कलाकारका अन्तर्भाव वा संवेगलाई जन-मानसपटलसँग सामीप्य कायम गराउने थलोको नाम हो, कला ग्यालरी, जसलाई नेपाली शब्दमा ‘कलादीर्घा’ भन्ने गरिन्छ । कोरोना कहरको यो घडीमा अचेल ग्यालरीहरु बन्दको अवस्थामा छन् । नेपालमा भएका ग्यालरीहरुमा कुनैबेला निकै चहलपहल हुने गर्दथ्यो । तर अचेल संस्थागत र नीजिस्तरका जुनसुकै ग्यालरीहरुमा पनि भोटेताल्चा झुण्डिएको देख्न सकिन्छ । र कलाकारहरु अनलाइन र भर्चुल कला गतिविधिमा आकर्षित रहेको पाइन्छ । यद्यपि भर्चुअल कला गतिविधिले ग्यालरीमा हुने गरिएका गतिविधिजस्तो मोहकता र सन्तुष्टि भने दिन सकिरहेका छैनन् । त्यसैले ढिलो चाँडो जे जति भए पनि अन्तत् नेपाली कला गतिविधि ग्यालरीमा नै फर्कनुपर्ने छ ।

वास्तवमा कलाक्षेत्रको विकासमा कला ग्यालरी ज्यादै महत्वपूर्ण थलो हो । यसको विकासको स्वरूप, सिङ्गो कलाक्षेत्रको विकासको एक पाटो हो भने स्वरूपका अन्य पाटाहरू कलाकार, कलाका सङ्घ–संस्थाहरू, कला प्रज्ञाप्रतिष्ठान लगायत कलावाङ्मयका विविध क्षेत्रहरू हुन् । नेपाली कलाक्षेत्रको वर्तमान बजारमा कलाकारहरूको उत्थान, उनीहरूको ‘प्रमोशन’, कला बेचबिखन, कलाको प्रचारप्रसार लगायतका मार्गहरू ग्यालरीहरूको विकास, विस्तार तथा जीवन र संरक्षणमा अडेको छ । विकसित देशहरूमा यस्ता दायित्वहरू ग्यालरीहरूको जिम्मेवारीको विषय हुँदैनन् । त्यहाँ यस्ता कार्यका निम्ति कला ‘प्रमोटर’, ‘क्युरेटर’ तथा ‘अक्सन’ प्रणालीहरूको अग्रणी भूमिका हुनेगर्छ । तर हामी कहाँ अझ पनि यस्ता संयन्त्रहरूको विकास भई नसकेकोे वर्तमान अवस्थामा विकल्पका रूपमा भने ग्यालरीहरू नै जिम्मेवारी समाल्ने मूली बनिआएका छन् ।

नेपाली समसामयिक कलाले आज उत्तरआधुनिक कालमा प्रवेश गरिसकेको छ । नेपाली कलाकारहरू पुरातन चित्रकला— थाङ्का, पौभा, मण्डलादेखि उत्तरआधुनिक कालको सुरुवाती शैली ‘पप’ कलापछि तुरन्तै विकास भएको ‘इन्स्टलेसन आर्ट’, ‘पर्फर्मेन्स आर्ट’, ‘लैंड आर्ट’, ‘भिजुअल आर्ट’ लगायतका कलात्मक अभिव्यक्तिसम्म आइपुगिसकेका छन् । आधुनिक र उत्तरआधुनिक नेपाली कलामा प्रयोगमुखी अवधारणा तथा भावना पलाउँदो र फुल्दो छ । विदेशी कलासँग स्वदेशी र स्वदेशीसँग विदेशी अनुभव, प्रयोग तथा सामीप्य बढ्न थालिसकेको वर्तमान परिप्रेक्ष्यमा नेपालमा ग्यालरीहरूको उपस्थिति र समृद्धि ज्यादै आवश्यक र नैसर्गिक तत्व हो, नेपाली कलाक्षेत्रका निम्ति । तर, विडम्बना, नेपालमा ग्यालरी समृद्धिको भावना वा चाहनाचाहिँ आज पनि उही पुरानै यथास्थितिवादी प्रवृत्ति र फुस्रो गफमा मात्र सीमित रहेको पाइन्छ । व्यवहारमा उत्रिन सकेको देखिँदैन । जसको कारण ग्यालरीहरूले अझै साँचो समृद्धिको फुर्को समात्न सकेका छैनन् । स्वयं कलाक्षेत्रलाई पनि नेपालमा पर्याप्त ग्यालरीहरूको अपरिहार्यताको बोध हुन सकेको देखिँदैन ।

