मेरी उनी,
सरी ! मैले मेरी ठानेकी उनी,
उनीसँग प्रसङ्ग चल्दा सोध्नु छ- मैले तिमीलाई कम माया गरे या उसले तिमीलाई बढी गर्यो ?
छुट्टिने बेलामा भनेकी थियौँ, ‘बिर्सिदेउ मलाई’- हेर त मलाई, मैले सब बिर्सिसकेँ । अचेल न त तिम्रो नाम नै याद छ न त तिमीसँगका पलहरु नै ।
पहिला पहिला साह्रै गाह्रो हुन्थ्यो- बिर्सिन खोज्दा दिल रिसाउथ्यो, सम्झिन खोज्दा दिमाग । अचेल हुँदैन त्यस्तो, नमज्जाले बिर्सिसकेको छु । किनकि मैले बिर्सिनु छ भन्ने कुरा मज्जाले सम्झेको छु ।
हुन पनि हो, पहिलो प्रेममा पहिलो धोका पाउनेहरुलाई कहाँ थाहा हुँदो रैछ र ! विछोडको पीडा, दुई चार दिन सताउने मौसमी रुघा हो कि मर्नु न बाँच्नु पार्ने कोभिड-१९ ।
वर्षातमा मात्र देखिने केही दिनको खहरे खोला हो म भन्थी, हिउँदमा सुकेर पनि गई । प्रेममा बेइमानी गरी तर नियतमा इमान्दार साबित भई । बेइमानी इमान्दारीपूर्वक गरेर गएकी छे- त्यसैले त सोच्नै सकिरहेको छैन, कर्तव्य निष्ठा भनौँ या धोखेबाज ?
सुन न प्यारी, कति जानेकी थियौ है तिमीले मायाको एक्टिङ्ग गर्न ! त्यसैले त मैले पनि तिमीलाई हिरोइन ( एक्ट्रेस ) भन्ने गर्थेँ । एकपटक तिमीले भनेकी थियौँ- तिमीसँग त मेरो बोल्दाबोल्दै लभ नै परेछ ।

मनोज जिसी
अँ साँच्ची, त्यतिबेला लभ नै पर्या थियो कि गफ गर्ने बानी मात्र ?
उफ् …..…
तिमी हिँड्ने ती बाटोहरुमा, हामी घुमेका ती ठाउँहरुमा अझै पनि तिम्रो पर्फ्युमको सुगन्ध आए झैँ लाग्छ । तिम्रो नाम गरेका सबै सबै तिमी नै हौ झैँ लाग्छ, उत्तिकै प्यारो लाग्छ ।
के अझै नि छ त प्रेम ? के वास्तवमा नसकेकै हो त मैले बिर्सिन ? यो प्रश्न तिमीलाई हैन, मरिसकेको मलाई नै हो ।
हो, त्यतिबेलाका ती दिनहरुमा-
तिमले सोह्र श्रीङ्गार गरेर औधी राम्री भएको देख्दा, त्यो ऐनाले पनि कुनै दिन गिद्दे दृष्टि लगाउन सुरु गरी पो हाल्छ कि भन्ने भयले साह्रै पोल्थ्यो । सोच त अहिले मलाई कति पीडा हुन्छ होला, कति जलन हुन्छ होला आफ्नी प्रेमिकाको त्यो सोह्र श्रीङ्गार अर्कै पुरुषको लागि हो भन्ने बुझ्दा ।
भैगो, छोड्देउ त्यो कुरा । शरीरकै तारिफ गर्छु एकछिन ।
आहा, कस्तो मिलेको शरीर थियो है तिम्रो ! जे लगाए पनि सुहाउने, जे नलगाए पनि सुहाउने । त्यस्तै ओठ, मुस्ताङको त्यो रातो स्याउ के रसिलो छ र ? त्योभन्दा कयौं गुणा रसिलो त तिम्रो ओठ छ । तर के महारानीजी ! एकैछिनमा लठ्ठ पारिदिने त्यो नसा, तिम्रो ओठमा थियो कि तिमले लगाउने लिपस्टिकमा ? त्योचाहिँ कहिले नि मेसो पाउनै सकिनँ मैले ।
