गोपीकृष्ण ढुंगाना

म सानै छँदा
आमाले भन्नुभयो
भाइलाई नअल्मल्या
स्कुल जान अबेर भइसक्यो
के ट्वाँ परिरा
वस्तु लिएर जंगल जा ।

आमाका अमिला वचनले
कहिल्यै हाँस्न सकिनँ म
बालविवाहको पीडाले
जीवन बाँच्न सकिनँ म ।

आमाले मात्र होइन, खसमले पनि
अधिकारका नाममा
अहंकारको हुंकार गर्जाइरहे
कठोर निर्णयहरू लादिरहे
कर्तव्यका पाठहरू पढाइरहे
तर, तर कहिल्यै महसुस गरेनन्
आफ्ना कर्तव्य र मेरा अधिकार ।

सुन्तली दिदीलाई सासूले पढ्न पठाएको,
छोरी सम्झेर स्वतन्त्रता दिएको,
यस्तै देखेकी मैले
साँचे थुप्रै सपनाका सगरमाथाहरू
सुन्तलीजस्तै सासूको प्रेरणाले शिक्षित बनेर
समाजको भूमिका बदल्ने छु ।
विवाह नै नबुझी जब भित्रिएँ
तब फुटे सपनाहरू
पानीका फोकाझैं पटक पटक ।

भत्काउन चाहन्थें सामाजिक संकुचनहरू
बिथोल्न चाहन्थें प्रतिघातका काला बादलहरू
र, भन्थें छोरीलाई
तिमी सेता अक्षरहरूमा सजिनुपर्छ
कुसमाजलाई समाजमा बदल्नुपर्छ
माया र न्यायका घामहरू
वस्ती वस्तीमा पुयाउनुपर्छ ।

मेरो विश्वास आफ्नैले लास बनाइदिएपछि
उसैगरी अन्माए छोरीलाई पनि
चुडाइदिए मेरो मायाको लहरो
लासझैं मेरा ओठहरू थर्थराए फेरि एकपटक ।

अर्को एक दिन,
चुडाइदिए सम्बन्धको लगनगाँठो पनि
उनी त समाजले सर्वोच्च ठानेको पुरुष
भित्र्याए छोरीसरहकी राजकुमारी
र भने, यसका विरुद्ध आवाज नउठायेस् ।

सबैबाट एक्लिएकी मैले
सकिनँ सभ्यताको बिस्कुन फिजाउन
खुम्चियो विद्रोही मन
वृद्ध यो उमेरमा सहाराविहीनले
खै के नै गर्न सक्दोरहेछ र?
महसुससम्म गर्न सकेकी छु,
मौन मेरो जीवनले
आफ्नो खाडल आफैं खनेछ ।

(कवि अन्नपूर्ण पोष्ट पत्रिकाको साहित्य परिशिष्टाङ्क ‘फुर्सद’को सम्पादक हुन् ।) 

काव्य–कुञ्ज,
गठ्ठाघर, भक्तपुर, नेपाल