जताततै
आफूलाई मात्र हेर्न चाहन्छु !
आफ्ना
आफन्तलाई मात्र देख्न चाहन्छु !

हावाको जासुसीमा
बतासको व्यापारमा
नदीको बगाइमा

म आफूलाई
जताततै
म नै म भएको देख्न चाहन्छु

छापाका अक्षरमा –मेरै प्रशंसा होस्
कविताका विम्बमा –मेरै चर्चा होस्
उपन्यासका पानामा –मलाई अमर बनाइयोस्

रामगोपाल आशुतोष

कथाका पात्रहरूमा –मलाई नायक भनियोस्

मञ्चमा, महफिलमा –मलाई राखियोस्
टेलिभिजनका पर्दामा –मलाई देखाइयोस्

बस्,
ढाकियून् डाँडाकाँडा
म र मेरा सन्तानले

सभामा, समारोहमा
पुरस्कार वा सम्मानहरूमा
शासनमा, प्रशासनमा –मलाई मात्र चुनियोस्
सदनमा, सरकारमा –मलाई मात्र राखियोस्

सेनामा, सुरक्षामा –म र मेरा सम्धी होऊन्
सबैको दिलमा, दिमागमा –मेरा इष्ट रहून्

मन्दिरका घन्ट र शङ्ख बज्दा
घाट र भजनकीर्तनमा आरती हुँदा
चर्चका प्रार्थनामा
गुम्बाका –ॐ माने पद्मे हुम्मा
गुरुद्वाराका सुफी सङ्गीतमा
या मस्जिदका –रमदानमा

म चाहन्छु –सबै छेकियून्
बस्, म र मेरा सगोत्री होऊन्
यत्रतत्र –सर्वत्र !

देश समृद्धिमा हिँडिसक्यो
बस्,
तपाईँहरूले मेरो जयजयकार गाउनूस्
समाजवाद मेरै पालामा आउँछ ।

भक्तपुर