Chovar Blues Mobile Size

जुम्रा मार्दै गरेकी तरुनी हाँसी । माथि काछसम्म उचालिएको धोतीले गर्दा नाङ्गिएका उसका तिघ्रामा कुुनै अश्लीलता थिएन । धोती उसले जुम्रा मार्न उचालेको थिई । र म काममा जाँदै थिएँ । यसरी नै दिनहुँ म यो बाटो हिँड्छु तर यो माग्ने तरुनीले आजै हो धोतीका जुम्रा मारेकी । हुनसक्छ, अरु दिन पनि मार्दी हो तर मैले स्वास्नीलाई माइत पठाएदेखि यता देखेको आजै हो ।

र ऊ मतिर हेरेर हाँसेकी थिई । दिनहुँ म हिँड्ने बाटोको छेउमा डेरा जमाएर मागन बस्ने गर्नाले उसले मलाई अनुहारबाट चिनेकी होली । र मचाहिँ सधैँ त उसको वास्ता नगरी जाने आउने गर्थेँ । तर उसको उसरी धोती उचलाइबाट देखिएका पुष्ट काला तिघ्राले गर्दा म स्वास्नी सम्झेर तिर्खाएको हुँला रनै त मैले उसतिर कसरी हेरेको थिएँ ।

अनि ऊ हाँसेकी थिई, के भने त्उत्तिञ्जेल उसका तिघ्रामा डाम्मिन पुगेको मेरो हेराइमा उसले कुनै अनौठो तापको तरलता देखेकी होली ।

तर साँच्चै मलाई त्यतिबेलै उसका पोटिला तिघ्राभन्दा यता उसको जुम्रा मराइ र फोहोर पहिरनले मनमा चौपट्टै घिन छचल्काइदिएको थियो, मानौ अश्लिलता ठ्याक्क त्यै नै हो । अकस्मात् जस्तै, भलै तपाईँलाई यो उपमा राम्रो नलाग्ला तर यहाँ यसभन्दा राम्रो उपमा मैले अर्को पाइनँ, के भने कुकुरहरूको समागम देखेर तपाइँभित्र एकैछिन भए पनि उस्तो इचछा जाग्छ तर तत्क्षण नै तपाई परिवेशभित्र सजथ हुनाले त्यस दृशयलाई घिन माने जसरी हेर्न बाध्य तुलिनु हुन्छ – वा मनैदेखि संस्कारगत गोपियनता भङ्ग भएकोमा तपाइँ कुकुरहरुप्रति लजाउनु हुन्छ त्यस्तै । तर कतै अन्तरमा तपाइँभित्र लालसा जागिसकेको हुन्छ, हैन ?

तर धोती उचालेरै ऊ हाँसेकी हुनाले माग्ने तरुनीको हाँसोका मसिना खित्कामा उपहासको बिख मिसिएको थियो । उपहास त्यै पनि उमेर पुगेकाी तरुनीको नपुङ्सकको लागि समेत असह्य हुन्छ । म बैलो थिइनँ । त्यै एउटा हाँक पनि हुन सक्थ्यो यदि मैले त्यहाँनिर कुनै अश्लीलिता नथोपरेको भए ।

तर अहिले त्यो भइदिएन, के भने उसको धोती उचाल्नुमा कुनै अश्लीलता देखिनँ । त्यो एउटा स्वाभाविकता भइदियो ।
तैपनि एउटा हद नाघ्न जुर्मुरिएको लालसा मभित्र चुपचाप फुटिसकेको थियो र मलाई स्वीकार्नु नै पर्यो भने म प्रष्ट गरेर के भन्न्े छु त्यस तरुनीको हाँसोको बिख मलाई लागेको थियो । पुष्ट मांसलताको मादकता । तर ऊ अहिले असाध्यै खुल्ला भएकी छ । यस सडकको छेउमा अनि त्यसो गर्न सकिँदैन र ज्यादै गाइएका गीत सस्तिएझैँ छ उसको क्रिया ।

तर सडक भन्नाले म यहाँ अर्कै एउटा स्थितिको कुरा गर्न चाहिरेछु । यो यस सहरको हाट लाग्ने जुन ठाउँ हो यस बजारभन्दा अलि तल तर गोदामजस्तो सिनेमा घरभन्दा धेरै नजिकमा थियो । आज बजार लाग्ने दिन थिएनन् , त्यसैले आज म त्यस माग्ने तरुनीलाई राम्ररी हेर्न सक्छु । चाहे जति । बजार लागेको दिनमा त यो तरुनी न यहाँ हुन्छे न म नै यसप्रति सचेत हुन्छु ।

