ज्ञानु अधिकारी

आगत कस्तो रङ्ग लिएर आउँछ थाहा छैन । विगत बन्दै गएको पछिल्लो केही महिना कोरोना महामारीका कारण मात्र होइन देशभित्रकै राजनीतिक तथा सामाजिक गतिविधिले आहत बनायो । यसो त यो समय विश्व मानवसमुदायकै लागि अवसादपूर्ण रह्यो । समय सधैँ सुन्दर मात्र देखिँदैन, सधैँ शान्त र सौम्य मात्र पनि हुँदैन, यो त थाहा थियो तर यति विद्रूप होला भन्ने कल्पना पनि थिएन । विश्वमा व्याप्त महाव्याधि र यसले फैलाएको त्रासदीलाई झेल्दै गर्दा देशको एउटा नागरिकले हैसियतले देशवासीले भोग्नुपरेको विवशता र लाचारीपन वास्तवमै दुःखपूर्ण रह्यो । देशको शासन व्यवस्थामा देखिएका यावत् बेथिति र विसङ्गतिप्रति एउटा सचेत नागरिकले शासकहरुलाई खबरदारी गर्न, सुझाव दिन र त्यसप्रति प्रतिरोध लेख्नबाहेक अरु के गर्न सक्छ र ! तर यी सबै खबरदारीका विपरीत सामन्ती शैलीको सरकारले राजकीय ठाँटबाँठका साथ आफ्नो रोब र रवाफ देखाइरह्यो । यी पछिल्ला दिनहरुले जसरी छोएर गए, ती बिर्सिनसक्नुका छन् । यो कोरोना अवधिमा आफ्नो देशको हैसियत, शासकहरुको बेवकुफी र नेपालीहरुका वास्तविकतालाई नजिकैबाट नियाल्ने मौका पाइयो ।

एकातिर रोगको डर र भोकको डरले त्रसित निम्नवर्गको निरीह अनुहार र अर्कोतर्फ शासकहरुले खेलेको कमिसन र भ्रष्टाचारको नाङ्गो खेल, यी दुवै दृश्य यो समयको सबैभन्दा भयानक रुप हो । आम नागरिकले पाएको अतिसय सास्ती अनि यही अवधिमा मौलाउँदै गएका हत्या, हिंसा, बलात्कार र जातीय विभेदको निकृष्ट दृश्यहरुले हाम्रा संस्कार र सोचमाथि नै प्रश्न उठाउन बाध्य बनाएको छ । यो कोरोना अवधिका बीचमा जेजस्ता घटना र दृश्यहरु देखिए, त्यसले हामी नेपालीको स्तर र औकातलाई प्रस्ट पारिदियो ।

राजनीतिक र सामाजिक दुवै क्षेत्रमा जोडका तोडसँग एकपछि अर्को घटनाहरु घट्दै गए । शृङ्खलाबद्ध रुपमा दृश्यहरु फेरिँदै गए र हामी जनता केवल रमिते बनेर रह्यौँ । चैत ११ गते सुरु भएको लकडाउनपछि रञ्जन कोइरालाको रिहाइसँगै बदनाम भएको न्यायालयको घटनासम्म आइपुग्दा देश र देशवासीले जेजे भोगे, जेजे देखे ती कुनै पनि कुरा सही र अपेक्षित थिएनन् । राजनीतिक क्षेत्रमा हेर्ने हो भने विनासोच र छलफलमा नै एक्कासी लकडाउनको घोषणा भयो । लकडाउनलगत्तै भारतले लिम्पियाधुरा, कालापानीमा बाटोको उद्घाटन गर्यो । लकडाउन तोडेर विरोधका लागि जनता सडकमा उत्रिए । सरकारले केही दिन रमिता हेर्यो । चर्को विरोध र बहस हुन थालेपछि सरकारले नयाँ नक्सा जारी गर्यो र आत्मरतिमा नै रमायो । चारैतिरको असफलतापछि सरकारको जयजयकार गर्न यही विषय बहाना बन्यो र केही मिडियाको धन्धा चल्यो । तर यसै विषयको विवादलाई लिएर नेपाल समाजवादी पार्टीकी नेता सरिता गिरीको राजनीतिक क्यारियर ध्वस्त बन्यो भने मनिषा कोइराला र मिनेन्द्र रिजाल एकाएक हाइलाइटमा आए र जनताको सहानुभूति र समर्थन पाए ।

