(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।

यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाे, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीकाे स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)

कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।

यस अभियानले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।

राजेन्द्र पराजुली
सम्पादक
कविता/सोच

कविता नै मेरो जगत हो

मञ्जु काँचुली

मेरो जगत् पूर्ण छ । बरू व्याख्या अपूरो हुन सक्छ । म व्याख्या गर्नै चाहन्नँ । अनन्तलाई व्याख्या र परिधिभित्र परिभाषित गरेर बाँध्न मुस्किल पर्न सक्छ तैपनि कविता प्रतिको आफ्नो धारणालाई मूर्त रूपमा बताउने मात्र कोसिस गर्छु । अरूको लागि मलाई थाहा छैन तर सात/आठ वर्षको उमेरदेखि फर्मूला साबित भएको छ जस्तो लाग्छ- मैले तिमीलाई गुन्दा नै अनन्त कविता बन्छ ।

तिमीxम= अनन्त कविता
तिमी= वाह्य जगत र भौतिक वा प्राकृतिक घटना, सजीव वा निर्जीव वस्तु, समाज, विज्ञान, कलाका विभिन्न रङहरू, संगीतका थुप्रै स्वर र लयहरू रासायनिक वातावरणीय तत्त्वहरू (ग्यास ठोस र तरल), यिनीहरूको पारस्परिक अन्तर्मिश्रण र सबै वाह्य परिधिले बनेको बाहिरी जगत) ।

म=अन्तर्जगत (संवेग, भावना, विचार, तर्क, बुद्धि, ज्ञान, कल्पना, प्रवृत्ति, स्वभाव, उत्प्रेरणा, अनुभूति, सूक्ष्मबोधता, अन्तर्मनको कलात्मक अनेक रङहरू, संगीतात्मक धूनहरू, तत्त्व परिक्षण, यिनीहरूको पारस्परिक अन्तर्मिश्रण र सबै अरू आन्तरिक परिधिहरूले बनेको भित्री जगत) ।

x= प्रतिक्रिया (पारस्परिक व्यापपक समागम, संघर्ष, घर्षण, परिवर्तन, अन्तरक्रिया सम्मिश्रण, परिक्षण, प्रयोग आदिको विस्तृतीकरण) ।

मैले तिमीलाई गुन्दा (गुणन गर्दा) कविता बन्छ

तिमी बाहिरी जगत भइरहू । म मेरै अन्तर्जगत भइरहूँ । म गुदीको पराग बनिरहूँ । तिमी बोक्राको पत्रपत्र बनिरहू । तिम्रो घुम्ने कक्ष र गति सधैँ बाहिर भइरहोस् । मेरो घुम्ने कक्ष र गति सधैँ भित्रै रहिरहोस् । तिम्रो र मेरो अंक बराबरमा अनन्त होस् । न तिमी सानो हौ, न म ठूलो हुँ । न तिमी थोरै होौ न म धेरै हुँ । यो अन्तर्क्रियाको कुरा अनन्तसम्म रहिरहोस् । तिमी धेरै मलाई छोइरहू, आगो भएर भए पनि, पानी भएर पनि । तिमी नजिकै रहिरहू, तेजाब भएर भए पनि, अत्तर भएर भए पनि । जोड्दा थोरै हुन्छ, म तिमीलाई गुनिरहूँ । यही मिश्रणमा म भुलिरहूँ । यिनै जगतमा अनन्त अनन्त कविता म सधैँसधैँ बनिरहूँ ।

