साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

अल्बेयर कामुको चर्चित उपन्यास ‘आउटसाइडर’को नेपाली अनुवाद १

Chovar Blues Mobile Size

अल्बेयर कामुको प्रख्यात उपन्यास ‘आउटसाइडर’ (कतिपयले ‘द स्ट्रेन्जर’ नाममा पनि अंग्रेजीमा छापेका छन्) यो नेपाली अनुवाद ‘आगन्तुक’ हामीलाई प्रख्यात अनुवादक हरिहर खनालले उपलब्ध गराउनु भएको हो । उहाँका धेरै अनुदित कृति बजारमा आएका छन् ।

अल्बेयर कामुको परिचय

अल्बेयर कामु १९१३ मा अल्जेरियामा जन्मिएका थिए । उनको बाल्यकाल गरिब थियो तथापि बेखुसी थिएन । उनले अल्जियर्स विश्वविद्यालयमा दर्शनशास्त्र अध्ययन गरे र एउटा पत्रकारका साथै Théâtre de l’équipe नाम भएको नयाँ एवम् प्रगतिशील विचारको नाटक मण्डलीको गठन गरेर त्यसको अगुवा बने । उनका सुरुका निबन्धहरू L’Envers et l’endroit (The Wrong Side and the Right Side) र Noces (Nuptials) मा सङ्ग्रहित छन् । उनी प्यारिस गए जहाँ उनले अल्जेरिया फर्कनुभन्दा अघिसम्म Paris Soir भन्ने अखबारमा काम गरे । उनको नाटक Caligula १९३९ मा प्रकाशनमा आयो । उनका पहिला दुई महत्त्वपूर्ण पुस्तकहरू L’Etranger (The Outsider) र लामो निबन्ध Le Mythe de Sisyphe (The Myth of Sisyphus) उनी प्यारिस फर्केपछि प्रकाशित भएका थिए । १९४१ मा जर्मनहरूले फ्रान्सलाई नियन्त्रणमा लिएपछि कामु प्रतिरोध अभियानका बुद्धिजीवी नेताहरूमध्ये एक भए । उनले Combat नामक भूमिगत अखबार सम्पादन गरे र त्यसका लागि लेखहरू लेखे, जुन पत्रिकाको स्थापनामा उनले सहयोग गरेका थिए । युद्ध समाप्त भएपछि उनले आफूलाई लेखनमा समर्पण गरे र La Peste (The Plague, 1947), Les Justes (The Just, 1949), र La Chute (The Fall, 1956) जस्ता पुस्तकहरूबाट अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे । १९५० को दशकको अन्त्यतिरको समयावधिमा लेखेर र William Faulkner को Requiem for a Nun र Dostoyevsky को The Possessed को निर्देशन गरेर कामुले थिएटरप्रतिको उनको चाखलाई पुनर्जागृत गरे । १९५७ मा उनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । १९६० मा उनी एउटा सडक दुर्घटनामा मारिएका थिए । उनको अन्तिम उपन्यास Le Premier Homme (The First Man) उनको मृत्युको समयमा अपुरो थियो र त्यो १९९४ मा पहिलोपल्ट प्रकाशित भयो । तत्कालै त्यो अत्यधिक बिक्री हुने पुस्तकहरूको सूचीमा पर्‍यो, व्यापक रूपमा बहुचर्चित भयो र तीसभन्दा बढी देशमा अनूदित र प्रकाशित भयो । कामुका अधिकांश कृतिहरू पेन्गुइनमा प्राप्त छन् ।
सात्रले उनको समवेदना सन्देशमा कामुप्रति यसरी श्रद्धा अर्पण गरेका छन्ः
‘कामु हाम्रो सांस्कृतिक विचार पद्धतिका प्रधान शक्तिहरूमध्ये एक हुन कहिल्यै पनि छाड्ने छैनन्, न त उनले आफ्नै तरिकाले फ्रान्सको इतिहास र यो समाजको प्रतिनिधित्व गर्न नै छाड्ने छन् ।’

आगन्तुक

प्रथम भाग

 

एक


आमा आज बित्नुभयो । अथवा हिजो पनि हुन सक्छ । मलाई थाहा छैन । वृद्धाश्रमबाट मलाई एउटा आकाशवाणी आएको थियोः ‘आमा बित्नु भयो, अन्त्येष्टि भोलि हुन्छ । तिम्रो भलो चाहने ।’ त्यसको कुनै अर्थ छैन । यस्तो हिजो भएको पनि हुन सक्थ्यो ।

पुरानो जनआश्रम मारेङ्गोमा छ, अल्जियर्सबाट पचास माइल । म दुई बजेको बस समात्ने छु र मध्यान्नमा त्यहाँ पुग्ने छु । त्यसपछि म कुर्न बस्ने काममा भाग लिन सक्छु र म भोलि राति फर्कने छु । मैले मेरो हाकिमसित दुई दिनको बिदा मागेँ र उसले यो परिस्थितिमा इन्कार गर्न सकेन । तर ऊ खुसी देखिँदैनथ्यो । मैले यतिसम्म भनेँ, ‘यो मेरो दोष होइन ।’ ऊ बोलेन । त्यसपछि मलाई लाग्यो, सायद मैले त्यसो नभनेको भए हुने । जे भए पनि, मैले माफी माग्नु पर्ने कुनै कुरा थिएन । बरू उसैले मलाई समवेदना दिनु पर्ने थियो । तर उसले यो काम संभवतः भोलिपछि मलाई बरखीमा देखेपछि गर्ने छ । अहिले तत्कालका लागि त कस्तो लाग्छ भने आमा अझै ज्युँदै हुनुहुन्छ । तथापि, अन्तिम संस्कारपछि मृत्यु औपचारिक तथ्य हुनेछ र सम्पूर्ण कुरा अझ बढी मात्रामा आधिकारिक आभास हुने छ ।

मैले दुई बजेको बस समातेँ । धेरै गर्मी थियो । सधैँझैँ मैले सेलेस्टेको रेस्टुराँमा खाएँ । तिनीहरू सबै मेरा लागि धेरै दुखित भए र सेलेस्टेले मलाई भन्यो, ‘आमाजस्तो कोही पनि हुँदैन ।’ म हिँड्न लाग्दा तिनीहरू सबै मसँगै ढोकासम्म आए । म अलिकति दिक्कलाग्दो अवस्थामा थिएँ किनभने मलाई एउटा कालो टाई र पाखुरामा लगाउने फिता लिनका लागि इम्यानुयलको घरसम्म जानुपर्ने थियो । केही महिनाअघि उसले उसका काका गुमाएको थियो ।