यस सन्दर्भलाई लिएर देशभित्र मात्र नभई दुई देशका बीचमा पनि शृङ्खलाबद्ध विवादहरु भइरहे र केही समय जनता यसैमा भुले । यसैबीच कोरोना टेस्टका लागि सरकारले चीनबाट ल्याएको मेडिकल सामग्रीमा व्यापक भ्रष्टाचार भएको खुलासा भयो । फेरि जनता सडकमा ओर्ले । विरोध गरे । केही समय यसैको नाटक मञ्चन भयो र यत्तिकै सेलायो । सरकारले गरेको भ्रष्टाचार र अनियमितताको एकपछि अर्को काण्ड आउँदै गर्दा जसरी पनि एमसीसी पास गराइछाड्ने सरकारको नीति आयो, त्यसमा पनि जनता सडकमा आए । यसरी लकडाउनले थलिएर घरभित्रै बन्दी भई बसेको अवस्थामा पनि जनता केवल राजनीतिक नेता र सरकारले गरेका गल्तीहरु हेर्ने रमिते मात्र बने ।

कति भोकभोकै लामो पैदलयात्रा तय गरेर घर फर्किन बाध्य भए भने भारतबाट आउने नेपालीहरु सीमाक्षेत्रमा नै अलपत्र परे ।

लकडाउन लम्बिदै गर्दा नेपालका विभिन्न ठाउँमा र भारतका विभिन्न प्रान्तमा रोजगार गर्ने मजदुरहरुको अवस्था नाजुक हुँदै गयो । आकस्मिक रुपमा लगाइएको लकडाउनका कारण यस्ता मजदुरहरु अलपत्र परे । कति भोकभोकै लामो पैदलयात्रा तय गरेर घर फर्किन बाध्य भए भने भारतबाट आउने नेपालीहरु सीमाक्षेत्रमा नै अलपत्र परे । यस्तो जटिल अवस्थामा पनि सरकार र सरकारसँग निकटतम व्यक्तिहरुको विवेकहीनता र गैरजिम्मेवारीका साथै पार्टीको आन्तरिक विवाद र पदको बाँडफाँडमा मात्र केन्द्रित शासकहरुको उदाङ्गो अनुहारलाई हेरिरहनुबाहेक जनतासँग अर्को विकल्प केही थिएन ।

राजनीतिक क्षेत्रमा मात्र होइन सामाजिक क्षेत्रमा समेत डरलाग्दा घटना र अपराधहरु घटित भइरहे । यसमा पनि सरकारको लापर्वाही नै देखियो । रुकुम जाजरकोटको हत्याकाण्ड यस समयको सबैभन्दा भयानक घटना थियो । जातीय विभेदको पराकाष्ठाका रुपमा देखिएको यो योजनाबद्ध हत्याकाण्डले छजना युवाहरुको ज्यान त लियो नै, आफैँ मरेका हुन्, मारिएका होइनन् भनेर सरकारले स्पष्टीकरणसमेत दियो । यसै बीच क्वारेन्टिनमा बसेकी महिलामाथि त्यहीँका स्वयंसेवक र डाक्टरहरुले गरेको सामूहिक बलात्कारको घटना उस्तै दर्दनाक थियो । बाहिरबाट आउने जनतालाई समेत सरकारले समान व्यवहार नगरेको र निम्नवर्गका जनतालाई पशुवत् व्यवहार गरेका दृश्यहरु विभिन्न सञ्चारमाध्यममा आइरह्यो । हामी लाचार बनेर यी सब दृश्य हेरिरह्यौँ ।

यस अवधिमा विभिन्न मिडिया तथा समाचारपत्रहरुमा सकारात्मक र राम्रा खबरहरु दुर्लभ नै बने । घरभित्रै बन्दी अवस्थामा रहेका आम नेपाली जनताले एकपछि अर्को विकृत खबरहरु सुन्न बाध्य भइरहनु पर्यो । कहिले सामान्य उपचार र एक चक्की सिटामोलकै अभावमा मान्छे मरेको खबर आयो भने कहिले शोकमा डुबेका दलितलाई क्रियापुत्री भवनमा बस्न नदिएर लखेटेको खबर आयो । कहिले रुखमा झुण्ड्याइएकी अङ्गिरा पाशीको लास देखियो भने कहिले खान नपाएर भोकभोकै मरेका मलर सदा र सूर्यबहादुर तामाङको सुकेको शरीर देखियो । कतै पन्ध्र वर्षकी किशोरीलाई सामुहिक बलात्कारपछि गाउँनिकाला गरेको खबर त कतै तेह्र वर्षकी छोरीलाई करणी गरेको बाबु पक्राउ परेको समाचार सुनियो । कहिले खाईपाई आएको जागिरबाट निकालिएको सिद्धार्थ आउजीको हुर्हुरी बलिरहेको शरीर त कहिले आत्महत्याका लामबद्ध खबरहरुले वातावरण स्तब्ध बन्न पुग्यो । यी प्रतिनिधि घटना थिए, जुन हाम्रै अगाडि, हाम्रै समाजमा घटिरहेका थिए र हामी यही समाजका सचेत नागरिक थियौँ । भोलि इतिहास पढ्दै जाँदा पछिल्लो पुस्ताले त्यतिबेला तपाइँहरु के गर्दै हुनुहुन्थ्यो ? भनेर सोध्यो भने हामी के जवाफ दिन्छौँ होला ?

