कुराएको कहिल्यै देखेनन् ।
दिन‚ हप्ता‚ महिना हुँदै वर्षदिन बित्यो । मिखायल सिमोनसँगै काम गर्दै बस्यो । यतिन्जेलमा उसको नाउँ वरिपरिका गाउँसम्म फैलिइसकेको थियो । सिमोनको कामदार मिखायललेजस्तो मसिनो गरी बलिया जुत्ता कसैले पनि सिलाउँन सक्दैन भनी मानिसहरू चर्चा गर्थै । आसपासका सबै जिल्लाका मानिसहरू सिमोनकहाँ जुत्ता सिलाउन भनी आउन थाले । अनि सिमोनको कमाइ पनि राम्रो हुनथाल्यो ।
हिँउदको एक दिन सिमोन र मिखायल काम गरिरहेका थिए । घण्टीहरू भएको तीन घोडे बग्गी छाप्रोअगाडि आयो । झ्यालबाहिर हेर्दा बग्गी तिनीहरूको ढोकाअगाडि रोकिएको देखे । एकजना सुकिलो नोकर झटपट ओर्लियो र मालिकका निम्ति बग्गीको ढोका खोलिदियो । भुवादारी कोट लगाएको एकजना भलाद्मी बाहिर निस्क्यो र सिमोनको छाप्रोतिर बढ्यो । म्याट्रिओना माथिबाट कुदेर आई र ढोका ह्वाङ्ग पारेर खोलिदई । भलाद्मीलाई झुपडीमा पस्न निहुरिनु पर्‍यो । भित्र पसेर उभिँदा उसको टाउकोले झन्डै दलिन छोयो; कोठाको सबै ठाउँ उसैले ओगटेकोजस्तो ।
सिमोन जर्‍याकजुरुक उठ्यो, झुकेर भलाद्मीलाई अभिवादन गर्‍यो र छक्क परेर हेर्‍यो; त्यस्तो मानिस कहिल्यै देखेको भए पो ! सिमोन आफै दुब्लोपातलो थियो, मिखायल पनि दुब्लो नै थियो; म्याट्रिओनाको शरीरमा त झन् हाडछाला मात्रै । तर यो मान्छे भने अर्कै संसारको जस्तो थियो; अनुहार रातोपिरो‚ गर्दन साँढेको जस्तो‚ ज्यान फलामले बनेकोजस्तो मसलदार देखिन्थ्यो ।
त्यस भलाद्मीको दम बढ्यो‚ उसले भुवादारी कोट फुकाल्यो र बेन्चमा बस्दै भन्यो, “तिमीहरूमध्ये कुनचाहिँ जुत्ता बनाउने मालिक हो ?”
“म हुँ मालिक,” सिमोनले अघि सरेर भन्यो ।
अनि त्यस भलाद्मीले ठूलो स्वरले आफ्नो नोकरलाई बोलायो‚ “ए फेडका, छाला ल्याएर यहाँ आइज !”
एउटा पोको बोकेर नोकर हतारमा भित्र पस्यो । भलाद्मीले नोकरको हातबाट त्यो लियो र टेबलमा राख्यो ।
“यो खोल्,” उसले भन्यो । उसको नोकर त्यो खोल्यो ।
भलाद्मीले छाला देखाउँदै भन्यो‚ “यता हेर् सार्की‚ “तैंले यो छाला देखिस् ?”
“देखें मालिक ।”
“तर तँलाई थाहा छ यो कस्तो खाले छाला हो ?”
सिमोनले छाला छाम्यो र भन्यो, “यो राम्रो छाला हो हजुर ।”
“वास्तवमै राम्रो ! हे मूर्ख, तैंले आफ्नो जीवनमा यस्तो छाला कहिल्यै देखेको छैनस् । यो जर्मन छाला हो; बीस रूबल परेको ।”
सिमोन डरायो र भन्यो, “मैले यस्तो छाला कहाँ देख्न पाउनु र हजुर ?”
“ठीक हो ! के तँ यो छालाको बुट सिलाउन सक्छस् ?”
