मोफसलले आफू सधैँ केन्द्रद्वारा हेपिएको महसुस गर्छ। राष्ट्रिय महत्त्वका अधिकांश कलाका कार्यक्रम केन्द्रमै गरिन्छन् र अवसर पनि त्यहाँकै कलाकारले उपभोग गर्छ।
कलाको एकेडेमी, आर्टका कलेज र ठूला ग्यालरी पनि त्यतै हुन्छन्। वर्षमा एकाध कार्यक्रम मोफसलमा जान्छ र औपचारिकता निर्वाह गरिन्छ। यस अर्थमा मोफसलमा कलाको कार्यक्रम र पहुँच कम हुनु स्वाभाविक हो।
यद्यपि केन्द्रले ठानेजस्तो मोफसल कमजोर भने छैन । सीमित स्रोत र साधनका बाबजुद मोफसलले थुप्रै प्रतिभावान् कलाकारहरु जन्माएको छ। ती कलाकारले आज राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा ख्याति कमाएका छन्।
मोफसलमा बसेर ख्याति कमाएकी एक सशक्त कलाकार हुन्, सरोजा खड्गी । पूर्वी नेपालको इटहरीमा जन्मेकी खड्गी विगत तीन दशकदेखि अनवरत् रूपमा कला क्षेत्रमा लागिपरेकी महिला कलाकार हुन्।
महिला त्यसमा पनि मोफसलमा जन्मेर यो खालको उचाई चुम्नु सानोतिनो मिहिनेत र चाहले सम्भव हुँदैन । तर मिहिनेत र इच्छाशक्तिका अगाडि केही लाग्दोरहेनछ। राजधानीको सृजना कलेज अफ फाइन आर्ट्समा केही समय ‘हबी क्लास’ लिनुबाहेक कलामा खासै औपचारिक अध्ययन नगरेकी खड्गी कलाकार बन्न कलाको औपचारिक शिक्षा लिनैपर्छ भन्ने मान्यताको अपवाद हुन् उनी ।
कलाकार बन्ने भन्ने कुरा जन्मजात गुण हो भन्ने उनलाई लाग्छ ।
पाँच पटक एकल कला प्रदर्शनी तथा दर्जनौँ पटक सामूहिक कला प्रदर्शनी र कला कार्यशालामा भाग लिइसक्नु भएकी खड्गीले कलामै योगदान दिएबापत दर्जनौँ मानसम्मान र पुरस्कारले सम्मानित भैसकेकी छन्।
कलाका विभिन्न संघसंस्थामा रहेर कला विकासका लागि पनि दत्तचित्त भएर काम गरिरहेकी खड्गी एभरेस्ट आर्ट फ्युजनकी संस्थापक अध्यक्षसमेत हुन्।
यही संस्थामार्फत् पूर्वी नेपालमा कलाका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेकी छन्। हाल उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभा सदस्यमा पनि आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छन् ।
खड्गी मूलतः “सेमी फिगरेटीभ” यानेकि अर्ध अमूर्त शैलीमा काम गर्ने आधुनिक कलाकार हुन् । आधुनिक चित्रकला र सेमी क्लासिकल सेरामिक कलामा समेत लामो समयदेखि उनी काम गरिरहेकी छन् । उनका चित्रकलाको विषयवस्तु नारी र फूलहरु हुन् । उनका चित्रहरुमा नारी आकृतिभित्र फूलैफूलको बिम्ब समाहित भएका हुन्छन् ।
नारी र फूलबाहेक उनका चित्रहरुमा नारीका दुःख, पीडा र विद्रोहका प्लटहरु निर्माण गरिएका हुन्छन्। पुरुषप्रधान समाजबाट गरिने अपहेलना, अत्याचार र हिंसा उनका कला सृजनाको अर्को विषयवस्तु हुन्। रङहरुको चयनसँग उनी बढी संवेदनशील देखिन्छिन् ।
विषयवस्तुसँग तारतम्य राख्ने रङहरुको चयन र तिनलाई सही संयोजन गर्न सक्ने उनको गज्जबको खुबी देखिन्छ। यद्यपि कतिपय रङहरु विषयवस्स्तुसँग तारतम्य नदेखिने खालका देखिन्छन्। यसले दर्शक माझमा एकखालको कन्फ्युजन र बेमेल उत्पन्न गराइदिन्छ। यद्यपि अर्थ र सन्देशका हिसाबले ती विषयवस्तु सान्दर्भिक हुन्छन्। यस अर्थमा उनी “स्टेरियोटाइप” यानेकि लामो समयदेखि चलिआएको पारम्परिक मूल्य र मान्यताका विरूद्धमा छिन्- यो एउटा नारी विद्रोह पनि हो ।

सरोजा खड्गी

सरोजा खड्गी

सरोजा खड्गी

सरोजा खड्गी

सरोजा खड्गी

सरोजा खड्गी

सरोजा खड्गी

सरोजा खड्गी

सरोजा खड्गी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ मंसिर २०८२, आईतवार 