सचेत म अहिले पनि भएको थिइनँ केवल उसको धोती उचाल्नाले भएको थियो । यदि ऊ बूढी भएकी भए म थुकेर हिँड्ने थिएँ । वा यहाँ एउटा कुरा सम्झन सकिन्छ, के भने, सम्पन्न वर्गका थलथले बूढी आइमाइहरुमा एउटा सेक्सी आर्कर्षणको लेप हुन्छ तर त्यो ती गरिब बूढी आइमाइमा हुँदैन । अनि ऊ तरुनी छे र उसको हाँस्ने आदत छ । हँसाइमा आदत कम र हाँक ज्यादा थियो ।

यहाँनिर अश्लीलता घुस्नि पुगेको नभए म अर्कै रुपमा विचार्ने थिएँ र एकैछिन भए पनि रोकिएर त्यस तरुनीसँग ठट्टने थिएँ । त्यस्ता कुरामा मलाई कसरी कसरी राम्दीघाटका थकाल्नीहरुको सम्झना हुन्छ जहाँ बस, ट्रकका ड्राइभर, क्लिनरहरु खारिएर ठट्टिन्छन् । त्यो सम्झना असाध्य सकसकी लाग्दो छ ।

आज पनि ऊ यसरी नै हाँसेकी छ । तर मलाई हेरेर होइन, उसले आफ्नो हाँक उपस्थित गर्न अर्को माध्ययम अपनाएकी छे । उसको छेवैमा सेतै फुलेको यौटा बूढो पल्टेको छ ।

कोल्टे परेर पल्टेको छ । तरुनीचाहिँ उसको ढाडपट्टी माझमा छे ।

बूढाको जीउमाथि दुईवटा परेवा सहज बसेका छन्– शान्त । अनि उसले बूढाको कपालमा औँला घुसाएर टाउको मुर्सान थालेकी छे । बूढा चाहिँ दुखेको टाउकोमा मालिस गरिएको आनन्द भोग्दै छ ।

बूढोमा आनन्द भोग्ने लालसा मात्रै होला, आनन्द खोज्ने उत्रेजना र साहस छैन । यदि म उसको सट्टा त्यहाँ हुँदो हुँ त त्यस तरुनीलाई अझ हँसाउने थिएँ । उसको हाँसोमा बिख झारिदिने थिएँ । अनि उल्टै उसभित्र मन्दविषको उन्माद भरिदिने थिएँ । तर कुरा छ अश्लीलताको र सहज हुनुको ।

हिजो जसरी नै अश्लीलता तरुनीको तिघ्रामा टाँस्सिएको छैन बरु आज अश्लीलता मभित्र असहता भएर अड्केको छ ।
साँच्चै मांसल मादकताले मात्रै मैले सहज भएर त्यस तरुनीलाई चाहेको भए । तर तपाइँ त्यसो गर्न सक्नुहुन्न, सायद चोरी चोरी हेर्नुबाहेक, किनभने तपाईँ आवरणभित्र बस्न आदी हुनुहुन्छ । हैन ?

म यतिबेला टाढै छु । त्यस तरुनीले के गर्छे कुन्नि एक्कासि ती दुवै परेवा उड्छन, तर धेरै टाढा हैन, अलि माथि खुलामा, उन्मुक्त पखेटा फटफटाएर, फेरि उही साविक ठाउँमा बस्छन्, बूढाको दाहिने तिघ्रा माझमा सहजतासाथ ।

त्यो चाल पाएर बूढाले बिस्तारै आँखा खोःछ । म नजिकै पुगेको छु । ऊ बर्बराउन थाल्छ आफ्नै तर मैले नबुझ्ने सायद राजस्थानी भाषमा ।

तरुनी मस्त हाँस्छे । उसको जीउको मादकता छचल्किन्छ । हाँसोमा फेरि उही विषालु हाँक छ । म त्यहाँ पुगेको हुन्छु । त्यो हाँसो स्त्रीभङ्गिमा बूढो र म दुवैको लागि हो ।

बूढोले सुत्यासुत्यै पैसा माग्छ र तरुनीचाहिँ आँखा नचाउन थाल्छे । अनि कसरी कसरी म फिस्स हाँसेको छु । हाँसेपछि त्यसै त्यसै खुकुल्न्छिु र दशैपैसे ढ्याक्क फालिदिन्छु ।

मतलब यो थिएन मेरो, के भने पैसा तरुनीतिर फालुँ तर बूढोलाई दिनुपर्ने कसरी उफ्रेर तरुनीकहाँ पुग्यो, म छक्क पर्दैछु ।
आज पनि अस्तिझैँ धोतीको किनारको जुम्रा मार्न थालेकी रहिछ । तर मलाई अब उसको वास्ता छैन । वास्ता छैन भन्नुमा मेरो मतलब के हो भने उसका नाङ्गा काला तिघ्राभन्दा अश्लीलताको बोध मभित्र ज्याद्यै जागेको छ ।