तिमीxम (वाह्यजगतxअन्तर्जगत)= अनन्त कविता ।

रंगमञ्चको पछाडि अगाडि

मञ्जु काँचुली

म तिमीले चटकमा प्रयोग गरिएको एक नर्तकी
जुन कुरा तिमीलाई मात्र थाहा छ
कसरी तिमीले मलाई एक दिन
हुरी बतासको डोरीमा हेलिदियौ
आफू पर्दाभित्र पस्यौ
र ढोका बन्द गर्यौ
म निसास्सिएँ
भूइँमा लडेँ
हुरीकै डोरीमा लपेटिएँ
आँधीकै बाँधमा बेरिएँ
विस्तार विस्तार
हुरीकै डोरीमा आड समातेँ
आँधीको बाँधमा टेकेर
निसास्सिएको मनलाई संयमले बाँधेँ
पहिले डोरीमा टेकेँ
त्यसपछि ताती गरेँ
अनि हिँडेँ र दौडेँ
एक्लै नाच सिक्दासिक्दै
एउटी कुशल डोरी नाचकी नर्तकी भएँ
भित्रभित्रै हुरी बतासका नाचहरू !
हावामाथि आँधी र भुमरीका नाचहरू
पृथ्वीमाथि भैँचालो र धाँजाका नाचहरू
पानीमुनि लहर र विद्युत-धारका नाचहरू !
मैले थुप्रै थुप्रै नाचेँ
गोडाका तालहरूसाग वेदनाका छालहरू मिलाएँ
हातका लयहरूसँग
भाव र धुनको झंकार मिलाएँ
गोडाकै तालसँग अतासलाई
डोरीमाथि थपक्क राखेँ
लडेँजस्तो गरी, ढलेँजस्तो गरी
म कत्ति कत्ति ढलपलाएँ
यसैसँग हातहरू नचाएँ
आफ्ना सबै सकसहरू सर्कसका शून्यमा पोख्दै गएँ
तिम्रै हातले पहिलो बाजी मुख बन्द गरिएको मैले
तिम्रो अगाडि बोल्नै पाइनँ
र, त्यसैले केवल द्रौपती र मीराका
थुप्रै चुपचाप नाचहरू मात्र नाचेँ ।
स्लेटमा छरिएको अबीरमाथि
मात्र म अक्षरको लाममा
निर्दोषता पल्टिएको थिएँ
बालककालको अक्षराम्भपछि
मैले जिन्दगीको नृत्यारम्भ तिमीबाटै यसरी गरेँ-
तिमीले संघारमा राखिदिएको तरबारको धारमा
मैले इमानले आफ्नो पैताला राखिदिएँ
रगत बन्यो पैतालाबाट
बगेको रगतको नागबेली नाच मैले
यहाँका थुप्रै रिवाज र सम्बन्धहरूसँग नाचेँ
अब रगत बग्दैन
अब ठेला परेको पाइतालाले
तरबारको धारमा कुल्चँदा
कुशलताको दृश्य जम्छ
जसरी यता औँलाहरूमा ठेला पर्दा
उता गितारको मीठो झङ्कार बज्छ
मैले तिम्रा सबै आदेशहरूमा उमङ्ग र अतास नाचेँ
तर तिमीसित एकचोटि पनि नाचिनँ !
‘यो किन ?’ त्यो पनि मैले जानिनँ
फूलजस्तो पाइताला लिएर
स्लेटको अबीरमाथि अक्षरहरू नाचेँ
पहिलो ‘कपुरी क’पछि
अकस्मात्-
तरबारको धारमुनि आफ्नै रगतको नाच नाचेँ
इमान नाचेँ
रिवाज नाचेँ
सम्बन्ध नाचेँ
संत्रास तृप्ति नाचेँ
त्यसअघि,
हिउँको पिठोमाथि जाडोको भोक नाचेँ
बालुवाको बबन्डरमा तृष्णाको प्यास नाचेँ
सबै सबै
केवल पर्दापछाडि ।
दृश्य अझै ताजै छ-
आरूबखडा र आरूको मीठो फूलको सुवाससँगै
अकस्मात् कसरी हुरीबतासको बवण्डर उड्यो
तिमीले मलाई निस्फिक्री उफार्यौ
म डराउन छोडेँ…
म डराउन लागेँ
अचानक तिम्रो हात
मेरो हातबाट फुस्कियो ।
त्यो हात कुनै अर्को जादुगरको हातसँग
कहिले बाँधिएन
किन कि तिम्रो त्यो अस्थिपञ्जरको हातबाट फुस्किएको
मेरो मुटुकै सुक्सुकाउँदो हात थियो
म आँधीमा घोप्टो परेँ
तिमीले ढोका बन्द गर्यौ
फूलको बास्ना
हुरीको वेग
फुस्किएको हात
र घोप्टो परेको शरीर
आदिआदि थुप्रै पर्दाभित्रका दृश्यहरू !
थुप्रै मुर्छित नाचहरू !
ती त केवल रिहर्सल !
रिहर्सलमै मैले अनन्त
शब्द नाचेँ, भाव नाचेँ, उद्गार नाचेँ !
वेदना नाचेँ, वेग नाचेँ, निस्तेज नाचेँ ।
ती त सबै सबै पर्दाभित्र केवल रिहर्सल
बाहिर त
केवल असंख्य असंख्य दर्शक
अनि कवेल नाच ।
केवल नाच !