कवि चन्द्रकान्त देवतालेको जन्म- ७ नोभेम्बर, १९३६, मा जौलखेड़ा, बैतूल, मध्य प्रदेशमा भएको हो । उनको निधन १४ अगस्त, २०१७ मा भयो । देवताले सुप्रसिद्ध भारतीय कवि एवं साहित्यकार थिए । उनी देशका २४ भाषाहरूमा विशेष साहित्यिक योगदानका लागि प्रख्यात साहित्यकारहरू मानिन्थे । उनी आफ्ना कविताको सघन बुनोट तथा तिनमा निहित राजनीतिक संवेदनाका लागि विशिष्ट मानिन्छन् । उनी संसारको सबैभन्दा गरिब मान्छेदेखि लिएर बुद्धको देशमा बुससम्म कविताहरू लेख्थे ।
उनले आफ्ना कविताको कच्चा पदार्थ मनुष्यका सुखदुःख, खासगरी महिला र केटाकेटीको संसारबाट जम्मा गरे । बैतूलमा हिन्दी र मराठी बोलिन्छ त्यसैले उनको काव्य संसारमा यी दुवै भाषा जीवित थिए । देवताले इन्दौरमा बसे र इन्दौरलाई आफ्नो सार्वदेशिकता (कस्मोपोलिटिनिज्म) का कारण मध्य भारतको मुम्बई भनिन्छ । यो सार्वदेशिकता उनका कविताहरूले पनि बयान गर्छन् । देवताले निकै पढेलेखेका मानिस थिए । उनले कवि गजानन माधव मुक्तिबोधमाथि पीएचडी गरेका थिए र इन्दौरको एक कलेजमा पढाउँथे । उनले अनेक पुरस्कार पाएका थिए जसमा अन्तिम महत्त्वपूर्ण पुरस्कार २०१२ को साहित्य अकादेमी पुरस्कार थियो । यो उनको कविता सङ्ग्रह ‘पत्थर फेंक रहा हूं’ का लागि दिइएको थियो । देवतालेका कवितामा समय र सन्दर्भसित सम्बन्ध राख्ने सबै सामाजिक, सांस्कृतिक, राजनैतिक प्रवृत्तिहरू समाहित छन् । उनका कवितामा समयका सरोकार छन्, समाजका सरोकार छन्, आधुनिकताका आगामी वर्षहरूका सबै सिर्जनात्मक प्रवृत्तिहरू छन् ।
मुख्य कृतिहरू
कविता सङ्ग्रह : हड्डियों में छिपा ज्वर, दीवारों पर खून से, लकड़बग्घा हँस रहा है, रोशनी के मैदान की तरफ, भूखंड तप रहा है, आग हर चीज में बताई गई थी, पत्थर की बैंच, इतनी पत्थर रोशनी, उसके सपने, बदला बेहद महँगा सौदा, पत्थर फेंक रहा हूँ
आलोचना : मुक्तिबोध : कविता और जीवन विवेक
संपादन : दूसरे-दूसरे आकाश, डबरे पर सूरज का बिम्ब
अनुवाद : पिसाटी का बुर्ज (दिलीप चित्रे की कविताएँ, मराठी से अनुवाद)
सम्मान
मुक्तिबोध फेलोसिप, माखनलाल चतुर्वेदी कविता पुरस्कार, मध्य प्रदेश शासन का शिखर सम्मान, सृजन भारती सम्मान, कविता समय पुरस्कार आदि ।
***
१. आमा जब खाना पस्कनुहुन्थ्यो
चन्द्रकान्त देवताले
धेरै पुराना भएका छन् ती दिन
जब आमाले नपस्केसम्म खाना
भरिन्नथ्यो पेट
ती दिन गहिरो इनारमा छुटेर झरेको
चम्किलो पित्तलको बाल्टिनजस्तै
अद्यापि विलुप्त छन् कतै सुदूरमा
फेरि आए ती दिन
जब आमाको उपस्थितिमा
गाँस निल्नसमेत धौधौ हुन थालेको थियो
र पनि उहाँ बेइलमी आफ्नो कान्छो छोराका लागि
घिउको बटुको ल्याउन कहिल्यै बिर्सनुहुन्नथ्यो
कहिल्यै सोध्नुभएन उहाँले
कता भौँतारिइरहन्थेँ म दिनदिनभरि
र कताबाट जुटाउँथेँ