“म सिलाउन सक्छु हजुर ।”
त्यसपछि भलाद्मीले सिमोनलाई कडा स्वरमा भन्यो‚ “तँ सक्छस् ? सक्छस् तँ ? ठीक छ, तर याद राख्नू तँ कसको लागि बुट बनाउँदैछस् अनि छाला कस्तो हो । बनाउन सक्छस् भने लैजा र छाला काट् । तर सक्दैनस् भने भन् । म तँलाई अहिल्यै भन्दिन्छु‚ एक वर्ष नुहुँदै बुटको टाँका खुस्कियो वा छाँट बिग्रियो भने म तँलाई जेल हाल्छु । तर वर्षदिनसम्म मेरा बुट फुटेनन् वा एक वर्षसम्म तिनको छाँट बिग्रिएन भने तँलाई दश रूबल ज्याला दिनेछु ।”
सिमोन डरायो र निर्णय लिनसकेन । उसले मिखायलतिर हेर्‍यो र आफ्नो कुहिनोले यसो मिखायललाई हान्दै‚ “यो म काम लिऊँ ?” भन्दै सुस्तरी सोध्यो ।
मिखायलले टाउको हल्लाउँदै स्वीकृति दियो ।
मिखायलको सल्लाहअनुसार काम लिँदै सिमोनले त्यस भलाद्मीलाई वर्षदिनसम्म बुटको छाँट पनि नबिग्रिने र टाँका पनि नखुस्किने वचन दियो ।
भलादमीले उसको नोकरलाई बोलाएर देब्रे खुट्टाको बुट फुकाल्न अह्रायो ।
“मेरो खुट्टाको नापो लेओ !” उसले भन्यो ।
सिमोनले सत्र इन्च लामो कागजी टेप निकाल्यो र भलाद्मीका खुट्टाको नापो लिन घुँडा टेक्यो । उसका मोजामा दाग नलागोस भनेर सिमोनेले आफ्ना हात एप्रोनमा राम्ररी पुछ्यो । उसले भलाद्मीका पाइतला‚ औंला‚ गोलीगाँठोहुँदै पिँडुलासम्मै नाप्यो । तर त्यो कागजी फित्ता छोटो थियो तर त्यस मानिसका पिँडुलोचाहिँ दलिनजत्रै मोटो ।
“खुट्टा कस्सिने बनाउनु हुँदैन भन्ने जानिराख्नू नि ।”
सिमोनले दुईवटा कागजी फित्ता गाँसेर टाँका लागायो । भलाद्मीले मोजाभित्र आफ्ना औंलाहरू चलाइरहँदा छाप्रो वरिपरि नजर डुलायो र मिखायललाई देख्यो ।
“त्यो को हो ?” उसले सोध्यो।
“मेरो कामदार हो । बुट उसैले सिलाउँछ ।”
“याद राख्” भलादमीले मिखायललाई भन्यो, “यसरी सिलाउनु कि ती बुट मलाई वर्षदिनभरि खपून् ।”
सिमोनले पनि मिखायलतिर हेर्‍यो तर के देख्यो भने मिखायलले त्यस भलादमीलाई हेरेको थिएन तर उसको पछाडि कुनातिर हेरिरहेको थियो मानौं उसले त्यहाँ कसैलाई देखिरहेको थियो । मिखायलले त्यतै हेरिरह्यो र अचानक मुस्कायो र उसको अनुहार उज्यालो भयो ।
“ए मूर्ख, तँ के कुरामा हाँस्दैछस् ?” भलाद्मी गर्जियो । “तैंले बरू यो छालामै ध्यान दिनू ताकि बुट समयमै तैयार होऊन् ।”
“समयमै तैयार हुन्छन् ।” मिखायलले भन्यो ।
“पक्का है त,” भलाद्मीले भन्यो र आफ्नो जुत्ता र भुवादारी कोट लगायो र ढोकामा गयो । तर उसले अडिएर टाउको निहुराउन बिर्सियो; टाउको ढोकाको चौकोसमा नराम्रोसित ठोक्कियो; सराप्दै टाउको सुम्सुम्यो र ऊ बग्गीमा बसेर त्यहाँबाट गयो ।
त्यो मानिस गइसकेपछि सिमोनले भन्यो‚ “कस्तो बलियो मानिस है ! त्यसलाई त फलाम ठोक्ने घनले हाने पनि मार्न सकिन्न । त्यसले झन्डैले चौकोस बाहिर हुत्याएन तर उसलाई अलिकति मात्रै चोट लाग्यो ।”
अनि म्याट्रिओनाले भनी: “ऊ जस्तो गरी बाँच्न पायो भने त बलियो भइहालिन्छ नि । कालले पनि त्यो चट्टानजस्तो मानिसलाई छुनसक्दैन ।”
अनि सिमोनले मिखायललाई भन्यो‚ “ठीक छ, हामीले काम लिइसक्यौं । तर यो छालाको कारणले हामी समस्यामा पर्नुहुँदैन । छाला महङगो छ तर त्यो मानिस रिसाहा; गल्ती गर्ने छुट छैन हामीलाई । हेर्‚ तेरा आँखा तेजिला छन् अनि तेरा हात पनि मेरा भन्दा छिटो चल्छन् । त्यसैले यो छाला तैं काट् ।
