“रिङ्केबुङ्को राँगालाई
चुङ्केबुङ्को चुलेसीले
ताप्लेजुङ्गमा ताकेर
कालेबुङ्गमा काटेर
अरुण तमोर तरौँला
तीते फापर छरौँला
फूल लाउँला केसरी
खाउँला बेसरी…”
सिके श्रेष्ठको शब्द तथा लय सृजनाको यो गीत आजभन्दा करिव २२ वर्ष पहिले हामी पढ्दै गरेको स्कुलमा सुनेको थिएँ। कुनै कार्यक्रमको सिलसिलामा गीतका गायक सुरेश गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा हामी भुराहरु ट्वाँ.. परेका थियौँ। त्यतिबेला रेडियोमा बाहेक अन्त गीत गाएको त्यसरी सुनेको थिएनाैँ, त्यो पनि बाजासहित। पछि विभिन्न माध्यमबाट जतिपल्ट यो गीत सुने पनि बिछट्टै आनन्द र भर्खर मात्र सुने जस्तो लागिरहन्छ।
“आजै र राति, के देखेँ सपना, मै मरी गएको..” बोलको गीतमा प्रयोग भएको हरफ, “मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको..” लाई शब्द अनुसार भावमा गहिरिएर गाउनका लागि नारायण गोपाल मर्स्याङ्दी नदी सुसाएको हेर्नकै लागी मर्स्याङ्दी किनार पुगेका थिए रे ! सृजनाप्रतिको त्यो समर्पण र बुझाइले सायद त्यस्ता गीतहरु कालजयी बन्दछन्।
तर हिजो आज सुरेश गन्धर्वको त्यही गीतको नयाँ स्वरुप आएको छ। केही दिनअघि फेसबुकमा यो गीतको नयाँ भिडियो कसैले सेयर गरेको थियो । र गाइएको थियो, “रिङ्केबुङ्को राँगोलाई”..। सुन्दा त्यो आनन्द थिएन जति आनन्द सुरेश गन्धर्वको स्वरमा थियो। राँगालाई भन्नेमा राँगोलाई भनी गरिएको उच्चारणले पनि मिठास मरे झैँ लाग्यो। तत्काल यूट्यूबमा खोजेँ। रमेश प्रसाईंले गाएका रहेछन्। सुरेश गन्धर्वले यो गीतलाई गाउँदा आजसम्म कहीँ पनि “राँगो” गाएका छैनन्। तर प्रसाईंले कतै पनि “राँगा” गाएनन् ।
प्रसाईंको छुट्टै परिचय छ नेपाली युवाहरु माझ, र म पनि उनको शुभेच्छुक (फलोअर) हुँ। तर यो गीतले उनीप्रतिको मेरो धारणा अलिकति फरक बनाइदियो। गीतलाई राम्रै गाएको भए पनि पुरानो गीत जति भावको गहिराईमा पुग्न नसक्नु र गायकीमा विभिन्न हरकतहरु गराइनुले गीत झनै कुरुप भए झैँ लाग्यो। सुरेशले जुन भाव, मर्म र समर्पणका साथ गाएका छन् त्यो अनुभूति नयाँमा जति खोजे पनि पाइँदैन । यद्यपि बाजागाजा र साजसज्जाले भने सुन्दर देखिन्छ। पुराना र कालजयी गीतहरु आफैँमा पूर्ण छन्, तिनको भाव, गायकी, लय इत्यादिमा। त्यसैले तिनमा थप इम्प्रोभाइजेशनको जरुरी हुँदैन भन्ने मान्यता मेराे हाे । त्यस्ता कालजयी गीतहरुलाई रिमेक गर्ने नाममा तिनको ओरिजिनालिटीकै हुर्मत लिने काम निरन्तर भइरहेको छ।
हामी हाम्रा पुराना चिजहरुलाई आधुनिकतासँग जोड्ने नाममा त्यसरी नै मौलिकताविहिन बनाइरहेका छौँ आजकल । चाहे कलामा होस्, संगीतमा होस् वा संस्कृतिमा। नेपाल भौगोलिक रुपमा जसरी बहुआयामिक छ त्यसरी नै जातीय, धार्मिक, भाषिक तथा साँस्कृतिक हिसाबले समेत अत्यन्तै सम्पन्न छ। तर हाम्रा ती विविधताहरुलाई तिनको मौलिकता अनुसार जोगाइरहन सकेका छैनौँ । हाम्रा भाषाहरु क्रमशः मर्दै गइरहेका छन्। मौलिक कला र संगीतहरु विभिन्न नामको प्रयोग र आधुनिकताले छोपिसक्यो । हाम्रा मौलिक संस्कृतिहरु संस्कृति कम विकृति ज्यादा भएर निस्किसके। उल्लेखित चिजहरुलाई समयसापेक्ष बनाउन जरुरी त छ, तर जरुरतको नाममा तिनको उद्गम बिन्दु नै मेटिनेगरी “मोडिफाई” गरिनु पनि उस्तो मनासिव होइन नि !
