डा. राजु अधिकारी

धेरै महिनापछि सुनुलाई मुनुको फोन आयो। साथीको फोन आउँदा सुनु निकै खुशी थिई। साँझ सात बजेतिरको समय थियो। धेरैपछि फोनमा कुरा गर्न पाएका उनीहरुले निकैबेर कुरा गरे।

“खाना खायौ त?” कुराको शिलशिलामा मुनुले सोधी।

“छैन, छोराछोरीहरूले त खाए मैले खा छैन,” अलि मलिन स्वरमा सुनुले भनी।

“भिनाजु आउनु भा’छैन? भिनाजुलाई पर्ख्या होला,” मुनुले आफैँ प्रश्न गरेर आफैँ उत्तर दिई।

“हैन, आइसक्नु भयो,” सुनुको स्वर अझै पनि त्यस्तै मलिन सुनिन्थ्यो।

“अलि ढिलो खान्छौ जस्तो छ नि? हाम्ले पनि ढिलै खान्छौं कहिलेकाहीँ त खाइसक्दा राति दश बजिसक्छ,” मुनुले एकै पटक प्रश्न र टिप्पणी गर्दै भनी।

“हैन। साँझ खान पाए पो खानु? मैले त साझँ खानै छोडिसके,” सुनुले आफ्नो व्यथा सुनाई।

“किन मिठो लाग्दैन र?” कुरो खोतल्दै मुनुले फेरि सोधी।

सुनु सानैदेखि नै खानाको मामलामा अलि अप्ठ्यारी थिई। सानामा उसले भान्टा, स्कुस, नरिचो, कुन्द्री, तिते करेला केही पनि खाँदैनथी। अहिले पनि सायद खाना छानीछानी खाने बानी छुटेको छैन होला भन्ने मुनुले अड्कल गरी।

“हैन, मिठो त लाग्छ तर खान पाए पो खानु? खान पाए त अहिले मासु र भात एक माना सकाउँथे। तर के गर्ने, भाग्यमा पेटभरि खान लेखेको रहेनछ !” सुनुले भनी। उसको स्वरबाट उसको पीडा सजिलै सुन्न सकिन्थ्यो।

साथीले पेटभरि भात पनि खान नपाउने स्थितिमा पुगेको त्यो दुर्दशा सुनेर मुनुको मन एकाएक चिसो भयो, नरमाइलो लाग्यो। कुनै दिन आफूभन्दा अगाडि बढी भनेर उसको डाह गर्ने मुनु सुनुको त्यो अवस्था थाहा पाएपछि एकाएक दुखी भई । आफ्नो मिल्ने साथी आफूभन्दा सबै कुरामा पछाडि नै होस् भन्ने प्रायः सबैले चहन्छन् तर आफूभन्दा धेरै पछाडि पनि नपरोस् भन्ने चाहना हुँदोरहेछ भन्ने कुरा मुनुलाई पहिलो पटक थाहा भयो। साथीको दुःखमा उसको मुटु चस्कियो।

two women using smartphone talking vector illustration

सुनु र मुनु सानैदेखि सँगै खेले हुर्केका साथी हुनाले निकै मिल्थे, सुखदुःखका कुरा सबै खोल्थे। मुनुको अलि छिटो बिहे भएको थियो। माइती नजिकै एकजना चिनेका जमिन्दारको छोरासँग उसको बिहे भएको थियो। गाउँको जिन्दगी भए पनि प्रशस्त जग्गा जमिन थियो, काम गर्ने मान्छे थिए। कुनै कुराको दुःख थिएन। सुनुले पनि मुनुजस्तै दुलाहा पाए, आफ्नो जिन्दगी पनि आरामले बित्थ्यो होला भन्ने आशा गरेकी थिई। तर सुनुको काठमाडौँमा बिहे भयो। काठमाडौँमा बिहे भएपछि मुनुले आफूले सुनुको भन्दा राम्रो दुलाहा र घर पाएको ठानेकी थिई। काठमाडौँ बिहे भएपछि सुनुको आफ्नोभन्दा राम्रो जिन्दगी भयो भन्ने मुनुलाई पनि लागेको थियो। तर पछि काठमाडौँमा आफ्नै घर रहेनछ, डेरा गरेर पसेका पूर्व २ नम्बरका पहाडे रहेछन् भन्ने थाहा पाएपछि मुनुको मन अलि शान्त भएको थियो। सुनुका लोग्नेले निजी कम्पनीमा काम गर्थे। कमाई राम्रै थियो तर न त काठमाडौँमा आफ्नो घर न त सरकारी जागिर, त्यसमाथि काठमाडौँको खर्च, जिन्दगी कठिन नै थियो। मुनुले गाउँमै बसे पनि आफूलाई सुनुभन्दा भाग्यमानी ठानेकी थिई। बिहे भएको १२-१३ वर्षपछि उसले काठमाडौँमा घर बनाएकी छ रे भन्ने सुनेपछि मुनुलाई फेरि अलिकति डाह लागेको थियो। अरुसँग नभने पनि मुनुसँग भने सुनुले सबै कुरा खोलेकी थिई- ऋण लिएर घर बनाएकी रहिछ।

तर सुनुको एक पेट खान पनि नपाउने स्थिति होला भन्ने मुनुले कल्पना पनि गरेकी थिइनँ। तर के गर्ने करोनाले सबैको आर्थिक स्थितिमा असर पारेको थियो। विशेष गरी शहरमा बस्ने र काम गरेर खाने समूहको त बेहाल नै बनाएको थियो। सायद सुनुको पनि त्यही हालत भएको होला भन्ने उसले अड्कल काटी। सुनुका दुलाहाले आफ्नै ट्राभल एजेन्सी चलाउँथे। कोरोनाले गर्दा व्यवसाय चौपट हुने नै भयो, त्यसमाथि कर्मचारीहरूलाई तलब दिँदा, घर बनाउँदाको ऋण तिर्दा, छोराछोरीको स्कुलको फिस तिर्दा कतिसम्म टिकोस्? तर आधा पेट खानुपर्ने स्थिति नै आउला भन्ने उसलाई लागेको थिएन। काठमाडौँमा बसेपछि त्यहाँको बेफाइदा भनेको त्यही हो। एउटा घर र जागिरको भर बाहेक केही हुँदैन । जागिर यताउता भयो भने सुनुको जस्तै भोकै बस्नु पर्ने स्थिति आउँछ। काठमाडौँमा विभिन्न संस्थाले खाना खान पैसा नहुनेको लागि सार्वजनिक रुपमा खाना खुवाएको समाचार मुनुले देखेकै थिई। तर विचरी सुनु, आफ्नो इज्जतले गर्दा त्यस्तो ठाउँमा गएर खान पनि लाज मान्दी हो। मानिस पनि अचम्मको प्राणी हो- आधा पेट खाएर बस्न तयार हुने तर इज्जतको चाहिं ख्याल राख्नु पर्ने। त्यो मानेमा उसले आफूलाई निकै भाग्यमानी ठानी- कम से कम भोकै त सुत्नु पर्दैन।

दुई वर्ष पहिले दशैँमा माइत टीका लगाउन जाँदा सुनु र मुनुको भेट भएको थियो। त्यो बेला सुनु निकै ठाँटिएर गएकी थिई। सुनका पहेँला गहनाले ऊ झकमक्क फुलेकी थिई। उसको पातलो जिउडाल पनि निकै आकर्षक देखिएको थियो। उसको सिलिक्क परेको सुन्दर शरीर देख्दा मुनुले आफ्नो मोटो भद्दा शरीरप्रति मनमनै घृणा गरेकी थिई। तर सुनुको त्यो दुब्लो शरीर त विचरी पेटभरि खान नपाएर पो रहेछ कि जस्तो मुनुलाई बल्ल शंका लाग्यो। अनि ती सुनका गहना पनि नक्कली सुनका गहना थिए होलान् भन्ने शंका गरी। शहरियाहरू बाहिर देखाउने एउटा भित्र वास्तविकता अर्कै हुन्छ भन्ने मुनुले सुनेकी थिई, सुनुको हाल देखेर सही हो जस्तो लाग्न थाल्यो।

सुनुको ‘खान पाए त अहिले मासु र भात एक माना सकाउँथे’ भन्ने वाक्यपछि फोनमा केही समय सन्नाटा छाएको थियो। त्यही सन्नाटाको बीचमा मुनुको दिमागमा त्यति धेरै कुरा खेलेका थिए। साथीको त्यस्तो स्थितिमा के भन्ने के भन्ने थाहा नपाएर अलि अप्ठ्यारो मान्दै फोनको सन्नाटा तोड्दै मुनुले सहानुभुतिको स्वरमा सोधी, “अनि खाली पेट सुत्दा राती भोक लाग्दैन त?”

“लाग्छ नि, तर लागेर के गर्नु? सहनु पर्छ। निकै भोक लाग्यो भने राति उठेर फ्रिजबाट दुध निकालेर ओभनमा तताएर खान्छु अनि सुत्छु। के गर्ने दुब्लाउनको लागि के के गर्नु पर्दो रहेछ। तै पनि ६० किलोमा झर्ने लक्ष अझै पुरा भएको छैन” सुनुले भनी।

“के दुब्लाउनको लागि खाना खान छोडेको?” सुनुको उत्तरले झस्केकी मुनुले अचम्म मान्दै सोधी।

आफ्नो त्यो बेला सम्मको अडकल सबै गल्ती निस्केकोमा मुनुलाई आफैँमाथि लाज लाग्यो अनि केही निमेष अगाडिसम्म सुनु प्रतिको उसको सहानुभूति अचानक फेरि डाहमा परिणत भैसकेको थियो।

(‘लावण्यदेश’ कथा सङ्ग्रहका लेखक राजु अधिकारी समसामयिक र सामाजिक विषयमा कलम चलाउँछन्।)

Twitter: @sharmatr