विजयबहादुर मल्लले नेपाल भाषामा ३७ वर्ष पहिले ख्यालः (नाटक) लेखे, ‘किसी न्याइम्ह मदनमान’ । (हात्ती किन्ने मदनमान) । नाटकमा मदनकृष्ण श्रेष्ठ मदनमान बने भने हरिवंश आचार्य माहुते । सूर्यमाला शर्माको समेत अभिनय रहेको त्यो नाटकका निर्देशक हरिहर शर्मा थिए भने आयोजक सललह ।

जिन्दगीमा थुप्रै नाटक खेले, हास्यकलाकार मदनकृष्णले । तर उनको स्मृतिमा आइरहने नाटक उही हो, ‘किसी न्याइम्ह मदनमान’ । दुई वर्ष पहिले पाटन संग्रहालयमा सम्पन्न ‘नेपाल भाषा साहित्य नखः’ मा उनले त्यस्तै अभिव्यक्ति दिएका थिए ।

साँच्चै भन्ने हो भने हरिवंशले नाटकका निम्ति नेवारी भाषा सिकेको पनि त्यही बेला हो । त्यो नाटकमात्रै चलेन, मदनकृष्ण र हरिवंशको जोडी पनि महका रुपमा प्रख्यात भयो । नाटक हेरेपछि ‘रिल’ र ‘रियल’ लाइफको भेद छुट्याउनै सकेनन् नामी गायक फत्तेमानले । नहोस् पनि किन ? त्यो उनकै जीवनकथामा आधारित नाटक जो थियो ।

त्यसको सिलसिलेवर कथा कस्तो छ भने विक्रम संवत् २०२८ मा चितवनको दियालो बंगलामा राजा महेन्द्रको निधनपश्चात काट्टे बाहुनलाई हात्ती दान दिइयो । त्यो हात्ती जावलाखेलमा लिलाम बिक्री हुने थाहा पाएर एक मित्रले गायक फत्तेमानलाई आइडिया दिएछन्, ‘हाम्रो नाममा हात्ती दिँदैनन्, तपाईंको नाममा हात्ती किनौँ । भारत लगेर बेच्न सके मालामाल हुन्छ ।’

राजकुमार बानियाँ

लाखौँ फाइदाको कुरा आएपछि मसक्क आँटिहाले फत्तेमानले । पाँच हजार रुपियाँ हालेर उनले हात्ती किने । त्यतिबेलाको हिसाबमा पनि त्यो सस्तै मूल्यमा पाइएको हात्ती थियो । पशुपतिकै छेउ जयवागीश्वरीस्थित आफ्नो  निवासमा ल्याएर हात्तीलाई सानो किलामा त बाँधेछन् । तर पहिलो दिनदेखि नै त्यसले उनको ‘नीद हराम’ गरिदियो ।

कतिसम्म भने हात्तीलाई खान्की खुवाउनै फत्तेमानलाई हम्मे हम्मे पर्यो । हात्तीलाई अधीनमा राख्न त्यस्तै सकस परेपछि उनले तराईबाट माहुते पनि झिकाए । एकातिर हात्तीको खान्की, अर्कातिर माहुतेको खर्चले उनी छटपटिए ।

भीमकाय बान्की हेर्दै थाहा हुन्छ, हात्तीको खान्की । सामान्यतः हात्तीका लागि दुई भारी घाँसपरालबाहेक सामान्यतः दैनिक २ सय लिटर पानी, १५–२० किलो धान, २ सय ५० ग्राम ढिके नुन, डेढ किलो गुड, एक किलो चना चाहिन्छ ।

रोजिन्दै घाँस, चरन र रासनसम्म व्यवस्था गर्नुपर्ने अवस्थाले झन्डै विचलित भए, फत्तेमान । अझ हात्तीको रासन घाँसमा बेरेर पोका कुची बनाउनुपर्ने, दिनकै नुहाइदिनुपर्ने, पीपल र काब्रेको हरिया स्याउला, तरकारी, फलफूल खुवाइरहनुपर्ने भएकाले फत्तेमानलाई आपत् परिहाल्यो । उनले त दामको मात्रै मुख हेरेका थिए ।

रातबिरात कराउँथ्यो, फत्तेमानको हात्ती । निद्रा बिथोलिएको भनी छरछिमेकको टोकसो थपियो । त्यसपछि फत्तेमानको हात्ती पाल्ने सपनामा लगभग ‘ब्रेक’ लाग्यो । अन्ततः उनी भारततिर लगेर हात्ती बेच्ने निधोमा पुगे ।

धादिङको नौबिसे पुग्दा हात्ती भड्कियो । काठमाडौँतिरै फर्किन थाल्यो ।

लेखक प्रकाश सायमीका अनुसार फत्तेमानले ‘गोरखापत्र’ मा हात्ती बिक्रीको विज्ञापन छपाए । तीन पटक विज्ञापन छाप्दा १५ सय रुपियाँ स्वाहा भयो । पछि त्यो हात्ती वीरगन्जका राणाजीले किन्ने भए । उनले सन्देश पठाए, ‘हात्ती लिएर बेच्ने भए वीरगन्ज नै ल्याउनू ।’

माहुतेसहित हात्ती लिएर वीरगन्जतिर रवाना भएछन् फत्तेमान । धादिङको नौबिसे पुग्दा हात्ती भड्कियो । काठमाडौँतिरै फर्किन थाल्यो । बल्लबल्ल समातेर वीरगन्ज पुर्याउँदा बाटोमा फत्तेमानले अनेक कष्ट खेपे । हात्तीलाई घाँस खुवाउन पीपलको बोट खोज्दै हिँड्नुपर्यो । पराल किन्दाकिन्दा गोजी रित्तियो ।