मिखायलले आफूलाई अह्राएअनुसार छाला ल्याएर टेबलमा फिँजायो र कैँचीले काट्न थाल्यो ।
म्याट्रिओना त्यहाँ आएर छाला काटेको हेर्न थाली र उसले छाला काटिरहेको तरिका देखेर छक्कपरी । किनभने ऊ बुट बनाएको हेर्दाहेर्दै धेरै कुरा थाहा पाउने भइसकेकी थिई । उसले के चालपाई भने मिखायलले बुट बनाउने भनेर छाला काटिरहेको थिएन तर त्यसले त छाला गोलो पो काटिरहेको थियो ।
ऊ केही भन्न चाहन्थी तर मनमनै सोची‚ “सायद मलाई बुट सिलाउने भन्ने थाहा छैन । मिखायललाई नै यसबारेमा बढी थाहा छ त्यसैले मैले उसको काममा भाँजोहाल्नु ठीक हुँदैन ।”
मिखायलले छाला काटिसिद्धयायो अनि धागो लिएर सिलाउन बस्यो तर बुट सिलाउने जसरी दुवै किनारा होइन बरू हल्का चप्पल सिलाउनेजस्तो एक किनारा मात्रै सिलाउन लाग्यो ।
फेरि म्याट्रिओना छक्क परी तर यसपटक पनि उसले केही भनिन । मिखायलले दिउँसोसम्म काम गरिरह्यो । सिमोन खानाको लागि उठ्यो, यताउति हेर्‍यो र मिखायलले भलाद्मीको छालाको चप्पल बनाएको देख्यो । “अहो,” सिमोनले सुस्केरा हाल्यो र सोच्यो‚ “पूरै एक वर्षसम्म मसति बस्दा एउटै गल्ती नगरेको मिखायलले अहिले कसरी यस्तो डरलाग्दो काम गर्नसक्छ ? भलाद्मीले बाक्लो तलुवा भएका बुट सिउन भनेको थियो तर मिखायलले एकसरो तलुवाको हलुका चप्पल पो बनाएको छ ! उसले छाला खेरफाल्यो । त्यस भलादमीलाई के जवाफ दिने ? म यस्तै छाला कदापि क्षेतिपूर्ति दिन सक्दिनँ ।”
उसले मिखायललाई भन्यो, “तँ के गर्दैस् साथी ? तैंले मलाई बर्बाद गरिस् ! तँलाई थाहा छ त्यस भलाद्मीले घुँडासम्म आउने बुट बनाउन अर्डर गरेको हो । तर हेर् तैँले के बनाइस् !”
ऊ अझै मिखायललाई हप्काउने थियो होला तर त्यति नै बेला ढोकामा लगाइएको फलामे घण्टी बज्यो । कसैले ढोका ढकढक्याइरहेको थियो । झ्यालबाट बाहिर हेर्दा घोडामा चढेको एकजना मानिस त्यहाँ उभिएको थियो । ढोका खोल्दा पहिले त्यस भलाद्मीसितै आएको नोकर भित्र पस्यो र तिनीहरूलाई अभिवादन गर्‍यो ।
अभिवादन फर्काउँदै सिमोनले सोध्यो‚ “भन‚ किन आयौ ?”
“मेरी मालक्नीले मलाई बुटको बारेमा कुरा गर्न पठाउनुभएको हो ।”
“बुटको बरेमा के त ?”
“अब मेरा मालिकलाई ती बुट चाहिँदैनन् । उहाँ मर्नुभयो ।”
“यस्तो पनि हुन्छ र ?”
“तिम्राबाट निस्केर गएपछि उहाँ घर नपुग्दै बग्गीमै मर्नुभएछ । घर पुगेपछि नोकरहरू उहाँलाई बग्गीबाट झर्न सहयोग गर्न आइपुगे; उहाँ त बग्गीमा थैलोझैँ घोप्टिनुभयो; पहिल्यै मरिसक्नुभएको रहेछ । जिउ यति अररो भइसकेको थियो कि बग्गीबाट बाहिर निकाल्न हामीलाई साह्रै सकस भयो । मालिक्नीले मलाई यहाँ पठाउनुभएको हो । उहाँले भन्नुभएको अब बुट बनाउनु पर्दैन बरु मुर्दालाई लगाइदिन हल्का खाले चप्पल चाहियो अरे । मालिक्नीले मलाई पर्खेर भए पनि बनाएरै ल्याउनू भन्नुभएको छ । त्यसैले म आएको हुँ ।”
मिखायलले बाँकी रहेको छाला बटुल्यो र बेरबार पार्‍यो । आफूले बनाएका हलुका चप्पल हातले प्याटप्याट पारेर टक्टक्यायो र आफ्नो एप्रोनमा पुछ्यो र उब्रेको छाला र ती चप्पल त्यस नोकरलाई दिइपठायो ।