अनि तिम्रा ती झुठ देखाउन र सत्य लुकाउन दुवैमा माहिर आँखाहरु । घायल पार्ने कुटिल मुस्कान । सर्लक्क परेको घाँटी । छिनेको एक नम्मरी कम्मर । कस्सम ! सबका सब बबाल , सिवाय मन ।
थाहा छैन, तिमी आफैँमा त्यति धेरै मादक थियौं या म थोरैमा नै झ्याप भएको थिएँ ? यही प्रश्नको जवाफ सोच्दैमा कट्छ्न दिनहरु । हुन त गिद्दलाई सब्से राम्रो सिनो नै लाग्छ रे । सायद म नि गिद्द पो निस्केको थिएँ कि त्यतिबेला ।
यस्सो स्मरण गर त ! मैले गर्ने गरेका मायाबाहेक अरु सबै कुराहरु औधी मन पर्थ्यो नि है तिमीलाई ! त्यसैले त तिमीले पनि मायाबाहेक सबै दियौ । र म पनि विस्तारै त्यसैमा रमाउदै गएँ ।
अफसोच, तिमी सफलतामा सफल भयौँ, म असफलतामा । पछि पछि त्यो पनि छोड्यौ …… बानी लगाइदिएर …….
तरुणो मानसपटलमा कहिलेकाहीँ सोच आउँछ- ती चिजहरु महत्वपूर्ण भएर त्यति गोप्य भए या गोप्य भएर त्यति महत्त्वपूर्ण !
रुपको घमण्ड गर्ने तिमीलाई एउटा जानकारी छ ! ५० वर्षपछिको प्रतिबिम्ब देखाउने ऐनामा हेर त ! त्यहा तिम्रा पुटुस्सका यी सुन्दर गाला चाहुरिएर बेसुन्दर भएका छन् ।
समय आइसक्यो, यी सब प्रेमकै उपज हुन् । अब यो सम्बन्धलाई एउटा नाम दिनुपर्छ भन्ने सोचेर प्रस्ताव राखेँ । महिनौ कुरायौ । त्यहीबीचमा प्रक्रिया दोहोरायौ अनि अन्तिममा प्रेम टुक्राउँदै भन्यौ, ‘महसुस गरेको छैन ।’
ए बाबा ! म त बल्ल डेब्यु मात्र गर्दै थिएँ, तिमी त पुरानो नामी खेलाडी रहेछौ । कमसेकम ममाथि दया गरेर सुरुतिरै बताइदिनु पर्ने थियो-
मायाको महसुस गराएर प्रेमप्रस्ताव राख्नु उचित हुन्थ्यो कि प्रेमको प्रस्ताव राखेर मायाको महसुस गराउनु ?
महसुस गरेको छैन भन्यौ हैन ! महसुस गर्न सक्ने सामर्थ्य छ भने मसँगका, मैले गरेका हरक्षणहरुलाई याद गर, माया नै मायाको महसुस पाउने छौ ।
त्यो दिनपछि उनीसँग भेट सपनीमा मात्र हुने गरेको छ । उनी खुसी छिन् अर्कैको सामीप्यमा । सपनीमा एक रात आउछिन्, निद्रा हरण तीन रात हुन्छ- यस्तै छ व्याथा ।
कहिलेकाहीँ जिस्किदै भन्ने गर्थी- तिमी त मेरो सास हौ ।
अब कसरी सोधौँ- किन फेर्यौ ?
एक रात सपनीमा भन्दै थिइनँ, ‘म भेट्न आउँछु तिमीलाई’ । साँच्ची, तिमी आउँदाचाहिँ गुलाफी परेली, छद्राङ्छुद्रुङ गर्ने झुम्का, लाली ओठ अनि छोटा छोटा पहिरनमा हिल स्याण्डल लगाएर रेशमी केश फिजाउँदै क्याटवाकमा छिनेको कम्मर लचक्लचक् पार्दै आउनु ल !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