यो पीडाको न त कुनै औषधि थियो न त समाधान नै । गाली गरेर मनको तीतो फाल्नबाहेक जनताले के नै गर्न सक्थे र !

समय विकृत र लाचार बन्दै गइरहेका यी दिनहरुमा सरकारका तर्फबाट भने अनपेक्षित खबरहरु आइरहे । कहिले राष्ट्रपति निवासमा एक करोडको गलैँचा फेरिएको समाचार त कहिले मन्त्रीनिवासमा जीमखाना बनाउने प्रस्ताव पारित भएको खबर आइरहे । उत्ताउलो राष्ट्रवादको नाटक मञ्चन पनि भइरह्यो । ओम्नी, यति काण्ड त छँदै थिए, त्यसमाथि सांसद अपहरण र अध्यादेशको काण्डले त झन् सरकार चटकेसिवाय अरु केही भएन । यसै बीच सरकारले चितवनको माडी क्षेत्रको चेपाङ बस्तीमा लगाएको आगोले ती निमुखा चेपाङको आत्मा त रुवायो नै आमनेपालीको विवेकमाथि नै प्रहार गर्यो । यससँगै माडीको आदिवासी थारुहरुको सांस्कृतिक सम्पदामाथि नै अतिक्रमण गरेर त्रेतायुगका रामको जन्मस्थान माडी भएको स्वघोषणा गर्दै राममन्दिर निर्माण अभियानको नाटक प्रारम्भ गरियो । रोगका कारण संसारभरि नै अवसाद त थियो नै तर त्यसभन्दा पनि बढी आफ्नै देशको सरकारका गतिविधि र अकर्मण्यताले जनता आहत भए । यो पीडाको न त कुनै औषधि थियो न त समाधान नै । गाली गरेर मनको तीतो फाल्नबाहेक जनताले के नै गर्न सक्थे र !

यस्ता अनेकौँ अवसादका बीचमा पनि सानासाना खुसीमा रमाएर बस्नेहरुको पनि कमी भने थिएन । सम्पन्न र हुनेखानेहरुका लागि त यो एउटा उत्सव र अवसर नै थियो । सबै परिवार एकै ठाउँमा बस्यो, रमायो । विभिन्न परिकारहरु बनाएर खायो, सामाजिक सञ्जालमा देखायो । कोही लेख्न, पढ्न र सिनेमा हेर्न प्रशस्त समय पाएको खुसी व्यक्त गरिरहेका भेटिन्थे भने कोही छतमा फलाएको तरकारी हेरेर दङ्ग परिरहेका हुन्थे । सामाजिक सञ्जालमा राजनीतिक बहस र साहित्यिक कार्यक्रमको बाढी नै आयो । युट्युबरहरुलाई सिजन लाग्यो र भ्याइनभ्याइ भयो । प्राइभेट स्कुल, कलेजका साथै होटल व्यवसायी, व्यापारी, स्वतन्त्र मजदुर र र ससाना काम गरेर बिहान बेलुका छाक टार्नेहरुलाई भने चिन्ता बढ्दै गयो । यसरी कोरोनाकालीन परिवेशले मानिसको अवस्था, स्तर, हैसियत र उनीहरुभित्र भएको मानवीयताका मात्रालाई छर्लङ्ग हुनेगरी देखाइदियो ।

सरकारप्रति बढ्दै गएको निराशा, न्यायालयप्रति घट्दै गएको विश्वास, राजनीतिक दलका नेताहरुमा देखिएको भ्रष्ट चरित्र, उच्च ओहोदामा बस्नेहरुको स्वार्थी प्रवृत्ति आदिका कारणले जनता निराश छन् । मानवीयता नै सङ्कटमा परेको यस अवधिमा सत्ता र शक्तिको अघिपछि लाग्ने केही अरौटेभरौटेहरुलाई त प्रशस्त फाइदा पनि पुग्यो होला । त्यसैले त त्यही नूनको सोझो गर्न तिनीहरु निकम्मा सरकारको जयजयकारमा व्यस्त छन्, तर समग्रमा यो समय असाध्य विकृत र क्रूर बन्दै गइरहेको छ र त्यसको साक्षी बस्न अभीशप्त छौँ हामी ।