तीर्थ निराैला

वास्तवमा ग्यालरी विकासको लक्ष्यमा तेर्सिएका यस्ता तथा अन्य कतिपय अवैज्ञानिक, अदूरदर्शी र गाम्र्भीय विहीन संस्कारजन्य तगाराहरूलाई नहटाई हामी ग्यालरी विकासको लक्ष्यमा अघि बढ्न सक्दैनौ“ । यदि ग्यालरीक्षेत्रलाई विकास गर्नुछ भने पहिले यिनीहरूको क्रियाशीलता वा सक्रियताका निम्ति चाहिने आवश्यक गोरेटाहरूतर्फ र यिनीहरूको आन्तरिक मर्मतर्पm दृष्टि दिन आवश्यक छ । ग्यालरीहरूको आन्तरिक मर्म के हो ? ग्यालरीहरूसँग यसको तीतो तर मर्माहत उत्तर छ । नियमित रूपमा कला बिक्री नहुनुको पीडा, ग्यालरी स्थापना, बिस्तार, भएकाको संरक्षण र सहुलियतका सन्दर्भहरू तथा यसप्रति सरकार र कलाक्षेत्र सचेत र संवेदनशील बन्न नसक्नु उनीहरूका दुखेसाहरू हुन् ।

प्रथमतः ग्यालरी विकास र बिस्तारको सन्दर्भलाई हेर्दा यहा“ के देखिन्छ भने पुरातन कलामा धनी देश भनेर चिनिने नेपालको राजधानी र पोखरा एउटा बाहेक मोफसलमा कुनै किसिमका कला ग्यालरीहरू अझै खुल्न नसक्नु उदेकलाग्दो पहिलो विडम्बना हो । ग्यालरी विस्तारमा देखापरेको पीडादायक धरातलको यो नै पहिलो चुरो पनि हो । २०३३ देखि नै पूर्वाञ्चलमा कलाको गतिविधि सञ्चालन गदै हिँडेको धरान तथा त्योभन्दा अघिदेखिको विराटनगर समेतमा कलाप्रर्दशनी कै निम्ति भनेर कुनै किसिमका ग्यालरीहरू अझैसम्म खुल्न नसक्नु अचम्मकै कुरो हो । मोफसलको कुरो मात्र होइन, नेपाली कलाकारहरूको फलदायी अवसरको बजार भनेर चिनिने काठमाडौंमा पनि सोचेजति धेरै कला ग्यालरीहरू छैनन् । भएकाहरूको पनि सङ्ख्यात्मक तथ्याङ्कहरूको निश्चित विवरणहरू पाइँदैनन् । कला पसलहरूबाहेक ग्यालरीहरूको संख्यालाई तथ्याङ्कमा समेटिन सक्ने व्यवस्था (दर्ता प्रणाली वा अन्य केही) नहुनु वा तथ्याङ्क समेट्ने स्वायत्त निकायको अभाव हुनुले पनि यो अनिश्चितता खडा भएको हुनसक्छ । चलन र चर्चाको आधारलाई सङ्ख्या बनाउँदा काठमाडाैँमा जम्मा २०—२२ को हाराहारीमा मात्र कला ग्यालरीहरू सार्वजनिक भएका उदाहरणहरू छन् । यद्यपि यीमध्ये पनि कतिपयले आज बन्दको हविगत भोग्नु परेको कटु यथार्थ हाम्रोसामु छर्लङ्ग छ । सञ्चालितहरू पनि अनिश्चितता र आर्थिक दरिद्रताको घेराबाट अछुतो र मुक्त हुन सकिरहेका छैनन् । विदेशमा सबै ग्यालरीहरू घुम्ने हो भने वर्षौं लाग्छ । त्यहाँ कला ग्यालरीहरूको आँकडा राखेर साध्य हुँदैन तर यहाँ ग्यालरीहरू औँलामा गन्न सकिन्छ । यो नेपाली कलाक्षेत्रको विकासको अवस्थाको हाँस्यास्पद सूचक हो जसलाई एउटा सानो नमुना अंशको रूपमा लिन सकिन्छ । खोतल्दै जाने हो भने थुप्रै दरिद्रता निस्किन्छन् नेपाली कलाक्षेत्रका विकासका खुट्किलाहरूमा ।