आफ्नो पानसुर्तीको खर्च
सधैँजसो पस्कँदै गर्दा खाना
अझ मायालु बनेर उहाँ
पटकपटक सोधिरहरनुहुन्थ्यो
र थालमा निहुर्याएर गर्धन
आफैँले रोटीको टुक्रा चपाएको आवाज
आफैँ सुनिरहन्थेँ म
उहाँ चिन्नुहुन्थ्यो
मेरो भोक र प्यासलाई राम्रोसँग
आधापेट मात्र खाएर म उठेको दिन
बटुल्दै जुठा भाँडाकुँडा
भान्सामा एक्लै बर्बराइरहनुहुन्थ्यो आमा
दलानमा लुकेर
मेरा कान टिपिरहन्थे उहाँका हरेक शब्द
र अन्त्यमा भगवान्सँग उहाँको गुनासो
सबैभन्दा डरलाग्दो सिद्ध हुन्थ्यो
ढोका खोलेर त्यसपछि म
राति अबेरसम्मका लागि
सडकको एकान्त र अन्धकारमा समर्पित हुने गर्थेँ
यी दिन पनि अब त्यसै इनारमा
फलामको गह्रौँ बाल्टिनजसरी डुबेका होलान्
आफ्ना बालबच्चासँग खाँदै गर्दा
अब खाना खाने त्यो सुविधा र छट्पटी
दुवै विलुप्त भएका छन्
सबै आफ्नोआफ्नो जिम्मेवारीमा खान्छन् आज
र निश्चिन्त रहन्छन् अरुको खानाका बारेमा
खानामा कहिलेकाहीँ मेथीको साग वा बेसनको पकौडा हुँदा
मेरो भोक र प्यासलाई नियाल्दै
उहाँका दृष्टि र आवाज तरङ्गित हुन थाल्छन्
अनि म फेरि पानीका सहायताले
निलेर खाना केहीबेरका लागि
त्यही इनारमा डुबेका
तिनै बाल्टिनहरू खोजिरहन्छु ।
***
२. आमाका बारेमा सक्तिनँ लेख्न कविता
चन्द्रकान्त देवताले
आमाका लागि सम्भव छैन मबाट कविता लेखिन
कमिलाहरूको एउटा अमर जत्था
हरपल मेरो मस्तिष्कभरि सल्बलाइरहन्छन्
हरेक दिन आमा त्यहाँ एकदुई चिम्टी पिठो हालिदिनुहुन्छ
जहिल्यै सोच्न सुरु गर्छु म-
कसरी हुन्छ होला यस्तो ?
जाँतो पिनेको आवाजले
घेर्न थाल्छ मलाई
र, बस्दाबस्दै म अर्कै संसारमा उँघ्न थाल्छु
जब कुनै आमाले बोक्रा निकालेर
चना, मम्फली वा केराउका दाना
राखिदिन्छन् कलिला हत्केलाहरूमा
मेरा हातहरू आफ्नै ठाउँमा
थर्थराउन थाल्छन्
आमाले ताछ्नुभयो हरेक वस्तुका बोक्रा मेरा लागि
शरीर, मन, आगो र पानीसम्मकै बोक्रा छोडाउनुभयो
र, मलाई कहिल्यै दिनुभएन भोकै सुत्न
मैले धरतीमाथि लेखेको छु कविता
जूनलाई बनाएको छु गिटार
समुद्रलाई सिंहजसरी उभ्याइदिएको छु आकाशको पिँजडामा
सूर्यका विषयमा कुनै पनि बेला लेख्न सक्छु कविता
म आमाका बारेमा सक्तिनँ लेख्न कविता !
***
३. जहाँ थोरै सूर्योदय हुनेछ
चन्द्रकान्त देवताले
पानीको रूखमा जब
बास बस्ने छन् आगोका चराहरू
तिनको चिरबिरको अनन्तमा
थोरै स्थान हुने छ जहाँ म मर्छु
म मरेकै ठाउँमा उम्रिने छ आगोको वृक्ष
त्यसलाई घर बनाउने छन् आगोकै पन्छीहरूले
चराहरूको तिर्खाको आकाशमा
जहाँ थोरै सूर्योदय हुने छ
त्यहाँ छायाबिनाको एउटा श्वेत शरीर
मेरो ठेगाना सोधिरहेको भेटिने छ ।
***
अनु. निमेष निखिल
kavitakosh.org तथा ‘प्रतिनिधि कविताएं’ बाट
परिचय साभारः विभिन्न हिन्दी वेबसाइटहरूबाट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।