हरिहर खनाल

बस समात्न म दौडनु पर्ने भयो । सम्भवतः यो त्यसैको परिणाम थियो र घच्याकघुचुक अनि पेट्रोलको गन्ध र सडकमा प्रतिबिम्बित भैरहेको आकाशको चमकले गर्दा म झकाउन पुगेँ । झन्डै बाटोभरि म सुतेँ । र जब म बिउँझिएँ, मैले आफूलाई एउटा सिपाहीका अगाडि पाएँ जो मलाई हेरेर मुस्कुरायो र म निकै टाढाबाट आएको हुँ कि भनेर सोध्यो । मैले थप केही नबोल्नेझैँ गरेर ‘हो’ भनेँ ।

वृद्धाश्रम गाउँबाट एक माइल जति टाढा छ । म त्यति हिँडेँ । म आमालाई सोझै भेट्न चाहन्थेँ । चौकिदारले मलाई पहिले वार्डेनलाई भेट्न भन्यो । ऊ व्यस्त थियो, त्यसैले मैले केही बेर कुरेँ । चौकिदारले पूरै समय गफ गरेर बितायो र त्यसपछि उसले मलाई वार्डेनको कार्यालय देखाइदियो । ऊ सानो गाँठीको, निकै सम्मानित मानिस थियो । उसले त्यसका चनाखा आँखाले मलाई हेर्‍यो । त्यसपछि उसले मसित यति धेरै बेरसम्म हात मिलाएर हल्लाउँदै समातिरह्यो कि मैले त्यसलाई अब कसरी छुटाउने होला भन्ने कुरा जानिनँ । उसले एउटा फाइल हेर्‍यो र मलाई भन्यो, ‘श्रीमती मरसोल्ट तीन वर्ष पहिले यहाँ आउनुभएको थियो । उहाँको सहाराको एक मात्र माध्यम तपाईं मात्र हुनुहुन्थ्यो ।’ मलाई कस्तो लाग्यो भने उसले मलाई कुनै चिजका लागि निन्दा गरिरहेको थियो र मैले व्याख्या गर्न सुरु गरेँ । तर उसले मलाई बीचैमा रोक्यो । ‘तपाईँले आफैँलाई ठीक देखाउन आवश्यक छैन मेरो प्यारो युवक । मैले तपाईँकी आमाको जीवन पढेको छु । तपाईँले ठीक ढङ्गले उहाँको हेरचाह गर्न सक्नुभएको थिएन । उहाँलाई एउटी परिचारिकाको आवश्यकता परेको थियो । तपाईँसित उहाँका लागि केवल सीमित आयस्रोत छ । र सबै कुरा विचार गर्दा उहाँ यहाँ निकै खुसी हुनुहुन्थ्यो ।’ मैले भनेँ, ‘हो महाशय ।’ उसले थप्यो, ‘यहाँ उहाँका साथीहरू छन्, उहाँको आफ्नै उमेरका । उहाँले यहाँ उनीहरूसित आफ्ना भावनाहरू आदानप्रदान गर्न सक्नुहुन्छ । तपाई एक जना तन्नेरी मान्छे । भिन्नै पुस्ताका । र उहाँ तपाईंसित बस्ता वाक्क हुनुभएको हुनसक्छ । बुझ्नुभयो ?’
यो कुरा साँचो थियो । जब आमा घरमा हुनुहुन्थ्यो, आमाले अधिकांश समय चुपचाप मलाई हेरेर बिताउनुहुन्थ्यो । पहिला केही दिनसम्म वृद्धाश्रममा उहाँ निकै रुनुभयो । तर उहाँलाई त्यहाँ बानी परी नसकेकोले मात्र त्यस्तो भएको थियो । एकदुई महिनापछि उहाँलाई वृद्धाश्रमबाट बाहिरतिर लगिएको भए उहाँ रुनुहुन्थ्यो होला । किनभने त्यति बेलासम्म उहाँ त्यहाँ रत्तिइसक्नुभएको थियो । विगत वर्षभरिमा म उहाँलाई भेट्न मुस्किलैले मात्र त्यहाँ गएको आंशिक कारण थियो । र यसको अर्थ मेरो यही आइतबारको समयलाई तिलाञ्जली दिनु पनि हुन्थ्यो – एक्लै बस बिसौनीसम्म जाने प्रयास गर्नु, टिकट किन्नु र यात्रामा दुई घण्टा बिताउनु ।

वार्डेनले मसित फेरि कुरा गर्न थाल्यो । तर उसले भनेको कुरा मैले कत्ति पनि सुनिरहेको थिइनँ । त्यसपछि उसले भन्यो, ‘तपाईँ आफ्नी आमालाई हेर्न चाहनुहुन्छ होला भन्ने म ठान्छु ।’ म केही पनि नबोली जुरुक्क उठेँ । त्यसपछि उसले मलाई ढोकातिर जाने बाटाको अगुवाइ गरेर हिँड्यो । बाटामा जाँदै गर्दा भर्‍याङमुनि पुगेपछि उसले भन्यो, ‘हामीले उहाँलाई हाम्रो सानो शवगृहमा सारेका छौँ । अरूहरूलाई दुःखित नतुल्याउनका लागि हामीले यसो गरेका हौँ । एक जना सँगैको साथी मर्दा हरेक पटक अरूहरू दुई वा तीन दिनसम्म नरमाइलो मानिरहन्छन् । र, त्यसले कर्मचारीहरूमा कठिनाइ उत्पन्न गर्छ ।’ हामीले एउटा आँगन पार गर्‍यौँ जहाँ ससानो समूहमा बसेर कुराकानी गरिरहेका थुप्रै मानिस थिए । हामीहरू जाँदै गर्दा तिनीहरू गफ गर्न रोकिन्थे र हामी कटिसकेपछि फेरि कुराकानी सुरु हुन्थ्यो । यो बन्द हुँदै फेरि सुरु भएको धोबिनी चराको चिरबिरजस्तै सुनिन्थ्यो । एउटा सानो भवनको ढोकामा वार्डेन रोकियो । ‘म अब तपाईँसित बिदा हुन्छु श्रीमान् मरसोल्ट । कुनै कुराका लागि तपाईँलाई मेरो दरकार पर्‍यो भने म मेरो कार्यालयमा हुने छु । हामीले बिहान १० बजेको लागि अन्त्येष्टि कार्यक्रम तय गरेका छौँ । हामीले के विचार गर्‍यौँ भने त्यसो गर्दा आज राति हिँड्दा हेर्नका लागि तपाईँलाई सम्भव हुने छ । एउटा अर्को कुराः तपाईँकी आमाले उहाँका साथीहरूसित स्पष्ट रूपमा के भन्नुहुन्थ्यो भने उहाँले एउटा धार्मिक प्रकारको अन्त्येष्टि चाहनुभएको छ । आवश्यक तयारीको जिम्मा म आफैँले लिएको छु । तर मलाई के लाग्यो भने मैले तपाईँलाई जानकारी गराउनुपर्छ । मैले उसलाई धन्यवाद दिएँ । यद्यपि उहाँ नास्तिक हुनुहुन्थ्यो, आमाले उहाँको जीवनभरि धर्मबारे कुनै विचार व्यक्त गर्नुभएको थिएन ।

म भित्र गएँ । भित्तामा सेतो रङ लगाइएको र सिसाको छानो भएको यो एउटा उज्यालो कोठा थियो । कोठामा केही कुर्चीहरू र केही टाट्ने खुट्टा भएका टेबल थिए । तीमध्ये कोठाको बीच भागमा भएका दुइटाले एउटा शव राख्ने बाकसलाई अड्याइराखेका थिए । बाकसको बिर्को खुलै थियो, तर ससाना पेचकिलाहरूको एक लहर, जसलाई कसिएको थिएन, ती ओखरको रङ भएको काठसित जोडिएका थिए । शव बाकस नजिकै टाउकामा चहकिलो रुमाल बेरेकी, सेतो परिधानमा एउटी अरब परिचारिका थिई ।

त्यो ठाउँमा परिचर मेरो पछिपछि आयो । ऊ दौडँदै आएको हुनुपर्छ । ऊ अलिकति भकभकायो । ‘हामीले उहाँलाई छोपेका थियौँ तर तपाईँलाई देखाउनका लागि मैले पेचकिलाहरू खोल्नुपर्‍यो ।’ ऊ बाकसतिर जानलाग्दा मैले उसलाई रोकेँ । उसले भन्यो, ‘तपाईँलाई हेर्न मन छैन?’ ‘अँहँ !’ मैले भनेँ । उसले केही पनि भनेन र म असजिलोमा परेँ, किनभने मैले त्यसो नभनेको भए हुन्थ्यो भन्ने मैले महसुस गरेँ । एकछिनपछि उसले मतिर हेर्‍यो र सोध्यो, ‘किन चाहनुहुन्न?’ उसले यसरी सोधेको कुनै तिरस्कारको भावले होइन, तर मानौँ कि उसले यत्तिकै जान्न मात्र चाहेको थियो । ‘मलाई थाहा छैन,’ मैले भनेँ । उसले उसका फुलेका जुँघा त्यत्तिकै मुसार्न थाल्यो । त्यसपछि मतिर नहेरीकनै उसले घोषणा गर्‍यो, ‘म बुझ्छु ।’ उसका नीला आँखा सुन्दर र चहकिला थिए र उसको अनुहारको स्वरूप रातो वर्णको थियो । उसले मलाई एउटा कुर्ची अघि सार्‍यो र ऊ मेरो ठीक पछिल्तिर बस्यो । परिचारिका उठी र ढोकातिर लागी । त्यै बेला, परिचरले मलाई भन्यो, ‘उहाँलाई चोट लागेको छ ।’ मैले कुरो बुझिनँ । त्यसैले मैले परिचारिकातिर हेरेँ र के देखेँ भने उसको टाउको वरिपरि आँखाभन्दा तलसम्म पर्ने गरेर पट्टी बाँधिएको छ । नाकेडाँडीमा पट्टी चाक्लो थियो । उसको अनुहार पूरै सेतो पट्टीभन्दा बाहेक केही होइनजस्तो देखिन्थ्यो ।

परिचारिका गएपछि चौकिदारले भन्यो, ‘म तपाईँलाई यहीँ छोड्छु ।’ मैले कुनै प्रतिक्रिया प्रदर्शन गर्नुपर्थ्यो होला, किनभने ऊ मेरो ठीक पछाडि जहाँको तहीँ बसिरह्यो । मेरो पछाडि कोही त्यसरी उभिइरहेको हुनाले मलाई असजिलो लाग्यो । कोठामा मध्यान्नपछिको सुन्दर प्रकाश छरिएको थियो । सिसाको छानामुनि दुइटा अरिङ्गाल भुनभुनाइरहेका थिए । र, मलाई निद्राले झम्म पार्न थालेको थियो । पछाडि नफर्कीकन नै मैले परिचरलाई भनेँ, ‘तपाईं यहाँ आएको धेरै नै भयो ?’ ‘पाँच वर्ष ।’ मानौँ, कति बेला मैले यो प्रश्न सोधुँला र भनुँलाझैँ गरेर उसले उत्तर दियो ।

त्यसपछि उसले धेरै गफ गर्‍यो । यदि उसलाई मारेङ्गो आश्रमको परिचर कार्यबाट बिदा लिनुपर्छ भनेर कसैले भनेको खण्डमा ऊ निकै छक्क पर्थ्यो होला । ऊ चौँसट्ठी वर्षको भयो र ऊ प्यारिसबाट आएको थियो । त्यहीँनेर मैले उसलाई रोकेँ । ‘ए, तपाईं यहाँको मान्छे होइन ?’ त्यसपछि वार्डेनलाई भेट्न जानुभन्दा अगाडि उसले मसित आमाका विषयमा कुरा गरेको थियो । उसले मलाई के भनेको थियो भने तल मैदानको, विशेष गरेर यो देशमा हुने गर्मीका कारणले गर्दा, तिनीहरूले उहाँलाई छिटो गाड्नुपर्ने थियो । त्यो त्यति नै बेलाको कुरा हो जब उसले मसित पहिले ऊ प्यारिसमा बस्ने गर्दथ्यो र त्यो कुरा सजिलै बिर्सने छैन भनेको थियो । प्यारिसमा तिनीहरूले कहिलेकाहीँ तीन या चार दिनसम्म पनि लास कुरेर बस्छन् । तर यहाँ शव वाहनका पछि दौडन सुरु गर्नुभन्दा अगाडि त्यस विषयमा सोच्नेसम्म समय हुँदैन । ठीक त्यही बेला उसकी स्वास्नीले उसलाई भनेकी थिई, ‘अति भयो । भद्र पुरुषलाई भन्ने यो कुनै कुरा होइन । लोग्ने चाहिँ लाजले रातोपिरो भयो र क्षमा माग्यो । मैले, ‘होइन, होइन’ भन्नका लागि हस्तक्षेप गर्नुपर्‍यो । उसले भनेको ठीक थियो र उसले मलाई जे भनिरहेको थियो त्यो मलाई चाखलाग्दो लागेको थियो ।