नेपालको शासकीय इतिहासमा तीसौँ पुस्ता राज्य गरेका किँरातीहरु संस्कृतिका हिसाबले धनी मानिन्छन्। त्यसो त नेपालका हरेक जातजातिहरु साँस्कृतिक रुपमा उत्तिकै सम्पन्न छन्। तर ती सबैले अहिले आएर आफ्ना संस्कृतिहरुलाई विस्तारै गुमाउँदै जान थालेका छन्, अर्थात् तिनको सभ्यतासँगै जोडिएका ती संस्कृतिहरुलाई आज केवल झारा टार्ने कामका रुपमा मात्रै अंगिकार गरिरहेको भान हुन्छ। हाम्रा संस्कृतिहरु सिर्फ देखाउनका लागि मात्रै गरिएका होइनन्। ती त हाम्रा पुर्खाहरुले लाखौँ वर्ष विभिन्न स्थान र समयमा बिताएका जिन्दगी र तिनले बटुलेका अनुभव र सीपहरुको आधारमा निर्माण गरिएका हाम्रा सभ्यताहरुको साक्षी हुन्। ती हरेक संस्कृतिसँग हाम्रा पुर्वजहरुको जीवनशैली, सीप, कौशल, ज्ञान, अनुभव तथा तिनले हिँडेका पाइलाहरु भेट्न सकिन्छ। तर आजकल सुरेश गन्धर्वको गीत नयाँ शैलीको नाममा भावशून्य भए जस्तै भइरहेका छन् हाम्रा संस्कृतिहरु। चमक, धमक र रंगरोगनसहित फेन्सी पारामा देखिने संस्कृतिहरुमा प्राण भने देखिदैन, बजारमा राखिएका डमीहरु जस्तै।
यो वर्ष मलमासका कारण तिथिमितिहरु साविकभन्दा निक्कै पर पुगेका छन्। प्रायः असोज महिनामा पर्ने बडादशैँ कार्तिक महिनामा पर्यो भने तिहार/भाइटीका मंसिरमा। अघिल्ला वर्षहरुमा मंसिर महिना विभिन्न जनजाति समुदायहरुको पर्वले भरिएको हुन्थ्यो। फेसबूक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा तत्तत् समुदायका ती साँस्कृतिक पर्वहरुका विभिन्न भावभंगीका फोटोहरुले भरिएका हुन्थे। तर यो पटक दशैँ, तिहारहरु जस्तै अन्य साँस्कृतिक पर्वहरु पनि पछि धकेलिएका छन्।
मंसिर महिनामा पर्ने किँरातहरुको साकेन्वा/साकेला पर्व यो वर्ष पौष महिनामा परेको छ। उद्यौली र उभौली गरी वर्षमा दुईपटक मनाइने साकेन्वा पर्व किरात सभ्यताको सबैभन्दा मुख्य संस्कृति हो। किरातहरुको उत्पतिसँग गाँसिएका मिथकीय पात्रहरुले सुरु गरेको मानिने यो पर्वमा विशेषगरी प्रकृति र पितृहरुलाई पूजा गर्ने र उनीहरुप्रति कृतज्ञता व्यक्त गर्ने गरिन्छ।
किरात मिथक अनुसार चेलीहरु तायामा, खियामा र माइती हेत्छाकुप्पाले बाँचेको, भोगेको जीवन, जीवन पद्धती, संघर्ष, विछोड, मिलन जस्ता विषयहरुका आधारमा आजको किरात सभ्यता बनेको कुरा मुन्धुममा उल्लेख गरिएको पाइन्छ। मुन्धुम अनुसार किरातहरु कुनै पनि देविदेवतालाई पूजा गर्दैनन्। अर्थात् तिनको कुनै देवीदेवता छैन। उद्यौली-उभौलीमा उनीहरु प्रकृतिको पूजा गर्छन्। आफ्नो पितृहरुसँग कृतज्ञ हुन्छन्। उद्यौली र उभौली पर्व विशेषगरी कृषि कर्मसँग सम्बन्धित छ। उभौलीमा “यो वर्ष लगाइने बालीनालीहरु राम्रो होस्, सबैलाई सुब्बेफाब्बे होस्, कसैलाई रोग ब्याध नलागोस्।” भन्ने अनुरोध गर्दै प्रकृति र पितृहरुको पूजा गरिन्छ भने उद्यौलीमा “प्रकृतिको देन अनुसारको खेतीपातीबाट फसल लियौँ। सबै कुरा राम्रो भयो। यो बालीनाली भित्र्यायौँ, अब हामी प्रयोग गर्छौँ/खान्छौँ।” भन्दै प्रकृति र पितृहरुलाई नयाँ बाली चढाएर यो पर्व मनाउने गरिन्छ।
