झट्ट सुन्दा चित्रकलामा अमुर्त शब्द विरोधीभाष लाग्न सक्छ । अंशत अमुर्त चित्रमा के कस्ता रंगहरु प्रयोग गरिएका छन् ? कस्ता लाइनहरु कोरिएका छन् ? वा कस्ता आकार बनेका छन् ? भन्नेकुरा देख्न र अनुभव गर्न सकिन्छ । यधपि चित्रकलामा अमुर्त शब्दले गहिरो अर्थ राख्छ । युरोपमा २० औँ शताब्दीको सुरुदेखि नै प्रचलनमा आएको यो चित्रण विधिलाई आधुनिक कलाको परिष्कृत र उच्चतम प्रयोग मानिन्छ । कला वस्तुको प्रतिनिधिमूलक नभई आफैँमा स्वयंसिद्ध विषय हो भन्ने मान्यतालाई यसले स्थापित गर्छ । अत: कलामा के कुरालाई चित्रण गरेको भन्ने प्रश्न गौण र कला आफैँले प्रवाह गर्ने विषयवस्तुको अर्थ र त्यसको भाव प्रधान हुन जान्छ।
हेर्दा कुनै पनि वस्तुको आकार प्रष्ट नदेखिने तर त्यसमा प्रयोग गरिएका रंगहरुको अर्थ र भावहरु प्रधान हुने चित्रकला नै अमुर्त कला हो ।
युरोपमा २० औँ शताब्दीको सुरुदेखि नै महत्वका साथ प्रचलनमा आएको अमुर्त कलाको प्रभाव नेपालमा भने २००७ मा प्रजातन्त्रको स्थापना भएपछि मात्र देखा पर्यो ।
उत्तम नेपाली, गहेन्द्रमान अमात्य, लैनसिंह वांग्देल, ईन्द्र प्रधानलगायत अग्रज नेपाली कलाकारहरुले सुरु गरेको अमुर्त कलाको प्रचलन र प्रयोग अहिले पनि त्यसै गरी जारी छ ।
नेपाली अमुर्त कलाको पछिल्लो पुस्ताका केही थोरै चर्चित कलाकारको नाम लिनु पर्दा निसन्देह जीवन राजोपाध्यायको नाम अग्रपंक्तिमा आउछ । अमुर्त कलाको पर्यायवाची नामजस्तै बनेका जीवन राजोपाध्याय विगत ४ दशकदेखि निरन्तर अमुर्त कला सृजना गरिरहेका छन् । कलामा बि.एफ.एसम्मको औपचारिक अध्ययन र कलाकार लैनसिंह वांग्देलसँग करिब ११ वर्ष कलाको शिक्षा लिएका राजोपाध्यायले एकपटक एकल कला प्रदर्शनी र सयौँको संख्यामा राष्ट्रिय तथा अन्तराष्ट्रिय सामूहिक कला प्रदर्शनी तथा कला कार्यशालामा भाग लिइसकेका छन् । कलामै लागेबापत उनले दर्जनौँ मानसम्मान प्राप्त गरिसकेका छन् । पछिल्लो समय उनी आर्ट काउन्सिल नेपालमा आबद्ध छन् ।
अमुर्त कला के हो भन्ने सवालमा उनी भन्छन्, “यो त कलाकारिताको उच्चतम गहिराई हो” । उनका अनुसार कलाको उच्चतम गहिराई अमुर्ततामा गएर प्राप्त हुन्छ जुन सानोतिनो अध्ययन, मेहनत र साहसले पुग्दैन । हुन पनि हो, अमुर्त कलासँग दर्शन र कलाका सैद्धान्तिक पक्ष जोडिएका हुन्छन् । यस अर्थमा अमुर्त कलालाई पढ्न र बुझ्न प्राज्ञीकता चाहिन्छ । कलाको सैद्धान्तिक पक्ष, रंगहरुको अर्थ एवं कलाको मनोविज्ञानको अध्ययनविना अमुर्तकला बुझ्न सकिँदैन।
कलाकार राजोपाध्यायका कलाकृतिहरुमा रातो, नीलो, खैरो र पहेँलो रंगको एउटा समूह बनेको हुन्छ र ती रंगहरु ब्रसका शालिन स्ट्रोकसँग क्यानभासको एक कुनाबाट अर्को कुनासम्म पुग्दा नपाउँदै एउटा अद्भुत कलाको जन्म भैसकेको हुन्छ । अनि सो कलाको न्वारन गर्ने र भाव बुझ्ने जिम्मेवारी उनी दर्शकलाई स्वतन्त्र छोडिदिन्छन् । दर्शकले आआफ्नै तरिकाले हेर्छन् र त्यसको अर्थ पहिल्याउछन् ।ती अमुर्त कलामा कसैले जीवनको सिंगो दर्शन भेट्छन् त कसैले जीवनभोगाइको कथा।
आउनुहोस्, कलाकार राजेपाध्यायका केही अमूर्त कलाहरू अवलोकन गराैँ;
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला