कथा पढ्नुअघि
समय खेर जान नदिन मैले छोटा-लामा रूसी कथा मूल भाषाबाट अनुवाद गरेँ । रूसी भाषाको सन्दर्भमा यहाँ लाटो देशको गाँडो तन्नेरी जो म आफूलाई ठान्छु । यी कथाहरूको छनोटको आधार चाहिँ यिनले दिने सन्देशहरू हुन् । म रूपलाई भन्दा सारलाई अलिकति भए पनि बढी महत्त्व दिनुपर्छ भनी ठान्छु ।
यी अनुवादहरू मूल कथाबाट टाढिएका छैनन् । अनुवादमा मैले मूल कृतिका संरचना र भावलाई सकेसम्म उतार्ने प्रयास गरेको छु । अर्थात् यहाँ भएका कथाहरू अनुवाद हुन्, व्याख्या होइनन् । मूल कृतिलाई व्याख्या गरेर गरिएको अनुवाद, जुन भाव अनुवादले बढी चिनिन्छ, मा लेखकको उपस्थिति कम हुन्छ, अनुवादकको बढी । यो मेरो निजी धारणा हो । रूसीमा यी कथाहरू पढ्दा सरर सर्छन् । यहाँ त्यसो नभएकोमा मेरो कमजोरी हो ।
अगाडि तपाईंले यो कथाको लेखकको नाममा एन्टन चेखभको ठाउँमा आन्तोन छेखफ नाम देख्नुभएर अचम्म मान्नुभयो होला । यसो गर्नु म ठीक ठान्दछु किनकि हामी अंग्रेजीका सबै खाले नाम-पदहरू पनि त्यसैगरी रूपान्तर गर्छौं । रूसीका चाहिँ किन यसो गर्न नहुने ? अर्थात् रूसीको ताल्स्तोइलाई हामीले टाल्स्टाय किन भन्नु पर्ने ? आलोचना स्वीकार्छु, त्यो पनि सहर्ष ।

डा. बलराम अर्याल
यसअघि मैले शिसम प्रकाशन बालाजुबाट २०७५ मा ‘बसिबियाँलो’ किताब निकालेको थिएँ । त्यही बसिबियाँलोका कथाहरू नियमित रूपमा साहित्यपोस्टमा प्रकाशन हुनेछन् । कथा पढेर प्रतिक्रिया पाउनेछु भन्ने आशा गरेको छु ।
डा. बलराम अर्याल
नाक
१

गोगोल
सेन्ट् पिटर्सबर्गमा मार्च् २५ मा एउटा अत्यन्त असाधारण र अचम्मको घटना घट्यो । भज्निसेन्स्कीइ एभिन्यूमा बस्ने एकजना हजाम इभान याकभ्लेभिछ् (उसको थर हराएको छ, र उसको साइनबोर्डमा पनि – जहाँ रहेको छ गालामा साबुनको फिँजै – फिँजले भरिएको एकजना सज्जनको तस्वीर र एउटा लेखोट – “यहाँ रगत पनि खोलिन्छ” – अरू बढी केही छैन ।), हजाम इभान याकभ्लेभिछ् एक दिन बिहान सखारै उठ्यो, र सुन्यो नाकमा तात्तातो रोटीको वासना । बिछ्यौनामा यसो अलिकति उठेरै देख्यो उसले, उसकी श्रीमती, जो निकै सम्मानित महिला थिइन्, र कफी बेहद मन पराउँथिन्, तन्दुरी – अगेनाबाट ताजा पोलेको रोटी निकाल्दै थिइन् ।
- तर आज म, प्राकोफिया ओसिपभ्ना, कफी पिउँदिनँ, – भन्यो इभान कभ्लेभिछ्ले, यसको सट्टामा मलाई प्याजसँग एउटा तात्तातो रोटी खाने मन छ ।
(मतलब इभान याकभ्लेभिछ्लाई त्यो पनि र अर्को पनि खाने मन छ, तर उसलाई के थाहा थियो भने दुबै चीज एकैचोटी माग्नु सम्भव हुने छैन, किनकि प्राकोफिया ओसिपभ्नालाई यस्तो सनक बहूतै मन पर्थेन ।) “खाओस् बेवकुफले रोटी, मलाई झन् राम्रो – मनमनै सोचिन् श्रीमतीले – मलाई झन् थप एक कप कफी रहने छ”। अनि हुर्र्याइदिइन् एउटा रोटी टेबुलतिर ।
मर्यादाको लागि इभान याकभ्लेभिछ्ले कमिजको माथि ड्रेश कोट पनि लगायो, टेबुलको आडमा बसेर अलिकति नुन छर्क्यो, दुईवटा डल्ला प्याज तयार गर्यो, एउटा चक्कु पनि लियो, ठूलै माइनजस्तो गरेर रोटी काट्न लाग्यो । रोटीलाई दुई टुक्रा पारेर उसले बीचमा यसो हेर्यो, अनि आफैँमा अचम्म पर्दो, एउटा चम्किएको चीज देख्यो । इभान याकभ्लेभिछ्ले सावधानीपूर्वक चक्कूले खोस्रियो र औँलाले छामेर हेर्यो । “ठोस छ ! – सोच्यो उसले, – बरू के थियो यो ?”
उसले औँलो घुसार्यो र निकाल्यो – नाक ! … इभान याकभ्लेभिछ्ले हात पनि छोडिदियो, आँखा मिच्न थाल्यो र छाम्योः नाक, पक्कै नाक ! झन् लाग्यो, मानौँ, कोही परिचितकै नाक हो ! इभान याकभ्लेभिछ्को अनुहारमा एउटा सन्त्रास झल्कियो, तर यो सन्त्रास चाहिँ उसकी श्रीमतीको असन्तुष्टिबिरुद्ध केही थिएन, जो उसकी श्रीमतीमा शासन गर्दै थियो ।
- कहाँ हो यो तिमीले, पशु, नाक काटेको ? – चिच्याइन उनी रीसले चूर भएर ।
बदमाश ! जँड्याहा ! म आफैँ पुलिसमा उजुरी हाल्छु, तिम्रोबारेमा । द्रोही
कहीँको ! मैले तीन – तीन जनाबाट सुनिसकेकी छु, दाह्री बनाउँदाखेरि यति बेसरी नाक तान्छौ रे कि बल्ल-बल्र रहन्छ रे ठाउँमा ।
तर इभान याकभ्लेभिछ् न त बाँचेको न त मरेकै तुल्य थियो । उसले चिन्यो, यो नाक अरू कसैको नभएर कलेजियट असेसर कभाल्योफको थियो भनेर, जसको दाह्री ऊ हरेक बुधबार र आइतबार बनाइदिन्थ्यो ।
- पर्ख, प्रकोफिया ओसिपभ्ना ! म एउटा कुनामा राखिदिन्छु यसलाई, कपडाको
टुक्रामा मोडमार गरेर; अलिकति त्यहीँ रहोस्, अनि पछि लैजाऊँला बाहिर ।
- म सुन्न समेत चाहन्नँ ! आफ्नै कोठामा कहीँ – कतै काटिएको नाकलाई पड्न
दिऊँ भनेर ! … सेकेको पाउरोटी कहीँको ! तिमीलाई त पेटीमा आफ्नो छुरा तिखार्न मात्र आउँछ, अनि आफ्नै काम समेत तिमीलाई पूरा गर्न आउने छैन छिट्टै, गोठालो, नीच कहीँको ! तिम्रो लागि प्रहरीसमक्ष बयान देओस् मैले भनेर । … ओहो तिमी टालटुले, मूर्ख मूढ कहीँको ! बाहिर निकाल यसलाई ! बाहिर निकाल ! लैजाऊ जहाँ तिमीलाई मन लाग्छ ! ताकि मैले यसको आत्मा समेत सुन्नु नपरोस् ।
इभान याकभ्लेभिछ् मरेतुल्य उभिइरह्यो । ऊ सोचिरह्यो, सोच्दै रह्यो, तर उसलाई मेसै भएन के चाहिँ सोच्ने भनेर ।
- शैतान जानोस्, यो भयो कसरी, – उसले भन्यो अन्त्यमा, हातले कान पछाडि
कन्याउँदै । रक्सीले मात्तिएर पो आएको थिएँ कि घर म हिजो, यसै भन्न सक्दिनँ होला । सबै लक्षणअनुसार घटना असम्भव नै भएको थियोः किनकि पाउरोटी – पोल्ने कुरा हो, तर नाक बिलकूल त्यसो होइन । केही पनि बुझ्न सकिरहेको छैनँ । … इभान याकभ्लेभिछ् चूप लाग्यो । त्यो सोचाइ – कि पुलिसले उसकहाँ नाक फेला पार्ने छ र उसलाई दोषी करार दिनेछ, -ले उसलाई बिल्कूल विस्मृतिमा पुर्यायो । उसलाई भ्रान्ति भयो एउटा सुन्दर ढङ्गले चाँदीले सिइएको, रातो कठालोको, तरवारको, अनि उसको पूरा शरीर काम्यो । अन्ततः उसले आफ्नो बनियाइन र बुट–जुत्ता निकाल्यो, यी सब झुतरीहरू लगायो, प्राकोफिया ओसिपभ्नाका असहज गाली – गलोजको साथमा; नाक एउटा टालोमा बेर्यो, अनि घरबाट बाहिरियो सडकतिर ।
ऊ यसलाई कतै घुसारिदिन चाहन्थ्योः कि गेटको तलतिर खम्बामा, वा अन्जानमै कहीँ–कतै खसाल्ने, अँ त्यसपछि कुनै गल्लीतिर मोडिने । तर, दुर्भाग्यवश, ऊसँग कुनै न कुनै चिनेको मान्छे भेट भइरहन्थ्यो, जो प्रश्नसाथ वातचित शुरु गर्थ्यो तत्कालै “कतातिर हिँडेको ?”, वा “कसलाई यति सखारै दाह्री बनाउन हिँडेको ?” भनेर ।
– यसरी इभान याकभ्लेभिछ् कसैगरी पनि एक्लिन पाएन एक मिनेट पनि । एक पल्ट त उसले खसालेको समेत थियो नाकलाई, तर ड्युटीमा रहेको पुलिसले उसलाई टाढैबाट इशार गर्यो आफ्नो परशुले, , “उ, तिमीले केही खसाल्यौ !” यसो भन्दै । इभान याकभ्लेभिछ्ले पनि नाक उठाउनै पर्यो र खल्तीमा राख्नु पर्यो । ऊ बिलकूल निराश भयो, खास गरेर कि मान्छेहरू सडकमा बढ्दै थिए निरन्तर रूपले, अनि त्यस्तै पसल र दोकानहरू खुल्न थालिसकेका थिए ।
उसले इसाकियेफ्स्कीइ पुलतिर जाने निधो गर्योः भाग्यले साथ दिन्थ्यो कि यसलाई निभा नदीमा फाल्न ? … तर म केही दोषी छु, मैले अहिलेसम्म केही पनि बोलेको छैनँ इभान याकभ्लेभिछ्को बारेमा, धेरै मामिलामा एउटा सम्मानित मान्छेबारे ।
इभान याकभ्लेभिछ्, हरेक शिष्ट रूसी शिल्पकार झैँ, एउटा डर लाग्दो पेयक्कड थियो । यद्यपि ऊ हरेक दिन अरूको चिउँडो खौरन्थ्यो, उसको आफ्नो चाहिँ सधैँ खौरिएको हुन्थेन । इभान याकभ्लेभिछ्को ड्रेस कोट (इभान याकभ्लेभिछ् कहिल्यै पनि फ्राक–कोट लगाउँथेन) तिल–चामले हुन्थ्यो, मतलब त्यो कालो त थियो, तर सब खैरो – पहेँलो र खारानी रङ्कका दाग थिए; कठालो टल्किएको हुन्थ्यो मयलले, तीनवटा टाँकको ठाउँमा धागो मात्र झुण्डिएको थियो । इभान याकभ्लेभिछ् एकदम नकचरो थियो, अनि कलेगियट असेसर कभाल्योफले दाह्री काट्दाखेरि सामान्य तवरले उसलाई “तिम्रो त, इभान याकभ्लेभिछ, सधैँ हात गन्हाउँछ !” भन्दा इभान याकभ्लेभिछ्ले यसको उत्तर “केले गन्हाउनु पर्ने नि ?” प्रश्नले दिन्थ्यो ।
