सन् २०२० सबैभन्दा बढी पुस्तक पढिएको वर्षमध्येमा पर्छ । फाइनान्सियल टाइम्सका साहित्य पृष्ठका सम्पादक एलेक रसेलले यसअघिका वर्षहरूमा वर्षका सर्वोत्कृष्ट पुस्तक छान्न सकस पर्ने तर यस वर्ष ती पुस्तक छनोटका लागि पर्याप्त समय रहेको भनी टिप्पणी गरेका थिए ।

हरेक देशका अखबारहरूले वर्षका राम्रा पुस्तकहरूको सूची सार्वजनिक गर्ने गरेका छन् । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले पनि गएको साता उत्कृष्ट पुस्तकको सूची प्रकाशन गरेको थियो । न्यु योर्क टाइम्सले भने डिसेम्बरको अन्त्यतिर यस्तो सूची निकाल्छ ।

बेलायतको टाइम्स, गार्डियनजस्ता पत्रिकाले पनि वर्षका राम्रा पुस्तकहरूको सूची प्रकाशन गरेका छन् । टाइम म्यागेजिन पनि यस्तो सूची निकाल्नेमध्येमा पर्छ । न्युयोर्क टाइम्सबाहेक

अन्य पत्रपत्रिकाहरूले निकालेका सूची दाँज्दै हामीले ती सबैको सूचीमा परेकामध्ये उत्कृष्ट पुस्तकको सूची बनाएका छौँ । यसमा भारतीय पत्रिकाहरूले निकालेका सूचीसमेत संलग्न छन् ।

१. अ बर्निङ – मेघा मजुमदार
भारतीय मूलकी लेखिका मेघा मजुमदारले भारतको वर्तमान तनावको विषयलाई निकै रोचक र आश्चर्यचकित बनाउने तरिकाले यो उपन्यास तयार पारेकी छन् । उनले आफ्नो लेखनलाई तीन बिन्दुमा घुमाएकी छन्। एक मुस्लिम महिला जसलाई आतंकवादको झूटो आरोप लगाइएको, उनको विवरण विरोधाभासपूर्ण छ जसलाई प्रतिवादमा प्रस्तुत गरिएको छ र एक शिक्षिकाले उनलाई सजाय दिन खोज्दैछिन् । यसलाई पुस्तक समीक्षकहरूले निकै पछि निकै मज्जाले उनिएको कथा पढ्न पाएको बताइरहेका छन् ।

२. जिन्न पेट्रोल अन द पर्पल लाइन – दीपा अनप्परा
भारतको एउटा बेनामी शहरमा रहेकी नौ वर्षीया बालिकाको नाम जय राखेर कथा उनेकी छन् । जयको एक छिमेकी बेपत्ता हुन्छ । दुवै स्कूलमा सँगै अध्ययन गर्छन् । आफ्नो साथी हराएपछि उनको मनमा उठ्ने कौतुकपना, बच्चाको खोजीमा मौन प्रहरी, घुस दिए पनि काम नगर्ने प्रवृत्ति र अन्त्यमा हार खाएर आफ्नो साथीका लागि जासुसी गरी खोजी गर्ने कथा यसमा छ ।

३. होमलैंड एलिजिस – अयाद अख्तर
पाकिस्तानी मूलका अख्तरले षड्यन्त्रमा परेको आफ्नो जीवनको झलक प्रस्तुत गरेका छन् । अमेरिकामा मुस्लिमहरूको पिहचान र आफ्नो वास्तविकता के त भन्ने प्रश्न उठाएका छन् ।

४. अन फ्रि स्पीच – जोसुवा वाङ
जोसुवा वाङको “अन फ्रि स्पीच” कलिलो उमेरमा चिनियाँ सरकारसँग पंगा लिँदा भोग्नु परेको तीतोका बारेमा लेखिएको पुस्तक हो । उनले सरकारी प्रपोगन्डाविरूद्ध जनतालाई एकताबद्ध गर्ने अभियानमा लागेको समयदेखि एउटा पहिचान बनाउँदासम्मको यात्राका बारेमा उनले लेखेका छन् । यतिबेला उनी हङकङमा प्रजातन्त्रका लागि संघर्ष गर्ने प्रमुख नेताहरूमध्ये एकका रूपमा चिनिएका छन् । उनी किशोर अवस्था छँदै हङकङको स्वतन्त्रता हरण नहोस् भनी अभियान सञ्चालन गरिरहेका थिए । मार्भल कमिक्सका प्रशंसक जोसुवा वाङको यो पुस्तक निकै प्रेरक रहेको केही समीक्षकहरू बताउँछन् ।

