अमेरिकी पत्रकार सारा फ्रायरले यस वर्षको फाइनान्सियल टाइम्स र मेकिन्से २०२० बिजनेस बुक अफ दि इयर पुरस्कार हात पारेकी छन् । उनको ‘नो फिल्टर’ नामक पुस्तकले यो पुरस्कार जितेको हो । पुस्तकमा फेसबुकजस्तै सामाजिक सञ्जाल इन्स्टाग्रामको भित्री कथा र फेसबुक मालिकसँगको यसको सम्बन्धका बारेमा खुलेर बताएको छ ।
फाइनान्सियल टाइम्सकी सम्पादक तथा यस पुरस्कारकी निर्णायक राउला खलफले यो पुस्तकले पुरस्कार पाउनुका पछाडिको कारण खोतल्दै भनिन्, ‘ठूला प्रविधि कम्पनीले साना र भविष्यमा आफूलाई समेत प्रतिस्पर्धामा मात दिन सक्ने कम्पनी वा सामाजिक सञ्जाललाई कसरी निल्छन् र आफू अनुकूल बनाउँछन् भन्नेबारेमा यो पुस्तकले छर्लङ्ग बनाएको छ ।’
ब्लुमबर्ग म्यागेजिनकी पत्रकार समेत रहेकी सारा फ्रायरले सन् २०१२ मै इन्स्टाग्रामलाई फेसबुकले २ अर्ब डलरमा किनेर कसरी छक्क पारेको थियो र यसको पछाडिको कारण उनले खोतल्नु परेको थियो भन्नेबारे पुस्तकले मिहिन रूपमा केलाएको छ ।
त्यसबेला इन्स्टाग्रामलाई हैसियतभन्दा बढी आँकलन गरिएको भन्दै फेसबुकको कडा आलोचना गरिएको थियो । तर समय क्रममा फेसबुकले गरेको लगानी उसका लागि निकै नै फलदायी प्रमाणित भइसकेको छ ।
गएको मंगलबार अनलाइनमार्फत् यो पुरस्कारको घोषणा भएको थियो । फाइनान्सियल टाइम्सको पुस्तक खण्डमा यो पुस्तकबारे समीक्षा गर्ने क्रममा भनिएको थियो, ईर्ष्या र प्रतिस्पर्धाले निम्त्याएको एउटा कथा ।
पुस्तकलाई बेलायतमा रेन्डम हाउस बिजनेसले प्रकाशन गरेको थियो भने अमेरिकामा साइमन एन्ड सुस्टरले ।
यससँगै साराले ३० हजार पाउन्ड पुरस्कार प्राप्त गरेकी छन् । पुरस्कार समारोहमा छोटो सूचीमा परेका अन्य पुस्तकहरूले पनि १० हजार पाउन्ड रकम हात पारेका छन् । यसमा एन केस र एङ्गस डिटनको अमेरिकामा गोराहरूको बढ्दो मृत्युदरका बारेमा लेखिएको ‘डेथ्स अफ डिस्पेयर एन्ड फ्युचर अफ क्यापिटलिज्म’, जिल लेपोरको डाटा विश्लेषण गर्ने कम्पनी सिमलमेटिक्स कर्पोरेसनको इतिहास ‘इफ देन’, रिड हास्टिङको नेटफ्लिक्सको सफलताको रहस्य बताउने पुस्तक ‘नो रूल्स रूल्स’, रेबेका हेन्डरसनको ‘रिइम्याजनिङ क्यापिटलिज्म’, ड्यानियल सस्काइन्डको ‘अ वर्ल्ड विदाउट वर्क’ रहेका छन् ।
यसैगरी स्टेफन बोयलले ब्राकेन बोवर पुरस्कार हात पारेका छन् । ३५ वर्षभन्दा कम उमेरका व्यक्तिका लागि यो पुरस्कार फाइनान्सियल टाइम्स टोलीले प्रदान गर्ने गर्छ । बद्लिँदो परिस्थितिमा केन्द्रीय बैंकले डिजिटल मुद्राले अर्थतन्त्रमा कसरी परिवर्तनकारी भूमिका खेल्न सक्छ भन्ने विषयमा लेखिएको ‘न्यु मनी’ शीर्षकको पुस्तकका लागि बोयललाई सो पुरस्कार दिइएको हो । सन् २००५ देखि द बिजनेस बुक अफ दि इयर अवार्ड दिन थालिएको हो । व्यावसायिक मुद्दामा पढ्नै पर्ने र रोचक पुस्तकलाई यो पुरस्कार दिने गरिएको फाइनान्सियल टाइम्सले जनाएको छ ।
गएको वर्ष क्यारोलिन क्रियाडोको ‘इन्भिजिबल विमेन’ले बिजनेस बुक अफ दि इयर पुरस्कार हात पारेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।