– “मलाई त थाहा भएन, दाइ, तर गन्हाउँछ मात्र, – भन्थ्यो कलेजिट असेसर, अनि इभान याकभ्लेभिछ्ले नुश्का लिएपछि, यसको जवाफमा उसलाई साबुनै साबुन दलिदिन्थ्यो गालामा, नाकको तल, कानको पछाडि, चिउँडो मुनि – एकै शब्दमा (भन्नु पर्दा), जहाँ मन लाग्थ्यो उसलाई ।
अब यो श्रद्धेय नागरिक इसाकिइफ्स्कीइ पुलमा खडा थियो । उसले सबभन्दा पहिले चारैतिर हेर्यो, त्यसपछि रेलिङ्गमा निहुरियो, मानौँ पुलमुनि हेर्न भनेरः थुप्रै माछाहरू दौडिरहेका छन् कि छैनन्, बिस्तारै नाक भएको टालो फ्याँकिदियो । उसबाट एकैचोटी दशौँ धार्नीको वजन उत्रिएर गएको जस्तै अनुभूत गर्यो उसले; इभान याकभ्लेभिछ् मुसुक्क हाँस्यो पनि । कर्मचारीहरूका चिउँडाहरू शेभिङ्ग गर्न जानुको सट्टामा ऊ “खाने कुरा र चिया” लेखिएको साइनबोर्ड भएको एउटा भवनतिर के लाग्यो एक गिलास पंच-रक्सी माग्न भनेर, उसै बेलामा उसले पुलको आखिरमा एक्कासी देख्यो एकजना बडो रोबवाला बाह्य आकृतिको, चौडा गाला–दाह्री भएको, तीन कुने टोपी लगाएको र तरवार भिरेको टोल निरिक्षकलाई । ऊ झण्डै मरेको; यसैबीचमा टोलिया पुलिसले उसलाई औँला ठाडो गरेर इसारा गर्यो र भन्योः यता आऊ त, मेरो प्रिय !
इभान याकभ्लेभिछ्ले, तौर-तरीका चिनेरै, टाढैबाट आफ्नो टोपी पनि झिक्यो, ठाँटसँग उसको नजिक आयो र भन्योः
- सम्मानित प्रभुप्रति दीर्घायुको कामना गर्दछु !
- होइन, होइन, सम्मानित तम्मानित्; तिमीले के गरेका थियौ त्यहाँ, पुलमा
उभिएर ? - कसम, प्रभु; हजामी गर्न जाँदै थिएँ; यसो हेरेको मात्र हो, कति छिटो नदी बहन्छ
भनेर ।
- झूटो बोल्दै छौ, झूटो बोल्दै छौ; यसबाट तिमीले छुट्कारा पाउने छैनौ । उत्तर दिने कष्ट गर त !
- म छ नि, दयावान प्रभु, हप्ताको दुई पटक, हुन्छ तीनै पटक पनि, हजुरको दाह्री बिना कुनै छोइ-छिटो बनाइदिन तयार छु – भन्यो इभान याकभ्लेभिछले ।
- होइन, मित्र, यी सब वाहियात हुन् । मलाई तीन जना हजामले दाह्री बनाइदिन्छन्,
अँ झन् ठूलै सम्मान ठान्दछन् । तिमी वयान गर्ने कष्ट गर, तिमी के गर्या थियौ त्यहाँ ?
इभान याकभ्लेभीछ् पहेँलो भयो … । तर यहाँ घटना चाहिँ बिलकूल बन्द हुन्छ तुवाँलोले, तर पछि के भयो, निश्चित रूपमा थाहा भएन ।
(दोस्रो भाग अर्को सोमबार)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