वीरगन्ज पुगेर फेरि भड्कियो हात्ती । त्यसको मोल झन् चर्कै चुकाउनु पर्यो । ४ हजार ५ सय रुपियाँमा बिक्री गरेर फत्तेमान रात्रिबसमा फर्किए ।

त्यसताका फत्तेमान नेपाल (राजकीय) प्रज्ञाप्रतिष्ठानमा कार्यरत थिए । उनले आफ्नो हात्ती व्यापारको सारा वृत्तान्त कहे, प्रज्ञाप्रतिष्ठानमै कार्यरत लेखक विजयबहादुर मल्ललाई । फत्तेमानले हात्ती किन्दा झेल्नुपरेको कहर सुनेपछि मल्लले भनेछन्, ‘अहो ! यो त नाटक नै लेख्नुपर्ने रोचक कथा रहेछ ।’

फत्तेमानकै कथालाई आधार बनाएर लेखिएको नाटकमा अलिकति ‘ट्वीस्ट’ गरेछन् मल्लले । नाटकमा मदनमान जुद्धशमशेर महाराजझैँ हात्ती सयर गर्ने सपना देखेर वीरगन्जबाट हात्ती किनेर ल्याउँछ । त्यही हात्ती चढाएर पैसा कमाउने अतिरिक्त सपना त कता हो कता, भड्किएको हात्तीले असन बजार नै तहसनहस पारिदिन्छ । हात्तीलाई खुराकी खुवाउँदैमा हैरान हुन्छ मदनमान । भरे माहुतेले मदनमानकी छोरी नै उछिट्याइदिन्छ । हास्य र व्यंग्यले भरिपूर्ण थियो, त्यो नाटक ।

जुद्धशमशेर महाराजकै सिको गरेकाले होला, अर्का गायक नारायण गोपालले फत्तेमानलाई ‘महाराज’ भनेर बोलाउँथे । उनको अर्को नामै चल्तीमा रह्यो, ‘महाराजजी’ । हुन पनि पहिलेपहिले राजा महाराजाकै सवारी त हो, हात्ती । त्यसमाथि हात्तीको नवजात बच्चालाई राजा-महाराजाको नाम दिने चलन छँदै छ ।

गायक फत्तेमानसँग ‘कोर एसोसिएसन’ राम्रै चलाए, कवि एवं गीतकार यादव खरेलले । फत्तेमानले खरेलका थुप्रै गीत गाए पनि । फत्तेमानले जस्तै खरेलले पनि केही समय हात्ती पालेका रहेछन् । लकडाउन अगाडि म कवि प्रद्युम्न जोशीसित यादव खरेलको घर गौरीघाट पुगेको थिएँ । त्यहाँ गफगाफ चल्दै गर्दा हात्तीको प्रसंग निस्कियो । खरेलले हात्ती राखेको ठाउँ देखाउँदै भने, ‘व्यापारिक बुद्धि नै रहेनछ मसँग ।’

भारतको विहारमा हात्तीको हाट लाग्दो रहेछ । उनका भान्जाले त्यो सूचना दिए । अनि हात्ती किनेर काठमाडौँ ल्याए, २५ हजार रुपियाँमा ।

२०३३–३४ सालतिर उनले सोचेछन्, ‘अब केही बन्द व्यापार, व्यवसाय गर्नुपर्यो ।’ उनलाई तत्कालै आइडिया फुर्यो, ‘हात्ती पाल्ने’ । किनभने थाइल्यान्डको राजधानी बैंककमा हात्तीमा चढाएर थुप्रै पर्यटक घुमाएको देखेका थिए उनले । उनलाई लाग्यो, बैंककमा हात्ती पर्यटन हुन्छ भने काठमाडौँमा किन नहुने !

उनले हौदा बनाए । हौदामाथि कार्चोप भरिएको झल्लर पनि । भारतको विहारमा हात्तीको हाट लाग्दो रहेछ । उनका भान्जाले त्यो सूचना दिए । अनि हात्ती किनेर काठमाडौँ ल्याए, २५ हजार रुपियाँमा ।

खरेलको योजना थियो, नेपाल आउने पर्यटकलाई डिल्लीबजार, अन्नपूर्ण होटल हुँदै असन–इन्द्रचोक घुमाउने । त्यसबापत प्रति पर्यटक पाँच डलर लिने । सुरुसुरुमा त दुई–चार जना पर्यटक आएर हात्ती चढे पनि । पछिपछि त हात्तीलाई हेर्छन् मात्रै, चढ्ने त नामै लिँदैनन् । अहिले फर्केर हेर्दा खरेललाई लाग्छ, ‘मैले नजानेको रहेछु । यती ट्राभल्सको आइटेनरीमा राखेको भए चल्थ्यो, इन्डिपेन्डेन्ट भएर मात्र नचलेको हो ।’

हात्तीको व्यापार शून्य भयो, तर हात्तीको खाइखुराकीमा कत्ति कमी भएन । घरी उखु ल्याएको छ, घरी धान ल्याएको छ, उदयचलदेखि अस्ताचलसम्म हात्तीको सेवामा जुट्न मुस्किल पर्यो । एकोहोरो खर्च मात्र हुन थालेपछि खरेलको धैर्य टुट्यो । कतिन्जेल घाटा खाने ?

अनि गोकर्ण फरेस्ट रिसोर्टलाई २०–२१ हजार रुपियाँमा बेचिदिए । त्यतिबेलाको हिसाबमा चार–पाँच हजार रुपियाँ घाटा खानु पनि सामान्य थिएन । यसरी खरेल पनि फत्तेमान जस्तै किसिया (हात्ती) व्यापारमा असफलसिद्ध भए । हात्ती पालेर फाइदा हुन्छ भन्ने त केवल भ्रम ठहरियो ।