१. निर्वासन

(तुल्सी थापा)

जङ्गली पशुहरू सहर पस्दै छन्
कहाँ बस्लान् अब यी मान्छेहरू !
धन्दा नमान—
जङ्गल खाली हुँदै छ !

 

२. जीवनको अर्थ खोजिरहेछु

(पवन अलोक)

म जीवनको अर्थ खोजिरहेछु
के हो जीवन ?
कस्तो हुन्छ जीवनको रङ्ग ?
कस्तो हुन्छ मृत्युको रङ्ग ?
सृष्टिको पहिलो बिहानदेखि
मान्छेहरू आइरहेछन्
मान्छेहरू गइरहेछन्
यो महासमुद्रमा
एक थोपा पानी हो मान्छे
एक टुक्रा हिउँ हो मान्छे
कहाँ बिलाउँछ थाहा छैन
कहाँ जान्छ थाहा छैन
मान्छेहरू आइरहेछन्
मान्छेहरू गइरहेछन्
यत्तिका मान्छे गइसके
कहाँ जान्छन् तिनीहरू ?

महेश पौड्याल

३. सिसा, शीत र प्रिया

(महेश पौड्याल)

झ्यालको सिसामा परेको शीतमाथि
औँलाले कोरेर तिम्रो तस्बिर बनाएँ
र रोमाञ्चित हुँदै भनेँ— ‘मेनका !’
तर झस्कँदै एकै छिनमा
फेरि भनेँ— ‘प्रिया !’
सिसा र शितमा समाहित हुँदा
सुन्दर देखिने तिमी
कहिल्यै सिसा नहुनू
कहिल्यै शीत नहुनू ।

 

५. रुख र मान्छे

(कृसु क्षेत्री)

साँच्ची
रुख पनि मान्छेजस्तै हिँड्दो हो त
मान्छेले कहाँ पाउँथ्यो होला छाया
घामबाट बच्न,
अनि
रुखको सियालमा बसेर
रुखकै हाँगा छिमल्दै
कसरी बनाउँथ्यो होला
रुख नै काट्ने
बञ्चराको बिँड ?

 

५. अक्षरको अर्थ

(गोबर्ध्दन पूजा)

गोवर्धन पूजा

बाजेले गाउँमा बसेर
कोदालीपाते ‘त’ सँगै
हलोको ‘ह’ र गोरुको ‘ग’ को गीत गाउनुभो

बाबुले पनि गाउँमै बसेर
विश्वासको ‘व’
सङ्कल्पको ‘स’
कर्मको ‘क’ सँगै
सभ्यताको पाठ पढ्नुभो ।
आज म सहरमा बसेर
कपटको ‘क’
छलछामको ‘छ’
अनि
जालझेलको ‘ज’ पढ्दै छु ।

थाहा छैन—
किन समयको समुद्रमा
अक्षरको अर्थ पनि बगिरहन्छ ?