************************************************************************************सालहरू बित्दै गए । मिखायल सिमोनसित बस्न थालेको पनि छैठौं वर्ष लागिसकेको थियो । उसको दैनिकी पहिलेजस्तै थियो । ऊ कतै पनि जाँदैनथ्यो, आवश्यक परेको बेला मात्र बोल्थ्यो र यतिका वर्षमा जम्मा दुई पटक मात्र मुस्काएको थियो । पहिलोपटक जब म्याट्रिओनाले उसलाई खाना दिएकी थिई र दोस्रो पटक भलाद्मी सिमोनको छाप्रोमा आएको बेला । सिमोन आफ्नो कामदारसित ज्यादै खुशी थियो । अब उसले मिखायल कहाँबाट आएको हो भनेर सोध्न छोडिसकेको थियो बरु मिखायल गइहाल्ला कि भनेर डराउँथ्यो ।
एकदिन तिनीहरू सबै घरैमा थिए । म्याट्रिओना अगेनुमा केही पकाइरहेकी थिई‚ बच्चाहरू बेन्चवरिपरि दौडिरहेका थिए । सिमोन र मिखायल दुवै जुत्ता सिलाइरहेका थिए ।
एक जना केटा दौडेर मिखायलतिर आयो र काँधमा झुक्यो र झ्यालबाट बाहिर हेर्‍यो ।
“हेर्नुस् त मिखायल काका ! सानी केटीहरू लिएर एउटी महिला यहीँ आइरहेजस्ती छ । ती केटीहरूमध्ये एउटीचाहिँ लङ्गडी छ ।”
केटाले त्यसो भनेपछि मिखायल काम छोडेर झ्यालतिर फर्कियो र बाहिर सडकमा हेर्‍यो ।
सिमोन छक्क पर्‍यो । मिखायलले सडकबाहिर कहिल्यै हर्दैनथ्यो तर अहिले भने झ्यालमा टाँस्सिएर केही नियालिरहेको थियो । सिमोनले पनि बाहिर हेर्‍यो । नभन्दै सुकिला लुगा लगाएकी एउटी महिला उसको घरतिरै आउँदैरहिछ । त्यस महिलाले ऊनी सुरुवाल र भुवादरी कोट लगाएका नानीहरूलाई डोर्‍याइरहेकी थिई । ती केटीहरू दुरुस्ते उस्तै थिए मात्रै एउटी केटीको बायाँ खुट्टो लङ्गडो थियो ।
महिला आँगनमा छिरी । ढोका खुलेपछि उसले ती केटीहरूलाई पहिले भित्र जानदिई र आफू तिनीहरूका पछिपछि छाप्रोभित्र छिरी ।
“कृपया भित्र आउनुहोस् ।” सिमोनले भन्यो‚ “हामी तपाईँलाई के सेवा गरौं ?”
त्यो महिला टेबलको छेउमा बसी । ती दुई साना केटीहरू छाप्रोका मानिसहरूसित डराएर र त्यस महिलासित टाँसिए ।
“वसन्त ऋतुमा लगाउन यी दुई साना केटीहरूको लागि छालाको जुत्ताहरू बनाउनुपर्‍यो ।”
“हामी बनाउँन सक्छौं । हामीले पहिले कहिल्यै त्यस्तो सानो जुत्ता त बनाएका छैनौं तर हामी जस्तो जुत्ता पनि बनाउन सक्छौं । मेरो कामदार मिखायल यस्ता काममा सिपालु छ ।”
सिमोनले मिखायलतिर हेर्‍यो अनि मिखायललाई आफ्नो काम छोडेर साना केटीहरूलाई एकोहरो हेरिरहेको देखेर छक्क पर्‍यो । यो सत्य हो कि केटीहरू राम्रा थिए; काला आँखा, मोटा र गुलाबी गाला‚ राम्रा लुगा र भुवादारी कोट लगाएका तर अझै सिमोनले बुझ्न सकेन किन मिखायलले उनीहरूलाई त्यसरी हेरिरहेको छ । के उसले पहिल्यै तिनीहरूलाई चिनेको थियो ? सिमोन अक्कबक्क भएको थियो तर त्यस महिलासँग कुराकानी जारी राख्दै मोलतोल टुङ्गो लगायो । कुरा मिलेपछि ऊ केटीहरूको खुट्टाको नापो लिन निहुरियो । त्यस महिलाले लङ्गडी केटीलाई काखमा राख्दै भनी‚ “यस सानी केटीका दुईवटा खुट्टाको अलगअलग नापो लैजाऊ । लङ्गडो खुट्टाको लागि छुट्टै जुत्ता बनाऊ अनि सद्दे खुट्टाको उही नापोमा तीनवटा जुत्ता बनाऊ। यिनीहरू दुईटीका खुट्टा बराबर छन् । यिनीहरू जुम्ल्याहा हुन् ।”
सिमोनले लङ्गडी केटीको नापो लियो र‚ “उनलाई यस्तो कसरी भयो ? यति राम्री केटी छिन्‚ जन्मदै यस्ती हुन् ?” भनेर सोध्यो ।
“होइन, यसकी आमाले यसलाई कुल्चेर यस्ती बनाई ।” त्यस महिलाले भनी ।
तिनीहरूका कुरामा म्याट्रिओना पनि मिसिई । किनकि ऊ यो महिला को हो र यी बच्चाहरू कसका होलान् भन्ने कुराले छक्क परेकी थिई । त्यसैले उसले सोधी‚ “त्यसोभए तिमी यिनीहरूकी आमा होइनौ ?”
