चउरको एक छेऊमा चार–पाँच जना झुरुप्प बसेका थिए ।

म क्यान्टिनबाट फर्किँदै थिएँ । मलाई बोलाए । नजिकै गएपछि सहपाठी विनोदले भने, ‘तपाईलाई पनि यहाँ समितिमा सदस्य राखेका छौँ ।’

‘कस्तो समिति हो ?’

‘नेवि सङ्घको सुनसरी क्याम्पस इकाई समिति । … अधिवेशन हुँदै छ, काठमाडौँ जानुपर्छ ।’

‘हुन्छ, तपाईहरूले मलाई विश्वास गरेपछि नाइँ किन भन्नु !’

२०४४ सालमा यसरी गठन भएको थियो, नेपाल विद्यार्थी सङ्घको सुनसरी क्याम्पस इकाइ समिति । अध्यक्ष विनोद डाँगी, सचिव महेन्द्र चौधरी, सदस्यहरू म, राजेन्द्र श्रेष्ठ, मधेसाकी एक जना चेली र अरूहरू ।

हिउँदको सुरुवातसँगै तत्कालीन ‘प्रतिबन्धित नेपाली काङ्ग्रेस’का अर्ध–भूमिगत सदस्यहरू सीताराम मेहता र मोहन श्रेष्ठ नेपाल विद्यार्थी सङ्घमा बालकृष्ण खाँडलाई अध्यक्ष बनाउन भोटरहरू सिला खोज्दै रहेछन् । उनीहरू खासगरी हामीलाई भन्दा पनि तत्कालीन क्रियाशील सदस्य हरि डाँगीका भाइ विनोद डाँगीलाई लक्षित गरेर सुनसरी क्याम्पस आएका थिए ।

समितिमा बस्दै गर्दा मलाई कुनै एउटा साहित्यिक संस्थाको कार्यसमिति सदस्यभन्दा बढी केही हो जस्तो लागेको थिएन । दुई सातापछि सुनसरी क्याम्पसमा समिति गठन भएको र त्यसमा फलानो–फलानो सदस्य भए भनी नामसहित गिरिराज आचार्य दाइले धरानबाट प्रकाशित हुने पूर्व टाइम्स साप्ताहिकमा समाचार छापिदिनुभएछ । सुनसरी प्रहरीले हाम्रा नाममा ‘रेड फायल’ बनाइहाल्यो । प्रहरी कार्यालय आडमै हाम्रो चिया पसल थियो । नारायण नामका एक जना असईले आमालाई, ‘भाइलाई अधिवेशनमा भाग लिन काठमाडौँ जान नदिनू, सुटिङ अडर छ,’ भनिदिएछन् । आमा रोएर चौपट ।

मलाई काठमाडौँ जान पाउने कुराले भन्दा पनि आमाले कोइराला निवासका बारेमा गर्नुभएको माउथ पब्लिसिटीले काम गरेको थियो । सानोमा म बिरामी परिरहने र अस्पताल लगिरहनुपर्ने भएपछि आमा माइत पूर्व–कुसाहा बुग्डरीमा केही वर्ष बस्नुभएको थियो । सोही गाउँका छिमेकी नारायण कोइरालालाई दाइ भन्नुहुन्थ्यो । कोइराला निवासमा चामल निफन्नुप¥यो वा बिहे–बटुलोमा केही काम गर्नुप¥यो भने हाम्री आमालगायत केही महिलाहरू नारायण मामामार्फत विराटनगर लगिन्थे । आमाले बेला–बेलामा कोइराला परिवारका मानिसको भलादमी व्यवहार सन्दर्भहरू चर्चा गर्नुहुन्थ्यो । खासगरी ‘लठैत’, ‘हवल्दार’ आदि संज्ञा पाएका गिरिजाप्रसाद कोइरालाका बारेमा भन्नुहुन्थ्यो, ‘खै, हामीलाई त कहिल्यै नराम्रो बोली गर्नुभएन । बरु हामी काम गर्नेहरूले खाएको–नखाएको उहाँले नै विचार गर्नुहुन्थ्यो । निकै हँसिलो, फरासिलो मान्छे हुनुहुन्थ्यो ।’

समिति गठन गरेको केही दिनपछि गिरिजाप्रसाद कोइराला, गणेशमान सिंहहरू इनरुवा–७ स्थित रामबहादुर बस्नेतको घर आए । रामबहादुर दाइको आँगनमा काठको स्थायी मञ्च थियो । वरपर हामी करिब सय जना भेला भएका थियौँ । त्यही मञ्चबाट गणेशमान सिंहले जनआन्दोलन सुरु भएको पहिलो घोषणा गरेका थिए ।

त्यसपछि हामी हरिनगरा गयौँ, हरि सापकोटाको आँगनमा । खाना खाएपछि घरअगाडिको चउरजस्तो खुला ठाउँमा खिनौटे गिरिजाप्रसाद कोइरालाले उभिई–उभिई र डम्म गणेशमान सिंहले कुर्सीमा बसी–बसी कोणसभालाई सम्बोधन गरेका थिए । कोणसभामा हामी भेला भएको, काउलीको तरकारी–भात खाएको दृश्य केही प्रहरीहरूले पनि टुलुटुलु हेरेका थिए । केही नगर्ने रहेछन् भन्ने लागेको थियो । तर हरिनगरापछि चिमडीमा कोणसभा गर्ने भन्दै विराटनगरतिर लागेका गिरिजाप्रसाद र गणेशमानलाई चन्दा–मोहना दोभानबाट नियन्त्रणमा लिएर काठमाडौँ पु¥याइसकेछन् । निकैपछि बिबिसीले भन्दा मात्र थाहा भो ।

ती दिनमा धुँवाधार काङ्ग्रेस बनिएको सम्झिन्छु । बिहीबारे हटियामा १० रुपैयाँमा रातो गम्छा किनेको थिएँ । म, गोविन्द बुइँपाली, सीताराम भट्टराई, गणेश भट्टराई, किरण पोखरेल, दिनेश पोखरेल, महेश कोइरालालगायत साथीहरूको एउटा समूह थियो, उही एकैखाले गम्छा कहिले टाउकोमा फेटा बाँधेर, कहिले काँधमा भिरेर हिँड्ने । मान्छेहरू भारतीय नेता चन्द्रशेखरले ती गम्छाहरू बाँडेको हो भन्ने ठान्थे र हाम्रो ‘ग्याङ’ देखेर डराउँथे । पञ्चायतका केटाहरूसँग कुनै पनि बेला भिडन्त हुने सम्भावना हुन्थ्यो । घरमा ढोका छेउमा रड गाडेर सुत्थेँ ।

चुनाव प्रचारमा पनि उस्तै खटियो । हाम्रो ग्याङ मधेसा, चाँदबेला, भासि, इनरुवा क्षेत्रमा डुल्थ्यो । कमान्डर थिए, पार्टीले पढाएका र चुनाव प्रचारकै लागि सुनसरी आएका महेश आचार्य । खाजा हुन्थ्यो, भुजा–चिउरा–प्याज–खोर्सानी । महेश आचार्य पनि हामीसँग त्यस्तै खान्थे । भारतीय नम्बर–प्लेटको ल्यान्डरोभरमा ठुल्ठुला चारतारे फह¥याएर, दुईतिर माइक घन्काएर कोणसभा गर्दै हिँड्थ्यौँ । मेरो बोली अलि ठुलो भएकाले माइक्रोफोनमा प्रायः म नै बोलिरहेको हुन्थेँ । र, म आफ्नो मन्तव्यको सुरु तथा अन्त्यमा त्यतिखेरको लोकप्रिय नारा ‘जन्मदेखि मृत्युसम्म रुख हाम्रो साथी, रुखले जिते हामी बाँच्छौ बाँच्छन् छोरा–नाति,’ भन्न छुटाउँदिनथेँ ।

फ्ल्यास–ब्याकबाट यता आउँदा आज मुलुकको जुन हालत भएको छ, त्यो जगजाहेरै छ । बीचमा रुखले धेरै पटक सरकार बनाउने अवसर पायो । तर भएका रुख हेर्दाहेर्दै आधाउधि सिद्धिइसके । छोरा–नाति मुलुकमै बसेर काम गर्न पाउने वातावरण छैन ।

तीन दशक निरन्तर काङ्ग्रेस पढेपछि, बुझेपछि, भोगेपछि पनि मलाई किन लागिरहेको छ, मैले यसलाई अझै चिन्न बाँकी छ, बुझ्न बाँकी छ ? नाम अगाडि नेपाली थपेर काङ्ग्रेस, काँग्रेस, कांग्रेस, कङ्ग्रेस जे लेख्दा, भन्दा पनि हुने विचित्रको पार्टी छ यो । पार्टी के छ, भीड छ, बिहीबारे हटियामा भेला भएका तरेली–तरेली मानिसको जमघटजस्तो । आफ्नै काम–स्वार्थसहित भेला भएकाहरूको बाहुल्यता अनौठो लाग्छ । अलि बर्ड–साइट एङ्गलले सोच्दा छेउ–टुप्पो नमिलेको समुद्रजस्तो अथाह ।

यत्रो वर्ष मैले पार्टीका लागि गरेको लगानी वास्तवमा पार्टीका लागि गरेको होइन रहेछ । रामबहादुर बस्नेत, राजीव कोइराला, केदार भण्डारी, लक्ष्मी खतिवडाहरूलाई चिन्नु, राजन मेहता, धिरज भट्टराई, सुनोज निरौला, कृष्ण अधिकारीहरूसँग उठबस गर्नुले म जानी नजानी संस्थापन पक्षको भइसकेको रहेँछु । २०७१ सालमा अढाई महिना काठमाडौँ बसेर प्रयास गर्दा पनि मैले शिक्षामन्त्री चित्रलेखा यादवलाई भेट्न पाइनँ ।

आसेपासेहरूको घेरा नै छिचोल्न सकिनँ । तर, मेरो आत्मालाई थाहा छ, कहिले नेपाली काङ्ग्रेसको सरकार बन्छ र कोही काङ्ग्रेसी कार्यकर्ता शिक्षामन्त्री हुन्छ भनेर त्यसअघि मैले १० वर्ष पर्खेको थिएँ । जब मेरो काम गर्नुपर्ने बेला आयो, त्यतिबेला स्वयम् मेरा ‘गुरु’ जसले पछि आफूलाई देउवा पक्षको भनेर चिनाए, सभासद् सीताराम मेहता पनि टक्टकिए । राजीव कोइराला, राजीव ढुङ्गाना, प्रदीप पौडेल, ध्यानगोविन्द रञ्जितको बोली पनि बिकेन । लक्ष्मी खतिवडाको प्रयास पनि फितलो भयो ।

त्यसपछि लाग्यो, थुक्क ! काङ्ग्रेसमा आजसम्म लागेर मैले त्यति पनि शक्ति आर्जन गर्न सकेको रहेनछु । अझै काम गर्न बाँकी रहेछ । सोच्छु, म जस्तो चिनिएको कार्यकर्ताले त ऐन, नियम, कानुनले मिलेको जाबो एउटा काम गराउन सक्तैन रहेछ भने आम नागरिकको हालत के बनाउँदा हुन् यिनले ?

२०५१ सालमा काङ्ग्रेस सभासदहरू एकातिर छत्तीसे र अर्कोतिर चौहत्तरे भएर आफ्नै पार्टीको बहुमतको सरकारको नीति तथा कार्यक्रम असफल बनाए । दुनियाँमा कहीँ नभएको संसदीय अभ्यास गर्दै ‘हाँडीगाउँको जात्रा’ देखाएको त्यो दिन सम्झिन्छु । समाचार रेडियो नेपालबाट प्रसारण हुँदै गर्दा म मैतिदेवीस्थित मित्र विपिन निरौलाको डेराबाट निस्केर डिल्ली बजार उकालो चढ्दै थिएँ । ‘थुक्क ! खत्तम पारे,’ भन्दै आत्मा रुवाउँदै बल्ल–तल्ल डेरा आइपुगेको थिएँ । संसदीय निर्वाचनमा गिरिजाप्रसाद कोइराला पक्षधरहरूले कृष्णप्रसाद भट्टराईलाई भोट नहालेर चुनाव हराएका थिए, त्यसैको प्रतिकारमा त्यो घटना भएको थियो । त्यो बेला भट्टराईभित्र हुर्किँदो असन्तुष्टिको पृष्ठभूमिमा चिरन्जीवी वाग्ले, ढुण्डीराज शास्त्री, शेरबहादुर देउवा, विमलेन्द्र निधीहरू छत्तिसे भएका थिए ।

मलाई लाग्छ, त्यो त्यही दुर्भाग्यपूर्ण दिन थियो, जसले मैले थाहा पाएदेखि अहिलेसम्म मुलुकलाई अस्थिर सत्ता–राजनीतिको भासमा डुबाएको–डुबायै छ । त्यो बेला काङ्ग्रेसको बहुमतको सरकार नढलेको भए, बिपी कोइरालाले देखेको सपनाको थेरै अंश भए पनि पूरा गर्न सम्भव हुन्थ्यो । कम से कम मुलुकको यो हविगत हुन्नथ्यो । आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्ने यस्तो प्रवृत्तिलाई ‘साला’ नभनेर के भन्नु !

समय सधैँ एकनास रहिरहँदैन । राज्यको मूलधारमा एक समय हाली–मुहाली गरेको नेपाल प्रजा परिषद्जस्तो पार्टी कालान्तरमा हराएर जान्छ । परिवर्तन सृष्टिको नियम हो । आफूलाई अद्यावधिक र अनुकूलन गराउन नसक्ने डाइनोसरजस्तो भीमकाय जनावर मासिएर जान्छ । तसर्थ हामीले अङ्गीकार गर्दै आएको सिद्धान्त र व्यवहारमा पनि समयानुकूल नवीनताको खोजी भइरहन्छ । जो समीचिन हुँदैन वा हुन चाहँदैन त्यो इतिहास र सम्झनामा सीमित हुन्छ ।

नेपाली काङ्ग्रेसको प्रायः अधिवेशनका बेला चुनावी प्रतिस्पर्धामा जति पनि गुट–उपगुट र आफूलाई स्वतन्त्र उम्मेद्वारका रूपमा चिनाउनेहरू हुन्छन्, ती सबैलाई एकताबद्ध बनाउने एउटै सूत्र हुन्छ, बिपीको सपना । उनीहरू हरेकले आफूलाई नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी, सान्दाजु)को सपना राम्ररी बुझेको अर्थात् बिपीको सच्चा अनुयायी भएको रूपमा प्रस्तुत गर्छन् । तर उनीहरूमध्ये अधिकतर चाहिँ बिपीको सपनाबारे जानिफकारसमेत हुँदैनन् । यस्तै पृष्ठभूमिमा मुलुकको सबैभन्दा ठुलो पार्टीको महाधिवेशन नीतिमुखी होइन, नेतामुखी भएर सकिन्छ ।

साँच्चै के थियो बिपीको सपना ? के बिपीले सात दशकअघिको सेरोफेरोमा देखेको सपना अझै समकालीन महत्त्वको छ ? कि यसमा अद्यावधिक सुधार गर्नुपर्ने आवश्यकता छ ? यी निकै विचारणीय जिज्ञासा हुन् । राणा र पञ्चायतको निरङ्कुशताविरुद्ध पार्टीको झन्डामा चार तारा सङ्गठित गर्दैगर्दा बिपीको सपना थियो, एउटा छाप्रो, एउटा दूध दिने गाई र खान पुग्ने जमिन । तर, अहिले गाउँ–सहरमा, झाप्रो फ्ल्याट वा पक्की घरमा रूपान्तर भइसक्यो । खेतीयोग्य जमिन कङ्क्रिटको जङ्गलमा बदलियो । त्यसैले समयअनुसार बिपीको सपनाको पुनःव्याख्या जरुरी छ । भनिन्छ, बिपीको सपनामा ‘घरमा एउटा इमानदार नोकर’ पनि थियो । तर यो कुरा चाहिँ काङ्ग्रेसीहरूले आजसम्म लुकाएरै राखेका छन् । पहिले हामी ‘सङ्क्रान्ति’ चार ताराको साङ्केतिक अर्थ राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पढ्थ्यौँ, अहिले चार ताराका माझमा राष्ट्रियता लोकतन्त्र र समाजवाद लेख्न थालिएको छ । चार ताराबाट एक ताराको व्याख्या किन, कसरी हरायो ? स्वेत–पत्र जारी हुन बाँकी छ ।

संसदीय व्यवस्था बिपीको राजनीतिक सपना थियो । तर के आफ्नै बहुमतको सरकारको नीति तथा कार्यक्रममा भोट नहालेर आफ्नै पार्टीका सभासदले सरकार ढाल्ने संसदीय व्यवस्था बिपीले कल्पना गरेका थिए ? अँ, बिपीले भनेका थिए, ‘जब जनताले अन्याय र शोषणविरुद्ध आन्दोलन गर्छन्, त्यस्तो आन्दोलनको सफल समाप्तिपछि केही सुकिला–मुकिलाले राज्यका विभिन्न पद हत्याउनेछन् । जनताले फेरि त्यस्ताविरुद्ध क्रान्ति गर्नुपर्छ ।’

बिपीको यो सपना भने अझ पनि समकालीन भए जस्तो लाग्छ ।

म चाहन्छु, मलाईजस्तै काङ्ग्रेसलाई पनि कालापानी बिझाओस्, लिपुलेक र सुस्ता दुखोस् । सुनसरीको रानीगन्ज भन्सारसहित सात हजार बिघा नेपाली भू–भाग कोसी ब्यारेज निर्माणको बहानामा भारतमा विलय पारिएको मुद्दालाई प्राथमिकता देओस् । विश्वको एकमात्र हिन्दू राष्ट्रको मान्यता फर्काउन सकेको योगदान मिसाओस् । संविधानबाट ‘दलित’ शब्द हटाउन र दलित आयोग खारेज गर्न भूमिका निर्वाह गरोस् । जातको होइन, वर्ग उत्थानको राजनीति गरोस् । कामको खोजीमा विदेश जाने सबै युवालाई देशमै रोकोस् ।

पार्टीको रिमेक–भर्सनले बहुमत सरकार बनाउन पाएमा जनताले कमाएको ६०–७० प्रतिशत लिन्छौँ तर शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको ग्यारेन्टी हुने राष्ट्रिय नीति बनाउँछौँ भनोस् । पार्टीले कुनै पनि निकायमा ‘नो–भोट’को व्यवस्थाका लागि लबिङ गरोस् । प्रजातान्त्रिक संस्कार सिद्धान्तमा होइन, व्यवहारमा रूपान्तर गरोस् । नेता त्यस्तो नहुर्काओस्, जसलाई दुनियाँले छि भनुन् ।

यस्तो वातावरणमा म काङ्ग्रेस भइरहनुका दुइटा कारण छन् । एक चाहे जुुनसुकै अर्थमा होस्, काङ्ग्रेसीहरू आपसमा अभिवादन गर्दा सानले ‘जय नेपाल’ भन्छन्, जुन मलाई औधी मन पर्छ । जसरी भारतीयहरू ‘जय हिन्द !’ भन्दा आत्म–गौरवको अनुभव गर्छन्, त्यसरी नै सबै नेपालीले ‘जय नेपाल’ भन्ने दिन कहिले आउला भन्ने लागिरहन्छ । अर्को, काङ्ग्रेसमा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी छ । मन लागेको कुरा बोल्न, लेख्न पाइन्छ । काङ्ग्रेसलाई गाली गर्न पनि पाइन्छ । कसैले म काङ्ग्रेस हुँ भनुन्जेल ऊ काङ्ग्रेस हुन्छ । स्वतन्त्रता उपभोगको बेग्लै मजा छ काङ्ग्रेसमा ।

यतिबेला २०१५ सालको एउटा चुनावी पर्चा मेरो सामु छ । जसमा लेखिएको छ, ‘नेपाली राजनीतिका जन्मदाता, क्रान्तिका वीर सेनानी, नेपालका एकमात्र राष्ट्रिय नेता, न्याय र बलिदानका प्रतिमूर्ति विश्वेश्वरप्रसाद कोइरालालाई भोट दिनु हाम्रो कर्तव्य हो । मोरङको ३२ नम्बर क्षेत्रबाट खडा भएर उहाँले हाम्रो जिल्लाको सम्मान बढाउनुभयो । उहाँलाई ठुलो बहुमतबाट विजयी बनाएर हामी राष्ट्रको इज्जत बढाऔँ ।’

म छक्क पर्छु, काङ्ग्रेस यति उच्च नैतिक साहसको सगरमाथाबाट क्रमशः ओरालो, ओरालो, ओरालो किन लागिरहेको छ ?