सानो शवगृहमा उसले मलाई के भन्यो भने उसलाई हातमुख जोर्ने साँगा मिलाउन गाह्रो भएको हुनाले ऊ आश्रममा आएको थियो । उसको स्वास्थ्य राम्रो थियो, त्यसकारण उसलाई परिचरको काम दिइएको थियो । मैले उसलाई लक्षित गर्दैे यसो भए पनि अझै ऊ आश्रममा सहवासी थियो कि भनेर सोधेँ । उसले होइन भन्यो । उसले उसका सहकर्मी साथीहरूलाई ‘तिनीहरू’, ‘अरूहरू’ र कहिलेकाहीँ अरूहरूलाई ‘बूढा मान्छेहरू’ भनेर सम्बोधन गरेको सुुन्दा, जब कि तिनीहरूमध्ये कोही ऊभन्दा पनि कान्छा थिए, म दुखित भएको थिएँ । तर स्वाभाविक रूपमा यो उही चिज थिएन । ऊ परिचर थियो र केही हदमा उनीहरूमाथि उसको अधिकार थियो ।

त्यति नै बेला परिचारिका भित्र आई । एक्कासि रात परेको थियो । सिसाको छानामाथिको आकाश छिटोछिटो अँध्यारो हुँदै गएको थियो । परिचरले बत्तीको स्विच थिच्यो र एक्कासि बलेको बत्तीको उज्यालो प्रकाशले गर्दा मेरा आँखा तिर्मिराए । उसले मलाई अलिकति केही खानका लागि चमेनागृहमा जाने कि भनेर सोध्यो तर मलाई भोक लागेको थिएन । त्यसपछि उसले मेरा लागि एक कप दूध हालेको कफी ल्याइदिऊँ कि भन्यो । मलाई दूध हालेको कफी खुबै मन पर्छ, त्यसैले मैले हुन्छ भनेँ र ऊ केही मिनेटपछि नै ट्रेमा एक कप कफी लिएर आयो । मैले कफी पिएँ । त्यसपछि मलाई चुरोट पिउन मन लाग्यो । तर मलाई दकस लाग्यो, किनभने आमाको अगाडि पिउनु हुन्छ कि हुन्न भन्ने मलाई थाहा थिएन । मैले यस विषयमा सोचेँ, यसले खास कुनै असर पर्ने थिएन । मैले परिचरलाई एउटा चुरोट दिएँ र हामीले चुरोट खायौँ ।

एकछिनपछि उसले भन्यो, ‘तपाईँकी आमाका साथीहरू पनि उहाँलाई हेर्न आउने छन्, बुझ्नु भो ? यस्तै चलन छ । म जानुपर्ने छ र केही कुर्चीहरू र केही कालो कफी ल्याउनुपर्ने छ ।’ एउटा बत्ती निभाए हुन्न ? भनेर मैले उसलाई अनुरोध गरेँ । सेतो भित्ताबाट आएको बत्तीको चहकले मेरा आँखालाई दिक्क पारिरहेको थियो । उसले बत्ती निभाउन मिल्दैन भन्यो । ती बत्तीहरू त्यसरी नै जडान गरिएका थिए । कि सबै निभ्थे कि त सबै बल्थे । त्यसपछि मैले ऊतिर खासै ध्यान दिइन । ऊ कुर्चीहरू मिलाउँदै भित्र र बाहिर गरिरह्यो। तिनीहरूमध्ये एउटामा उसले कफीको भाँडो वरिपरि केही कपहरू राख्यो । त्यसपछि ऊ मेरो अगाडि, आमाभन्दा उतापट्टि बस्यो । कोठामा अल्लि परतिर परिचारिका पनि थिई, मतिर पिठ्युँ पर्काएर बसेकी । ऊ के गर्दै थिई त्यो मैले देख्न सक्थिन । तर उसले हात चलाएको तरिकाबाट, मैले के अन्दाज लगाएँ भने ऊ बुनिरहेकी छे । कफीले न्यानो पारेको हुनाले मलाई मजा लाग्यो । खुला ढोकाबाट रातको हावामा फूलको सुगन्धित बास्ना आइरहेको थियो । म ठान्छु म एकैछिन झपक्क निदाएँ ।