“अहँ होइन; म उनीहरूकी आमा पनि होइन न त कुनै नातासाइनो नै छ । तिनीहरू मेरो लागि एकदमै बिराना थिए तर मैले तिनीहरूलाई ग्रहण गरें ।”
“तिनीहरू तिम्रा केटाकेटीहरू होइनन् र पनि तिमी यिनीहरूलाई कति धेरै माया गर्दिरहिछौ ।”
“माया नगर्ने भए त म यिनीहरूलाई कसरी मद्दत गर्न सक्थें र ? मैले ती दुवै जनालाई आफ्नै दूध खुवाएँ । मेरो आफ्नै एउटा बच्चा थियो तर ईश्वरले उसलाई फिर्ता लिए ।”
“त्यसोभए तिनीहरू कसका हुन् ?”
त्यस महिलाले तिनीहरूको सबै कथा सुनाई ।
“यी केटीहरूका बाबुआमा मरेको छ वर्षजति भयो । दुवैजना तीन दिनको फरकमा मरे; बाबुलाई मंगलवार गाडियो अनि यिनीहरूकी आमा शुक्रवार मरी । यी अनाथहरू बुबा मरेको तीन दिन पछि जन्मेका हुन् । आमा पनि यिनीहरू जन्मेकै दिन मरी । त्यसबेला मेरो श्रीमान् र म गाउँमा खेतीकिसानी गरेर बस्थ्यौं । हामी तिनीहरूको छिमेकी थियौं; करेसो जोडिएका । दाउरा काट्न जङ्गल गएको बेला यिनीहरूको बाबु रूखले च्यापिएर मर्‍यो । त्यसै हप्ताको शुक्रवार उसकी श्रीमतीले जुम्ल्याहा बच्चाहरू पाई- यी साना केटीहरू । ऊ गरीब र एक्ली; मद्दत गर्ने घरमा कोही थिएन । यी बच्चीहरू जन्माई र एक्लै मरी ।”
“भोलिपल्ट बिहान म उसलाई भेट्न गएकी थिएँ । तर म झुपडीमा पस्दा बिचरी सेलाइसकेकी रहिछ । मर्ने बेलामा ऊ यो बच्चीमाथि पल्टिछ र यसको खुट्टो कुल्चिछ । गाउँलेहरू भेला भएर उसको शरीर सफा गरे‚ कफन बनाए र उसलाई गाडे । बच्चीहरू एक्लै परे । यिनीहरूलाई के गर्ने त ? त्यहाँ त्यतिबेला गाउँमा म मात्रै सानो बच्चा साथमा भएकी महिला थिएँ । मेरो पहिलो बच्चा त्यतिबेला आठ हप्ताको भएको थियो । त्यसैले मैले तिनीहरूलाई लिएँ । सुरुमा त मैले यो लङ्गडी के बाँच्ली र भन्ने लागेर यसलाई दूध चुसाइनँ । तर पछि यसमाथि पनि मेरो दया जाग्यो र यसलाई पनि चुसाउन थालें । यसरी मैले मेरो आफ्नै छोरो र यी दुई जना गरी तीन जना बच्चालाई मेरो दूध खुवाएँ । म जवान र बलियी थिएँ अनि मैले राम्रो खाना खान पाएकी थिएँ । ईश्वरले पनि मलाई यति धेरै दूध दिए कि कहिलेकाँही त्यो यिनीहरू अघाएर पनि बगेर खेरजान्थ्यो । कहिलेकाँही म एकै पटकमा दुई जनालाई खुवाउँथें अनि तेस्रो बच्चा पालो पर्खिरहेको हुन्थ्यो । तर म आफैले पाएको छोरा भने दुई वर्ष नपुगी मर्‍यो । फेरि अर्को बच्चा अहिलेसम्म भएको छैन । मेरो श्रीमान मकै व्यापारीको लागि मिलमा काम गर्छन् । उनको तलब पनि राम्रो छ; बन्दोबस्त ठीकै गरेका छौं तर मेरा आफ्नै बच्चाहरू छैनन् । यी सानी केटीहरू थिएनन् भने त म कति एक्ली हुन्थेंहोला ! म तिनीहरूलाई माया गर्छु ! यिनीहरू नै मेरो जीवनका खुशी हुन् !”