हिजोको बूढा त्यहाँनिर त्यसरी नै कुनै उत्खनन्मा पाइएको पुरानो मूर्तिझैँ सहज पल्टेको छ । अनि ती दुइटा परेवामात्र जीवितजस्ता लागछन् । बूढो निशिन्त भएर निदाएको हुनुपर्छ ।

त्यस बूढोलाई मेरो अश्लीलता बोधलाई छुँदैन र त ऊ निश्न्ति भएर यत्रो बजार लाग्ने फाँटमा लम्पसार सुतेको छ । मैलेझैँ चोर आँखाले उसले तरुनीलाई हेर्ने खाँचो पनि छैन । प्रष्ट छ, उसले त्यस तरुनीलाई हरेक हरेक पक्षबाट चिनेको हुनुपर्छ । त्यसैले पनि ऊ तरुनीका मसिना विषक्त खित्कामा आफ्नो जीतको आभास पाउँदो हो । तर म ! मेरो कुरा बेग्लै छ ।

यसरी हिँड्दाहिँड्दै म त्यस तरुनीमाथि किन हाम्फाल्न सक्तिनँ । यदि हाम्फाल्दिनँ भने पनि किन सहज रुपमा अश्लीलतारहित उसका हाँसोलाई सामना गर्न सक्तिनँ भन्ने प्रश्न महत् भएर उभिएको छ ।

तर मैले जानेको छु यो तरुनी यदि राति सुटुक्क मेरो डेरामा आएर मसँग सुत्छे भने म तयार छु र तपाईँलाई थाहा नै छ, घरभित्र ढोका थुनेर मात्र मान्छे नग्न हुनसक्छ अनि अश्लीलता फुकालेको कट्टुझैँ यौटा कुनामा थुप्रिन्छ । हैन ?

 

(लोकप्रिय अनलाइन पत्रिका साहित्यपोस्टले प्रत्येक साता नेपाली भाषासाहित्यको एउटा उत्कृष्ट यौनकथा नेपाली पाठकमाझ पुर्याउने प्रस्तावअनुसार यो स्तम्भ सुरु गरिएको छ । यतिखेर म मेरो सम्पादनमा वाणी प्रकाशन, विराटनगरबाट २०५४ सालमा प्रकाशित प्रतिनिधि यौनकथाहरूको सङ्कलन नेपाली यौनकथा पुस्तक सम्झिरहेछु । वाणी प्रकाशनको स्थापनासँगै छापिएका कृतिहरूमध्येकै अत्यन्त महत्त्वपूर्ण यो पुस्तक मानिसहरू नामकै कारणले ‘थर्ड ग्रेड’ को पुस्तक हो कि भन्ने भ्रममा पनि पर्ने गर्छन् । त्यसो होइन ।

उक्त कृतिमा नेपाली साहित्यका स्वनामधन्य विशिष्ट स्रष्टादेखि प्रतिष्ठित एवम् चर्चित सर्जकका उत्कृष्ट कथाहरू सङ्गृहीत गरिएका थिए । प्रकाशन हुनसाथ यो पुस्तकलाई पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहको नेपाली साहित्यमा मनोविज्ञानपरकता, विशेष नेपाली (आठौँ पत्र) को सहायक सामग्रीको रूपमा स्वीकृत गरेको थियो । यस्तो सङ्ग्रह निकाल्ने सोच  वाणी प्रकाशनका प्रथम अध्यक्ष, वरिष्ठ कथाकार परशु प्रधानको थियाे । सङ्ग्रहका लागि कथा चयनदेखि सम्पादनसम्मको सम्पूर्ण जिम्मेवारी मलाई दिइएको थियो । याे कथा पुनः सुरू भएकाे बेला म आदरणीय वरिष्ठ कथाकार एवम् वाणी प्रकाशनका तत्कालीन अध्यक्ष परशु प्रधानप्रति हार्दिक आभार व्यक्त गर्छु । 

सङ्ग्रह लाेकप्रिय भए पनि  नयाँ संस्करण ननिस्किएपछि वाणी प्रकाशनको लिखित स्वीकृति लिएर दोस्रो संस्करण बीएन पुस्तक संसारबाट २०६९ सालमा र तेस्रो संस्करण शिखा बुक्सबाट २०७५ सालमा प्रकाशित भएको छ । साहित्यपाेस्टका अभिभावक  तथा मेरा प्रिय भाइ अश्विनी काेइरालाले यी सबै कुरा याद गरेका रहेछन् । उनकाे आग्रहमा  सङ्ग्रहमा  रहेका यौनकथाहरू अब साहित्यपोस्टमा प्रकाशित हुनेछन् । सङ्ग्रहबाहेक पनि नेपाली साहित्यमा यस्ता दर्जनाै पठनीय याैनकथा छन्, जसलाइ  क्रमशः प्रकाशित गर्ने याेजना छ ।

प्रमोद प्रधान

यौनकथा सम्पादक

साहित्यपाेस्ट