त्यसो त हाम्रो ग्यालरी विकासको इतिहास नै छोटो छ । नेपाली समसामयिक कलाको विकासको प्रारूप वि.स. २०१२ हुँदै २०१९ बाट मात्र व्यवस्थित भएकाले पनि ग्यालरीहरूको इतिहास उति लामो बन्न नसकेको हो । आरम्भमा एक विदेशी महिलाको सक्रियतामा ‘म्याक्स’ नामक ग्यालरी वि.स. २०२६ मा राजधानीमा खुलेको इतिहास छ । यसपछि अर्की एक सुश्री मेरी इवान्स नाम गरेकी विदेशी महिलाले ‘अक्टुबर’ नामको ग्यालरी खोलिन् । त्यसैताका पृथ्वी आर्ट ग्यालरी खोली सञ्चालन गरेका थिए — वरिष्ठ चित्रकार उत्तम नेपालीले । यस्तै अर्का एक विदेशीको पहलमा वि.स. २०२८/०२९ तिर राजधानीमा अर्को एक ग्यालरी खुल्यो जसलाई ‘पार्क’ भनियो । पछि यसैलाई वरिष्ठ चित्रकार रामानन्द जोशीले चलाए । यो अद्यापि उनका परिवारहरूबाट सञ्चालित अवस्थामा नै रहेको छ । हाल यसमा कलाकार जोशीको म्युजियम पनि खडा गरिएको छ । कला गतिविधिको सन्दर्भलाई लिएर विगतको समयमा ‘म्याक्स’ले जति सकारात्मक चर्चा कमायो त्यस्तै चर्चित इतिहास नेपालीको पृथ्वीले बनायो । यसले वरिष्ठ कलाकार उत्तम नेपालीलाई धेरै ख्याति दिलायो । पृथ्वीमार्फत् उत्तमका धेरै कामहरू जनताबीच पुगे ।

यस्तै पछिल्ला दिनहरूमा कलाकार किरण मानन्धरको ‘पल्पसा’ लगायत क्रमशः ‘बेम्बो’, ‘एभरेष्ट’ आदि ग्यालरी खुले तर ‘पार्क’ बाहेक यी सबै ग्यालरीहरू बन्द भए । हाल व्यक्तिगत हैसियतमा चलिरहेका बबरमहलको सिद्धार्थ आर्ट ग्यालरी, वि.स. ०४७/४८ तिर चर्चित रहेको सिर्जना ग्यालरी (हाल निजी स्तरको कलाक्याम्पसको रूपमा परिमार्जित र सञ्चालित), लाजिम्पार्ट र पुलचोकको ‘पार्क’ ग्यालरी, दरवारमार्गको ‘आर्ट सप ग्यालरी’, लाजिम्पार्ट कै ‘ग्यालरी नाइन’ र पाटनमा अवस्थित ‘सिंह आर्ट ग्यालरी’, नागपोखरी नजिक रहेको ‘भाव आर्ट ग्यालरी’ ठमेलमा सञ्चालित ‘बुद्ध आर्ट ग्यालरी’ र ठमेलकै ‘मिथिला कला ग्यालरी’, क्लासिक ग्यालरी, ‘लाईट एण्ड सेड’, लगायत संस्थागत हैसियतमा संचालित नाफा, नेपाल कला परिषद् आदि नियमित कला प्रर्दशनी गर्दै आएका ग्यालरीहरू हुन । ‘जे आर्ट ग्यालरी’, ‘मोक्ष’, ‘इन्डिगो’, तथा केही नया“ थपिदै गएका ग्यालरीहरूको सक्रियतालाई पनि यहाँ बिर्सन मिल्दैन । यिनीहरूले पनि बेला—बेलामा आफ्ना कलागतिविधिहरू देखाउँदै आफ्नो सक्रियतालाई अवगत गराउँदै आइरहेका छन् ।