यति भनेर त्यस महिलाले एक हातले लङ्गडी केटीको हात च्याप्प समाती र अर्कोको हातले आफ्ना आँसु पुछी । म्याट्रिओनाले लामो निस्वास तान्दै भनी‚ “आमाबाबुबिना पनि बाँच्न सकिन्छ तर ईश्वरबिना बाँच्न सकिन्नँ ।” भन्ने उखान साँच्चै हो रहेछ ।
तिनीहरूले कुरा गरिरहेका बेला अचानक मिखायल बसिरहेको कुनातिरबाट ग्रीष्म ऋतुमा बिजुली चम्केजस्तो भयो र पूरै झुपडी झलल भयो । सबैजनाले मिखायलतिर हेरे । ऊ भने एकटकले माथितिर हेरेर मुस्कुराइरहेको थियो ।
त्यो महिला केटीहरू लिएर गई । मिखायल बेन्चबाट उठ्यो, काम बन्द गर्‍यो र एप्रोन निकाल्यो । त्यसपछि सिमोन र उसकी स्वास्नीका सामुन्ने अभिवादनको शिर निहुराउँदै भन्यो‚ “बिदा माग्छु मालिकहरू; ईश्वरले मलाई मलाई माफ दिए । तपाईँहरूसित बसुन्जेल कुनै भूलचूक गरेको रहेछु भने क्षमा गरिदिनू ।”
तिनीहरूले मिखायलको मुखमण्डलमा एक दिव्यज्योति चम्किरहेको देखे । सिमोन उठेर मिखायलको अगाडि घोप्टो परेर भन्यो‚ “मिखायल, तिमी साधारण मानिस होइनौ । म तिमीलाई मैसित बस भन्न पनि सक्दिनँ न त तिमीसित केही सोध्न नै सक्छु । तर मलाई यत्तिचाहिँ भन मैले तिमीलाई भेट्टाएर घरमा ल्याउँदा तिमी निराश थियौ । जब मेरी स्वास्नीले तिमीलाई खाना खुवाई तिम्रो अनुहार उज्यालो भयो । त्यसपछि जब त्यो भलाद्मी बुट अर्डर गर्न आयो त्यतिखेर पनि तिमी मुस्कायौ र अझै उज्यालो भयौ । अनि अहिले यस महिलाले साना केटीहरू लिएर आएपछि तिनलाई देखेर तिमी तेस्रोपटक मुस्कायौ र दिन जत्तिकै चहकिलो भयौ । तिम्रो अनुहार किन यति चम्किलो भयो ? किन तिमी तीन पटक किन मुस्कायौ ?”
मिखायलले जवाफ दियो‚ “ईश्वरले मलाई दण्ड दिएका थिए तर अब म त्यसबाट मुक्त भएको छु त्यसैले ममा त्यो चहक देखिएको हो । म तीन पटक मुस्कुराएँ किनभने ईश्वरले मलाई तीन सत्य जान्न पठाएका थिए जुन सत्यहरू मैले यस अवधिमा थाहा पाएँ । पहिलो सत्य मैले तिम्री श्रीमतीले मलाई दया देखाउँदा चाल पाएँ । त्यसैले म पहिलोचोटि मुस्कुराएँ । दोस्रो सत्य मैले त्यो धनी मानिस बुट अर्डर गर्न आउँदा थाहा पाएँ अनि त्यतिबेला पनि म हाँसे । अहिले मैले ती सानी केटीहरूलाई देखेपछि तेस्रो अर्थात् अन्तिम सत्य पनि थाहा पाएँ र तेस्रो चोटि हाँसे ।”
सिमोनले सोध्यो, “मलाई भन मिखायल, ईश्वरले तिमीलाई किन सजाय दिए अनि ती तीन सत्य केके हुन् ?” मलाई पनि जान्न मन लाग्यो ।
मिखायलले जवाफ दियो‚ “ईश्वरको आज्ञा पालन नगर्दा मैले सजाय भोग्नुपर्‍यो । म स्वर्गमा देवदूत थिएँ तर ईश्वरको आज्ञा उल्लङ्घन गरें । ईश्वरले मलाई एउटी महिलाको आत्मा लिन पठाए । म पृथ्वीतिर उडें र भर्खरै जुम्ल्याहा बच्चा जन्माएकी एउटी सुत्केरीलाई एक्लै पल्टिरहेकी फेला पारें । शिशुहरू मुस्किलैले आमाको छेउमा चल्मलाइरहेका थिए । तर त्यो सुत्केरी तिनीहरूलाई आफूतिर तानेर दूध चुसाउन सक्ने अवस्थामा थिइन । उसले मलाई देखी र यो बुझी कि ईश्वरले मलाई उसको प्राण लिन पठाएका हुन् । रूँदै उसले मसित बिन्ती गरी‚ ‘हे देवदूत ! मेरा पति भर्खरै गाडिएका छन् । मेरा कोही आफन्त छैनन् । म पनि मरें भने यी टुहुरीहरूलाई पाल्ने कोही हुँदैन; मेरो प्राण नलेऊ । मलाई मेरा छोरीहरू स्याहार्न देऊ । मर्नुअघि म तिनीहरूलाई आफ्ना खुट्टामा उभिने बनाउँछु; बच्चाहरू बुबाआमाबिना बाँच्न सक्दैनन् ।’ मैले उसले भनेको मानें । मैले एउटा बच्चालाई उसको स्तनमा लगाइदिएँ र अर्कोलाई उसको पाखुरामा राखिदिएँ र स्वर्गमा फर्किगएँ । मैले ईश्वरलाई जवाफ दिएँ‚ “मैले त्यस आमाको प्राण लिन सकिनँ । उसको पति भर्खरै रूखले किचेर मरेको रहेछ । त्यसले भर्खरै जुम्ल्याहा बच्चा पाएकी छ । मेरो प्राण नलेऊ भनेर त्यसले बिन्ती गरी ।”