मंसिर शुक्ल पुर्णिमाबाट उद्यौली सुरु हुन्छ भने बैशाख शुक्ल पुर्णिमाबाट उभौली। यी दुई पर्वहरु प्रकृतिसँग अन्तर्सम्बन्धित छन्।
यसरी मनाइने यी पर्वहरुमा हर्सोल्लास छाउने गर्दछ र त्यसबेला नाचिने नाचलाई साकेला वा साकेन्वा भनिन्छ। यो नाचमा विभिन्न अभिनयहरु हुन्छन्। विशेषगरी जंगली जनावर, चराचुरुङ्गी, विभिन्न परजीवीहरु इत्यादिको चरित्र अभिनयद्धारा व्यक्त गरिन्छ र त्यसलाई चाहिँ शिली भनिन्छ। त्यस क्रममा चेलीमाइती बीचको प्रेम, प्रेमी-प्रेमिका बीचको प्रेम, जीवन र जगतलगायत विभिन्न शैलीका गीतहरु साकेन्वा/साकेला लयमा गाउने गरिन्छ।
मंसिर शुक्ल पुर्णिमाबाट उद्यौली सुरु हुन्छ भने बैशाख शुक्ल पुर्णिमाबाट उभौली। यी दुई पर्वहरु प्रकृतिसँग अन्तर्सम्बन्धित छन्। जब खोलामा माछाहरु शीतल/चीसो खोज्दै माथि/लेकतिर जान थाल्छन्। वा कर्याङ्कुरुङ्(चरा) हरु बेँसीबाट लेकतिर चढ्न थाल्छन्। त्यतिबेला उभौली शुरु हुने र ती माछा र चराहरु फेरि उहीँ बाटो फर्केर तलतिर आउन थालेपछि उद्यौली सुरु हुन्छ भन्ने मान्यता छ।
यसरी किरात सभ्यताको जीवन पद्धती र प्राकृतिक नियमसँग एकाकार गरी पुर्खाहरुले विकास गरेको संस्कृतिका रुपमा परिचित उभौली-उद्यौली पर्व हिजो आज आधुनिकताको संक्रमणले गर्दा झट्ट हेर्दा आकर्षक तर मौलिकता हराउँदै गइरहे झैँ देखिन्छ।
मुख्य कुरा त अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई यसको महत्वका बारेमा राम्ररी बुझाउन सकेन वा पछिल्लो पुस्ताले बुझ्न चाहेन। नयाँ पुस्ताले बाहिरी अवरण मात्रै आफूले अंगिकार गर्यो र यसका अन्य सूक्ष्म अवयवहरुलाई जरुरी ठानेन। परिवर्तित राजनैतिक परिस्थितिले पहिचानको विषयको मुद्दालाई पेचिलो बनायो। त्यही पहिचानको सगोल यात्रामा किँरातीहरुको उभौली-उद्यौली पनि सहयात्री बन्यो। त्यो राजनैतिक चेतले युवाहरुमा आफ्नो संस्कृतिप्रति जागरुक त बनायो तर यसका मौलिक विशेषताहरुप्रति भने राम्ररी ध्यान पुग्न सकिरहेको छैन। किनभने आजको पुस्ता सहर, सदरमुकाम, राजधानी हुँदै परदेशसम्म पुगेर जिन्दगी खियाउँदै परिवारको जीवनस्तर उध्याइरहेको छ। यो पुस्ताले साकेन्वा/साकेला (उभौली-उद्यौली) को स्वरुपलाई पनि आफूसँगै हिडाउँदैछ तर यसको मौलिकता गाउँकै साकेन्वाथानमा छुटेको छ। मुन्धुमका रिसियाहरु गाउँकै नाक्छोङ्को गलामा अड्किएका छन्। केवल छ महिनामा एकपटक जातीय पोसाक लगाएर, ढोल-झ्याम्प्टा बजाउँदै शिली टिपेर साकेन्वा नाच्नु मात्रै यो पर्वको महत्व होइन।
विभिन्न जंगली जनावरहरुको स्वभावको नक्कल गरिने शिली जान्ने मान्छेहरुको अभावमा साकेन्वा नाच बेढंगको देखिन थालिसकेको छ।