एउटा धोद्रो स्वरले मलाई ब्युँझायो । मैले आँखा चिम्म पारेपछि, कोठाको सेतोपन पहिलेको भन्दा झन् चहकिलो देखियो । एउटासम्म पनि कतै छायाँ देखिएको थिएन र हरेक चिज, हरेक कोण र घुम्ती यस्तो स्पष्ट देखिएका थिए कि हेर्नका लागि आँखालाई निकै कष्टकर भैरहेको थियो । त्यति नै बेला आमाका साथीहरू भित्र आइपुगे । तिनीहरू सबै मिलाएर १० जनाजति थिए, र तिनीहरू चुपचाप घस्रँदै त्यो आँखै खाने उज्यालोमा आइपुगे । तिनीहरू कुर्चीमा समेत कुनै आवाज ननिकालीकन बसे । तिनीहरूलाई मैले अरूलाई यसअघि देखेभन्दा बढी स्पष्ट रूपमा देखेँ र तिनीहरूका अनुहार वा कपडाको ससानु भागसमेत मबाट छिपेको थिएन । र यद्यपि मैले तिनीहरू बोलेको सुन्न सक्तिनथेँ र तिनीहरू अस्तित्वमा छन् भन्ने कुरा विश्वास गर्न मलाई निकै मुस्किल पर्‍यो । सबै महिलाहरूले कम्मरमा टमक्क बाँधिएका एप्रोन लगाइरहेका थिए, जसबाट तिनीहरूका फुलेका भुँडी प्याट्ट बाहिर निस्किएका थिए । बूढी आइमाईहरूका कतिसम्म ठूला भुँडी हुन्छन् भन्ने कुरा यसअघि मैले कहिल्यै पनि देखेको थिइन । पुरुषहरू प्रायः सबै नै दुब्लापातला थिए र हिँड्नका लागि सहारा लौरो बोकेका थिए । तिनीहरूलाई देख्ता म कुन कुराले स्तब्ध भएँ भने, मैले तिनीहरूका आँखा देखिनँ, तर मुजा परेका अनुहारमा मलिनो शिथिल चमक मात्र देखेँ । तिनीहरू बसेपछि सबैजसोले मलाई हेरे र असजिलो किसिमले टाउको हल्लाए, तिनीहरूका ओठ पूरै दाँत नभएका गिजाले चुसिरहेका थिए, र तिनीहरू मलाई अभिवादन गरिरहेका थिए कि काँपिरहेका थिए भन्ने मैले छुट्ट्याउन सकिन । मलाई लाग्छ, वास्तवमा तिनीहरूले मलाई अभिवादन गरिरहेका थिए । तिनीहरू सबै, टाउको हल्लाउँदै, मेरो विपरीत दिशामा, परिचरको वरिपरि बसिरहेको त्यति बेलामात्र मैले महसुस गरेँ । एकछिनका लागि मलाई कस्तो अनौठो प्रभाव पर्‍यो भने तिनीहरू मेरो मूल्याङ्कन गर्नका लागि त्यहाँ बसिरहेका छन् ।

त्यसपछि तत्कालै, महिलाहरूमध्ये एउटी रुन थाली । ऊ, आफ्नी एक जना साथीले छेलिएकी, दोस्रो लहरमा थिई र मैले उसलाई राम्ररी देख्न सकिनँ । ऊ सुस्तरी सुँक्कसुँक्क गर्दै रोइरहेकी थिई, ऊ कहिल्यै पनि रुन छोड्ने होइन कि जस्तो लाग्यो मलाई । अरूहरू त्यो थाहा नपाएका जस्ता देखिन्थे । अरूहरू, शव बाकसमा वा तिनीहरूका लौरातिर वा अन्त कतै एकटकले हर्दै अँध्यारो मुख लगाएर चुपचाप, कुर्चीमा नै बिलाएर बसेका जस्ता देखिन्थे । महिला लगातार रोइरही । म एकदम छक्क परेको थिएँ किनभने ऊ को हो मैले चिनेको थिइनँ । ऊ रोएको अब यसभन्दा बढी सुन्न नपरे हुन्थ्यो भन्ने मलाई लागिरहेको थियो । तर मैले उसलाई त्यसो भन्ने हिम्मत गरिनँ । परिचर निहुरेर उसलाई भन्यो, तर उसले आफ्नो टाउको झुकाई र अस्पष्ट रूपमा केही गुनगुनाई र पहिलेजस्तै किसिमले सुँक्कसुँक्क गर्न थाली । त्यसपछि परिचर फर्केर मतिर आयो र मसँगैको कुर्चीमा बस्यो । ऊ धेरै बेरसम्म चुपचाप बस्यो । त्यसपछि मतिर नहेरीकन उसले व्याख्या गर्न थाल्यो, ‘यी महिला र तपाईँकी आमा धेरै घनिष्ठ थिए । यिनी के भन्छिन् भने केवल तपाईँकी आमा मात्र यिनकी एक जना साथी हुनुहन्थ्यो र अहिले यहाँ उनका कुनै साथी छैनन् ।’

एकछिनसम्म हामी यसरी नै बस्यौँ । त्यो महिला घरीघरी घुँक्कघुँक्क गर्दै रुन थाली । केही बेरसम्म ऊ नाकले लामोलामो सास तानेर सुँकसुँकाई । त्यसपछि अन्त्यमा ऊ रोकिई । मलाई त्यसभन्दा बढी निद्रा लागेन, तर म थकित थिएँ र मेरो ढाड दुखिरहेको थियो । अब यी सबै मानिसहरू चुपचाप बसिरहेको देखेर मेरो रगत तात्न थालेको थियो । त्यसबाहेक मैले घरीघरी एउटा अनौठो हल्ला सुनेँ र त्यो के हो मैले बुझ्न सकिन । अन्त्यमा मैले के महसुस गरेँ भने केही वृद्धवृद्धाहरू तिनीहरूका मुखभित्रतिर चुसिरहेका थिए र त्यस प्रकारका आवाजहरू निकालिरहेका थिए । तिनीहरू आफ्ना भावनामा यति धेरै डुबेका थिए कि तिनीहरूले के गरिरहेका छन् भन्ने कुरातिर तिनीहरूको ध्यानै थिएन । मलाई समेत कस्तो प्रभाव पर्‍यो भने, तिनीहरूका बीचमा पल्टिइरहेको यो मृत देहको, तिनीहरूका लागि कुनै अर्थ थिएन । तर पछाडि फर्केर हेर्दा, मलाई लाग्छ यो गलत असर थियो ।
परिचरले हामी सबैका लागि केही कफी ल्यायो । त्यसपछि के भयो मलाई थाहा छैन । रात बित्यो । एक पटक मैले आफ्ना आँखा खोल्दा एक जना बूढो मान्छे जो आफ्नो चिउँडो लौराको मुठमा समातिरहेका आफ्ना हातका पछिल्लो भागमा टेकाएर बसिरहेको थियो र जसले मलाई यसरी क्वारक्वारती हेरिरहेको थियो मानौँ कि ऊ म बिउँझेको हेर्नकै लागि पर्खेर बसिरहेको थियो, ऊ बाहेक सबै बूढाबूढीहरू निद्रामा अगाडितिर ढल्केर उँघिरहेको सम्झन्छु म । त्यसपछि म केहीबेर सुतेँ । म बिउँझिएँ, किनभने मेरो ढाडको दुखाइ झन् बढेर गएको थियो । सिसाको छानामा बिहान घस्रँदै आइरहेको थियो । त्यसपछि लगत्तै, एक जना वृद्ध बिउँझेर खोक्न थाल्यो । उसले एउटा ठूलो बुट्टे रुमालमा लगातार थुक्न थाल्यो र उसले प्रत्येक पटक त्यसो गर्दा मानौँ कि उसको भित्री आँत चिरिइरहेको छ जस्तो लाग्थ्यो । उसले अरूलाई उठायो र परिचरले तिनीहरूलाई अब जानुपर्छ भन्यो । तिनीहरू उठे । यो कष्टकर जाग्रामले तिनीहरूको अनुहार फुस्रो देखिएको थियो । बाहिर निस्कँदै गर्दा मलाई चकित पार्दै तिनीहरू सबैले मानौँ कि सँगसँगै चुपचाप बिताएको एक रातले हामीहरूलाई घनिष्ठ बनाएको छ झैँ गरेर मसित हात मिलाए ।

