तीन वटा घर एकै लहरमा बनेका थिए। ती घरहरु लगभग दस वर्षको अन्तरालमा बनेका थिए। घर त अरु पनि थिए तर टोलमा ती घर मात्र चर्चामा थिए।

दिव्य गिरी

मान्छेहरु सडकमा हिंड्दा ती तीन वटै घरलाई हेर्थे। किन हेर्थे भने देख्दा अस्वाभाविक थिए। पहिलो घर साह्रै होचो, दोस्रो धेरै अग्लो र तेस्रो घर पनि पहिलो बराबर नै थियो। घरमा लागेको रङरोगन पनि फरक हुने नै भयो। झट्ट हेर्दा कुनै किसानले खर्पन बोकेर हिंडेको जस्तो देखिन्थ्यो।

एकदिन दोस्रो घरले पहिलो र तेस्रो घरलाई भन्यो- ‘तिमीहरुले गर्दा मेरो बेइज्जत भयो। तिमीहरुको रुप रङ, आकार प्रकार देखेर मानिसहरु खिसी गर्छन्। म त्यो हेर्न चाहन्नँ।’

उसको यस्तो कुरा सुनेर पहिलो घरले भन्यो- ‘तेसो हो भने तिमी यहाँबाट अन्तै जाऊ। आइन्दा यस्तो कुरा हामीलाई नसुनाऊ।’

तेस्रो घरले पनि पहिलो घरको कुरामा नै समर्थन गर्यो।

‘म किन जाने ? यहाँ मेरो कति शान छ, कति धाक र रवाफ छ,’ दोस्रो घरले गमक्क हुँदै भन्यो।

‘तिम्रो त्यो सबै भ्रम हो। समाजमा तिम्रो र हाम्रो कसको उचाई अग्लो छ त्यो तिमीलाई के थाहा ? घरको उचाई अग्लो हुनु मात्र ठूलो कुरा होइन । महत्त्वपूर्ण कुरा हो त्यो घरमालिकको पृष्ठभूमि,’ पहिलो घरले फेरि पनि भन्यो।
उसको कुरा सुनेर तेस्रो घर मुसुमुसु हाँसीरहेथ्यो।

पाठकवृन्द, कुरा के हो भने ती तीन वटा घरमा पहिलो घर शिक्षकको, दोस्रो घर भन्सारको हाकिमको र तेस्रो घर एउटा साहित्यकारको थियो।