आज यी सबै व्यक्तिगत रूपमा सञ्चालित ग्यालरीहरूको अवस्था पनि अनिश्चित र न्यून आर्थिक उपार्जनको प्रभाव घेराबाट मुक्त हुन सकेका छैनन् । यो स्थितिमा यी ग्यालरीहरूको पनि विगतका ग्यालरीहरू जस्तै बन्दको हबिगत नहोला भन्न सकिन्न । बुद्ध ग्यालरी, ग्यालरी नाइन, लगायत अन्य केही ग्यालरीहरु चलेर पनि बन्द भएका ग्यालरीहरु मध्येमा पर्दछन । निकै अगाडि कलाकार एवम् ठमेलस्थित व्यक्तिगत ग्यालरीकी एक सञ्चालिकालाई ग्यालरी कस्तो चल्दैछ भनेर प्रश्न गर्दा उनले भनेकी थिइन् — “खै के भनौँ ? घरको पैसाबाट चलाइरहेकी छु । सधैँ यस्तै मन्दको अवस्था बनिरहे सधैं धान्न सकिन्न र पुराना ग्यालरीहरू जस्तै बन्द नहोला भन्न सकिन्न ।’

मूलतः नेपाली बजारमा बल्लतल्ल खुल्ने गरेका ग्यालरीहरूको यो अवस्थाको कारणको जड नै मनग्गे नेपालीहरूमा अझै कलाचेतना फैलन नसकी कलाको खरिदबिक्री सुनिश्चित र नियमित बन्न नसक्नुको परिणति हो । व्यक्तिगत ग्यालरीहरूको सरोकारको सम्पूर्ण पाटो कलाकार र कलाक्षेत्रको नितान्त सेवामा मात्र सीमित रहेको हुन्न । यसको आन्तरिक जीवन चालु रहन कला बिक्रीबिखनसँग पनि गाँसिएको हुन्छ । यही सरोकारमा यिनीहरूको खुल्ने, बन्द हुने वा चालु रहने स्थिति निर्भर हुन्छ । प्रमुखतः यिनीहरूले नियमित कला बेच्न सके भने मात्र टिकिरहनसक्ने अवस्था बन्दछ, नत्र सधैंका निम्ति बन्द हुनुपर्छ । प्रायः जसो ग्यालरीहरूमा एउटा चित्र बिक्रीबाट प्राप्त हुने तीस/पैँतीस प्रतिशत कमिशन वा ग्यालरी भाडाबाट प्राप्त आम्दानीहरूको जोड नै यिनीहरूको तीन सय पैंसठ्ठी दिन धान्ने आधारहरू हुन् । भाडामा प्रदर्शनी गर्ने थोरै ग्यालरीहरूलाई छोडेर, यस्ता ग्यालरीहरूमा बिक्रीकै आधारमा आम्दानी बन्ने र कला बिक्री नभए कलाकारको आम्दानी लगायत ग्यालरीको कमिसन नै हुस्सिने हुन्छ । यही क्रम बन्दै जाँदा घरको बहाल तिर्न नसकी ग्यालरीहरू बन्दको शिकार बन्नुपर्छ । यस्तै धरातलमा आजका नेपाली ग्यालरीहरू बामे सरिरहेका छन् ।

यसर्थ कलाक्षेत्रको विकासको अभिभारा बोकेको ललितकला प्रज्ञाप्रतिष्ठानको दृष्टिकोण ग्यालरीहरूको आँगनमा पुग्न जरुरी छ । र, आगामी दिनहरूमा यिनीहरूलाई निरन्तर बाँच्न सक्ने विशेषाधिकारका सहुलियतहरू स्थापित गरिदिँदै संस्थागत सुदृढीकरण गर्ने, विस्तार गर्ने र बेलैदेखि नेपालमा कलाचेतना फैलाउने सञ्जालतर्फ निकाय र कलाकारहरू संवेदनशील बन्न जरुरी छ । यसको उत्थान, आन्तरिक पीडा र मर्मलाई हामी सबैले संवेदनशील र व्यावहारिक भई आत्मसात गर्नसके मात्र यस क्षेत्रको उन्नति हुनसक्छ ।