म थकित थिएँ । परिचरले मलाई उसको कोठामा लिएर गयो र मैले झटपट नुहाइधुवाइ गर्न सकेँ । मसित अरू केही सेतो कफी थियो जुन निकै नै मीठो थियो । म बाहिर जाँदा झलमल्ल उज्यालो भैसकेको थियो । मारेङ्गोलाई समुद्रबाट छुट्ट्याउने पहाडमाथिको आकाश राता धर्साहरूले भरिएको थियो । र पहाडतिरबाट आएको हावाबाट नुनिलो गन्ध आइरहेको थियो । दिन राम्रो हुनेवाला थियो । म धेरै समयपछि मात्र गाउँमा आएको थिएँ र यदि म आमाका लागि यहाँ आएको नभए घुमफिर गर्न कति मजा आउँथ्यो भन्ने कुरा मलाई थाहा थियो ।

तर म आँगनमा, चिनार वृक्षमुनि पर्खेर बसेँ । मैले माटोको सुगन्ध मिसिएको ताजा हावामा सास लिएँ र मलाई अब निद्राले पूरै छोडेको थियो । मैले अफिसमा भएका मेरा साथीहरूका विषयमा सोचेँ । यति बेला तिनीहरू काममा जानका लागि उठिरहेका होलान् । मेरा लागि यो सधैँ नै असाध्यै कठिनाइपूर्ण समय थियो । एकछिनसम्म म यसरी नै सोच्दैरहेँ, तर भवनभित्र बजेको एउटा घण्टीको आवाजले मेरो ध्यान भत्कियो । झ्याल उतापट्टि खलबल चलिरहेको थियो, त्यसपछि हरेक चिज शान्त भयो । घाम आकाशमा अल्लि माथि पुगेको थियोः यसले मेरा खुट्टा न्यानो पार्न थालेको थियो । परिचर आँगनमा आयो र वार्डेनले मलाई भेट्न खोजेको छ भन्यो । म उसको अफिसमा गएँ । उसले मलाई थुप्रै कागजपत्रमा दस्तखत गर्न लगायो । मैले के देखेँ भने ऊ कालो परिधानमा थियो र ससाना धर्का भएको पाइजामा लगाएको थियो । उसले टेलिफोन उठायो र मलाई सम्बोधन गर्‍यो । ‘काम गर्ने मान्छेहरू भर्खरै आइपुगेका छन् । मैले तिनीहरूलाई कफिन बन्द गर्न भन्दैछु । मैले भन्नुभन्दा पहिले, तपाईं आमाको अन्तिम दर्शन गर्न चाहनुहुन्छ ?’ मैले अँहँ भनेँ । उसले सानो स्वरमा टेलिफोनबाट आदेश दियो, ‘फिगे, तिनीहरूलाई काम सुरु गरे हुन्छ भन ।’

त्यसपछि उसले ऊ अन्त्येष्टि कार्यक्रममा भाग लिने छ भन्यो र मैले उसलाई धन्यवाद दिएँ । ऊ उसका छोटा खुट्टा खप्ट्याएर उसको कुर्सीमा बस्यो । उसले मलाई के जानकारी गरायो भने त्यहाँ ड्युटीमा बसेकी परिचारिका बाहेक, ऊ र म मात्रै हुने छौँ । सामान्यतया सहवासी साथीहरूलाई अन्त्येष्टि कार्यक्रममा भाग लिने अनुमति थिएन । उसले उनीहरूलाई मदौरो कुर्न मात्र अनुमति दिएको थियो । ‘त्यो बढी स्नेहपूर्ण तरिका हो,’ उसले टिप्पणी गर्‍यो । तर यस अवसरमा आमाको साथी टमस पेरेजलाई अन्त्येष्टि कार्यक्रममा सामेल हुन अनुमति दिएको थियो । यहाँ वार्डेन मुस्कुरायो । उसले भन्यो, ‘यो अलिकति केटाकेटी तरिका भयो भन्ने मलाई थाहा छ । तर तपाईँकी आमा र ऊ लगभग छुट्ट्याउन नसकिने खालका थिए । यहाँ आश्रममा तिनीहरू तिनीहरूलाई गिज्याउने गर्थे र पेरेजलाई भन्थे, ‘तिनी तिम्री मगेतर हुन् ।’ ऊ हाँस्ने गर्थ्यो । तिनीहरूले यसो भनेको आनन्द मान्थे । र, तथ्य कुरा के हो भने श्रीमती मरसोल्टको अवसानले उसलाई धेरै नराम्रो किसिमले असर गरेको छ । मैले उसलाई अनुमति दिने कुरा नकार्न सक्थेँ भन्ने मलाई लाग्दैन । तर हाम्रा सुपरिवेक्षण चिकित्सकको सल्लाहमा मैले उसलाई गत रात्री कुरुवा बस्न अनुमति दिइनँ ।

हामी चुपचाप धेरै बेरसम्म बस्यौँ । त्यसपछि वार्डेन उठ्यो र अफिसको झ्यालबाट बाहिर हेर्‍यो । एकछिनपछि उसले भन्यो, मारेङ्गोबाट पुरोहित आएछ । अलिकति अघि नै आइपुगेछ । चर्च गाउँमा छ र त्यहाँ पुग्नका लागि कम्तीमा पनि पौने एक घण्टा लाग्न सक्छ भनेर उसले मलाई सचेत गरायो । हामी तल झर्‍यौँ । सानो भवन अगाडि पुरोहित र दुई जना सहयोगी केटाहरू उभिइरहेका थिए । तीमध्ये एउटाले धुपौरो समातिरहेको थियो र पुरोहितले यसको चाँदीको सिक्रीको लम्बाइलाई सन्तुलनमा ल्याउनका लागि उसको जीउमाथि बेरिदिएको थियो । जब हामी पुग्यौँ, पुरोहित सिधा उभियो । उसले मलाई ‘मेरो छोरा’ सम्बोधन गर्दै केही शब्द भन्यो । ऊ भित्र गयो; म पछि लागेँ ।

मैले एक्कासि के देखेँ भने शव बाकसका पेचकिलाहरू कसिएका थिए र त्यहाँ कोठामा कालो पहिरनमा चार जना मान्छे थिए । त्यै बेला वार्डेनले मलाई के भन्यो भने शव वाहन सडकमा पर्खिरहेको थियो र पुरोहितले प्रार्थना गर्न सुरु गरेको थियो । त्यति बेलाबाट हरेक चिज छिटोछिटो हुन थाल्यो । मानिसहरू कात्रो लिएर शव बाकसतिर गए । पुरोहित, उसका सहयोगीहरू, वार्डेन र म स्वयम् बाहिर गयौँ । ढोकामा मैले यसअधि नदेखेकी एक जना महिला थिई । ‘यहाँ श्री मरसोल्ट हुनुहुन्छ,’ वार्डेनले भन्यो । मैले त्यो महिलाको नाम सुनिनँ, मैले के मात्र बुझेँ भने ऊ ड्युटी परिचारिका थिई । त्यसले त्यसकोे लाम्चो, पातलो अनुहारमा कत्ति पनि मुस्कान नछरीकन टाउको झुकाई । शव लैजानका लागि बाटो छोडेर हामी किनार लागेर उभियौँ । त्यसपछि हामीहरू शव वाहकहरू पछिपछि घर बाहिर गयौँ । ढोकाबाहिर शव वाहन खडा थियो । उज्यालो, चहकिलो र लाम्चो यो अलिकति सिसाकलमको बाकसजस्तै देखियो । यसभन्दा उतापट्टि, हास्यास्पद पहिरनमा सानो गाँठीको एक जना मान्छे उभिएको थियो जो दाह संस्कार निर्देशक थियो । ऊसँगै एक जना वृद्ध मान्छे थियो जो अलि बढी बेचैनीमा देखिन्थ्यो । मैले के महसुस गरेँ भने यो श्रीमान् पेरेज थियो । उसले गोलो बिर्को र फराकिलो बिट भएको उनीको टोप (शव बाकस ढोकाबाट बाहिर निकालिएपछि उसले टोपी झिक्यो), जुत्तासम्म नै रबरका टाँक भएको सुट र ठूलो सेतो कमिजका लागि निकै नै सानु गाँठो भएको कालो टाई लगाएको थियो । कालो टाउकोले थिचिएको नाकमुनि उसका ओठ काँपिरहेका थिए । उसको पातलो सेतो कपाल अचम्मलाग्दो किसिमले लत्रेको थियो र रगत चुहिएलान् जस्ता उसका जीर्ण कानहरू उसको शिथिल अनुहारसित निकै फरक देखिएका थिए । अन्तिम संस्कार निर्देशकले हामीलाई हाम्रो स्थान देखायो । पुरोहित शव वाहनको अगाडि अगाडि र शव वाहनको दुवैतिर सेतो वस्त्रधारी ती चार जना मानिसहरू हिँड्नुपर्ने थियो । त्यसपछि वार्डेन र म आफैँ र, अन्त्यमा, ड्युटी परिचारिका र श्रीमान् पेरेज ।

सूर्य अघि नै आकाशमा निकै माथि पुगेको थियो । चर्को धुप धरतीमा खनिन थालेको थियो र छिटछिटो गर्मी बढेर गइरहेको थियो । मेरो कालो पहिरनमा मलाई निकै तातो भइरहेको थियो । सानो बूढो मान्छे, जसले उसको टोप लगाएको थियो, फेरि फुकाल्यो । वार्डेनले उसका बारेमा मलाई बताउन थालेपछि म थोरै पछाडि फर्केर उसलाई हेर्न थालेको थिएँ । उसले मलाई के भन्यो भने मेरी आमा र पेरेज एउटी परिचारिकालाई साथ लिएर साँझमा सँगै गाउँतिर घुम्न जान्थे । मैले आफू वरिपरिको गाउँलाई हेरिरहेको थिएँ । पहाडमा आकाश ताकेर परपरसम्म फैलिएका कोणधारी रूखका लहरहरू रातो र हरियो धरातलमा यत्रतत्र छरिएर रहेका देखेपछि, मैले आमालाई अनुभूत गरेँ । यहाँ साँझहरू विषादमय सम्झौताका रूपमा आउनुपर्छ । तर आज, पूरै धरातल सूर्य किरणमा चुर्लुम्म डुबेर तापमा झलझलाकार किसिमले चम्केको थियो र यो अप्रितिकर र वाक्कलाग्दो थियो ।

हामीहरू त्यहाँबाट हिँड्यौँ । त्यति बेला मैले पियरेलाई निकै शिथिल भएर हिँडिरहेको देखेँ । शव वाहनले निरन्तर गति लिइरहेको थियो र त्यो वृद्ध मानिसले उसको शक्ति गुमाउँदै गैरहेको थियो । शव वाहनसँगै हिँडिरहेको एक जना मानिस अलिकति पछि परेको थियो र अहिले मसँगसँगै हिँडिरहेको थियो । घाम कति छिटछिटो आकाशतिर चढिरहेको थियो भन्ने कुरा देखेर म छक्क परेको थिएँ । मैले के देखेँ भने अब केही समयका लागि गाउँ किरा–फट्याङ्ग्राहरूको भुन्भुनाहटले र घाँसपातको सर्सराहटले सजीव भएको थियो । मेरा गालाबाट पसिनाका धारा छुटिरहेका थिए । मैले टोप लगाएको थिइनँ, त्यसैले मैले आफूलाई आफैँले रुमालले हम्केँ । त्यसपछि परिचरको मान्छेले मलाई केही भन्यो जुन मैले बुझिनँ । त्यसै बेला उसले उसको दाहिने हातले उसको टोपको बिट समातिरहेको थियो र देब्रे हातले उसको रुमालले टाउको पुछिरहेको थियो । मैले भनेँ, ‘सुन्नुस् त ?’ उसले आकाशतिर देखायो र भन्यो, ‘कस्तो गर्मी ।’ मैले भनेँ, ‘हो ।’ एकछिनपछि उसले सोध्यो, ‘त्यहाँकी तपाईंकी आमा हुन् ?’ मैले फेरि भनेँ, ‘अँ ।’ ‘बूढी भैसकेकी थिइन् ?’ मैले उत्तर दिएँ, ‘लगभग,’ किनभने मलाई ठ्याक्कै थाहा थिएन । त्यसपछि उसले केही पनि सोधेन । म पछाडि फर्केँ र हामीभन्दा ५० गजजति पर वृद्ध पेरेजलाई देखेँ । ऊ उसको देब्रे हात पाखुरासम्म नै हल्लाउँदै सकेजति छिटो गैरहेको थियो । मैले वार्डेनतिर पनि हेरेँ । ऊ एकरत्ति पनि हलचल नगरीकन भलाद्मी पारामा हिँडिरहेको थियो । उसका निधारमा अलिकति पसिनाका दाना देखिएका थिए, तर उसले तिनलाई पुछेको थिएन ।