तर ईश्वरले भने‚ “जाऊ‚ त्यस आमाको आत्मा लिएरै आऊ । अनि तीन सत्यहरू थाहा पाऊ; पहिलो; मानिसमा के कुरा हुन्छ ? दोस्रो; मानिसलाई के थाहा थिइएको हुँदैन ? अनि तेस्रो; मानिस केले बाँच्दछ ? यी तीन सत्यहरूबारे बुझेपछि मात्रै तिमी स्वर्गमा फर्किनेछौ । म फेरि पृथ्वीतिर उडेँ र त्यो आलीसुत्केरीको प्राण खिँचेर लिएँ । बच्चाहरू उसको स्तनबाट झरे । उसको शरीर ओछ्यानमा गुडुल्कियो र एउटा बच्चालाई किच्यो । म उसको आत्मा लिएर ईश्वरकहाँ जान गाउँमाथि उडेँ । तर एउटा बतासको झोक्काले मेरा पखेटा झारिदियो । उसको आत्माचाहिँ उडेर माथि गयो म भने सडकको किनारामा खसेँ ।”
यतिका वर्ष आफूहरूसित बस्ने को थियो भन्ने कुरा सिमोन र म्याट्रिओनाले चाल पाए । कसलाई आफूरूले गाँसबास दिएका रहेछौं भन्ने पनि चाल पाए । अनि तिनीहरू खुशीले रोए । देवदूतले भन्यो‚ “म मैदानमा एक्लै थिएँ; नाङ्गै । मानिसको स्वरूपमा रूपान्तरण हुनुअघिसम्म मलाई मानिसका खाँचोहरू के हुन् भन्ने थाहा थिएन । भोक र ठन्डी के हो थाहा थिएन । म भोकाएको थिएँ, जाडोले कठ्याङ्ग्रिएको थिएँ र गर्नुपर्ने कुरा के हो मलाई थाहा थिएन । म खसेको ठाउँ नजिकै मानिसहरूले प्रार्थनागृह बनाएको देखें र शरण पाइएला कि भन्ने आशाले त्यहाँ गएँ । तर त्यो बन्द थियो त्यसैले म भित्र पस्न सकिनँ । बतासबाट भए पनि जोगिन्छु भन्ने ठानेर म प्रार्थनागृहको भित्ताको छेको पारेर अडिएको थिएँ । साँझ पर्‍यो । मेरो भोक‚ जाडो र पीडा बढिरहेको थियो । अचानक मैले बाटोमा एउटा मानिस आइरहेको चाल पाएँ । मानिसको चोला लिएपछि नश्वर मानिसको अनुहार मैले पहिलोपटक देखेको थिएँ । त्यो मानिस डरलाग्दो थियो र जाँडको सुरमा आफ्ना केटाकेटी कसरी पाल्ने भन्ने चिन्ताले एक्लै केके फलाकिरहेको थियो । यो मानिस आफै यस्ता समस्यामा रहेछ मलाई के पो मद्दत गर्ला र भन्ने लाग्यो । मलाई देखेर त्यो मानिस तर्किएर हिँड्यो र म निराश भएँ । तर अचानक त्यो फर्किएर आयो । त्यो मानिस परिवर्तन भएको थियो । त्यो मानिसमा अघि काल नाचिरहेको थियो तर यसपल्ट उसमा ईश्वरको उपस्थिति थियो । उसले मलाई आफ्नो कोट फुकालेर लगाइदियो अनि मर्मत गर्न भनी बोकेर ल्याएका जुत्ता पनि लगाइदियो र मलाई आफ्नो साथमा लगाएर घरमा ल्यायो । घरमा उसकी स्वास्नीले मलाई रक्स्याहा भन्ठानेर सत्तोसराप गरी । उसको व्यवहारले उसको वरिपरि मृत्यु मडराइरहेको थियो । त्यसैले मलाई त्यहाँ सास फर्न पनि गाह्रो भइरहेको थियो । त्यो ठिहिर्‍याउँने चिसोमा ऊ मलाई घरबाहिर धपाउन चाहन्थी । कदाचित म घरबाहिर निस्कनुपरेको भए त्यो पक्का मर्नेथिई । अचानक उसको पतिले ऊसँग ईश्वरको प्रसङ्ग उठायो र एकाएक त्यो महिला बदलिई । त्यसले मलाई खाना पस्किएर दिइरहँदा मतिर हेरी । मृत्युले उसलाई छोडिसकेको थियो र ऊ जीवित भएकी थिई अर्थात् त्यसमा पनि मैले ईश्वर देखेँ ।
अनि ईश्वरले मलाई सिक्न पठाएको पहिलो कुरा थाहा पाएँ; ‘मानिसमा के कुराले बास गरेको हुन्छ ?’ मैले थाहा पाएँ मानिसमा “ममता” बास गर्दोरहेछ ! सजाय पाएको पहिलो दिन नै ईश्वरले मलाई पहिलो सत्य सिकाइदिएकोमा म पहिलो पटक हाँसे । तर मलाई त अझै दुईवटा सत्य जान्नु नै थियो; मानिसलाई के थाहा दिइएको हुँदैन अनि मानिस केले बाँच्दछ ?