५. हिटलर: डाउनफॉल – वोल्कर उलरिच
वोल्कर उलरिच हिटलर विशेषज्ञका रूपमा चिनिन्छन् । उनले लामो समयदेखि हिटलरमाथि अनुसन्धान गरिरहेका छन् । उनको “हिटलर: डाउनफल”मा जर्मन तानाशाहको जीवनका पछिल्ला समयमा गरेका क्रियाकलापका बारेमा लेखेका छन् । उनको जीवनको पतनका लागि केकस्ता कार्यहरू जिम्मेवार रहे, उनमा कस्ता प्रवृत्तिहरू देखिए, सनक, धोका र अरूका कुरा धीरतापूर्वक सुन्न अस्वीकार गर्दाका परिणाम के कस्ता आए भन्ने कुरा यस पुस्तकमा उल्लेख गरिएको छ ।

६. कास्ट-इसाबेल विल्करसन
अमेरिकामा रंगभेदको बलियो प्रणालीका बारेमा इसाबेल विल्करसनको ‘कास्ट’ पुस्तकमा अन्वेषण गरिएको छ । उनले अमेरिकामा काला जातिको उत्पीडन भारत र नाजी जर्मनीमा रहेको जातिवाद र जातीय भेदभावका कोणबाट हेरेकी छन् । यसअघि यस्तो कोणबाट काला जातिको उत्पीडनका बारेमा नलेखिएकाले यो एउटा महत्त्वपूर्ण उपलब्धि बनेको समीक्षकहरूको धारणा छ ।

७. व्हाई वि स्विम – बोनी सुई
बोनी सुईको “व्हाई वि स्विम” नामक पुस्तकमा पत्रकार सुईले मान्छेको चासो पाँच भागमा राखेकी छन्। बाँच्न बचाउने प्रयास, स्वास्थ्य, सामाजिक अन्तरक्रिया, प्रतिस्पर्धा र पानी प्रवाहजस्ता विषयमा उनले यो पुस्तक केन्द्रित गरेकी छन् । पुस्तकले पौडी कसरी खेल्ने, यसमा कसरी रमाउने, रोमाञ्चक बनाउने आदि विवरण दिएकी छन् । खासगरी पौडीजस्तो बेरसिलो खेललाई उनले रोचक तरिकाले पस्किएकी छन् ।

८. द सेन्टिनल-लि एण्ड एन्ड्रु
यो सूचीमा आठौं पुस्तक थ्रिलर उपन्यास छ, “द सेन्टिन” । खासमा ज्याक रिचर नामक पात्रलाई मुख्य भूमिका बनाएर लेखिएका कयौँ उपन्यासमध्ये यो पछिल्लो कडी निकै रोचक छ । यो शृंखलाबद्ध उपन्यासको प्रारम्भिक कथामा त ज्याक रिचर नामक फिल्म नै बनाइएको छ । रिचर एकदमै आकर्षक र कामुक प्रहरी थिए। उनको छवि र उनलाई धेरैले किन आदर्श मान्थे भन्ने कुरा यस पुस्तकमा मज्जाले देखाइएको छ ।

९. डेथ सेट्स सेल- रोबिन स्टेभन
थ्रिलर रूचाउनेहरूका लागि अर्को रोचक पुस्तक यो सूचीमा नवौं नम्बरमा छ । रोबिन स्टेभनको “डेथ सेट्स सेल”मा भने कसरी मित्रतामा शत्रुता उत्पन्न हुन्छ र त्यसपछिको परिणाममा यो केन्द्रित छ । जासुसी उपन्यास भएकाले यसको थ्रिल र गति तीव्र छ । अगस्ता क्रिष्टको ‘डेथ अन नाइल’बाट प्रेरित भएर यो पुस्तक तयार गरिएको समीक्षकहरूको भनाइ छ ।

१०. पुअर- क्यालेब फेमीले
कोरोना महामारीले निम्त्याएको गरिबी र यसमा काला वर्णका युवाहरूले गरेका सामाजिक संघर्ष, उनीहरूका पूरा हुन नसकेका सपना लगायतका कुरा यस पुस्तकमा समावेश गरिएको छ ।