शवयात्रा अलिकति छिटो गतिमा हिँडिरहेजस्तो लाग्थ्यो । मेरो वरिपरि चारैतिर उही चर्को धामका रापमा सेकिएको गाउँघर थियो । आकाशबाट आएको आँखा तिरमिराउने राप खपिनसक्नु थियो । एक ठाउँमा हामी सडकको त्यो भागमा पुग्यौँ जुन भर्खरै पुनर्निर्माण गरिएको थियो । चर्को घामले पिच पग्लिएको थियो । हाम्रा खुट्टा पिचको टल्कने लेदोमा गडेका थिए । शव वाहनभन्दा माथितिर टाँसिएर निस्केको जस्तो देखिने गाडीवानको पक्की छालाको टोप मानौँ कि त्यो त्यही कालो माटोबाट बनेको हो कि जस्तो देखिन्थ्यो । हामीमाथि देखिएकोे नीलो र सेतो आकाश र मेरो वरिपरिको दिक्क लाग्दो रङ, च्यापच्याप लाग्ने कालो अलकत्रा, फिका काला कपडा र टल्किने कालो शव वाहन देखेर मैले अलिकति उदासपनको अनुभव गरेँ । र यसबाहेक घाम र शव वाहनबाट आएको छाला र घोडाको लिदीको गन्ध, बार्निस र धुपबत्तीको गन्ध र रातभरिको अनिदोको कारणले म यति धेरै थकित भएको थिएँ कि म कुनै कुरा सोचविचार गर्न नसक्ने भैसकेको थिएँ । म फेरि पछाडि फर्केँः पेरेज चर्को घामको चपेटामा परेर निकै पछाडि छुटेजस्तो देखियो, त्यसपछि ऊ पूरै छेलियो । मैले त्यता हेरेँ र के देखेँ भने ऊ सडक छाडेर गाउँतिरकोे बाटो लागिसकेको थियो । मैले के पनि देखेँ भने त्यहाँनेर सडकमा घुम्ती थियो । मैले के महसुस गरेँ भने, पेरेज जसलाई त्यस क्षेत्रका विषयमा जानकारी थियो, हामीलाई भेट्टाउनका लागि छोटो बाटो समातिरहेको थियो । हामीहरू घुम्तीमा पुग्ने बेलासम्म ऊ फेरि हामीसँगै थियोे । फेरि हामीले उसलाई हरायौँ । ऊ फेरि एक पटक गाउँमा हरायोे र यो क्रम जारी रह्यो । मैले अनुभव गर्न सकेको एउटै मात्र कुरो मेरो निधारमा उम्लिरहेको रगत मात्र थियो ।

त्यसपछि हरेक चिज यति छिटो भयो र यति अपरिहार्य र स्वाभाविक जस्तो देखियो कि त्यससम्बन्धी मैले अरू कुनै कुरा पनि सम्झन्न । एक चिजबाहेकः हामीहरू गाउँ पसेपछि ड्युटीमा रहेकी परिचारिका मसित बोली । त्यसको आवाज विशिष्ट प्रकारको, श्रुतिमधुर, कम्पनयुक्त थियो जुन त्यसको अनुहारसित मेल खाने खालको थिएन । त्यसले भनी, ‘यदि तपाईँ बिस्तारै जानुहुन्छ भने, तपाईंलाई घामले पोल्ने खतरा रहन्छ । तर यदि तपाईँ धेरै छिटो हिँड्नुहुन्छ भने तपाईं पसिनाले भिज्नुहुनेछ र गिर्जाघरमा तपाईँलाई चिसोले समात्ने छ ।’ त्यसले भनेको कुरा ठीकै थियो । कुनै उपाय थिएन । त्यसरी नै त्यो दिनका अरू केही दृश्यहरू सम्झन्छु मः उदाहरणका लागि, गाउँभन्दा ठीक बाहिरतिर अन्तिम पटक हामीसित भेट हुँदाको समयको पेरेको अनुहार । उसको अनुहार र गालाबाट निराशा र वेदनाका आँसुका धारा छुटिरहेका थिए । तर अनुहारमा परेका मुजाका कारण तिनीहरू छिटो बगेका थिएनन् । तिनीहरू उसको थिलोथिलो परेको बूढो अनुहारभरि फैलिएर बगेका थिए । त्यसपछि त्यहाँ गिर्जाघर थियो र सडकमा गाउँलेहरू थिए, चिहानमा राता जेरानियमका फूलहरू थिए, पेरेज (एउटा बिग्रिएको नक्कली मान्छेजस्तै) अर्धचेत अवस्थामा थियो, आमाको शव बाकसमाथि ओइरिइरहेको रगतजस्तै रातो माटो, त्यसमा मिसिएका रूखका सेता बोक्रा, धेरै मानिसहरू र तिनीहरूका आवाजहरू, गाउँ, क्याफे बाहिरको प्रतीक्षा, इन्जिनको अविरल घुइँघुइँ, बस अल्जियर्सको प्रकाशको सागरमा प्रवेश गरेपछिको मेरो खुसी र मैले बुझेँ म सुत्न र पूरै १२ घण्टा निदाउन खोज्दै थिएँ ।

(बाँकी अर्को साता)

प्रतिक्रिया
Loading...