“म तिमीसँगै बस्न थालेको वर्षदिन भइसकेको थियो । एकदिन एकजना भलाद्मी वर्षदिनसम्म छाँट नबिग्रिने अनि टाँका पनि नखुस्किने बुट सिलाइदेऊ भन्न आयो । मैले उसलाई हेरें र के थाहा पाएँ भने मेरो सहकर्मी देवदूत उसको वरिपरि घुमिरहेको छ । घाम अस्ताउनु अघि उसले त्यस धनी मान्छेको प्राण खिँच्नेछ भन्ने मैले चाल पाएँ । अनि मलाई लाग्यो यो मानिसले वर्षदिनको बन्दोबस्त मिलाउँदैछ तर उसलाई दिन ढल्नुअघि नै मर्नेवाला छु भन्ने रत्तिभर थाहा छैन । मैले ईश्वरले सिक्न पठाएको दोस्रो सत्य थाहा पाएँ । मानिसलाई एकैछिन पछि के चाहिन्छ भन्ने कुरा थाहा दिइएको हुन्नरहेछ ।
तर मलाई अझै “मानिस केले बाँच्दछ” भन्ने सत्य थाहा हुनसकेको थिएन । त्यसका लागि मैले छ वर्ष कुर्नुपर्‍यो । आज यस महिलाले ती जुम्ल्याहा नानीहरू लिएर आई । मैले ती केटीहरूलाई चिनें र तिनीहरूको पालनपोषण कसरी र कोद्वारा भइरहेको रहेछ भन्ने पनि थाहा पाएँ । मैले सोच्न थालें त्यस भर्खरैकी सुत्केरीले बच्चाहरू आमाबाबुबिना बाँच्न सक्दैनन् भनेर बिन्तीभाउ गरेकी हुनाले मैले उसको कुरा पत्याएर पहिलोपल्ट उसको प्राण नलिई फर्किएको थिएँ । तर आज मैले देखें एकजना परचक्री महिलाले तिनीहरूलाई राम्रो स्याहार गरेर हुर्काइरहेकी रहिछ । आफ्नै कोखका बच्चा नभए तापनि ती नानीहरूका मायाले त्यो रोई र त्यसमा पनि ईश्वरले बास गरेको मैले देखें । अनि मलाई ईश्वरले जान्न पठएको तेस्रो सत्य थाहा भयो । “मानिस केले बाँच्दोरहेछ ?” अर्थात् मानिस अरू मानिसमा भएको ममत्वको कारणले बाँच्दोरहेछ । मैले चाल पाएँ मानिस आफ्नै स्याहारसुसारले होइन तर अरू मानिसको मायाममता र स्याहारसुसारले बाँच्दोरहेछ । ती केटीहरूलाई जन्माउने आमालाई उनीहरू कसरी बाँच्नेछन् भन्नेकुरा थाहा दिइएको थिएन । न त त्यस धनी मानिसलाई एकैछिन पछि आफूलाई बुट चाहिन्छ कि मुर्दा बन्दा लगाउन हलुका चप्पल चाहिन्छ भन्ने नै थाहा थियो । म धर्तिमा मानिस भई झरेपछि अर्को कुनै मानिसमा मेराप्रति दया पलाएको कारणले गर्दा बाँचे । म बाँचे किनभने तिमी र तिम्री स्वास्नी मप्रति दयालु भयौ । ती टुहरी केटीहरू बाँचे किनभने कोही एउटी परचक्री महिलाले तिनीहरूलाई आफ्नै छोराछोरीजसरी पाल्नलाई त्यसको हृदयमा ममता जाग्यो । आमाबाबु नभए तापनि तिनीहरू बाँचिरहेका छन् । बल्ल आएर मैले अन्तिम सत्य बुझें वास्तवमा प्रेमद्वारा मात्रै मानिस बाँच्ने रहेछ । जुन मानिसले ईश्वरलाई प्रेम गर्छ उसमा ईश्वर बास गर्छन् किनभने प्रेम नै ईश्वर हुन् ।”
हेर्दाहेर्दै देवदूतका काँधमा पखेटा पलाए र ऊ आकासमा उड्यो । सिमोन र उसकी स्वास्नीले होश सम्हाल्दा छाप्रो पहिलेजस्तै सामान्य थियो ।

प्रतिक्रिया
Loading...