किँरातहरुको सघन बसोबास भएको क्षेत्रहरुमा उद्यौली-उभौली चल्दै गर्दा छुट्टै खालको रौनकता छाउने गर्थ्यो। वारिपारि सबैतिरका साकेन्वाथानहरुमा किरातिहरु ढोल, झ्याम्प्टासंँगै लयबद्ध साकेन्वा गीत गाउँदै कलात्मक शिलीसहितको नाच नाच्दथे। त्यतिबेला नाक्छोङ (साकेन्वा/साकेलाको पुजारी) ले मुन्धुम, रिसिया गाउँदै प्रकृति र पितृहरुको पूजा गर्दथे। तर आजकल ती साकेन्वामय हुने गाउँबस्तीहरु रित्तोप्रायः हुन थालेका छन्। सुविधामुखी पुस्ताको निर्माणले गाउँमा मानिसहरु बस्न छोडे । सहर वा सदरमुकामतिर परिवार सारेर सक्रिय उमेर समुहका अधिकांस नरनारीहरु परदेशिएका छन्। तीसँगै संसारका विभिन्न ठाउँमा पुगेको साकेन्वा केवल एउटा occasion को रुपमा मात्रै सिमित भैरहेको छ। त्यहाँ साकेन्वाको विशेषता, महत्व, मिथकीय इतिहास जस्ता कुराहरु छोडेर देखावटी परम्परा धान्नकै खातिर मात्रै मनाउनुपर्ने अवस्था छ। किनभने ती सबै चिजहरुको अध्ययन गर्ने, बुझ्ने, महसुस गर्ने स्थापित परम्परा नै भएन। त्यस कारण युवाकाँधविहिन बनेको किँराती बस्तीमा आजकल साकेन्वाको बेला नाक्छोङ्को घरबाट साकेन्वाथानसम्म ढोल बोकेर पुर्याउन सक्ने युवाहरु समेत पाउन मुस्किल छ। एक हातले लौरो टेक्दै वृद्धावस्थामा पुगेका मान्छेहरुले सकी नसकी काँधमा ढोल बोक्नुपरिरहेको छ। विभिन्न जंगली जनावरहरुको स्वभावको नक्कल गरिने शिली जान्ने मान्छेहरुको अभावमा साकेन्वा नाच बेढंगको देखिन थालिसकेको छ।
यसर्थमा सुविचारिक ढंगले अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा हाम्रा संस्कृतिहरु हस्तान्तरण हुन सकेनन् भने तिनको प्राण हराउँदै जाने निश्चित छ। हामी तिनको बाहिरी स्वरुपलाई सिङ्गार्नपट्टि लाग्छौँ तर तिनको मूल जरालाई पहिल्याउन सक्दैनौँ जसले गर्दा महत्व बुझ्न सक्दैनौँ। फलस्वरुप त्यस्ता महत्वपूर्ण विषयहरु कालान्तरमा हाम्रा लागि बोझ मात्रै बन्न सक्छन्। त्यसैले यस्ता साँस्कृतिक पर्वहरुलाई केवल देखावटी हिसाबले आवरणलाई मात्र बोकेर हिँड्ने स्थितिलाई सुधार्न जरुरी छ। नत्र हरेक ६ महिनामा आउने साकेन्वाको दिन चिटिक्क परेर ढोल, झ्याम्टासहित फोटो खिचाउने तर यसको अर्थ र महत्व एवं मान्यताहरुसँग भने कोशौँ टाढाको अपरिचय कायम रहन गयो भने योभन्दा दुखद अरु हुन सक्दैन। त्यस कारण गाउँबाट सहर हुँदै संसारका विभिन्न ठाउँमा पुगेको साकेन्वालाई फेरि पनि गाउँसँग जोडेर यसको मौलिकतालाई सजीव बनाईरहन जरुरी छ।
हरेक संस्कृति र परम्पराहरु राज्यका सम्पती हुन् । यी विविधताहरुलाई संरक्षण र सम्वर्द्धन गर्ने दायित्व राज्यको हो भने तिनको मौलिकतालाई जोगाउने काम सम्बन्धित पक्ष र समुदायको हो।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला