जानु काङबाङ लिम्बू

सपना थिएन त्यो, जो हरसमय आजपर्यन्त मेरो आँखाको दर्पणमा उदाइरहेछ । सम्झनाको बतासले हृदयको पर्दा जोडजोडले हल्लाउँदा दर्पण चर्किने गरी उदाउने त्यो अनुहार कदापि प्रिय लाग्दैन मलाई । यद्यपि त्यही अनुहारलाई आफूसँग सुरक्षित राखेर बाँच्न विवश छु म जीवनको यो यात्रामा । जीवन भन्नु यात्रा नै यात्राको अर्को नाम रहेछ ।

हो, यसबेला यात्राकै अर्को सिलसिलामा डोरिँदै छु म । हङकङको काउलुन एअरपोर्टलाई छोडिराखेर नेपालतर्फ उडेको जहाज जति जति माथि उचालिँदै गइरहेछ, त्योभन्दा अझै माथिमाथि अग्लिरहेछन् मनभित्र पुराना प्रश्नहरुका पहाडहरु । को थिई त्यो बच्ची ? जसले यो संसारमा आफ्ना दुई पाइला राम्ररी टेक्न नपाउँदै त्यस्तो हाल बेहोर्नु पर्‍यो ? त्यसपछि कसरी बिते होलान् उसका दिनहरु ? के उसले जीवनको यात्रामा सकुसल चाल्न पाई होली त कलिला पाइलाहरु ? यदि छैन भने देशका कुन कुन गल्ली र गोरेटामा चलिरहेका होलान् उसका पदचापहरु ? कहाँ होली अहिले ऊ ?

अघिल्लो पटक अर्थात् सन् २००६ मा नेपाल जाँदा मेरा आँखामा अल्झिएको काठमाडौँ रत्नपार्कको कारुणिक दृश्य तीव्र रुपले सलबलाइरहेको छ फेरि मेरो मानस्पटलमा । म झ्यालबाहिर आफ्ना एक जोर आँखा हुत्याउँछु । आकाशबाट कतै देखे चिनेका मानिसका अनुहारजस्ता लाग्ने बादलका आकृतिहरु होचिँदै गइरहेका छन् । सानो ढुङ्गा हुत्याउँदा उत्पन्न हुने तलाउको तरङ्गजस्तै एकतमासले मन बिथोलिरहेछ ।

मानसपटलमा घुमिरहेकी छे त्यो सानी बच्ची । उसको अनुहार सम्झँदै सोच्छु– सायद त्यो बच्चीको निर्दोष र निरीह अनुहार यस बेलासम्म त हावाले उडाएर कताकता पुर्‍याइसक्यो होला ? या नदीले बगाएर तमाम अङ्गहरुलाई कहाँ कहाँ पुर्‍याइसक्यो होला ? माटोमा मिसिएर उसको शरीर पनि कतै माटो नै भइसक्यो कि !

ओहो ! मेरो मुटु जोड-जोडले धड्किन्छ । अप्रिय अनुमानहरु चिर्दै तत्काल पुनः मेरै अन्तर्य साहस जुटाएर बोल्छ– “होइन, त्यस्तो हुनै सक्दैन, ती बच्ची जीवित छिन् । बरू एक इमान्दार र सच्चा नागरिक भएर आफ्नो देशप्रति यसबेला समर्पित भइरहेकी होलिन् । कि त राष्ट्रसेवक भएर कुनै सिमानामा देशको सुरक्षा गरिरहेकी होलिन् । कि त देश, समाज र कानुनसित आफ्नो बाबाको नाम सोधिरहेकी होलिन् । कि त उनी समाजका तमाम कुरीतीहरुसित लड्दै छिन् । कि त उनलाई नै ती कुरीतिहरुले पुनः लडाउँदैछन् कि ! मेरो मनका अन्तरद्वन्द्वबीच पर्खाल भएर उभिरहेकी छिन् उनी । मनमा एकपछि अर्को गर्दै अनेक तर्कनाहरु आइरहेछन्, गइरहेछन् । जहाज एक नासले उडिरहेछ ।

आफ्नै देशमा जन्मिएर पनि डाँडाकाँडामा उभिएर स्वतन्त्ररुपले खुल्ला आकाश हेर्दै सन्तोषको स्वास फेर्न पाइरहेको छैन मैले । रहरका थुँगाहरु राम्ररी फक्रन नपाउँदै आँधीले सुकेका पातहरुलाई उत्पातसँग उडाएजसरी मलाई सपना र विवशताले उडाएर पुर्‍यायो विदेशमा । पराईभूमिमा मैले ओड्नु पर्ने आकाश, टेक्नुपर्ने जमिन, हाँस्नु पर्ने हाँसो, गाँस्नु पर्ने प्रीति, लाग्दछन् सबै पराईसरह । असन्तोषका हजार ऐठनबाट मुक्त हुन म अलि लामो विदा मिल्यो कि मातृभूमि नेपाल फर्किने गर्छु ।

अनन्त आकाशलाई दुई चिरा पारेझैँ गरी हवाई जहाज एकनास गन्तव्यतर्फ उडिरहेछ । मेरो मन त्यसै त्यसै सुस्तरी अघिल्लो यात्रातिर फर्किन्छु । सम्झनाको फेर समातेर । पुग्छु काठमाडौँको रत्नपार्कमा । म पुग्दा रानीपोखरीमा स्नान गरेर शान्तिबाटिकामा शृङ्गार गरिरहेकी रत्नपार्क घरि घण्टाघरसित त घरि धरहरासित मौन प्रेमिल संवाद गर्दैथिई । प्रचण्ड गर्मी अनि धूवाँ र धुलोहरु छिचोल्दै जब म रत्नपार्कमा प्रवेश गरेँ तबदेखि अचानक रत्नपार्कको काखमा छट्पटाइरहेको एक अर्धमृत अबोध बच्चालाई यस्तो लाग्यो, मानौँ उक्त पार्क एक लाचार अवोला सार्वजनिक आमा हुन् । जसको ममतामयी काखमा जसले जे गर्दा नि हुन्छ ।

आत्महत्या गर्न चाहे रूखहरु पनि छन् त्यहाँ । अथवा अरु केही छन् साधन । रक्सी पिएर लड्न चाहे भुइँहरु पनि छन् त्यहाँ । वियोग या आक्रोश लेख्न चाहे भित्ताहरु छन् त्यहाँ, बस् ! छैन त्यहाँ पनि केवल खुलेर रुने एकान्त ठाउँ । म त्यो बच्चाको नितान्त नजिक थिएँ । बच्चा जो भीडको ताजा रमिता भैरहेथ्यो । कसले पार्‍यो होला उसको यस्तो दुर्गति ? नाजवाफ थियो भीड । मैला र थोत्रा कपडामा त्यस बच्चालाई देखेर म भित्रको ममता बेस्सरी पग्लियो । यसैले कि म स्वयं पनि त आमा थिएँ कसैको ।

आमा हुनु भनेको बारम्बार जम्नु र बारम्बार पग्लिनु पनि रहेछ । यो बच्चा चाहे जो सुकैको किन नहोस्, पाल्छु अब म लगेर आफ्नै सन्तानसरह यसलाई । म स्वयंलाई थाहा नहुने गरी अन्तर निर्णय प्रकट भएछ बाहिरै । सुनेर सँगै यात्रारत साथीले बिस्तारै सम्झाइन् मलाई, “यो तिम्रो महानता हो, तर तिमीले त्यो बच्चालाई लैजाने त के छुनेसम्म भूल नगर ।”

“तर किन ?”अचम्भित हुँदै प्रश्न तेर्साए साथीलाई । “किनकि तिमी सच्चा हृदयले यो मानवीय काम त गर्छौ तर भरै समाजले तिम्रो हृदयको कदर गर्नुको सट्टा तिमीलाई उल्टै अनेकन लाल्छनाहरु लाउनेछ । के तिमी ती सबै लाल्छनाहरुको प्रतिकार गर्न सक्षम छौ ।”

साथीको सामान्यझैँ लाग्ने यो गम्भीर प्रश्नको जवाफ दिन के खोज्दै मात्र थिएँ त्यसैबेला नजिकै अर्को भीडबीच एक बेसहारा महिला ती विलाप गर्दै रोइरहेकी देखेँ । अनुहारभरि चोटै चोट भएकी महिलालाई केही दयाहीनहरुले पाकेटमारेको आरोपमा हातपात गरिरहेका थिए ।

“मलाई नपिट्नुस् म चोर होइन, तर मेरो नानीलाई…,” वाक्य पूरा गर्न नपाउँदै फेरि एक पुरूषको थप्पड बज्रियो उनको गालामा । महिलाले आफू निर्दोष भएको दाबी गर्दै आफूलाई नपिट्न अनुनय गर्दै थिइन् । तर उनीमाथि थप्पडको वर्षा बर्सिरहेको थियो । मूकदर्शक भएर रमिता हेरिरहेको भीडमा म आफू मूर्तिवत् हुनै सकिनँ । अहो ! कति भयानक सत्य थियो त्यो । भीडमा भीड लागेर त्यो सत्यलाई स्वीकारी रहन असमर्थ मभित्रको साहसी नारी चिच्याई, “खबरदार ! अब कसैले हात लाउने छैन यिनलाई, अब फेरि पनि कसैले छोयो मात्रै भने अनुमान पनि गरेका छैनो तिमीहरुले कि म के हाल गर्छु तिमीहरुको…..।”

मभित्रको ममता, क्रोध, साहस, विवेक एकैचोटि आगो भएर लप्किएछ सायद मेरो अनुहारमा । अब भीड बिस्तारै तितरवितर भयो । ती दुब्ली रोगी महिलालाई मैले तत्काललाई त सुरक्षा दिन सकेँ, तर के त्यसपछिका समयहरुमा उनी सुरक्षित हुन सक्थिन् त ? यो जटिल प्रश्नको चुलेसीले उनलाई तत्काल सुरक्षा दिन सक्दाको छोटो गर्वानुभूतिलाई रेट्न थाल्यो । आफूमा प्रश्नको जवाफ आफैसँग खोज्दा ती महिलालाई त्यहाँबाट तानेर अन्त कतै लग्यो ।

