प्रसिद्ध हिन्दी भाषा लेखक, साहित्य प्रतिष्ठान पुरस्कार विजेता कवि मंगलेश डबरालको हिजो बुधबार निधन भएको छ। उनी कोरोनाबाट संक्रमित थिए र उनको उपचार भइरहेको थियो। डबराल समकालीन हिन्दी कविहरूमा सबैभन्दा लोकप्रिय नाम हो।

उनको १४ मे १९४९ मा उत्तराखण्डको टिहरी गढवालको काफलपानी गाउँमा जन्म भएको थियो। उनको शिक्षादीक्षा देहरादुनमा भयो। उनले हिन्दी पैट्रियट, प्रतिपक्ष र दिल्ली आसपास जस्ता पत्रिकामा काम गरेपछि उनी भोपालको मध्य प्रदेश कला परिषद, भारत भवनबाट प्रकाशित साहित्यिक त्रैमासिक पूर्वाग्रहमा सहायक सम्पादकका रूपमा काम गरे ।

‘जनसत्ता’ दैनिक, ‘सहारा समय’मा सम्पादकको रूपमा काम गरिसकेका उनी पछिल्लो समय नेसनल बुक ट्रस्टसँग सम्बन्धित थिए। डबरालका पाँच कविता संग्रह पहाड़ पर लालटेन, घर का रास्ता, हम जो देखते हैं, आवाज भी एक जगह र नये युग में शत्रु प्रकाशित छन्।

यसका अतिरिक्त उनका दुई गद्य संग्रहहरू “लेखक की रोटी” र “कवि का अकेलापन” का साथसाथै एक यात्रावृत्तान्त “एक बार आयोवा” पनि प्रकाशित भएका छन्।

७२ वर्षको उमेरमा निधन उनको भएको हो ।

आज उनको स्मृतिमा उनका तीन कविताको अनुवाद शृंखला पस्कँदैछौँ ।

 

अन्तराल

मंगलेश डबराल

हरियो पहाड रातिहुँदी
सिरानीछेउ उभिन्छ
शिखरबाट प्रतिध्वनित तिम्रो आवाज
आद्रताले भरिएको उपत्यकामा झर्छ
र, विस्मृत दृश्यहरूको धमिलोले
छानिएर आइरहन्छन्, तिम्रा जन्मदिन
पत्थरहरूमा चेपिएका घाँस
इच्छाहरूझैँ अजस्र झरना
एउटा निर्गन्ध मृत्यु र ती सबै
जसबाट तिम्रो शरीर रचिएका छन्
फर्कन्छन् रगतमा
फेरि फेरि चिच्याउन

 

अभिनय

मंगलेश डबराल

एउटा गहन आत्मविश्वासले भरिएर
बिहान निस्कन्छु घरबाट
ताकि सारा दिन आश्वस्त रहन सकूँ
जब कसैसित भेट्दा मुस्कुराउँछु
ऊ एकाएक देख्दछ मेरो उदासी
अर्कोसँग झट्ट हात मिलाउँछु
ऊ थाहा पाइहाल्छ, भित्रैबाट म छु अशान्त
अर्को एक साथीका अघिल्तिर चुपचाप बस्छु
ऊ भन्छ, तिमी दुब्लो-रोगी किन देखिन्छौ
जसले मलाई घरमा कहिल्यै देखेका थिएनन्
तिनले भन्छन्, अरे तपाईंलाई त मैले टिभीमा देखेको थिएँ !

बजारहरूमा घुम्छु निःशब्द
डिब्बाहरूमा बन्द भइरहेको छ पूरा देश
पूरा जीवन बिक्रीका लागि
एउटा नयाँ रंगीन किताब छ,
जुन मेरो कविताको विरोधका लागि निस्केको छ
त्यसमा छापिएका सुन्दर अनुहारहरूलाई कुनै कष्ट छैन
ठाउँठाउँमा नृत्यका मुद्रा छ, विचारको साटो
थाहा छ ? एउटा पूरै फिल्म जत्तिकै लामो छ
किन्नुस् र भरपूर आनन्द लिनुस्

बाँकी जे छ, अभिनय छ
चारैतिर आवाज आइरहेको छ
मेकअप बदल्ने समय पनि छैन
हत्यारा एउटा निर्दोषको कपडा पहिरिएर आएको छ
ऊ जसलाई आफू हुनुको गर्व थियो
एउटा खुसामदयुक्त आवाजमा गिडगिडाइरहेको छ
ट्रयाजेडी हो यो, संक्षिप्त लामो प्रहसन
हरेक मान्छे चाहन्छ, कसैगरी यसलाई पाऊँ
सर्वश्रेष्ठ अभिनेताको पुरस्कार ।