भ्यान गोग

भिन्सेट भ्यान गोगको जन्म सन् १८५३मा हलैण्डमा एक साधारण परिवारमा भएको थियो । उनी जति पनि बाँचे, छोटो समयमै आफ्नो उत्कृष्ठ सृजनाहरूका कारण विश्व कलाजगत र इतिहासमा अमिट छाप छाडेर गए । फलस्वरूप विश्वका महान् कलाकारहरूमा उनकै नाम अग्रपंक्तिमा आँउदछ ।
भ्यान गोगको जीवनीलाई लिएर धेरै उपन्यासहरू लेखिएको छ र सिनेमाहरू बनेका छन् । तीमध्ये इर्भिंग स्टोनले लेखेका “लस्ट फर लाइफ” नामक उपन्यास चर्चित छ । ठाडो कपाल, ठूलो निधार, नीलो ठूला ठूला आँखा, अग्लो उठेको नाक, मोटो  ओठ, खैरो दाह्री भएको यिनको अनुहार राम्रो थिएन । त्यसमाथि कम बोल्ने र चाँडै आवेशमा आउने उनको स्वभाव र रूप देखेर युवतीहरूले उनलाई मन पराएनन् । धेरै केटीहरूले यिनलाई धोका दिएका थिए ।
भ्यान गोगको विवाह भएन । बाल्यकालदेखि नै अनौठो स्वभावका उनी एकान्त प्रिय, भावुक अनि दयालु पनि थिए । एक समय भ्यान गोग गोपिल नामक चित्र व्यापारीकोमा अरूको चित्रहरू बेच्ने काम गर्दथे । त्यसपछि लण्डनको एक निजि विद्यालयमा फ्रेन्च भाषा शिक्षक बने । त्यहाँ उनलाई विधार्थीहरूको अभिभावकसँग भोजन र आवास शूल्क उठाउने जिम्मा पनि दिएको थियो । तर गरिब अभिभावकहरूको अवस्था बुझेर शूल्क उठाउन दयालु भ्यान गोग असमर्थ भए । त्यही कारण स्कुलले उनलाई जागिरबाट हटायो ।
सन् १८७९मा भ्यान गोगलाई उनका पादरी पिता आबद्ध एक धार्मिक संस्थाले धर्मोपदेशक बनाएर धर्मको प्रचारप्रसार गर्न बेल्जियमको बोरिनाज भन्ने खानी प्रदेशमा खटायो । त्यहीँबाट गोगको कलायात्राको शुरूवात भएको थियो । गोगले २७ वर्षदेखि ३७ वर्षसम्म जम्माजम्मी १० वर्ष मात्र चित्र बनाए । विशेषगरी उनले ३३ वर्षबाट जीवनदेखि विरक्त लागेर चित्रमा ध्यान दिन थालेका थिए ।उनी जापानी कलाबाट प्रभावित भएका थिए । जापानी कलाकार हिरो सिंगेको “दि ट्री” र “दि ब्रिज अण्डर रेन” नामक चित्रहरूले उनलाई प्रभाव पारेको थियो ।

बाबु साइँला

भ्यान गोगको समयका अर्का महान् कलाकार गगिन थिए । एकपटक उनले कलाकार गगिनलाई आफ्नो घरमा आउन आग्रह गरे, त्यतिबेला गगिन पनि खराब आर्थिक स्थितिबाट गुज्रिरहेका थिए । भ्यान गोगको निमन्त्रणामा गगिन टाढाबाट उनको घर त आए तर सन्काह भ्यान गोग र जिद्धी गगिनको तालमेल धेरै समय टिकेन । यिनीहरू एकआपसमा आफ्नो कुरा मात्र हावी गर्न खोज्थे, त्यही वादविवादको क्रममा सन्काह भ्यान गोगले गगिनमाथि काँचको प्लेटले हान्ने र छुरी लिएर लखेट्ने कार्य गर्न थाले । गगिनसँगै रहँदा उनले एक वेश्यालाई मन पराएर  आफ्नो कान काटी वेश्यालयको ढोकामा छाडेर आएका थिए, जुन देखेर ती वेश्या बेहोस भएर ढलेकी थिई । भनिन्छ, वेश्याले भ्यान गोगको कान राम्रो छ भनेकी थिई ।
भ्यान गोगको पागलपनदेखि डराएर गगिन पनि आफ्नो घर ब्रिटेन फर्किए । त्यसपछि भ्यान गोगलाई अस्पताल भर्ना गरियो । जब उनी डिस्चार्ज भएर घर फर्किए, स्थानीयले पागल र बौलाहा भनी दुःख दिन थाले । विस्तारै उनमा मानसिक असन्तुलन देखिन थाल्यो अनि पागलखानामा भर्ना गराइयो ।
जीवनको अन्तिम ७० दिनमा भ्यान गोगले ७० पेन्टिङ सिर्जना गरे । त्यो समय उनी कलाको प्राविधिक र सैद्धान्तिक अभ्यासको उच्चतम बिन्दुमा थिए । भाइ भिन्सेन्ट थियोले उनलाई निरन्तर सहयोग गरिरहे । यतिसम्म कि दाइ निराश नहोस भनेर भ्यान गोगको जीवनको अन्तिम वर्षमा उनलाई उत्साह थपिदिन एउटा खुशीको खबर सुनाए, “दाइ, तिम्रो एउटा पेन्टिङ बिक्यो ।” यद्यपि त्यो उनी आफैँले साथीलाई किन्न लगाएका थिए । उनले मानसिक रूपले गलिसकेका दाइलाई डाक्टर पाउल गासेटको निगरानीमा राखेर उपचार गर्न थाले । उपचारकै क्रममा एकदिन दृष्यचित्र उतार्न बाहिर खेततिर गए । उनले आफ्नो साथमा पेस्तोल पनि लगेका थिए । कन्चटमा प्रहार गरे । आफैँलाई प्रहार गरेको गोलीले दुई दिनपछि मात्र उनको निधन भयो । मृत्यु हुनुअघिसम्म होसमा रहेका उनले भनेका थिए, “कसले विश्वास गर्छ जीवन यति दुख्छ भनेर ?”
सन् १८९०, २९ जुलाईमा ३७ वर्षको अल्पायुमै उनको निधन भयो । दाइको दुःखद निधनले विक्षिप्त भाइ भिन्सेन्ट थियो पनि पागल बने र भ्यान गोगले आत्महत्या गरेको ५ महिनापछि उनको पनि निधन भयो ।
भ्यान गोगको निधन भएको १०० वर्षपछि १९९० मा उनले बनाएको आफ्नै चिकित्सक “डा.गासेट् ” नामक चित्रले कलाको इतिहासमा विश्व रेकर्ड राख्दै ८२.५ मिलियन डलरमा बिक्री भएको थियो । महान् कलाकार भ्यान गोगका महत्वपूर्ण चित्रहरू पोटाटो ईटर, स्टार्रिंग नाइट, पोस्ट म्यान, कर्नफिल्ड, दि ब्रिज एट आर्ल्स, नाइट क्याफे लगायत उनका आफ्नै मुहारचित्रहरू छन्।
प्रस्तुस्त छ, भ्यान गगले बनाएका आफ्नै मुहारचित्रहरू;

भ्यान गोग