उनी गएको दृश्य उनको विदीर्ण अवस्था र उनले ‘म चोर होइन, बरू मेरो नानी…’ भनेको अधुरो वाक्य मधुरो भएर छाइरह्यो मस्तिष्कमा । बजिरह्यो उनको अन्तिम वाक्य मेरो हृदयमा । सोचेँ, ‘अहो ! ती महिला के त्यै बच्चाकी आमा हुन् ? उनको विक्षिप्त मनभित्र अहिले कति ठूलो पीडाको पहिरो होला ? के उनले त्यो बच्चाको प्राणको रक्षार्थ पकेट मारेकी हुन् त ? के उनी साँच्चीकै दोषी हुन् त ? यदि दोष नै गरेकी भए पनि उनले कति ठूलो अपराध गरिन् ? र, त्यस अपराध बराबरको सजाय कुन प्रकृतिको हुन्छ ? मानौं उनले चोरी गरिन् अर्थात् उनी अपराधी नै सही, तर के उनको त्यो रहर हो ? उनलाई अपराधीले बनायो परिस्थितिले, समाजले ? कानुनले कि देशले ? के यस यक्ष प्रश्नको नि जवाफ कसैले दिनसक्छ ? तर फेरि अपराधी नहुन पनि त सक्छिन् । उनले आफ्नो निर्दोषिताको बयान दिँदै नै थिइन् तर कसैले उनको बयान सुन्यो उफ् !’ म आवेगले शिरदेखि पाउसम्म भिजेकी थिएँ ।

“सुन त,” मेरो आवेगपूर्ण एकाग्रता भत्काइदिइन् साथीले ।

“भन न,” मात्र यति बोलेँ ।

“त्यो अघिको बच्चा पनि छैन त त्यहाँ,” उनले बच्चा अघि लडिरहेको ठाउँतिर इसारा गरिन् । अहो हो त रहेछ ! हेरेँ मैले त्यता, नभन्दै यसबेलासम्म त्यहाँ न अघिको बच्चा थियो न, त्यो बच्चालाई घेरिरहेको भीड नै । यो सब के हो ? लामो निश्वास छोड्दै आकाशतर्फ हेरेँ । जहाँ त्यही बच्चा अनि तिनै महिलाको निर्दोष र निरीह अनुहारजस्तै लाग्ने बादलका दुई आकृति देखिए ।

‘हिँड जाऊँ,’ साथीले मलाई सुस्तरी आकाशे पुलतर्फ हिँडाइन् । यही बेला बेस्सरी बतास चल्यो । बताससँगै बुरुरु धूलो उड्यो । मैले आँखामा रसाइरहेको आँसु पुछ्दै भनेँ, “आँखामा धुलो पसेछ ।”

रसाइरहेको आँखाले मलाई हेर्दै साथीले भनिन्, “बतास अहिले चल्यो, धुलो पनि अहिले उड्यो, तिमी त अघिदेखिनै रोइरहेकी थियौ ।” उनको कुरा सुनेर अघिसम्म गम्भीर भइरहेकी म मुस्कुराएछु ।

“एक्सक्युज मी !”म झसङ्ग भएँ ! छेउमा आएर एउटी एअर होस्टेजले मलाई बोलाइरहेकी थिइन् । उफ ! स्मृतिमा पो हराएछु म त ! सतर्क भएर यताउता आँखा घुमाएँ । सबै यात्रुहरु आ–आफ्नै सुरमा थिए । हाम्रो जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लागेको रहेछ । जहाज अवतरण भयो । जहाजबाट उभिएर जब म बाहिरिएँ । अघिल्तिर एउटा सेतो ट्याक्सीले बोलायो ।

“कहाँ जाने हजुर, बस्नुस्,” बढीमा करिब सत्र अठार वर्षको जस्तो देखिने एक मङ्गोल अनुहारको ड्राइभरले ट्याक्सीबाट चिहायो ।

मैले ट्याक्सीभित्र छिरेर ढोका लाउँदै गर्दा उसले सोध्यो, “कहाँ पुर्‍याइदिऊँ दिदी हजुरलाई ?”

“रत्नपार्क,” मैले यसो भन्नासाथ उसले मलाई झस्किएझैँ गरी हेर्‍यो र चुपचाप ट्याक्सीलाई अगाडि बढायो ।

पछिल्तिरको सिटमा बसेर ट्याक्सीको अगाडिको ऐनामा मैले वर्षौं पहिले कतै देखेजस्तो लाग्ने निर्दोष उसको अनुहार एकनासले हेरिरहेकी थिएँ । उसका आँखामा दुःखको गहिरो तलाउ जमेको प्रष्टै देखिन्थ्यो । उसले सुस्तरी ट्याक्सीलाई रत्नपार्कतर्फ गुडायो…।

ताप्लेजुङ्ग, हालः बेलायत।